site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मध्यरात जेठ २ मै फर्कने सहमति, मध्याह्न भताभुंग    

काठमाडौं । आइतबार संसद् भवनको ल्होत्से हल उत्तरतर्फको पटाङ्गिनीमा एमाले सांसदहरू बिलखबन्दको अवस्थामा थिए ।

कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव र डा. बाबुराम भट्टराईको हिस्सा जसरी हुन्छ केपी ओलीलाई ‘पदच्युत’ गराउन चाहन्छन् । उनीहरूको दिशा प्रष्ट हुने नै भइहाल्यो ।

कांग्रेस संसदीय दलको कार्यालयमा रिटको मस्यौदा तयार पारेर कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपाका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरू ल्होत्से हल पुगेका थिए । 

Dabur Nepal

उत्तरतर्फकै एउटा कोठामा बसेर उनीहरू रिटको मस्यौदालाई अन्तिम रूप दिन थाले । 

एमालेको असन्तुष्ट समूह निकै तनावमा देखिन्थे । काठमाडौं ८ का सांसद जीवनराम श्रेष्ठ निवर्तमान सांसदहरूको नागरिकताको प्रतिलिपि जम्मा गरिरहेका थिए । उनलाई मकवानपुरका विरोध खतिवडा र कैलालीका सांसद झपट रावलले सघाइरहेका थिए ।

अरू सांसदहरू अन्यमनस्क भावमा थिए । संसद् भवनको लबी बाहिर बसेका पाल्पाका निवर्तमान सांसद सोम पाण्डेको भावभंगिमा त्योभन्दा भिन्न थिएन ।

रिट निवेदन दर्ता गर्ने समय घर्कनै लाग्दा एमाले नेता सुरेन्द्र पाण्डे पनि आइपुगे । संसद् भवन परिसरमा एमालेका १२–१३ जना संसद् उपस्थित हुँदा हुन्, पाण्डेको आगमनले उनीहरूमा उत्साह सञ्चार गर्‍यो ।

यसकारण कि, पटकपटकको स्पष्टीकरणले एमालेका निवर्तमान सांसदहरू आजित देखिन्थे । नीराकुमार जैरू र रामकुमारी झाँक्री मैदानमै आक्रोश पोखिरहेका थिए ।

तर, संसद् भवन पुगेका पाण्डे पार्टी मिलाउने पक्षमै थिए भन्ने पुष्टि उनको प्रस्तुतिले नै गर्थ्यो । त्यहाँ उनले नेता माधवकुमार नेपाल, घनश्याम भुसालसँग छलफल पनि गरे ।

रिट तयार नभइसकेकाले हस्ताक्षर त गर्नुपरेन ।

तर, पार्टी मिलाउन प्रयत्न गरिरहेका दोस्रो पुस्ताका नेताहरूका कारण नेता नेपाल पनि ‘क्षुब्ध’ बनिसकेका रहेछन् भन्ने चाहिँ नेता नेपालको प्रस्तुतिले बताउँथ्यो । संसद् भवनबाट बाहिरिँदै गर्दा नेता नेपालले सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिएनन् । बरु अनुहारमा प्रतिच्छवित आक्रोशले धेरै कुरा बताइरहेको भान हुन्थ्यो ।

मध्यरातको त्यो सहमति..

एमालेका असन्तुष्ट पक्षका सांसदहरूलाई हस्ताक्षर गर्नेगरी रिटसँगै दस्तखत महल तयार भइरहँदा खनाल–नेपाल समूहका नेताहरू पार्टी मिलाउन नै व्यस्त रहेछन् भन्ने आइतबार मध्यरातसम्मको छलफलले पुष्टि गर्छ ।

एक नेताले दिएको जानकारीअनुसार खनाल–नेपाल समूहका १९ सांसद् विपक्षी गठबन्धनसँगै अदालत जाने भएपछि ओली समूहले दबाब महसुस गरेको थियो । र, पार्टी मिलाउने अन्तिम प्रयत्न गर्नुपर्छ भन्दै संवादतिर अग्रसर भएको थियो ।

स्रोतका अनुसार आइतबार राति ओली र नेपाल समूहका ६ जना नेताहरू दरबारमार्गस्थित याक एण्ड यति होटलमा बसेका थिए ।

छलफलमा ओली पक्षबाट कार्यदलका संयोजक रहेका सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र खनाल–नेपाल समूहबाट घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र योगेश भट्टराई सहभागी थिए ।

वार्तामा १० सदस्यीय कार्यदल सदस्य रहेका गोकर्ण विष्टलाई पनि बोलाइएको थियो । तर, विष्टलाई ज्वरो आएकाले उपस्थित हुन नसकेको स्रोत बताउँछ ।

कार्यदलकै एक सदस्यले दिएको जानकारीअनुसार छलफल मध्यरातसम्म चलेको थियो । कुराकानी हार्दिकतापूर्वक टुंगिएको थियो । पार्टीलाई जेठ २ कै अवस्थामा फर्काउने र कार्यदलमार्फत् छिट्टै टुंग्याउने अनौपचारिक समझदारी भएको थियो ।

पार्टीलाई जेठ २ मै फर्काउन ओली पक्ष तयार हुने तर एकतापूर्व एमालेबाट थपिएका ४१ जना र माओवादी केन्द्रबाट रहेका २३ जनालाई स्वीकार गर्नुपर्ने ओली पक्षको सर्त थियो । त्यसमा तयार हुने खनाल–नेपाल पक्षीय नेताहरूले बताएपछि करिब–करिब सहमति जुटेको ओली पक्षका नेता बताउँछन् ।

ओलीले फागुन २८ पछि हटाएका पदाधिकारी के हुने भन्ने पनि निर्क्योल भइसकेको ओली पक्षको जिकिर छ ।

“उहाँहरू (पाण्डे, भुसाल र भट्टराई)को कुरा अध्यक्ष ओलीले नै जेठ २ मा फर्कन्छु भनेर आश्वस्त पार्नुपर्छ । त्यति भयो भने हामी मिलाउँछौँ भन्ने थियो,” एक नेताले बाह्रखरीसँग भने, “हामीले यो कुरा बाहिर नलैजाने भनेका थियौँ । त्यहाँको छलफलबारे भीम रावलजीलाई पनि थाहा दिइएको थिएन ।”

बिहान पनि विष्णु पौडेल, भुसाल र पाण्डेबीच वार्ता

आइतबार मध्यरातिसम्मको छलफलको निरन्तरता सोमबार बिहान दिएको ओली पक्षका अर्का नेता बताउँछन् । यता सार्वजनिक लेखा समितिको हलमा खनाल–नेपाल समूहका सांसद जीवनराम श्रेष्ठ, विरोध खतिवडा, नीरादेवी जैरू नेपाली कागजमा दस्तखत गराउँदै थिए ।

उता दस बजेको आसपासमा पौडेल, भुसाल र पाण्डेबीच अर्थ मन्त्रालयमा छलफल चलेको स्रोतको बताउँछ ।

तीन नेताबीच झण्डै एक घण्टा छलफल चलेको थियो । वार्ता सकिएपछि पौडेलले नेम्वाङलाई फोन गरे । ‘उहाँहरू सकारात्मक हुनुहुन्छ, अहिले नै टुङ्ग्याउनुपर्‍यो’ भनेर नेम्वाङलाई पौडेलले ‘ब्रिफिङ’ गरेको स्रोतको भनाइ छ ।

“उहाँहरूले प्रधानमन्त्रीकै मुखबाट जेठ २ मा फर्कने कुरा सुन्न चाहन्छौँ भनेर आग्रह गर्नुभयो,” पौडेलले नेम्वाङलाई भनेको कुरा स्रोतले उद्धृत गर्दै भन्यो, “आइतबारकै समझदारीअनुरूप कार्यदलले छिटो प्रतिवेदन तयार पार्ने, मातहतका कमिटी त्यहीअनुसार व्यवस्थापन गर्ने ।”

पाण्डे र भुसालले प्रधानमन्त्रीले नै आश्वस्त पार्नुपर्छ भनेपछि नेम्वाङ र ज्ञवाली बालुवाटार गएर छलफल गरेको स्रोतको भनाइ छ ।

“बालुवाटारमा कार्यदल बोलाउने र प्रधानमन्त्री पनि बसेर सबै कुरा टुङ्ग्याउने छलफल भयो,” स्रोत भन्छ, “हामीले उहाँहरूलाई सबै कुरा मिल्न लागेकाले रिट निवेदनमा तपाईंहरू दस्तखत नगर्नुस् । माधव नेपाललगायत नेतालाई आश्वस्त पार्नुस् भनेका थियौँ ।”

स्रोतका अनुसार सुरुमा सोमबारको स्थायी कमिटी बैठक मध्याह्न सवा १२ बजेलाई तय भएको थियो । कार्यदल बोलाउनुपर्ने भएकाले त्यसलाई अपराह्न ४ बजे सारिएको ओली पक्षको भनाइ छ ।

“प्रधानमन्त्रीले साढे १२ बजे बालुवाटारमा कार्यदल बोलाउन निर्देशन दिएपछि माधव नेपालतर्फका संयोजक भएकाले भीम रावललाई खबर गरियो,” स्रोत भन्छ, “रावलले सबैसँग सल्लाह गरेर तुरुन्तै खबर गर्छु भनेर जवाफ दिए ।”

नेता नेम्वाङ, पौडेलसहितका नेता बालुवाटार जम्मा भए । प्रधानमन्त्री पनि मिटिङ सिध्याएर बैठक कक्षमा आए । तर, एक बजेसम्म पनि खनाल–नेपाल पक्षका नेताहरू बालुवाटार नआएको ओली पक्ष बताउँछ ।

रावलको त्यो फोन...

ओली समूह बालुवाटार पर्खिइरहँदा माधवकुमार नेपाल लेखा समितिको हलबाट ओर्लिएर तीन दलको बैठकमा सहभागी हुन कांग्रेस संसदीय दलको कार्यालयतर्फ हिँडे ।

त्यतिञ्जेल भुसाल र पाण्डे लेखा समितिको हलमा आएका थिएनन् । भुसाल केही बेरपछि प्रविष्ट भए । पाण्डे अदालतमै आउने जवाफ दिएको भनेर विरोध खतिवडा सञ्चारकर्मीलाई बताउँदै थिए ।

त्यसको केही समयपछि पाण्डे पनि त्यहीँ आइपुगे । त्यतिञ्जेल एमालेतर्फ २३ जनाको हस्ताक्षर जम्मा भएको थियो । सांसदहरू चाहिँ लाखापाखा लागिसकेका थिए । 

कांग्रेस संसदीय दलको कार्यालयमा रिटको अन्तिम रुजु भइरहँदा लेखा समितिको हल पश्चिमतर्फको कोठामा भुसाल र पाण्डे छलफलमा जुटे ।

एक बजेको आसपासमा रावलले लेखा समितिकै हलबाट ‘रिट निवेदन त टुंगिइसकेछ, सहीसही गर्ने काम भइसकेको रहेछ’ भनेर जवाफ दिएको स्रोतको भनाइ छ ।

“यसैले भत्काउने काम कसले गर्‍यो स्वतः प्रष्ट छ,” ओलीपक्षका एक नेता भन्छन्, “रावलले रिट निवेदन अगाडि बढे पनि केही फरक पर्दैन । यो अदालतको प्रक्रियामा जान्छ, हामी छलफल अगाडि बढाउँला नि भनेर खबर पठाउनुको आशय के हो ?”

तस्बिर ः अक्षर काका 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८  १३:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro