site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
राधा दिदीको अन्तर्वार्ता 
Sarbottam CementSarbottam Cement

परशु प्रधान


म एकजना प्रेस फोटोग्राफर हुँ । जुनसुकै सभा, सम्मेलन, जुलुस, समारोह आदिको फोटो खिच्नु र पत्रिकामा दिनु मेरो काम हो । मलाई आफ्नो कामप्रति रुचि र उत्साह छ । काम सुरु गरेको दुई वर्ष पनि पुगेको छैन । मेरो परिचय यही हो, प्रेस फोटोग्राफर । नाम हो शेखर श्रेष्ठ । श्रेष्ठ भन्नासाथ काठमाडौं उपत्यकाको सम्झनुहोला । म काठमाडौं उपत्यकाभन्दा धेरै पश्चिम डोटीको श्रेष्ठ हुँ, अझ सिलगढीको ।

सिलगढी कहाँ पर्छ ? कतिलाई थाहा नहुन सक्छ । धेरैजसोले पश्चिम बंगालको सिलिगुडी सम्झन सक्छन् । तर, सुदूरपश्चिमको सिलगढी हाम्रै डोटी जिल्लाको सदरमुकाम हो र त्यहाँ धेरैजसो नेवारहरू बस्छन् भन्ने कसैलाई थाहा नहुन सक्छ । त्यहाँ यौटा सानु ललितपुर छ, यौटा सानु भक्तपुर छ र यौटा सानु कान्तिपुर छ । काठमाडौं उपत्यकाको यौटा सानु संस्कृति, यौटा सानु कला, यौटा सानु मन्दिर भएको त्यो ठाउँमा म जन्मेको थिएँ । धेरै साथीहरू काठमाडौं आइ नोकरी गर्छन्, पढ्छन् र मौका परे विदेश जान्छन् । म पनि काठमाडौं आएको छु र सानोतिनो फोटोको काममा अल्झेको छु । अझ क्याम्पस पनि भर्ना भएको छु । अब त मलाई चिन्नुभयो ?

Prabhu Bank
Agni Group
NIC Asia

तर, प्रसंग मेरो होइन, यौटा सामान्य प्रेस फोटोग्राफरको होइन । प्रसंग हो यौटी अधबैँसे महिलाको । ती महिलालाई म व्यक्तिगत रूपमा चिन्दिनँ । तर, काठमाडौं बन्द वा नेपाल बन्दका दिनहरूमा मैले खिचेको सबै फोटोहरूमा ती सभ्रान्त देखिने महिला एकदमै अगाडि छिन् । जुलुसलाई नेतृत्व दिइरहेकी छिन् । सारा तोडफोडमा अग्रिम छिन् । यही नै हो, ती महिलाप्रति मेरो आकर्षणको विषय ।

मैले फोटो खिच्न लाग्दा ती महिला आफ्नो तोडफोडबाट भाग्ने वा अलग्गिने स्थिति मैले कहिल्यै देखिनँ । जुलुस र हुलदंगाहरूमा मानिसहरू त्यसै पनि हडबडाउँछन्, डराउँछन् र भाग्नै बल गर्छन् । तर, जब प्रहरीहरूले लाठीचार्ज गर्न थाल्छन्, ती महिला भने लाठी खान झन् अगाडि बढ्छिन् । पुलिसले कुटोस् भनेर सडकका रेलिङहरू झन् उखेल्न लाग्छिन् । यौटी महिलामा यस्तो साहस र निर्भयता हुनसक्छ ! यौटी नेपाली महिलाले जुलुसको नेतृत्व कत्ति क्षमताका साथ गर्न सक्छिन्, म घर पुगेर फोटोहरू धुन लाग्दा यस्तै केही सोच्छु । भिडन्तको प्रत्येक फोटोमा ती महिला अग्रपंक्तिमा छिन्, कहिले मुड्की कसेर हात उठाइरहेकी, कहिले पुलिसलाई आफूले बोकेको झन्डाले पिटिरहेकी, कहिले जोडतोडले आकाशै थर्काउने गरी नारा लगाइरहेकी । गोलो अनुहारमा कम मेकअप र साधारण सभ्रान्त लाग्ने ती महिला सधैँ मेरो आकर्षण र खोजको विषय बनेकी छिन् ।

