मुना चौधरी
कति रमाइलो थियो त्यो बाल्यकाल, न कुनै सपना न लक्ष्य, न कुनै आवश्यकता । न त कुनै मोह नै थियो । जति–जति दिनहरू बित्दै गए त्यति–त्यति मोह र स्वार्थको संसार विस्तारित हुँदै गयो । चाहेर पनि रोक्न सकिनँ । रोकेर पनि सन्तुष्ट हुन सकिनँ । असन्तुष्टिले सधैँ सन्तुष्ट हुनुको सार खोजिरह्यो र म सधैँ त्यसको पछि दौडिरहेँ ।
इन्द्रेणीको सातै रङ मलाई धेरै मनपथ्र्यो । रङहरूलाई म निस्वार्थ देख्थेँ । कुनै भेदभाव थिएन । कुनै कलह थिएन । आफ्नो इच्छाअनुसार वर्णन गरेर म रङको निस्वार्थ संसारलाई बिगार्न चाहन्नँ । रङलाई रङ रहन दिनुपर्छ । सही र गलत छुट्ट्याएर विचलित पार्न सक्दिनँ । तर, मलाई किन यस्तो लाग्न थाल्यो कास् ! तिमी बिनाकारण कुनै दुर्घटनामा मरिदिएकी भए हुन्थ्यो । तिम्रो असामयिक निधन भइदिएको भए हुन्थ्यो वा तिमी आफ्नो लोग्नेको जीवनबाट कहिल्यै नफर्किने गरी ढाटा गइदिएकी भए हुन्थ्यो ।
त्यो क्षण सम्झिँदा मेरो मनमा खुसीको वर्षात् लहराउँथ्यो । यदि, त्यस्तो भइदिएको भए म धेरै खुसी हुने थिएँ । यदि, त्यस्तो भए तिम्रो लोग्नेको बारेमा सोच्दा तिम्रो अनुहार कहिले बीचमा आउने थिएन । तिम्रो अनभिज्ञ मृत्युको कुरा कल्पना गर्दा मेरो मन प्रफुल्ल हुन्छ !
हो, म तिम्रो लोग्नेको जीवनमा आउन चाहन्छु । तर, तिमी बाटो छेकी बसेकी छ्यौ । यही कारण मलाई तिम्रो कुभलो चिताउन कर लाग्छ । मलाई तिमीप्रति ईष्र्या लाग्छ । कलुषित भाव जागृत हुन्छ ।
हो, मलाई तिम्रो लोग्नेमा यति धेरै रुचि थियो कि म आफ्नो लोग्ने र घरपरिवार सबैलाई आँखा चिम्लेर छोड्न र बिर्सिन तयार भएँ । सबैले मलाई गलत भन्थे । तर, म उनीहरूलाई गलत देख्थेँ, जसले मलाई गलत देख्थे । मैले लिएको निर्णय मलाई सही लाग्थ्यो । लाग्थ्यो– मेरो भलो कसैले चिताउन खोज्दैन ।
हो, म सबैलाई गलत देख्थेँ । हृदयदेखि मनपर्ने मान्छेको प्रेममा पर्दा जसलाई पनि अरू मान्छेको कुरा सुन्न सही लाग्दैन । आफ्नो मनपर्ने मान्छेको कुरा सुन्न मात्र सही लाग्छ । कस्तो अचम्म ! पे्रममा पर्न न कसैको अनुमति चाहिने न उमेरले छेक्ने ।
जब राति सुत्थेँ, तिम्रो लोग्नेसँग नभेटेको दिन मध्यरातमा मेरो निद्रा बिथोलिन्थ्यो । मलाई तिमीदेखि ईष्र्या लाग्थ्यो । उनी रातभरि तिम्रोछेउमा सुतेको सम्झेर मेरो मनमा आगो बल्थ्यो । जल्थ्यो मेरो मन अनभिज्ञ आगोको रापमा । म छटपटिन्थेँ ।
मेरो लोग्ने कुनै बेला निद्रामा मेरो छातीमा हात राख्थेँ । म उनको हात फटकारेर पर हुत्याइदिन्थेँ । धेरै घृणा मेरो लोग्नेसँग मलाई लाग्थ्यो । सुत्थेँ आफ्नो लोग्नेको छेउमा तर आँखामा तिम्रो लोग्नेसँग बिताएका पल हुन्थे । त्यही सम्झेर रात बिताउँथेँ । ओह ! कस्तो मनोदशा मेरो ?
लामो सास तानेँ । धेरैपटक तिम्रो लोग्नेलाई सम्झेर रिस उठ्यो मलाई । तिमीलाई छोएको हातले मलाई छुन्थे । तिमीलाई चुमेको ओठले मलाई चुम्थे । थुक्क जिन्दगी ! के गर्नु, चाहेर पनि बिर्सन सक्दिनँ । तिम्रो लोग्नेमा त्यस्तो कुन जादु थियो, जुन जादुले मलाई बिर्सन रोकिरहेको थियो । यस्तो लाग्न थाल्यो, म तिम्रो लोग्नेबिना एक पल पनि बाँच्न सक्दिनँ । किन व्यर्थ लाग्छ तिम्रो लोग्नेबिनाको यो जिन्दगी ?
म तिम्रो लोग्नेको कल्पनामा हराउन पुग्थेँ । उनी तिमीसँग रात बिताउँथे । तर, म भने छटपटीमा रात बिताउँथेँ । कति असह्य त्यो पीडा ? धीर मन अधीर भइदिन्थ्यो । उफ् ! रात पनि कति लामो ।
मौसमानुसार मेरा रहरहरू र चाहनाहरू बदलिरहेका थिएँ । मलाई मेरा लोग्ने मनपर्न छोडे । तिम्रा लोग्ने मात्र मनपर्थे । जति बेला पनि तिम्रो लोग्नेको सपनामा रमाउँथेँ । बाध्यतावश म मेरो लोग्नेसँग बसिरहेकी थिएँ । सायद, सामाजिक दायरालाई समाजको अगाडि तोड्ने साहस ममा थिएन ।
तिमी उनको जीवनमा नभइदिएकी भए छुट्टै कुरा थियो । तर, तिमी र तिम्रा छोरीहरूले मलाई खुलेआम यो सब गर्नबाट रोकिरहेको थियो । म हावाहुरीको बैँसमा थिएँ । ममा स्फूर्तता धेरै थियो । कुनै पनि चाहनालाई नियन्त्रण गर्ने क्षमता ममा थिएन ।
म केशरी । बैंकमा दुई हजार रुपैयाँ जम्मा गर्न जाँदा एकजना हट्टाकट्टा लोग्नेमान्छे मेरो पछाडि उभिइरहेका थिए । उनको हातमा एक खात पैसा थियो । मैले यति धेरै पैसा कहिले देखेकी थिइनँ । उनले त्यति धेरै पैसा बोकेको देखेर लाग्यो, उनी धेरै धनी छन् । उनी पनि पैसा जम्मा गर्न आएका थिए ।
