काठमाडौं । गणतन्त्र दिवसको पूर्वसन्ध्यामा एमालेका कारबाहीमा परेका नेता माधवकुमार नेपालले व्यवस्थामाथि खतरा उत्पन्न भएको बताएका छन् । गणतन्त्र दिवसका सन्दर्भमा शुभकामना दिँदै नेता नेपालले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता र स्वाभिमान समेतमा गम्भीर खतरा उत्पन्न भएको औँल्याएका हुन् ।
“संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दीगो शान्ति, सुशासन, विकास, समानता र सामाजिक न्यायमा आधारित समाजको विकास र रुपान्तरण गणतन्त्रको प्रमुख उद्देश्य हो,” उनले भनेका छन्, “साथै जनताद्वारा निर्वाचित जनप्रतिनिधिमूलक संस्थाहरू गणतान्त्रिक मूल्य–मान्यता बमोजिम जनभावनाको कदर गर्दै संविधान र कानुनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न लाग्नु उनीहरुको दायित्व हो । तर, त्यस विपरित जननिर्वाचित संस्था प्रतिनिधि सभालाई हठात् रुपमा गलत मनशायका साथ पटक–पटक विघटन गरिनुले कतै हाम्रो गणतन्त्रलाई समाप्त गर्ने कोसिस भैरहेको त छैन भन्ने आशंका उत्पन्न भएको छ ।”
शुभकामाना सन्देश
जेष्ठ १५, गणतन्त्र दिवसको अवसरमा स्वदेश र विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि पटक– पटक भएको ऐतिहासिक जनआन्दोलन र संघर्षमा त्याग एवम् बलिदान गर्ने सहिदहरुलाई स्मरण गर्दै उहाँहरुप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दीगो शान्ति, सुशासन, विकास, समानता र सामाजिक न्यायमा आधारित समाजको विकास र रुपान्तरण गणतन्त्रको प्रमुख उद्देश्य हो ।साथै जनताद्वारा निर्वाचित जनप्रतिनिधिमूलक संस्थाहरू गणतान्त्रिक मूल्य–मान्यता बमोजिम जनभावनाको कदर गर्दै संविधान र कानूनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न लाग्नु उनीहरुको दायित्व हो ।
तर, त्यस विपरित जननिर्वाचित संस्था प्रतिनिधि सभालाई हठात् रुपमा गलत मनशायका साथ पटक पटक विघटन गरिनुले कतै हाम्रो गणतन्त्रलाई समाप्त गर्ने कोशीस भैरहेको त छैन भन्ने आशंका उत्पन्न भएको छ। प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर गरी सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ नआउँदै फेरी पनि प्रतिनिधि सभा विघटन गरिनु त झन् स्वेच्छाचारी र प्रतिगामी कदम हो । संवैधानिक मूल्य र मान्यता विपरित चल्ने र राज्यका सबै अंगको हुर्मत लीई आफू मातहत सबै शक्ति केन्द्रित गर्ने कार्यलाई लोकतान्त्रिक मान्न सकिदैन।
गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता एवं समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तको सम्मान नगर्दासम्म गणतन्त्र सुरक्षित हुन सक्दैन । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता र स्वाभिमान समेतमा गम्भीर खतरा उत्पन्न हुँदा सशक्त आवाज उठाउनु गणतन्त्रप्रेमी र देशभक्त नागरिकको दायित्व हो । यस ऐतिहासिक दिवसले गणतन्त्रको रक्षाका लागि लोकतन्त्रप्रेमी, देशभक्त, राजनीतिक दल एवं जनसमुदायमा एकताबद्ध भएर अघि बढ्न र गणतन्त्रको रक्षाका लागि लाग्न प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएको छु ।
साथै कोरोनाका कारण मृत्युवरण गर्नुभएका सम्पूर्णप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु । कोरोनाको कारणले बिरामी हुनुभएका सम्पूर्ण जनसमुदायको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यहाँहरुको निम्ति स्वास्थ्य व्यवस्था गर्न तथा स्वास्थ्य उपचारमा विशेष ध्यान पुर्याउन सरकार लगायत सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउककछु । र, अन्तमा स्वास्थ्य सुरक्षाका सबैखाले मापदण्ड पालना गर्न सम्पूर्ण जनसमुदायमा अपील गर्दछु ।