काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले हाल पार्टीको केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको बताएका छन् । त्यस्तो जानकारी समेत आफूलाई नभएको उनले जनाएका छन् ।
शनिबार एक विज्ञप्ति जारी गर्दै उनले जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आज दिउँसो १ बजेदेखि पार्टी कार्यालयमा जारी भन्ने खबरप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका हुन् ।
“जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आजै दिनको १ः०० बजेबाट पार्टी कार्यालयमा जारी रहेको भनि विभिन्न सञ्चारमाध्यम एवं सामाजिक सञ्जालबाट सूचना एवं समाचारहरु सम्प्रेषित भइरहेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा भनिएको छ, “जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको र त्यस्तो जानकारी समेत हामीलाई नभएको व्यहोरा सम्बन्धित सबैलाई स्पष्ट गरिन्छ ।”
पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले एकलौटी बैठक आह्वान गरेको खबरपछि उनको यस्तो विज्ञप्ति आएको हो ।