मैले भौचरमा नाम लेख्दै पैसा जम्मा गरेर निस्किनँ खोज्दा मेरो मोबाइल नम्बर उनले कन्ठ गरिसकेका थिए । मैले भौचरमा मोबाइल नम्बर लेख्ने बेला उनको आँखा मेरो मोबाइल नम्बरमा पुगेछ । उनी पैसा जम्मा गरेर मलाई पछ्याउँदै आए । अनि, मेरो मोबाइल नम्बर भटटट भने । म एक छिन आत्तिएँ । म आत्तिएको देखेर उनले हातमा बोकेको बोतलको पानी खान दिँदै मलाई शान्त गराए ।
उनको लवज मिठो थियो । मिठो गरी बोल्दै थिए । मैले जीवनमा यति मृदुभाषी र हेरचाह गर्ने लोग्नेमान्छे कहिले देखेकी थिइनँ । उनको बोलीले म आकर्षित भएँ । क्षणभरमै उनले मेरो मोबाइल नम्बर कन्ठ गरेकाले पनि मलाई उनी ज्यादै तीक्ष्ण लागे । कताकता भय र शंका पनि पलायो ।
उनी भटभटेमा थिएँ । म सारी लगाएर रातो रङको लेडी साइकल चलाएर बैंक गएकी थिएँ । साइकलको ताल्चा खोल्दै, सिटमा बसेर पाइडल हान्दै बैंकको गेटमा पुग्दा उनी अघिल्तिरको समोसा पसलअगाडि भटभटे लगाएर उभिरहेका थिए । मलाई साइकल रोक्न हातले इसारा गरे । उनको इसारामा मैले साइकल रोकेँ । उनले पसलमा समोसा खान जाऔँ भने । मैले खाजा खान स्वीकार गरिनँ । म उनलाई बेवास्ता गर्दै साइकलको पाइडल हान्दै घरतिर हुइँकिएँ । मैले उनीतिर एकचोटि पनि फर्केर हेरिनँ ।
म एक साधारण काम गरेर गुजारा गर्ने स्वास्नीमान्छे । गाउँनजिकैको बजारमा म तरकारी बेच्थेँ । मेरा श्रीमान् बजारमा कपाल काट्ने सैलुन चलाउँथेँ । घरमा मेरी सासू प्यारालाइसिसले थला परेकी थिइन् । भ्याएसम्म सासूलाई म आफैँ स्याहार गर्थे । सम्भव नभएको बेलामा भान्जीले हेरचाह गर्थिन् । सासूलाई हेरचाह गर्न भान्जीलाई राखेकी थिएँ ।
शिथिल सासू र आफ्नो इमानदार लोग्नेलाई बिर्सेर जब म उनको बाइकमा पहिलोपटक बसेँ, लाग्यो जीवन खुब रमाइलो छ । यस्तो रमाइलो जीवन मैले कहिल्यै देखेकी थिइनँ । भोगेकी थिइनँ । लाग्यो, मेरा लोग्ने हड्डी, रगत, मासु र मुटु भएका एक कठपुतला हुन् । जो दिनभरि सैलुनमा काम गर्छन् । राति घर फर्केर भात खान्छन् र निस्फिक्री तरिकाले सुत्छन् । न उनलाई मेरो अनुहारतिर हेर्ने फुर्सद छ न मेरो घर–व्यवहारको बारेमा सोध्ने समय छ । राति जबर्जस्ती उनको जिउमा टाँसिएर सुत्दा ‘परै सुत् । अरू मान्छे जिउमा टाँसिदा मलाई निद्रा लाग्दैन । भोलि बिहानै काममा जानु छ’ भन्थे ।
को यस्तो लोग्नेमान्छे होला, जसको जिउमा स्वास्नी टाँसिएर सुत्दा निद्रा लाग्दैन भन्छ ! उनको कुरा सुनेर म निराश हुन्छु । मेरो मन कति धेरै कुडिन्छ । मेरो मुटु टुक्रा–टुक्रा भएर छरिन्छ, जहाँतहीँ, कोठाभरि, मेरो शरीरभरि ।
‘कोही लुरे केटो मेरो लोग्ने भएको भए राम्रो । केही नभए’नि मलाई धेरै हेरचाहर गर्थे’ भन्ने खालको मेरो मनमा सोचाइ आउँछ । सबै स्वास्नीमान्छे यही चाहन्छे, उसको लोग्नेले उसलाई संसारका सबै मान्छेभन्दा बढी हेरचाह र प्रेम गरून् ।
हो, म गलत भन्दिनँ । मेरो मनमा अरूको बारेमा अर्थात् पराई पुरुषको कल्पना आउँछ । मेरो मनमा पराई पुरुषको कल्पना आउँदैन भन्दिनँ । जे सत्य हो त्यही भन्छु । खुलेआम भन्छु, तिम्रो लोग्नेलाई नभेटुन्जेल मेरो मनमा अरू पुरुषको सोच आउँथ्यो । त्यो सबै सोच्न मेरो लोग्नेको व्यवहारले म बाध्य हुन्थेँ ।
सासूको औषधि किन्नेदेखि तरकारी बेच्ने र घर चलाउनेसम्मको जिम्मा मैले निर्वाह गर्नुपथ्र्यो । मलाई घर, लोग्ने र सासूदेखि दिक्क लागिसकेको थियो । लाग्थ्यो, जीवनमा आराम, सुख, चैन र शान्ति मेरो भाग्यमा छैन । अरूलाई बाहिरबाट देख्दा लाग्थ्यो, सबैका जीवन कति धेरै सुख, प्रेम, शान्ति र समृद्धिले भरिएका छन् । तर, मेरो जीवन मात्र उदास, उराठ, दुःख, गरिबी, तहसनहस र समस्याको भुमरीमा अल्झिएको छ । कति नमिलेको र बेरसिलो लाग्थ्यो मेरो जीवन ।
म बिहानको तरकारी बेचेर घर फर्किने सुरसार गर्दै थिएँ । मेरो मोबाइलमा नचिनेको नम्बरबाट फोन आयो । मैले उठाएँ । उताबाट नचिनेको आवाज आयो, ‘कहाँ छेस् ? के गर्दै छेस् ?’
मैले अन्कनाउँदै, ‘को बोल्नुभएको ?’ भनेर सोध्दा जवाफ आयो, ‘बैंकमा भेट भएको थियो नि ?’
मैले उनको कुरा सुनेर, ‘ओहोे !’ भन्दै अचम्म मानेँ र एकै सासमा भनेँ, ‘म तरकारी बजारमा छु । तरकारी बेचेर घर फर्किँदै छु ।’
उनले भने, ‘म पनि तरकारी बजारमा छु । कहाँ छेस् तँ ?’
‘पानपसलअगाडि...,’ मैले भनेपछि उनी भटभटे लिएर त्यहीँ आइपुगे ।
उनले मलाई सुरुमै ‘तँ’ भनेर सम्बोधन गर्दा मलाई कस्तो नरमाइलो लाग्यो । कहिले नचिनेको, न जानेको मान्छेले एकैपटक ‘तँ’ भनेर बोलाउनु कस्तो सोमत नभएको मान्छे ? भनेर मैले मनमनै उनको बारेमा आफैँसँग गुनासो गरेँ । तर, उनको नजिक हुन थालेपछि ‘तँ’ सम्बोधन पनि मलाई पाच्य भयो । आफ्नो मान्छेजस्तो लाग्न थाल्यो !
उनले भन्न थाले ‘कोसी मेला जाऔँ’ । मेला हेर्न जाने प्रस्ताव आएपछि म खुसीले फुरुङ भएँ । मानौँ, मैले आफ्नो संसार बिर्सेँ । पोको पारेको बोरा हातमा बोकेर संकोच मान्दै ‘होइन, म घर फर्किनु छ’ भनेपछि उनले भने, ‘जाऔँ । बस् बाइकमा । बेलुकीसम्म फर्केर आइपुग्छौँ हामी ।’
खुसीका कारण मैले घर–परिवार सबै बिर्सेँ । उनको भटभटेमा पहिलोपटक बसेँ । योभन्दा अगाडि म भटभटेमा कहिले बसेकी थिइनँ ।
भटभटेमा बस्नुभन्दा अगाडि मलाई कसैले हेरिरहेका त छैनन् भनेर आफ्नो चारैतिर हेरेँ । कसैले हेरेको जस्तो लागेन । सबै आफ्नै काममा व्यस्त थिए । कसैले बाटामा नचिनून् भनेर घुम्टो ओढेँ । बोरा काखीमा च्यापेँ ।
भटभटे चलाउँदा म बेस्सरी पछाडि हुत्तिएँ । डरले उनको दाया पाखुरा समातेँ । खुट्टामा लगाएको बट्टा चप्पल जोरले च्यापेँ । उनको पाखुरा समाउँदा केही भरोसा र आफ्नो मान्छेजस्तो अनुभूति भयो ।
सिरसिर हावा कानमा लाग्यो । हावा चलेर चिसो अनुभव भयो । चिसोले मेरा जिउका रौँ ठाडा भएँ । अप्ठ्यारो मान्दै उनको जिउमा टाँसिएर बसेँ । थोरै भए पनि चिसोबाट राहत भयो । उनको जिउमा स्पर्श हुँदा मेरो जिउभरि खैलाबैला मच्चियो । अलि वर सरेँ । उनको जिउ तातो पनि लाग्यो । यसरी उनीसँग मेला हेर्न गएँ । मेला घुम्दै खाना पनि त्यहीँ खाएँ ।
लाग्यो, संसार धेरै रमाइलो छ । नियतिले मेरो भाग्यमा उनको नाम किन लेखेन ? मलाई किन मेरो लोग्नेको स्वास्नी बनायो ? म बिछट्टै राम्री थिएँ । भर्खर २२ वर्षकी । उनले मेलामा मेरो धेरै प्रशंसा गरे ।
मेलाबाट फर्केपछि उनीप्रतिको आशक्ति बढ्दै गयो । राति मेरा लोग्ने ओछ्यानमा मेरो छेउमा सुतिराख्दा मलाई सारै रिस उठ्थ्यो । उनले मलाई मेलामा भनेका थिए, उनका तीनजना छोरीहरू र स्वास्नी छन् । उनका छोरी र स्वास्नी भएको सुनेर म एक छिन उदास भएँ । फेरि, जस्ताको त्यस्तै रमाइलो लाग्यो ।
हो, त्यो पीडा र तडपको परिणामको बदला लिन भोलिपल्ट उनलाई फोन गरेर बोलाएँ । र, मलाई कमला नदी घुमाउन लग्नुस् भनेर इच्छा व्यक्त गरेँ । उनले सजिलै स्वीकारे ।
भोलिपल्ट कमला नदीको एकान्तमा मैले आफ्नो इच्छालाई थुनेर राख्न सकिनँ । उनको हात समात्न पुगेँ । टन्टलापुर घाम थियो । नदीको छेउछाउ चारैतिर झाडी थियो । मोथी र पटेर घाँसको शय्यामा उनीसँग रात होइन, दिन बिताएँ । घना झाडीको बीचमा उनले हरेक प्रकारबाट मेरो जिउमा हक जमाएँ र मैले जमाउन दिएँ । यो कुरामा न मलाई आपत्ति थियो न उनलाई । हामी दुवैजनाको स्वीकारोक्तिमा यो सब भयो ।
त्यसपछि हामी झिसमिसेमा गहुँ, सरसौँ, तिल, उखु, रहर त कहिले धान खेतको आलीमा निर्वस्त्र हुन्थ्यौँ । यो क्रम पटक–पटक चलिरह्यो । म तरकारी बेच्नका लागि घरबाट निस्किन्थेँ । उनी मलाई बाटामा कुरेर बस्थेँ । म तरकारी बेचेर निस्किनेबित्तिकै भटभटेमा बसेर हामी टाप ठोक्थ्यौँ । दुई, तीन किलोमिटर पर नचिनेको गाउँको खेतमा जान्थ्यौँ । झिसमिसे भइसकेको हुन्थ्यो । खेतमा कोही हुँदैनथे । सुनसान खेतमा हामी एकार्काको सामिप्यताले आह्लादित हुन्थ्यौँ ।
उनी मलाई मेरो गाउँबाहिर छोड्न आउँथे । गाउँबाहिर पोखरीछेउमा उनले मलाई भटभटेबाट ओराल्थेँ । त्यो पोखरीको डिल सुनसान र अग्लो थियो । त्यसपछि घना बाँसघारीले गाउँलाई छेकेको थियो । त्यही बाँसघारीपारि गाउँ थियो । राति भएकोले कसैले पत्तो पाउँदैनथेँ । म हतारिँदै घर आउँथे । सासूको हेरचाहमा बसेकी भान्जी बेलुकीको खाना पकाएर मलाई कुरिरहेकी हुन्थी । खाना खाएर म पनि आफ्नो लोग्नेजस्तै निस्फिक्री सुत्थेँ । मिठो र गहिरो निद्रामा ।
उनकी जेठी छोरीको बिहे थियो । उनले मलाई आफ्नी जेठी छोरीको बिहेमा बोलाएँ । मैले आफ्नो श्रीमान्लाई ढाँट्दै ‘मेरो साथीको नन्दको बिहे छ । म जानु छ’ भनेँ । उनले पनि मलाई जान दिए ।
उनको घर पुग्दा मैले उनकी स्वास्नीलाई पहिलोपटक देखेँ । उनी त्यति नराम्री थिइनन् । अलिकति मोटी र भद्दा भने थिइन् । त्यति हो । उनको लोग्नेको पनि उनीबाट केही गुनासो थिएन । बस्, उनी यति मात्र भन्थे, ‘ऊ धेरै धर्मकर्म गर्छे । आइत, सोम, मंगल, बिही, शुक्र सबै दिन व्रत बस्छे । आज मलाई नछुनुस् व्रत हो भन्छे’ ।
छोरीको बिहेमा उनी अरूका आँखा छल्दै मतिर हेर्थे । मैले खुट्टामा लगाएको पायल, बिच्छी छमछम–छमछम बज्थ्यो । जता छमछम पायल बज्थ्यो, उनी उतै हेर्थे । मतिर धेरै आकर्षित भएको देखेर उनकी स्वास्नीले सोधिन्, ‘ऊ कतापट्टिको पाहुना हो ?’
उनी स्वास्नीलाई ढाट्न सजिलै सफल भए । उनले भने, ‘म कतार बस्दा मसँगै बस्ने भाइकी बूढी हो । त्यो भाइलाई पनि निमन्त्रणा दिएको थिएँ । ऊ आफू आउन नसकेर बैनीलाई पठाएको हो ।’
मेरा श्रीमान् कहिले विदेश गएकै थिएनन् । मलाई उनले कति सजिलै बैनी बनाएँ । बुहारी बनाएको भए पनि त हुन्थ्यो । बुहारी नबनाउनुको कारण बुहारीमा एउटा बन्देज हुन्छ । बुहारीसँग नबोल्ने जो परम्परा थियो । बैनी बनाएको कारण न उनकी स्वास्नीले मलाई शंका गर्न सकी न उपस्थित पाहुनाहरूले ।
भेटपछि उनकी स्वास्नीलाई मैले तिमी भन्न थालिछु । उनकी छोरीको बिहेपछि मलाई फर्किन मन लागेन आफ्नो घर । त्यो दुई दिनमा कसरी आफूलाई मैले नियन्त्रण गरेकी थिएँ, त्यो मलाई मात्र थाहा छ ।
सोचेभन्दा पनि धेरै धनी थिए, उनी । तीनतले पक्की घर । फुसको घरमा बस्ने मजस्ता सामान्य स्वास्नीमान्छेलाई महलभन्दा कम लागेन उनको घर ! घरमा भात पकाउने मान्छे । यस्तो सुविधासम्पन्न अवस्था देखेर म झन् लोभिएँ उनीतिर । यो संसारमा कुनै स्वास्नीमान्छे नहोलान्, जसलाई धनको लोभ नलाग्दो हो ।
उनीसँग भेट भएको बेला मैले प्रत्येक दिन उनलाई प्रस्ताव राख्न थालेँ, ‘मलाई भगाएर लैजानुस् । म आफ्नो लोग्नेलाई छोड्न तयार छु । मलाई त्यो घरमा होइन, अर्कै ठाउँमा राख्नुस् ।’
मेरो कुरा सुन्नेबित्तिकै उनले भने, ‘भगाउन त्यति सजिलो छ र ? पहिला तँ आफ्नो लोग्नेसँग छुट्टापत्तर (पारपाचुके) ले । अनि, भगाउँछु ।’
मजस्तो साधारण मान्छेलाई उनले त्यति लामो बाटो किन देखाए ? छुट्टापत्तर गराउन कति धेरै बदनामी सहनुपर्छ । के मैले छुट्टापत्तर लिएँ भने उनले मलाई साँच्चिकै भगाउनेछन् ? उनका पनि स्वास्नी र छोरीहरू छन् ? उनले मलाई छुट्टापत्तरको प्रस्ताव राखेपछि मैले पनि उनलाई प्रस्ताव राखेँ, ‘हजुर पनि आफ्नी स्वास्नीसँग छुट्टापत्तर लिनुस् । अनि म लिन्छु ।’
मेरो कुरा सुनेर उनले रिसाउँदै भने, ‘बहुलाइस् ! मेरा छोरी–ज्वाइँ छन् । तिनीहरूले के सोच्छन् मलाई ? तेरा छोराछोरी छैनन् । छुट्टापत्तर लिन तँलाई सजिलो छ । छुट्टापत्तर लिइस् भने मेले तँलाई भगाएर बजारको घरमा राख्नेछु ।’
उनको यो विचारले मेरो आँखा खुलेझैँ झसंग भएँ । मेरो जिउलाई उनले प्रयोग गर्ने तर मलाई समाजको अगाडि स्वास्नीको दर्जा दिन नसक्ने ! मलाई छुट्टापत्तर ले भन्ने । उनलाई लिनुभन्दा बहुलाइस् भन्ने ! यो कहाँको न्याय थियो । न भगाउन सक्ने न बिहे गर्न सक्ने मसँग ? छुट्टापत्तर गराएर उनले मलाई स्वीकारेनन् भने मैले कहाँ गएर कोसँग न्याय माग्ने ? कति बाठा मान्छे । म कति लाटी ?
भोलिपल्ट उनको फोन आइरह्यो । दिनभरिमा १०६ पटकसम्म आयो । तर, मैले फोन उठाइनँ । मलाई फोन उठाउन मन लागेन । बेलुकी मैले तरकारी बेच्ने छेउमा भटभटे लगाएर अन्जान मान्छेझैँ मलाई कुरिरहेका थिए ।
उनी पानपसलमा पान खान जाँदा म आँखा छलेर त्यहाँबाट गायब भएँ । म त्यहाँबाट निस्किएँ । खेतैखेतको बाटो हुँदै घर फर्किँदै गर्दा उनीे डगहरमा भटभटेले धुलो उडाउँदै गइरहेका थिए । मेरो घरसम्म तीन, चारपटक भटभटे गुइँगुइँ गर्दै मलाई बहुलाजस्तो खोजेका थिए । टोलका मान्छेहरूले भने— कहाँको पागल मान्छे थियो, टोलभरि भटभटे फनफनी नचाइरहेको थियो !
टोलका मान्छेको कुरा सुनेँ मात्र । केही बोलिनँ ।
मलाई गहना लगाउने सोख थियो । सुन र चाँदीका गहना । मैले भोलिपल्ट दिउँसो गहना पसलमा गहनाहरू हेर्दै गर्दा उनले मलाई देखे र पसलमा छिरे । पसलेको अगाडि मैले उनीसँग सामान्य व्यवहार गरेँ । म चार आनाको सुनको बाली किन्न गएकी थिएँ ।
उनले सुनका दुईवटा आधा–आधा तोलाका बाला किने । एक लाख रुपैयाँ पसलेलाई तिर्दै सुनका बाला मेरो रुमालमा जबर्जस्ती बाँधेर मलाई दिए । सुरुमा मैले बाला लिन अस्वीकार गरेँ । तर, उनले जबर्जस्ती गरेपछि मैले चारैतिर हेर्दै सुटुक्क बाला बाँधिएको रुमाल समात्दै झोलामा राखेँ । उनले ‘जाऊँ’ भनेर मलाई भटभटेमा बस्न अह्राए । गहनाको लोभले म फसेँ । सायद, उनीप्रतिको सबै गुनासो बिर्सेँ । प्रेम नै प्रेम पलायो उनी देखेर ।
टन्टलापुर घाम थियो । बजारभन्दा झन्डै २० किलेमिटर टाढा गयौँ । उखु खेतमा । एकान्त र सुनसान थियो । उखु खेतमा बहुलाझैँ भएका थिए उनी । सबैभन्दा पहिले मेरो सारी फुकाले । पालैपालो ब्लाउज र पेटीकोट फुकाले । म लजाएको जस्तो गरेँ । तर, उनी मेरा प्रत्येक अंग खुला आँखाले हेरिरहेका थिए । मैले विरोध जनाइनँ । थुक्क ! यो मन पनि कस्तो ? कठोर बन्न खोज्दा पनि कठोर बन्न नसकिने ! मलाई भेटेर उनी सामान्य भएका थिए ।
मैले उनीसँग आजसम्म पैसा लिएकी थिइनँ । पैसाको मामिलामा म धेरै इमानदार थिएँ । म घर फर्किने बेलामा भटभटेमा बस्दै भनेँ, ‘म एक लाखको बाला लिन सक्दिनँ । मसँग पैसा छैन । एक लाख तिर्न सक्दिनँ ।’
मेरो कुरो सुनेर उनले भने, ‘त्यो मेरो पैसा होइन । मेरी स्वास्नीले बैंकमा राख्न पठाएकी थिई । उसकै पैसा हो । पछि विस्तारै फिर्ता दे न । महिनाको एक हजार ब्याजसहित ।’
उनको कुरा सुनेर मैले उनलाई बाला फर्काउने धेरै प्रयास गरेँ । तर, उनले बाला फिर्ता लिएनन् । पैसा ब्याजसहित फिर्ता लिने गरी मलाई बाला किनिदिएका थिए । त्यो पनि महिनाको एक हजार ब्याज ।
म अन्तरमुखी थिएँ । जहाँको त्यही विरोध गर्न सकिनँ । तर, मेरो मन भित्रबाटै कुँडियो ।
आफ्नी स्वास्नीलाई दिनरात बसाएर खुवाउँथे । गहनाका लागि जिउमा ठाउँ थिएन । उसलाई सबैथोक सित्तैमा दिने तर मेरो जिउ पनि भोग्ने र मलाई गहना दिएबापत ब्याज पनि असुल गर्ने । वाह ! तिम्रो लोग्नेको प्रेम र चतुर बुद्धि ।
मैले आफ्नो श्रीमान्सँग झुटो बोलेँ । मैले राति उनलाई सुनको बाला देखाउँदै भनँे, ‘मैले समूहबाट पैसा उठाएर दुइटा सुनको बाला किनेँ । एक लाख पैसा उठाएँ । महिनाको एक हजार ब्याज तिर्नुपर्छ ।’
उनले एकपटक बालातिर पुलुक्क हेरे । केही प्रतिक्रिया जनाएनन् । एक छिनपछि भने, ‘पछि किन्दा हुन्थ्यो नि । अहिले कति धेरै समस्या छ ।’
उनको कुरा सुनेँ । म केही बोलिनँ । मेरो कुरा उनले सजिलै विश्वास गरे ।
एक हप्तासम्म उनीसँग भेट्दै भेटिनँ । उनले पनि मलाई फोन गरेनन् । उनले मलाई फोन नगर्दा मलाई संसारै नरमाइलो लाग्थ्यो । मेरो लोग्ने छेउमा सुते पनि मलाई शून्य लाग्थ्यो । संसारमा कोही नभएजस्तो । मलाई कसैले माया नगरेजस्तो । म धेरै निराश हुन्थेँ । फोन हेर्दै उनको फोनको प्रतीक्षामा बस्थेँ ।
मैले परालको छानातिर हेर्दै कति रात बिताएकी थिएँ । रूँदै बलजफ्ती निदाएकी थिएँ । बिहान उठ्दा आँखा सुन्निएका हुन्थेँ । मन भारी हुन्थ्यो । मेरो आँखातिर हेर्ने फुर्सद कहाँ थियो र मेरा श्रीमान्लाई ! उनी बिहानै उठेर सैलुन जान हतारिन्थे । मेरो मन बुझ्ने समय कहाँ थियो उनीसँग ।
तर, एउटा बानी मलाई मेरो श्रीमान्को औधी मनपथ्र्यो । उनी साँझ सैलुनबाट फर्केर एक, आध सय मात्र आफूसँग राखेर सबै पैसा मेरो हातमा थमाउँथे । ‘आमालाई कुनै औषधिको कमी हुन नदे । तँलाई जे जे खान मन लाग्छ खा,’ यति भन्थेँ ।
उनको यही इमानदार बानीले म छुट्टापत्तर लिन हिचकिचाइरहेकी थिएँ । तर, मेरो आशक्ति सम्पत्तिमा थिएन । मेरो आशक्त मन कसैको प्रेमको लागि तड्पिरहेको थियो र त्यो प्रेम गर्ने मान्छे मैले तिम्रो लोग्ने भेट्टाएकी थिएँ ।
मैले हरेक महिना मेरो लोग्नेले दिएको पैसा र तरकारी व्यापारबाट नाफा भएको पैसा जम्मा गरेर प्रत्येक महिना उनको खातामा जम्मा गरिदिन थालेँ । दश महिनासम्म एघार हजार रुँपैया जम्मा गरेँ ।
कतै मेला जाँदा बीच बाटोमा मोटरसाइकलमा तेल सकिँदा ‘ला, पर्स बोक्नै बिर्सेँछु’ भन्थे उनी । त्यति बेला मैले नै पेट्रोलको पैसा तिर्थेँ । मैले चप्पल, चुरा, पोते मेलामा किन्न थाल्दा ‘जेठीका लागि पनि किनिदे’ भन्थे । तिम्रो भागको चुरा, पोते किनिदिन्थेँ म । दुवैजनालाई मै किनिदिन्छु भनेर उनले कहिले भनेनन् ।
उनको यही र यस्तै बानीले म दिक्क भइरहेकी थिएँ । कहिले लाग्थ्यो, म उनको ‘रखेल’ मात्र हुँ । रखेललाई पनि भाडाको घरमा राख्छन् । तर, यहाँ त मलाई मात्र सबैतिरबाट तिम्रो लोग्नेले लुटिरहेका थिएँ ।
तर, उनको लुटाइमा म आनन्दको अनुभव गरिरहेकी थिएँ । म कति मूर्ख थिएँ । आफ्नै मूर्खता देखेर मलाई हाँस उठ्थ्यो । भोलिदेखि उनलाई चटक्कै बिर्सिदिन्छु भन्ने लाग्थ्यो । किन्तु, मेरो मन–मष्तिस्कबाट मैले उनलाई निकाल्न सक्दिनथेँ !
उनको मनमा मेरा लागि के थियो थाहा थिएन । तर, मेरो मनमा उनको लागि प्रेम नै प्रेम थियो । त्यो पनि बिनास्वार्थ र बिनाऋणको प्रेम । जुन प्रेममा प्राप्ति थिएन । त्याग थियो र थियो केवल तृष्णाको ज्वालामुखीका अनन्तः ज्वारभाटाहरू ।
उनको फोन नआएपछि मैले नै उनलाई एक हप्तापछि फोन गरेँ । उनले मेरो नम्बर हेरेर होला, उताबाट बोले, ‘भाइ सन्चै छस् ? हेर् न मेरा हात मर्केर म आराम गरिरहेको छु । अझै एक हप्ता आराम गर्न डाक्टरले भनेका छन् । म अर्को हप्ता तँलाई भेट्न आउँछु है । राख् अहिले फोन ।’
उनको कुरा सुनेर लाग्यो, तिमी उनकै वरिपरि थियौ । त्यसैले उनले मसँग खुलेर कुरा गरेनन् । उनले ‘भाइ’ सम्बोधन गरेको सुनेर म केही बोलिनँ । मैले केही बोल्नुभन्दा अगाडि नै उनले फोन काटे । मैले फेरि फोन गर्ने प्रयास गरिनँ ।
हात मर्केको कुरा सुनेर म अति हतोत्साहित भएँ । जबर्जस्ती उनको घर गएर सेवा गरूँ । उनको छेउमा बसूँ भन्ने लाग्यो । तर, मेरो नैतिकता र सामाजिक दायराले त्यस्तो गर्न दिएन । म उनलाई भेट्न तड्पिन्थेँ ।
यो कस्तो माया थियो । यो कस्तो तडप थियो ! कस्तो खालको बेचैनी र छटपटी ? सहनै नसक्ने, नियन्त्रण गर्न नसक्ने न्यास्रो ? कस्ता उराठ दिनहरू ?
उनको व्यवहार देखेर मलाई जति घृणा लागे पनि उनको आवाज सुनेर मलाई आनन्द लाग्थ्यो । उनलाई नभेट्न पाउँदा उनीप्रति पलाएको नकारात्मक विचार भेटेपछि सकारात्मकमा परिणत हुन्थ्यो । उनको अनुहार हेरेर मेरो मन शान्त हुन्थ्यो ।
कस्तो परकीया स्वास्नी मान्छे म ? आफ्नो लोग्ने अगाडि हुँदा मलाई केही वास्ता लाग्दैन्थ्यो । बेफिक्री म आफ्नो लोग्नेको अगाडि तिम्रो लोग्नेसँग बिताएका ती आह्लादित पलहरू सम्झेर रमाउँथेँ । तर, मेरा लोग्नेलाई केही थाहा हुँदैन्थ्यो । म निस्फिक्री तिम्रो लोग्नेको प्रेममा हराउन पुग्थेँ । कस्तो विडम्बना !
हात सन्चो भएपछि उनले मलाई फोन गरेँ । गाउँ वरपर भेट्न सारै अप्ठेरो थियो । कसैले देखे भने के भन्लान् ? घरमा कुरा लाइदेलान् भनेर हामी भेट्न डराउँथ्यौँ । उनले, ‘स्वम्भूनाथ मेला लागिरहेको छ । तयार भएर बलान नदीनजिक भेट्, त्यहीँबाट मेला हेर्न जाऔँला’ भने ।
बलान नदी हाम्रो गाउँबाट टाढा थियो । तसर्थ, मैले मेला हेर्न जान्छु भनेर कसैलाई भनिनँ । भान्जी पछि लाग्न सक्थी । म तरकारीको कामले बाजार जाँदै छु भनेर नयाँ सारी, सिन्दुर, पोते, चुरा र पायल लगाएर निस्केँ ।
टेम्पो चढेर बलान नदी पुगेँ । नदी पुग्न झन्डै आधा घन्टा लाग्यो । टेम्पोबाट ओलिर्नुभन्दा अगाडि नै मैले देखेँ, उनी नदीको भित्तामा भटभटे रोकेर मलाई कुरिरहेका थिए । उनलाई देखेर खुसीले सबै कुरा बिर्सेँ मैले ।
टेम्पोवालालाई भाडा दिँदै उनको छेउमा गएँ । उनले मलाई देख्नेबित्तिकै भटभटेमा बस्ने इसारा गरे । भटभटेमा बसेपछि उनले मलाई मेला होइन, नदीको छेउमा एउटा नर्सरी थियो, त्यहाँ लगे । नर्सरीमा सिसौका रूखहरू र घना काँसघारी थियो ।
काँस सेताम्मे फुलेका थिए । नर्सरी सुनसान थियो । नर्सरीमा ओर्लेर हामीले मनभरिको कुरा गयौंँ । सधैँझैँ उनी र म एकपटक फेरि नांगियौँ । कसैको डर लागेन । कसैको वास्ता भएन । मेरो सारीभरि काँसका सेता भुवा टाँसिए ।
सारी झार्दै मैले ब्लाउजका टाँकहरू लगाएँ । पेटीकोट र सारी हतारिँदै लगाएँ । उनी पनि लुगा लगाएर तयार भइसकेका थिए । भटभटेमा चढेर हामी नर्सरीबाट निस्कियौँ । र, हामी एक घन्टापछि मेला पुग्यौँ ।
मेलामा कसैले देख्लान् कि भनेर म उनको पछिपछि निधार छोप्ने गरी घुम्टो ओढेर हिँडिरहेकी थिएँ । उनी निस्फिक्री हिँडिरहेका थिएँ ।
हामीलाई एकान्त चाहिएको थियो ।
मेलामा पाल टाँगेर थुप्रै व्यापारीहरूले मिठाई, चिया, मासु–चिउरा पसल खोलेका थिए । हामी नास्ता पसलमा छिर्यौँ । त्यो पसलमा उनले खसीको मासु, चिउरा र रसभरी मगाए । काठको टेबल र कुर्सी लगाइएको थियो । उनी कुर्सीमा बसे । उनको ठ्याक्कै अगाडि म बसेँ । हामीबीचमा टेबल थियो । बीचमा टेबल नभइदिएको भए हुने नि, त्यस्तो लागेको थियो ।
धेरै दिनपछि भेटेकोले हामी एकार्काको सबै गुनासा बिर्सिसकेका थियौँ । हाम्रो टेबलमा मासु, चिउरा र रसभरी आयो । म आफैँ पनि खाइरहेकी थिएँ । घरीघरी उनी पनि मलाई मासुको चोक्टा आफ्नो हातले खुवाइरहेका थिए । उनको अनुहार टेन्टको ढोकापट्टि थियो ।
हामीले आधाजति सिध्याइसकेका थियो । उनले हातमा भएको मासु, चिउराको गाँस मेरो मुखनजिक पु¥याए । मैले खान खोज्दा उनी अचानक अड्किए । उनको आँखा टेन्टको ढोकातिर पुग्यो । उनी अड्किएको देखेर पनि मेरो मनमा कसैको विचार आएन । ‘किन अड्किनु’भो ?’ भन्दै मैले उनको हात समातेर हातको गाँस मुखमा हालेर कपाकप खाएँ । उनले आफ्नो हात ताने । अचानक उनका गाला राता भए । निधारमा चिटचिट पसिना आयो ।
‘किन खुवाउनु हुन्न ?’ मेरो कुरा सुनेर उनी निःशब्द भए । केही बोलेनन् । हातमा भएको रुमालले उनी पसिना पुछ्न थाले । गाउँका चिनेका मान्छेलाई देखेर उनले यस्तो व्यवहार गरेका होलान् भन्ने विचार मेरो मनमा आयो ।
जब मैले पछाडि फर्केर हेरेँ, केही समयअगाडि बिहे भएका उनका छोरी–ज्वाइँ हाम्रो अगाडिको टेबलमा बस्न लागेका थिए । मेरो आँखा उनको छोरीको आँखासँग जुध्यो । मलाई देख्नेबित्तिकै उनकी छोरी ज्वाइँलाई जबरजस्ती तान्दै त्यो नास्ता पसलबाट बाहिरिइन् ।
उनको छोरीको आँखामा आँखा जुध्नासाथ मेरो मनमा भय पलायो । जस्तो अवस्था उनको थियो, त्यस्तै अवस्था मेरो पनि । उनकी छोरीले आमालाई सबै कुरा लगाउने होला भनेर हामी दुवैजना डरायौँ । आधा प्लेट बाँकी भएको नास्ता हामीले खायौँ । तर, के खायौँ, केही स्वाद पाएनौँ ! मनभित्र भयले राज गरिसकेको थियो । हामी नास्ता खाएर घर फर्कियौँ ।
मेलापछिको घटनाले हाम्रो भेट पातलीसकेको थियो । अब के हुने होला भन्ने त्रास मात्र पलाइरह्यो । न उनले फोन गरे न त मैले नै । तनावमा बित्यो एक साता । यद्यपि, केही भएको छैन भनेर घरमा सामान्य बन्ने प्रयास गरिरहेँ । श्रीमान्का अगाडि सामान्य बन्ने प्रयास गरिरहनु मेरा लागि एक प्रकारको बानी नै भइसकेको थियो ।
एक हप्तापछि बेलुकी जब म तरकारी बेचेर घर फर्किएँ । मेरा श्रीमान् मधुवा सैलुनबाट फर्किसकेका थिए । भान्जीको व्यवहारमा पनि परिवर्तन थियो । मलाई सधैँ खाना खान कुर्ने भान्जीले खाना खाइसकेकी थिई । उनी भने टाउकोमा हात राखेर ओसरामा बसिरहेका थिए । घर सुनसान थियो । मलाई देख्नेबित्तिकै उनले रिसाउँदै भने, ‘तँ बोक्सी, मेरो घरबाट निस्की ।’
उनको यस्तो रूप देखेर मेरो छाती बेतोडले धड्किन थाल्यो । मैले मनमनै अनुमान लगाएँ, उनको र मेरो सम्बन्धबारे कतै श्रीमान्ले थाहा त पाएनन् ? तर, कसरी ? सोध्न पनि सक्दिनथेँ सत्य कुरा । मैले तरकारी बेचेर ल्याएका रित्ता बोराहरू र तराजु ओसरामा राख्दै नजानेझैँ बोलेँ, ‘बिनासित्ति गाली गर्ने होइन है ।’
मेरो कुरा सुनेर उनले झन् आगो हुँदै भने, ‘बिनासित्ति गाली गर्छु म ? तँ अधबैँसे मान्छेको जिउ चाटेर बस्छेस् । के पुगेको थिएन तँलाई ? के कुराको कमी गरेको थिएँ मैले... हँ ? किन त्यस्तो गरिस् ?’
उनले मलाई गाली गर्दै गर्दा राति टोलभरिका छिमेकीहरू जम्मा भए । ‘जा मेरो अगाडिबाट । अहिले निस्की । सधैँ भटभटे चढेर मेला हेर्न जान्छेस् । लाज लाग्दैन । चरित्रहीन आइमाई ?’
त्यति भनिसकेपछि मैले पनि कुरोको चुरो बुझ्न खोजिनँ । सबै कुरा छर्लंग भइसकेको थियो । मैले आफू सुत्ने कोठामा छिर्दै गर्दा, मलाई केही थाहा छैन । मैले केही गरेकी छैन । मेरो दोष छैनजस्तो अभिनय गर्दै अन्जान बन्दै भनेँ, मलाई किन गाली गर्नुभएको ? कसले के भन्यो ? कोही आएको थियो यहाँ ?’
मेरो कुरा सुनेर उनले रिसाउँँदै भने, ‘तेरो पोइकी स्वास्नी आ’की थिई, तँलाई खोज्न । मेलामा मासु चिउरा खाँदै बसेकी थिइस् रे, होइन ? उसकी छोरीको बिहेमा गएर साथीको नन्दको बिहेमा जान्छु भन्दै ढाटेकी थिइस् मलाई । बोक्सी !’
उनले यति भनेपछि टोलका जम्मा भएका मान्छेहरूमध्ये टोलकै काकी सासूले भनिन्, ‘त्यो आइमाई धेरै बदमास थिई । टोलभरिका मान्छेलाई बोलाएर तेरो बारेमा के–के भनी, भनी । मेरो पोईलाई मोहनी लगाएकी छे । सबै सम्पत्ति यही आइमाईको पछाडि लुटाएका छन् । मेरो जीवन बर्बाद पारी । आफ्नी स्वास्नीलाई सम्झा, नभए त्यसलाई नांगो पारेर बेइज्जत गर्छु । के–के भनी भनी मधुवालाई ।’
काकी सासूको कुरा सुनेर बल्ल थाहा पाएँ, मेरो घर पत्ता लगाएर तिमी मलाई खोज्दै मेरो घर आएकी रहिछ्यौ । मलाई गाली र बेइज्जत गर्न !
मैले ती सबै कुरालाई सम्हाल्दै भनेँ, ‘मेरो र उसको लोग्नेबीचमा कुनै सम्बन्ध छैन । मेला हेर्न गएँ । यो सही हो । खाजा पनि खाएँ । तर, मेला हेर्न जाँदैमा कोही कसैको लोग्नेलाई कसरी मोहनी लगाउन सकिन्छ ? म अरुको लोग्नेको प्रेममा कसरी पर्न सक्छु ? म विवाहित स्वास्नीमान्छे हुँ । छ्या ! यस्तो कसरी सोच्नुभएको ? म र उसको लोग्नेको बीचमा केही छैन । उनी मेरा तरकारी किन्ने ग्राहक हुन् । ग्राहकको माध्यमले उनलाई चिन्छु । मेरै पसलबाट सधैँ तरकारी लगेकाले उनकी स्वास्नीलाई मप्रति शंका पलाएको हुनसक्छ ।’ श्रीमान्तिर हेर्दै थपेँ, ‘हजुरलाई म त्यस्तो लाग्छु ? मप्रति विश्वास छैन ? म त्यस्तो काम कसरी गर्न सक्छु ?’
स्वास्नीमान्छेको मन भगवान्ले पनि बुझ्न सकेको छैन भने उनी र छिमेकीले कसरी बुझ्न सक्थेँ मेरो मन ! मैले नारी मनको रहस्यमय, झुटो र गतिशील भावहरू थप्दै भनेँ, ‘त्यो स्वास्नीमान्छेले मेरो घर भाँड्न खोज्दै छे । म हजुरबिना एक पल बस्न सक्दिनँ । मैले त्यस्तो केही गरेकी छैन । मलाई अरूले लान्छना लाउँदैमा म डराउँदिनँ । म त्यस्तो बूढो, अधबैँसे मान्छेको पछि किन लाग्नु ? मलाई के न पुगेको छ र ? मलाई हजुरले सबै सुख दिनुभएकै छ । म धेरै खुसी छु । त्यो स्वास्नीमान्छेले मेरो घर भाँड्न खोज्दै छे ।’
मेरो कुरा सुनेर टोलका मान्छेहरू— खै के हो ? के हो ? कसको कुरा विश्वास गर्नु भन्दै मेरो घरबाट बाहिरिए । मेरो कुरा सुनेर मैले बोलेको कुरा साँच्चिकै त होइन भनेर उनी चुप लागे । तर, रिसाइरहेका थिए ।
बिनाकुनै भय, त्रास मैले कलमा गएर हात–खुट्टा धोएँ । उनका लागि र आफ्ना लागि भात पस्केँ । उनको अगाडि भातको थाल राखेँ । उनले अगाडि राखिएको थालको भात खुट्टाले बेस्सरी हुत्याएँ । भातले भरिएको थाल आँगनमा झर्यो । थाल टिङरिङ बोल्यो ।
उनको लाटो रिस मलाई थाहा थियो । यस्तो बेलामा केही बोल्नु हुँदैन । यो नै उनलाई फकाउने तरिका थियो । म केही बोलिनँ । भान्सामा बसेर एक्लै भात खाएँ । थकाइ लागेको थियो । आजको रात निद्रा नलाग्नुपर्ने हो मलाई । तर, मैले केही चिन्ता लिइनँ । निस्फिक्री सुतेँ । सुत्न जाँदा उनले भान्सा छिरेर आफैँ भात पस्केर खाए ।
रातभरि हामीबीच कुरा भएन । न उनले केही बोले न मैले केही बोलेँ । बिहान उठ्दा उनी सधैँझैँ सैलुन गइसकेका थिए । मैले मेरो प्रेमी भनाउँदो मान्छे रमाकान्तलाई फोन गरेँ । उनले फोन उठाएनन् । फेरि फोन गरेँ । उनले दोस्रोपटकमा फोन उठाउँदै भनेँ, ‘मलाई फोनसोन नगर् है अबदेखि । तेरै कारणले मेरो घरबार सबै बर्बाद भो । फोन राख् ।’
उनले यति भनिसक्दा नै म क्रोधित भएँ । उनी जति तनावमा थिए, त्यति तनावमा म पनि थिएँ । हामीले एकार्कालाई सम्झाउनुपर्ने थियो । हामी दुवैजनाले यो दुःखको खाडल सुखले खनेका थियौँ । सबै समस्याको जालो दुवै मिलेर खुसीले उनेका थियौँ । तर, मैले नै उनलाई बिगारेजस्तो ! म उनको पछि लागेजस्तो ! उनको घरबार बर्बाद भो भने मेरो चैँ के सुध्रियो त ? उनी पो मेरो पछि लागेर मरिहत्ते गरिरहेका थिए । अहिले ममाथि सबै दोष थुपारिरहेका थिए । उनको केही दोष नै नभएजस्तो !
उनकी स्वास्नीले झन् मलाई टोलभरिका मान्छेले सुन्ने गरी बदनाम गर्दै गाली गरेर गएकी थिई । जति मैले बदनाम हुनुपर्ने हो, त्यति बदनाम उनी पनि हुनुपर्ने हो । उनको इज्जत छ भने मेरो पनि इज्ज्त छ । उनको प्रतिष्ठा र परिवार हुने, मेरो प्रतिष्ठा र परिवार केही होइन !
ममाथि दोष थुपारेर तिमीले आफ्नो लोग्नेलाई निर्दोष साबित गर्न खोजेकी थियौ । म समाजको अगाडि गलत, कलंकित भएजस्तो मलाई अनुभव भयो । अब यो समाजको अगाडि मैले शिर ठाडो पारेर कसरी हिँड्ने भन्ने चिन्ताले सतायो ।
उनले भगाएको भए यो मामिला नै खतम भइसक्थ्यो । तर, यहाँ म सबैका आँखामा दोषी थिएँ । तर, उनी सबै आँखामा निर्दोष र निष्कलंक ! मेरो मनमा दनदनी आगो बलिरहेको थियो । के गर्ने ! मेरो दिमाग शून्य भइसकेको थियो । कुनै विचार आइरहेको थिएन ।
बिहान नुहाइधुवाइ गरेर भात खाएँ । सधैँझैँ शृंगार गरेर बसघरामा भएको लेडी साइकल निकालँे । सारीको मुजा अलि माथि सारेर बाँधेँ । निधार छोपिने गरी घुम्टो ओढेँ । पैसा बाँधेको रुमाल ब्लाउजमा छातितिर घुसारेँ । टोलका छिमेकीहरूले मलाई देखे भने के भन्लान् भन्नेतिर म लागिनँ । मेरा बारेमा ज–जसलाई जे सोच्नु छ सोचून् । म कसैको सोचलाई रोक्न सक्दिनँ । तर, आफू परिवर्तन भएर देखाउनु थियो । आफैँमाथि न्याय गर्नु थियो । मैले आफ्नो बारे निर्णय आफैँ लिनु छ भन्ने सोचले साइकलमा बस्दै साइकलको पाइडल हानेँ । टोलबाट निस्किने बेलामा छिमेकीहरू मतिर चिहाइहेका थिएँ । एकार्कासँग खासखुस कुरा गरिरहेका थिए । मैले उनीहरूलाई वास्ता गरिनँ ।
फोन काटेदेखि मलाई उनीदेखि रिस उठिरहेको थियो । ‘मेरो घर बर्बाद पारिस्’ भन्ने वाक्य मेरो कानमा गुन्जिरहेको थियो । म कतै नगईकन आधा घन्टा साइकल चलाएर उनको घर गएँ । उनको घरअगाडि साइकल लगाएँ । उनको आँगनको ढोका खोलेँ । मलाई कसैको डर लागेन ।
ढोका खोल्दा उनी घाममा सुतिरहेको देखेँ । स्वास्नी उनको टाउकोमा तेल घसिरहेकी थिई । मलाई देख्नेबित्तिकै उनले भने, ‘पागल आइमाई ! के गर्न आइस् यहाँ ?’
उनको कुरा सुनेर मैले भनँे, ‘मुख सम्हालेर बोल्नुस् । चरित्रहीन पुरुष ।’ उनी मेरो कुरा सुनेर चुप लागे ।
उनकी स्वास्नी जंगिई, ‘लाज नभएकी पातरनी ? मेरो लोग्नेकहाँ रात बिताउन आइस् फेरि वेश्या ?’
उसको कुरा सुन्दै मैले भनेँ, ‘मुख बन्द गर् । वेश्या तिम्रो लोग्ने हो, म होइन । म तिम्रो लोग्नेको पछि लागेको होइन । उनी मेरो पछि लागेका हुन् । तिमी कस्ती स्वास्नी हौ हँ ? धिक्कार छ तिमीलाई । आफ्नो लोग्नेलाई आफ्नो मुट्ठीमा राख्न सकिनौ । तिम्रो हातबाट फुस्किँदा दोष मेरो ? हो, मैले तिम्रो लोग्नेसँग रात होइन, दिन बिताएँ । त्यो पनि राति गर्नुपर्ने काम दिउँसै गरेँ । तिमीले मलाई मेरो गाउँमा टोलभरि बदनाम गर्यौ । आज म तिम्रो लोग्नेलाई बदनाम गर्छु ।’
मैले बेसरी बोलेको सुनेर छिमेकीहरू ‘के भयो’ भन्दै जम्मा भएँ । सबैजना मेरो कुरा सुनेर उभिरहेका थिए ।
मैले थपेँ, ‘मेरो इज्जत छ भने तिम्रो लोग्नेको पनि इज्जत छ । म बदनाम भएँ भने तिम्रो लोग्ने पनि बदनाम भएको छ । तिमीले भन्यौँ– मेरो सुख, सयल जोड्न तिम्रो लोग्नेले सम्पत्ति लुटाएको छ । मलाई लाग्थ्यो, तिम्रा लोग्ने भौतिक रूपमा धनी छन् । मानसिक रूपमा पनि धनी होलान् । तर, भौतिक र मानसिक रूपमा उनी दया लाग्दा गरिब छन् । उनले मलाई लुछे । मेरो अंग–अंग लुटेका छन् । मलाई निचोरेका छन् । तर, पैसा पनि मसँग लिएका छन् ।’
मैले उनको बैंक खातामा जम्मा गरेको एक लाख दश हजारका रसिदहरू फाल्दै भनँे, ‘यो हेर । मलाई यिनले एक लाखको सुनको बाला किनिदिएका थिए । एक लाखको मैले दश हजार ब्याज तिरेको छु । तिम्रो लोग्ने वेश्या कि म वेश्या ? वेश्याको अर्थ तिमीलाई राम्ररी थाहा छैन भने सुन, जो बाध्यतावश आफ्नो ज्यान बेच्न बाध्य हुन्छ र ग्राहकसँग उल्टै पैसा लिन्छ, त्यो मान्छे वेश्या हो । तेरो लोग्ने वेश्या हो । यति भन्नलाई मलाई कसैको डर छैन । लाज पनि छैन । मेरो जिउ लुछाएर उल्टै पैसा पनि तिरेको छु । यसको अर्थ थाहा भयो होला नि तिमीलाई म को हुँ भनेर !’
उसले लगाएको पोते र बाला देखाउँदै भनँे, ‘तिमीले लगाएको पोते र बाला मैले नै किनिदिएको हुँ मेलामा । लोग्नेले मेलाबाट ल्याइदिए भनेर खुब घमन्ड गरेकी हौली, होइन ? यस्तो छ तिम्रो लोग्नेको चरित्र । म साधारण काम गर्ने मान्छे तर तिम्रो लोग्ने निर्दोष र सिधासाधा मान्छेलाई मायाजालमा पारेर जिउ उपयोग गर्दै धन कमाउने मान्छे हो । धिक्कार छ तिमी र तिम्रो लोग्नेलाई ।’
यति भनेर म कसैको कुरा नसुनेर त्यहाँबाट निस्किएँ । मनको सबै गह्राँै पदार्थ मिल्काएजस्तो फुक्का अनुभव गरेँ । मैले यति भनेर साइकल फर्काएर पाइडल हान्दै साइकल कुदाएँ ।
जति–जति साइकलको पाइडल हान्दै थिएँ, त्यति नै मेरो मनमा तिम्रो लोग्नेप्रति हीन भाव पलाउँदै थियो । मेरो जिउ उपयोग गरे तर चरित्रहीनको आरोप मलाई नै लगाए । तिमीले मलाई जति बदनाम गरेकी थियौ, त्यति बदनाम म पनि तिम्रो लोग्नेलाई गरेर फर्किरहेकी थिएँ । मेरो मनमा कुनै भय थिएन । यसै बेला तिम्रो लोग्नेलाई कहिले नभेट्ने निर्णय मैले लिएँ । तिम्रो लोग्नेको नम्बर डिलिट हानेँ ।
लाग्यो, मेरै झुपडीमा प्रेम छ । तिम्रो महलमा पैसाको लालच छ । लालचले सधैँ प्रेमिल जोडीलाई छुटाउने काम गर्छ । महँगा भवनले प्रेम गर्न जानेको हुँदैन । भवन लालचको खाडल खनेर त्यसमा भासिन मात्र जानेको हुन्छ । महल र भवनले सधैँ प्रेमलाई छुटाएको छ । तर प्रेमिल जोडीहरूले सधैँ संसारलाई मिलाउने काम गरेका छन् । उनी मेरा लागि लालचले भरिएका प्रेमी मात्र थिए, जसलाई प्राप्तिको मोह थियो । तर, गुमाउनुको डर थियो । प्रेममा गुमाउनुको डर र प्राप्तिको मोह केही हुँदैन । मैले आफ्नै कुप्रो पर्न लागिसकेको परालको झुपडीमा प्रेम देखेँ । जो मलाई सधैँ कुरिरहेको थियो र म त्योभन्दा टाढा भागिरहेकी थिएँ ।
घर आएर सासूलाई खाना खुवाएँ । भान्जी खाना खान कुरिरहेकी थिई । उनी आएपछि तीनैजना मिलेर खाना खायौँ । उनी केही बोलेनन् । दुई दिनपछि बल्ल उनी बोले । मलाई मेरै लोग्ने राम्रो लागे । उनी मप्रति इमानदार छन् । शारीरिक आवश्यकता नै सबै थोक होइन । समय मिलेसम्म उनले मेरा आवश्यकता पूरा गर्छन् । मेरा लागि नै उनले दिनरात काम गरिरहेका छन् । कामबाट फर्केपछि मेरो हातमा सबै रुपैयाँ थमाउँछन् । कहिले हिसाब माग्दैनन् । यतिसम्म विश्वास गरेका उनीप्रति म किन अविश्वासी बनेँ ?