नयाँदिल्ली । भारतका चिकित्सकहरुले यति बेला कोभिड–१९ लाई भगाउन गाईको गोबर लगाइरहेका मानिसलाई यसको प्रभावकारितासम्बन्धी कुनै प्रमाण नभएको भन्दै चेतावनी दिएका छन् । त्यसबाट अन्य रोग फैलन सक्ने जोखिम रहेको उनीहरुले बताएका छन् ।
कोरोनाको दोस्रो लहरले भारतमा अहिले ठूलो संकट निम्त्याएको छ । हालसम्म त्यहाँ दुई लाख ४६ हजार बढीको कोभिड–१९ का कारण मृत्यु भएको रिपोर्ट छ । विज्ञहरुले मृत्युको तथ्यांक त्योभन्दा पाँच गुणा बढी हुन सक्ने बताइरहेका छन् । नागरिक अक्सिजन, औषधि र बेडको अभावमा छटपटाइरहेको अवस्था छ ।
यसबीच गुजरात प्रदेशमा केही मानिस हप्ताको एकपटक गाईको गोठमा गइ आफ्नो पूरै शरीरमा गोबरको लेप र गोमूत्र लगाइरहेका छन् । यसले इम्युनिटी बढाउने र कोरोना निको पार्न मद्दत गर्ने उनीहरुको विश्वास छ । हिन्दु धर्ममा गाईलाई भगवान्समान मानिन्छ र धेरै शताब्दी अगाडिदेखि नै गोबरलाई घर सफा गर्न, लिप्न, पूजाआजालगायतमा प्रयोग गरिन्छ भने यसका अन्य एन्टिसेप्टिक गुण पनि भएको मान्यता रहेको छ ।
त्यहाँका मानिस आफ्नो जिउभरि गोबर र गोमूत्र लगाइ त्यसलाई सुकाएर बस्ने गर्छन् । यस्तै, गाईलाई सम्मान या अंकमाल गरी गोठमै बसेर ऊर्जा बढाउन भन्दै ध्यान, योगा आदि गर्ने गर्छन् । त्यसपछि उनीहरुले आफ्नो शरीर दूधले पखाल्ने गरेका छन् ।
गत वर्ष कोभिड–१९ बाट आफू यसैगरी ठिक भएको दाबी गर्ने एक फार्माटिकल कम्पनीका एसोसिएट म्यानेजर गौतम मनिलाल भन्छन्, “हामीले देखेका छौँ कि डाक्टरहरु पनि यसो गर्न आउँछन् । उनीहरुका अनुसार यो थेरापीले प्रतिरोधात्मक क्षमतामा सुधार ल्याउँछ, त्यसपछि उनीहरु बिरामीको उपचार गर्न नडराइ जान सक्नेछन् ।”
उनी नियमित श्री स्वामीनारायण गुरुकुल विश्वविद्या प्रतिष्ठान गइ यो उपाय अपनाउने गर्छन् । यो विद्यालय हिन्दु भिक्षुहरुले सञ्चालन गर्छन्, जसको ठिकविपरीत आफ्नै कोरोनाविरुद्धको खोप निर्माण गरिरहेको जाइडस केडिलाको हेडक्वार्टर छ ।
यस्तोमा भारतसहित विश्वभरका चिकित्सक एवम् वैज्ञानिकहरुले कोभिडविरुद्धका वैकल्पिक उपाय नअपनाउन लगातार चेतावनी दिएका हुन् । त्यसले गलत किसिमको सुरक्षाको भाव उत्पन्न गराइ स्वास्थ्यमा झन् जटिल समस्या सिर्जना गर्न सक्ने उनीहरुले बताइरहेका छन् ।
इन्डियन मेडिकल एसोसिएसनका चिकित्सक जे ए जयलाल भन्छन्, “गाईको पिसाब या गोबरले कोभिडविरुद्ध इम्युनिटी बढाउँछ भन्ने कुनै ठोस वैज्ञानिक प्रमाण छैन । यो पूर्ण रुपमा मानिसको विश्वासमा आधारित छ । उल्टै, यस किसिमको गतिविधिमा सहभागी हुनुले अन्य स्वास्थ्य समस्या गराउने जोखिम हुन्छ भने अरु नै रोगहरु मान्छे र जीवजन्तुमा फैलने खतरा पनि रहेको छ ।”
त्यस्तै, यस्ता क्रियाकलापले मानिसको भिडभाड बढाउने हुँदा संक्रमण झन् फैलने जोखिम पनि उत्तिकै रहेको छ । रोयटर्सबाट ।