Global Ime bank

ती महिलासँग मेरो आकर्षण बढ्न लागेको छ भने काठमाडौं सहरसँग विकर्षण । किन यो सहर यत्ति चिसो र संवेदनहीन भएर गइरहेको छ ? किन यो सहर मानवीय सन्त्रासको छायामुनि उभिइरहेको छ ? एक हुल मान्छेहरू सडकमा कतैबाट आउँछन् र हराउँछन् । अर्को हुल मान्छेहरू सडकमा आउँछन् र आफ्ना नांगा खुट्टाहरू देखाएर भिडमा कतै हराउँछन् ।

गाउँ र पहाडबाट बम्बै र कलकत्ता जान नभ्याएका माइली र कान्छीहरू किन रत्नपार्क रुङ्छन् ? किन रत्नपार्क सानु यौटा गल्ली वा चौबाटोजस्तो लाग्छ बिहारको ? किन पहाडहरू खाली हुँदै छन् ? म आफैसित यो प्रश्न गर्छु । तर, मेरा जवाफ पत्रिकाहरूमा पाउँदिनँ, न मन्त्रीका भाषणहरूमा पाउँछु । २०३६ सालदेखि यस्तै अर्थहीन भाषणहरू सुन्दा–सुन्दा र आजभोलि टीभी हेर्दाहेर्दा आफू थकित भएको अनुभव गर्छु ।

मेरो कथन रातो चियाको गिलासमा ब्युँझन्छ र ठर्राको गिलासमा गएर अस्ताउँछ । सहरको गल्लीभित्रको कुनै थोत्रो लड्न लागेको घरको कुनै अँध्यारो कोठामा बसेर फोटो धुँदाधुँदा आफैलाई शंका लाग्छ । कहीँ कतै कुनै बेला म ढल्छु कि ? कुनै बेला सधैँसधैँका लागि निदाउँछु कि ? हुनसक्छ, यी मेरा भ्रमहरू हुन् । तर, यी भ्रमहरूबीच बाँच्नु पनि रमाइलो हुँदोरहेछ ।

तर, मलाई पछ्याउने त तीनै सभ्रान्त महिलाका आँखाहरू हुन् । तिनको अगाध आस्था र विश्वासहरू हुन् । यौटा पत्रिकाको रिपोर्टर र म एक साँझ तिनलाई भेट्छौँ, डिल्लीबजारको यौटा गल्लीमा, जहाँ तिनको सानु तर भव्य डेरा छ । कोठामा मलाई मनपर्ने कुरा पूर्ण सरसफाइ र सर–सामानको व्यवस्थित राखनधरन थियो । ब्ल्याक एन्ड ह्वाइट यौटा टीभी थियो, सानु फ्रिज थियो । अझ कोठाको एक कुनामा खाना पकाउने ग्यास चुल्हो पनि थियो ।

हामी पुग्नासाथ फोनको घण्टी बज्यो । तिनले कोही नेतासँग केही बेर कुरा गरिन् । हामी बस्यौँ र आफ्नो आउनुको उद्देश्य बतायौँ । कुनै पत्रकारलाई दिएको यो उनको पहिलो अन्तर्वार्ता थियो । उनी केही नर्भसजस्ती भइन् । वातावरणलाई सहज बनाउन मेरो साथीले सामान्य प्रश्न गर्यो, “यहाँको शुभ नाम र जन्ममिति ?”
“मेरो नाम राधा हो । म सात सालको क्रान्तिछेउछाउ जन्मेकी हुँ ।” 
“पचास पुग्नुभएको रहेनछ ?”
“केही वर्ष बाँकी छ ।”
“राधाको पछाडि के नि...,” मैले सोधेँ ।
“राधाको अगाडि र पछाडि केही छैन । म खालि राधा मात्र हुँ । अन्तर्वार्तामा त्यसको केही आवश्यक छ कि ?,” राधा अलिकति मुस्काइन् । त्यस मुस्कानलाई हामीले आत्मसात् गर्‍यौँ ।

वातावरण केही क्षण गम्भीर भयो । बाहिर साँझ पर्न लागेको थियो । यही मौकामा स्टोभ बालेर उनले चिया बनाइन् । हामीलाई सोधिन्, “चिनी कति खाने र रङ नरम कि कडा ?”

मैले र साथी सरोजले एकैपटकजस्तो जवाफ दियौँ, “चिनी दुई चम्ची र रङ पनि कडा ।” चिया खाँदै कुरा गर्न रमाइलो लाग्यो । अघि हामीबाट सुरु भएको प्रश्नको अन्त्य भएको थिएन ।
“त्यसो भए यहाँको श्रीमान् र छोराछोरी छैनन् ?”
“कुनै बेला थिए । तर, अहिले छैनन् ।”
“त्यसो भए लोग्नेसँग पारपाचुके लिनुभएको ?” यो राधाका लागि सायद कठिन प्रश्न थियो । उनको ओठमा हाँसोको सट्टामा झुसेल्किराझैँ देखियो । उनी गम्भीर भइन्, “तपाईंहरू मेरो व्यक्तिगत कुरा सोध्न आउनुभएको ?”
“त्यसकै लागि त होइन । तर, भन्नुहुँदा के बिग्रेला ?,” मैले भनेँ ।
अब भूमिकाहीन राधा भन्न लागिन् र मेरो पत्रकार साथीले धमाधम टिप्न थाल्यो ।

“म यौटा गाउँबाट आएकी महिला हुँ, यौटा पहाडी गाउँबाट । पहाडमा स्कुलहरू कहाँ पाउनु पढ्नलाई । त्यसमा पनि छोरीलाई कसले पढ्न दिने ? रामायणका श्लोकहरू हजुरआमाले सुनाउनुहुन्थ्यो । त्यसकै माध्यमबाट नाम र स–सानो चिठी लेख्नसम्म जानियो । बा–आमा र हजुरआमाले बिहे गरिदिए १०/१२ वर्षको अन्जान उमेरमा । बिहे भनेको के हो ? लोग्नेलाई के गर्नुपर्छ ? के थाहा । फेरि, म मुखियाकी छोरी, गाउँघरमा परिवारको इज्जत, बिहे पनि धुमधामसँग हुने नै भयो । २०/२२ वर्षको उमेर हुँदासम्म चारवटा केटाकेटीको आमा भइसक्दा पो थाहा भयो, मेरो जवानी गइसकेको रहेछ । म बूढी भइसकेकी रहिछु । तपाईंलाई मेरो कथा यौटा फिल्मजस्तो लाग्न सक्छ । तर, कुनै फिल्मभन्दा कम छैन मेरो कथा...,” राधाले भनिन् । राधाको कथाको तीव्रता यसरी अगाडि बढ्यो ।

“एक रात मेरा पति हराए । गाउँघरमा बुझ्दा त पल्लो गाउँकी केटीलाई लिएर तराई पस्नुभएछ । सासू–ससुराले भने, ‘पीर नगर् । चार–चारवटा छोराछोरी छन्, तिनको मुख हेरेर तैँले चित्त बुझाउनुपर्छ । फेरि हामी मरेका पनि छैनौँ ।’ मेरा लागि बिहे गर्नुजत्तिकै सहज भयो, लोग्नेले अर्को केटी लिएर भाग्नु पनि । किनभने, लोग्नेसँग माया वा प्रेम भन्ने कुरा मलाई कहिल्यै थाहा भएन । म उनको रातिको साथी मात्र थिएँ । दिनभरि कहाँ जान्थे र के गर्थे मलाई के थाहा ? एक किसिमले चित्त बुझाएँ आफूलाई, बाध्यता र विवशताबाट मुक्ति पाएकोमा ।

छोराछोरी पढाउनुपर्यो, गाउँघरमा राम्रो स्कुल थिएन । लोग्नेको पलायनपछि गाउँघर मलाई भारी लाग्न थाल्यो । गाउँको प्रत्येक आँखाले मलाई नै दोषी ठहर्याएको अनुभूति भयो । मानौँ, म अपराधी हुँ । मेरो दोष र खराबीका कारणले लोग्ने अर्की केटी लिएर भागेका हुन् । अनि, त्यो गाउँ छोडेर म तराईको कुनै सहरमा आएँ । तराईको यही सहर भनेर नाम दिन पनि आवश्यक छ जस्तो लाग्दैन । तपाईंहरूलाई थाहा नै छ कि तराईको सहर कस्तो हुन्छ । अलिकति गर्मी, अलिकति मच्छड, अलिकति दुधियाले धोएको सहर न हो तराई ।

तराई आएर केही बिघा जग्गा लिएँ । सानु घडेरी किनेँ र व्यापार पनि गर्न लागेँ । छोराछोरी सहरकै यौटा साधारण स्कुलमा पढ्न थाले । भागेर जाने लोग्नेसँग भेटघाट भयो । उनी पसलमा आउने–जाने र छोराछोरीसँग मायाप्रीति बाँड्न लागे । उनले सबै कुरा यति सहज रूपमा लिए कि मानौँ केही भएको थिएन, न केही भएको छ । मभित्र भने आगो बल्थ्यो ।”

“यौटा लामो कथा नै रहेछ,” मैले पत्रकारिताको भाषामा राधा दिदीलाई सोधेँ ।
“किन ? तपार्इंलाई हतार छ कि ? मेरो खास तपाईंहरूले जान्न चाहनुभएको कुरा त बाँकी नै छ,” राधा दिदी सिरियस हुनुभयो ।

“एक दिन आफ्नो भाग्ने लोग्नेलाई मैले सोधेँ, ‘तपाईं  किन भाग्नुभएको ? मलाई सोध्नुभएको भए म आफैँ टिकाटाला गरी धुमधामसँग सौता भित्र्याइदिन्थे नि । आखिर मलाई के चाहिएको थियो र ?’ उनी गम्भीर भए । केही बोलेनन् । उनीसँग जवाफ दिने कुरा पनि केही थिएन । तर, उनी पसलमा आउन छाडेनन् । छोराहरूलाई धम्क्याएर सय–पचास रूपियाँ लिएर पनि जान लागे । हुँदाहुँदै उनले मलाई त्यही पुरानो र घिनलाग्दो सम्बन्ध जोड्न चाहे, जो मलाई स्वीकार्य थिएन र जसलाई म सदाका लागि भुल्न चाहन्थेँ ।

छोराहरू बढिसकेका थिए । छोरीहरू पनि जिम्मा लगाएँ । तर, छोराहरूमा पढ्नुसँगै रक्सी खाने बानी पनि बढ्न लाग्यो । हुँदाहुँदा बाउ–छोराहरू नै भट्टीमा बसेर स्वतन्त्रसँग रक्सी पिउन लागे । रक्सी मात्र होइन, लागुपदार्थ पनि खान थाले । तराईको त्यस सहरमा एकपटक फेरि म निस्सासिएँ, ढुन्मुनिएँ र बाँच्नुको अर्थ खोज्न लागेँ । तर, बाटो केही थिएन, चारैतिर अन्धकार थियो । बाक्लो कुहिरो र अन्धकार । एक दिन ढोका बन्द गरेर धेरै रोएँ, मनभरि रोएँ । तर, मेरो आँसुको अर्थ रहेन । छोराछोरीहरूलाई जत्ति सम्झाए पनि केही लागेन । पतनको खाल्डोमा ती यसरी जाकिइसकेका थिए कि त्यहाँबाट बाहिर आउने कुनै संकेत थिएन । मैले धेरै प्रयत्न गरेँ, हात जोडेँ, कराएँ र रोएँ । तर, ती ढुंगा भइसकेका थिए । मेरो रूनुको त्यहाँ कुनै अर्थ थिएन । चारैतिरबाट विश्वास हराएपछि, अन्धकारभित्र पसेपछि यौटा कठोर निर्णय लिनु मलाई पनि आवश्यक थियो । अर्थात्, कि मैले मर्नुपर्ने भयो कि मार्नुपर्ने भयो । मेरो अवस्थामा भए तपाईंहरू के गर्नुहुन्थ्यो ?”

राधा दिदीले हामीसित उल्टो प्रश्न गर्नुभयो । जसको जवाफका लागि हामी बिल्कुल तयार थिएनौँ ।

“अनि, भन्नुहोस् तपाईंको नै सबै कुरा सुनी सकौँ,” राधा दिदीको अनुहार हेरेँ । विशेषतः उहाँको आँखा हेरेँ । ती आँखाहरू रसाएका थिए । उहाँको पीडालाई मैले बुझेँ । रात परिसकेको थियो । हामी दुवैले भोकको पनि अनुभव गर्न लागेका थियौँ । राधा दिदीले फेरि अर्को एक एक कप चिया बनाउनुभयो, फिक्का, दूधबिनाको । हामी पत्रकार, कुनै पत्रिकामा स्टोरी दिन आएको । यहाँ त लघुउपन्यास नै सुन्नुपर्ने भयो ।

“राधा दिदीको यौटा फोटो पनि चाहियो,” साथीले माग गर्‍यो । हामी दुवैलाई डेरा पुग्न पनि हतार थियो । फेरि त्यही चिसो भात, नुनबिनाको रायोको साग र गोलभेडाको फ्यात्फ्याते अचारको सम्झना आयो । भोक लागेको बेलामा त्यही पनि कति मिठो र स्वादिलो हुने ।

“बाँकी तपाईंले राजनीतिमा आउने निर्णय गर्नुभयो होला । अन्तर्वार्ता समाप्त भयो,” साथीले वास्तवमा नै प्रसंग छोट्ट्याउन चाह्यो । तर, राधा दिदीले भनिन्, “अब एकैछिन बस्नोस् । मेरो कुराकानी अथवा रामकहानी अब सिद्धिन लाग्यो । तपाईं  पत्रकारहरूले जस्तो म धेरै कुराकानी गर्न पनि जान्दिनँ । अघि भनेँ कि मैले यौटा निर्णय लिनु थियो । यौटा सत्यका निमित्त लड्नु थियो । धेरैपटक आत्महत्या गर्ने प्रयास गरेँ । चियामा विष हालेर पिउने विचार गरेँ । अथवा, सिलिङ फ्यानमा झुन्डिएर एक मुठी सास फ्याकिदिऊँ कि भन्ने निश्चय गरेँ । तर, सधैँ कार्यरूप दिन गाह्रो भयो । खै के ले हो के ले आएर रोक्न लाग्यो । एक दिन नदीमा डुबेर मरूँ भनेर नदीको छेउसम्म पनि पुगेँ । तर, नदीमा झ्वाम्म हामफाली हाल्ने आँट आएन । भनिहालेँ कुनै अदृश्य शक्तिले रोक्यो । सायद, मेरो दिन आइसकेको थिएन । सात–सात दिन ढोका थुनेर भोकै बसी प्राण त्याग्ने संकल्प लिएँ । तर, त्यो संकल्प पनि पूरा भएन । मलाई बाँच्नु लेखेको रहेछ ।

२०४६ सालको जनक्रान्ति सुरु भइसकेको थियो । ठाउँठाउँमा जुलुस, नारा र झन्डाले मलाई पनि बोलाएजस्तै लाग्यो । एक्कासि मैले आफूलाई परिवर्तन आएको अनुभव गरेँ । त्यो परिवर्तन अर्थात् यौटा निर्णय लिएँ, जुलुसमा भाग लिने । सडकमा पर्खाल र डन्डीहरू भत्काउने । मभित्रको विद्रोह र प्रतिशोधको भावनालाई मैले नारा र जुलुुसमा गएर अनुवाद गर्ने संकल्प गरेँ । आखिर मैले मर्नु त छँदै छ, जिन्दगीलाई समाप्त पार्नु त छँदै छ भने किन पुलिसको गोलीले नमरूँ ? किन पुलिसको लाठीले रक्ताम्य भएर सडकमा नपछारिऊँ ? हो, त्यही संकल्प र इच्छाशक्तिको प्रतिरूप हो, जुलुसमा भाग लिने, अझ मुठभेडका साथ भाग लिने र सहिदमा नाम लेखाएर मर्ने । मर्नै छ त नाम न गाउँबिनाको कुकुर्नी भएर किन मर्ने ? क्रान्तिको इतिहासमा यौटा नाम राधाको पनि राखेर मर्ने । मेरो निर्णयको प्रतिरूप हो, तपाईंले खिच्नुभएका यी सारा फोटोहरू ।”

अब मैले साथी सरोजलाई हेरेँ । ऊ गम्भीर थियो र म पनि त्यतिकै गम्भीर भएँ । हाम्रो गम्भीरतालाई राधा दिदीले अझ गम्भीर बनाइदिनुभयो, “तपाईंहरू मलाई पार्टीको मान्छे भन्नुहोला । म कुनै पार्टी–सार्टीको मान्छे होइन । म राजनीति जान्दिनँ, न मलाई राजनीति गर्न आउँछ । मलाई कुनै बकम्फुसे पार्टीसँग पनि विश्वास छैन । तर, म यसकारण जुलुसमा भाग लिएर मर्न चाहन्छु कि मेरो लोग्ने र छोराहरूले थाहा पाऊन् कि ममा पनि लड्ने र भिड्ने शक्ति रहेछ, जीवन्तता रहेछ, बल रहेछ । म जुलुसमा भाग लिन जाँदा मेरा लोग्ने र छोराहरूको अनुहार मेरा अगाडि आउँछन् । तिनले जिन्दगीमा गरेको विद्रोह म सम्झन्छु । तर, तिनको विद्रोहभन्दा मेरो विद्रोह फरक र प्रभावशाली छ भन्ने कुरा म तिनलाई र यो समाजलाई देखाउन चाहन्छु । र, मलाई एक किसिमको प्रेरणा र उत्साह आउँछ । मन फलामजस्तै दह्रो र साह्रो हुन्छ । ठान्नोस् कि म सबैलाई भुलेर यौटी बौलाहीजस्तो भएर ती फलामका बारहरू भत्काइरहेकी हुन्छु, पर्खालका इँटाहरू उप्काइरहेकी हुन्छु । जोडतोडले नारा लगाइरहेकी हुन्छु । तपाईंहरू यस राधा दिदीलाई जे ठान्नोस् । कुनै पार्टीको बिल्ला भिराइदिनोस् वा नदिनोस्, मलाई संघर्ष मनपर्छ । संघर्ष र मुठभेड प्रिय लाग्छ । म त्यसैको लागि बाँचिरहेछु । तर, अफसोस अहिलेसम्म मरेर सहिद हुन पाइएको छैन । यही हो मेरो अन्तर्वार्ता । अब थाहा पाउनुभयो कि म कुन पार्टीकी नेत्री रहेछु ?”

बाहिरको गाढा रातजस्तै बाक्लो र गम्भीर वातावरण छाडेर हामी राधा दिदीको डेराबाट निस्कँदा रातको दश बजिसकेको थियो ।

(वरिष्ठ कथाकार परशु प्रधानको कथासंग्रह ‘उत्तराद्र्ध’का सम्पूर्ण कथाहरू धारावाहिक रूपमा हरेक शनिबार प्रकाशित गर्दै जानेछौँ ।)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १, २०७८  ०६:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC