काठमाडौं । पछिल्लो केही दिनयता कोभिड–१९ संक्रमितको उपचारमा प्रयोग हुँदै आएका विभिन्न प्रकारका औषधिहरु बजारमा अभाव भएको खबर आउन थालेका छन् । विशेषगरी संक्रमितको संख्या उच्च रहेका स्थानहरुमा सामान्यदेखि जटिल औषधिहरु समेत अपर्याप्त भएको जानकारी आधिकारिक निकायहरुले नै दिन थालेका छन् ।
कोरोनाकाल र औषधि प्रयोगको अवस्था
नेपालमा जेठ ४ गते मंलबारसम्म सक्रिय संक्रमितको संख्या एक लाख १४ हजार ५२९ रहेको छ । जसमध्ये अस्पताल तथा विभिन्न आइसोलेसन सेन्टरमा उपचाररत संक्रमितको संख्या नौ हजार ४२७ छ । अर्थात् एक लाख सात हजार ८२ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । होम आइसोलेसनमा रहेका संक्रमितलाई सामान्यतः प्यारासिटामोल र संक्रमितको अवस्था हेरेर भिटामिन तथा जिंक चक्कीलगायत औषधि प्रयोग गर्ने गरिएको छ ।
अस्पतालमा उपचार गराइरहेका संक्रमितका लागि भने रेम्डिसिभिरसँगै स्टेरोइड प्रकारका गरी तीनवटा औषधि सामान्यतः प्रयोग गर्ने गरिएको सिभिल सर्भिस अस्पतालका कोभिड कन्सल्टेन्ट डा. प्रदीप ढकालले बताए ।
कोभिड संक्रमितको उपचारमा प्रयोग हुने ४५ प्रतिशत औषधि नेपालमै उत्पादन हुने गरेको नेपाल औषधि उत्पादक संघको दाबी छ । औषधि उत्पादनभन्दा दोब्बर बढी माग हुन थालेपछि अपर्याप्त हुने अवस्था आएको संघले जनाएको छ ।
क्षमता कति ?
नेपालमा अहिले २१ वटा कम्पनीले औषधि उत्पादनको काम गरिरहेका छन् । पछिल्लो साता मात्रै बजार मागलाई ध्यानमा राख्दै ४० लाख ट्याब्लेट प्यारासिटामोल उत्पादन गरिएको नेपाल औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीले बताए । कोभिड संक्रमितका लागि प्रयोग हुने विभिन्न औषधि अन्य समयभन्दा ८ प्रतिशतले उत्पादन बढाइएको उनले जानकारी दिए ।
“बढ्दो कोभिड संक्रमितको संख्यालाई मध्यनजर गर्दै हामीले प्यारासिटामोल र सामान्य भिटामिनदेखि स्टेरोइड प्रकारका सबै औषधिको उत्पादन बढाएका छौँ । यही दरमा माग भए पनि हामीसँग यी औषधिका दुई महिना पुग्ने कच्चापदार्थ सञ्चित छ, त्यसैले आतिनुपर्ने अवस्था छैन,” अधिकारीले भने ।
‘औषधि अभाव होइन, ढुवानीमा समस्या’
गएको वैशाख ३० गते नेपाल औषधि व्यवसायी संघ, झापाले जिल्लाका औषधि पसलहरुमा केही जीवनरक्षक र अत्यावश्यक औषधिहरु पर्याप्त नभएको भन्दै प्रदेश नम्बर–१ को औषधि व्यवस्था विभागलाई पत्र पठायो । संघको पत्रमा प्यारासिटामोल, भिटामिन ‘सी’लगायत २२ प्रकारका औषधि अपुग हुँदै गएकाले आपूर्ति सहज गराउन अनुरोध गरिएको छ ।
औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष मिर्गेन्द्रमेहर श्रेष्ठका अनुसार पछिल्लो समय कोभिड संक्रमित बढी देखिएका झापा, बाँकेलगायत जिल्लाहरुबाट औषधि अपर्याप्त भएको भन्दै गुनासो आउन थालेको छ । यसरी बजारमा अपुग भएका औषधिमा कोभिड संक्रमितका लागि प्रयोग हुने मात्र नभइ मिर्गौलाका बिरामीको उपचारमा प्रयोग हुने र जीवनरक्षक इनजेक्सनहरु पनि रहेको श्रेष्ठले बताए ।
पछिल्लो समय यस्ता औषधिहरुको औसतभन्दा दोब्बर बढी माग आएकोले अहिलेको वितरण प्रणालीले नधानेको उनको भनाइ छ । “औषधि उत्पादन र आपूर्तिमा समस्या छैन । तर, मुलुक असहज परिस्थितिबाट गुज्रिरहेका बेला सम्बन्धित निकायहरुबीच समन्वयको खाँचो छ । यतिखेर औषधि उत्पादक र व्यवसायीलाई सरकारले सहयोग गर्नुपर्ने र ढुवानी सहज बनाउन समन्वय गर्नुपर्ने हाम्रो अपेक्षा छ । सबैले सहयोग गरेमा हामी मुलुकभर औषधि अभाव हुन दिँदैनौँ,” श्रेष्ठले भने ।
औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारी पनि निषेधाज्ञाका कारण औषधि ढुवानीमा समस्या भएको तर्क गर्छन् । आफूहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र औषधि व्यवस्था विभागका अधिकारीसँग निरन्तर छलफलमा रहेको भन्दै उनले यातायात र ढुवानी प्रक्रिया सहज भए तत्काल बजारमा औषधि अभाव नहुने दाबी गरे ।
‘घरमा अनावश्यक औषधि सञ्चय नगरौँ’
समुदायमा कोभिड संक्रमणको जोखिम बढेसँगै घरमा औषधि सञ्चित गर्ने क्रम बढेको व्यवसायीहरु बताउँछन् । यसरी अनावश्यक रुपमा औषधि सञ्चय गर्नाले पनि बजारमा औषधिको अभाव हुन पुगेको विज्ञहरुको ठहर छ ।
स्वास्थ्य मन्त्रालयले बजारमा हल्ला भएजस्तो औषधि अभाव नहुने भन्दै अनावश्यक रुपमा औषधि नराख्न पटक–पटक आग्रह गर्दै आएको छ । मन्त्रालयको मंगलबार बसेको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक र स्टेरोइड बिक्री गर्न नपाइने व्यवस्था लागु गर्ने निर्णयसमेत गरेको छ ।
कोभिड संक्रमणका लागि औषधि पसलबाट सोझै गएर अनावश्यक रुपमा एन्टिबायोटिक र स्टेरोइड किनेर खाने गरिएकाले जनस्वास्थ्यमा समेत समस्या उत्पन्न हुन सक्ने भन्दै चिकित्सकको प्रेस्किप्सनबिना किन्न र बेच्न नपाइने निर्णय गरिएको हो । मन्त्रालयको यो निर्णयले औषधि अभाव हुन नदिन महत्वपूर्ण भूमिका खेल्ने औषधि व्यवसायीहरुको अपेक्षा छ ।