बाह्रखरी
भर्खरै
Ncell inner sticky
विचार प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
एसियन-अमेरिकन समाज विभेदप्रति किन मौन ?  आमोद प्याकुरेल
KNP nepal
KNP nepal
बाह्रखरी - मंगलबार, वैशाख २१, २०७८
Laxmi Bank
Laxmi Bank

भनिन्छ, कालो बादलमा चाँदीको घेरा हुन्छ । विगत एक वर्ष महामारीको उतारचडावमा अमेरिकामा नियमित हुने हिंसात्मक ‘मास सुटिङ’ को खबरको सिलसिला टूटेको थियो । दुर्भाग्य, कोरोनाको खोपले अमेरिकामा ल्याएको उत्साहलाई जोर्जिया राज्यमा मार्च १६ मा एक जना २१ वर्षका श्वेत युवाले एसिएन मूलका व्यक्तिहरूबाट सञ्चालित स्पामा गएर कोरियन महिलाहरूको हत्या गरेर भंग गरिदियो । 

विगत केही सातामै हत्याको घटना निरन्तर भैरहेका छन् । यो लेख सुरु गर्दै गर्दा टेलीभिजनमा अर्को हिंसात्मक घटनामा चार भारतीय मूलका सहित आठ जनाको ज्यान गएको खबर भनिरहेको छ । याे  गत एक महिनाकाे ४५औं  “मास सुटिङ” हो ।

जोर्जियाको मार्च १६ को र यो शिख समुदायप्रति लक्षित गरेजस्तो अनुसन्धानका क्रममा देखिएको घटनाले खासगरी एसिएन मूलका आप्रवासीलाई केही निराश र थप सतर्क बनाएको छ ।
 
यो वर्षको मार्च यता भएका झन्डै पचास घटनामध्ये इन्डियाना र जोर्जियामा भएको एसिएन अमेरिकनको हत्याले भने अमेरिकन समाजमा यसपटक विशेष ध्यानाकर्षण गरेको छ । महामारीको सुरूदेखि नै पूर्वी र दक्षिणपूर्वी एसिएन मूलका पहेँला वर्ण भएकाहरूले  ‘चाइनिज’ भनेर तत्कालीन राष्ट्रपतिकै उक्साहटमा अभद्र व्यवहार भोगिरहेका थिए । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी वर्ष भएकोले राजनीतिक फाइदाको लागि कोरोनालाई चीनसँग गाँसेर अनेक भ्रामक र अनुचित आरोप लगाएका थिए ।

Duber nepal

Agani Group

त्यसले गर्दा उनका कट्टरपंथी समर्थकहरूले एसिएन मूलका वृद्धवृद्धादेखि महिलाविरुद्ध हिंसा र अभद्र व्यवहार गर्दै आएका थिए । चुनावपछि एसिएन मूलकै उपराष्ट्रपति चुनिएर आउँदा विभेद, अभद्र व्यवहार एवं हिंसा अन्त्यको आशा पलाए पनि आफ्नै समुदायलाई नै लक्षित हिंसाले निराश हुनु स्वाभाविकै हो ।
 
यद्यपि, एसिएनहरू हिंसा र हत्याको सिकार भएका  घटना यिनै पहिला भने पक्कै थिएनन् । बेलाबेलामा कुनै न कुनै पूर्वाग्रहले एसिएन समुदायविरूद्ध हिंसा हुन्थे । झन् सेप्टेम्बर ११, २००१ पछि राष्ट्रले नै मुस्लिम मूलका सबैलाई “भिलिएन” बनाएपछि त अरबी मूलजस्ता रंग, नाम र अनुहार भएका सबले नै अपमान र विभेद खप्नु परेकाे थियाे । भारतीय मूलका केही आप्रवासीले त हिंसा नै भोग्नु परेकाे थियाे । सन् २०१२ मा विस्कन्सिन राज्यको गुरुद्वारामा भएको हमलामा त छ जना सिखहरूको ज्यान गएको थियो ।
 
अमेरिकी इतिहासमा एसिएन मूलका मानिसले विभेद भोगेका घटना धेरै छन् । एकातिर अरू आप्रवासीजस्तै एसिएनहरूले अमेरिकाको निर्माणमा हरेक किसिमबाट योगदान गरेको इतिहास छ भने अर्कातिर सरकारकै नीतिगत विभेद र अन्याय खेपेको उदारहण पनि छन् । अठारौं शताब्दीदेखि नै अमेरिकाको पूर्वाधार विकास र विस्तारमा चिनियाँ मूलका अमेरिकीको पूर्वाधार विकासमा ठूलो योगदान छ ।

उनीहरूलाई रेलमार्ग विस्तारको बेलामा मजदुरका रूपमा भित्र्याइएको थियो । कूनै समय क्यालिफोर्निया राज्यको २५ प्रतिशत मजदुर चिनियाँ थिए ।

त्यसले गर्दा युरोपियन अमेरिकन मजदुरीबाट विस्थापित भए भनेर अमेरिकन कंग्रेसले “चाइनिज इक्स्क्लुजन एक्ट  सन् १८८२ मा पारित गरेको थियो । अमेरिकामा यो जाति विशेषप्रति लक्षित आप्रवासी हकमाथि बन्देज लगाइएको पहिलो घटना थियो । त्यस्तै पर्ल हार्बरमा जापानले हमला गरेपछि जापानी मूलका नागरिकलाई अमेरिकी सरकारले “इन्टर्न्मेन्ट क्याम्प” मा कैद  गरेको थियो । कैद भएका अधिकांश अमेरिकी नागरिक नै थिए जो दुई तीन पुस्तादेखि अमेरिकामै बसोबास गर्दैआएका थिए ।
 
चाइनिजलाई बंदेज गरेपछि कृषि र टिम्बर उद्योगमा काम गर्न ल्याइएका भारतीयको पनि तत्कालीन समाजमा उत्तिकै विरोध भएको थियो ।
 
सन् साठीको दशकको अश्वेत नागरिक अधिकार र विभेदको अन्त्यको ‘लड़ाइँ’ बढ़ी अफ्रिकन अमेरिकनसँग जोडिएको भए पनि यो सबै अश्वेत जातिको हक र हितका लागि थियो । मार्टिन लुथर किंगले गांधीलाई नै त प्रेरणाको स्रोत मानेका थिए र सन् १९५९ मा भारत भ्रमण पनि गरेक़ा थिए । तर, अमेरिकी समाजमा नागरिक हक र विभेदको विमर्शमा एसिएन अमेरिकनको विषय ओझेलमा भने परेकै हो । यसमा भने एक  हदसम्म एसिएनहरू आफैँ पनि जिम्मेवार छन् ।
 
दुनियाँभरका धेरै मानिस आफ्नो र सन्तानको उन्नतिको अवसर देखेर नै अमेरिकामा बसाइँ सर्न मरिहत्ते गरेका  हुन्छन् । अफ़्रीकन अमेरिकनमात्र एएटा जाति हाे जसलाई बलपूर्वक दास बनाएर अमेरिका लगियाे । उनीहरूलाई पुस्तौं विभेद, हिंसा, अपमान गरेर समाजमा दोश्रो दर्जाको नागरिक बनेर बाँच्न बाध्य गरियो । उनीहरू पुस्तौं दमनको सिकार भएर पँखेटा काटिएको चराजस्ता भए ।

तिनकाे अस्मितालाई सिंगो समाजले शताब्दीयौंदेखि कुल्चिँदा उनीहरूको मनोबल धूजाधूजा भएको छ । अनि उनीहरू आर्थिक सामाजिक पदानुक्रममा पूछारमा रहेर आज पनि उपेक्षित जीवन यापन गर्न बाध्य छन् ।

विडम्बना, श्वेत अमेरिकी समाजको अफ्रिकन अमेरिकनलाई हेर्ने र पछि आएका आप्रवासीलाई हेर्ने नजर बेग्लै छ । एसिएनहरू “संस्कारी” र आज्ञापालक हुन्छन्, बढी मेहनती हुन्छन् र फलस्वरूप, समाजका प्रतिष्ठित पेसामा हुन्छन् भन्ने धारणा छ ।

यसाे त औसत आय पनि एसिएनहरूको अरु आप्रवासी समूहकाे भन्दा बढी नै छ । झट्ट  हेर्दा पनि समाजमा डाक्टर, इन्जिनिएर, कलेजका प्रोफेसरदेखि व्यापारीसम्म एसिएन देखिन्छन् । हिंसात्मक वा अरु अवैध काममा एसिएन बिरलै संलग्न देखिन्छन् ।

तसर्थ, यो धारणा केही हदमा सही हो भन्ने भ्रम सकारात्मक भए पनि पूर्वाग्रही सोच हो । वास्तवमा एसिएनहरूको संख्या नै तुलनात्मक रूपले कम छ र अधिकांश एसिएन गएका शताब्दीमा मात्र बसाइँसराइका खोजीमा प्रायः शिक्षित वा शिक्षाकै क्रममा अमेरिका पुगेका देखिन्छ । 
 
आफनो सपनालाई साकार पार्ने क्रममा अमेरिकी समाजमा कुनै तरंग नल्याउन एसिएनहरूले सजिलै अनुशासित आप्रवासीको छवि बनाएर बस्दै आएका छन् । हसनत, समाजले उनीहरूलाई सामाजिक पदानुक्रमको उच्च स्थानमा स्वीकार्दैन तर जबसम्म उनको मौनले श्वेत अमेरिकासँग असहमति जनाउँदैन तिनलाई श्वेत समाजको साथ मिलिरहन्छ । 

त्यसैले हुनुपर्छ कुनै पनि जातीय दमनमा अल्पसंख्यक जातिभित्रैबाट सहजकर्ताको जे भूमिका हुन्छ त्यसरी नै “नमुना” एसिएनले आफूमध्ये वा आफूभन्दा अझ दबिएका वर्गप्रतिको अन्याय देखेर पनि नदेखेको झैँ गरेर सेताको गुण तिर्दै बसे । यसकाे पछिल्लो उदारहण त ट्रम्पकाे कार्यकालभर उनका अभिव्यक्तिसँग सहमति जनाउने र अन्त्यमा उनैलाई मतसमेत हाल्ने नेपालीलगाएत अन्य एसिएनको मानसिकताबाट देखियो  ।
 
एसिएन मूलका मानिसहरू किन यति सजिलै आफ्नो अपमान र आफूप्रतिको विभेद स्वीकार्छन् ? के यो प्रकृति हो वा हुर्काइको प्रभाव हो? के  यो एसिएन समाजको आफूभन्दा “ठूला” मान्यजन अनि आधिकारिक निकायहरूप्रतिको आदरको संस्कारको प्रतिफल हो ?

केही हदसम्म त्यो पनि सत्य रहेको अहिले महामारीको बेला चीन, भियतनाम र अन्य दक्षिणपूर्वी एसिएन मुलुकहरूमा संक्रमण नियंत्रण गर्न समाजले जसरी नियम पालन गरेर सहयाेग गरेकाे छ त्यो सामाजिक र सांस्कृतिक प्रभाव नै हो भनेर केही विज्ञले ठहर गरेका पनि छन । तर, त्यस मतलाई खण्डन गर्नेहरूले “एसिएन संस्कार” कै कुरो हो भने दक्षिण एसियामा किन त्यो देखिएन भन्ने प्रश्न पनि गर्छन् ।
                                                                                           
जेहाेस्, अघिल्ला पुस्ताका एसिएन अमेरिकनले विभेदको प्रतिरोध डर वा अमेरिकी समाजमा सहजै समाहित हुनमात्र नगरेको भन्दा पनि कारण अझ गहिरो भएजस्तो लाग्छ । अधिकांश एसिएन देशहरू बहुजातीय, बहुधार्मिक, र बहुभाषी छन् र कुनै न कुनै प्रकारले जात, रंग, र धर्मकाे विभेद पनि छ । पढे लेखेका र आर्थिक उन्नति गरेका दक्षिणपूर्वी एसिएन राष्ट्रदेखि विकसित कोरिया र जापानमा पनि विभेदी सोच अझै रहेको पाइन्छ । नेपाल वा भारतजस्तो रूढीग्रस्त र साक्षरताको कमी भएका समाज त हिन्दु जातीय वर्ग विभाजनले आर्थिक सामाजिकरूपले अझ बढी विभाजित र विभेदी छ । अनि समाजले कहिले धर्म त कहिले संस्कृतिको नाममा विभेद सामान्य हो भन्ने सोच सानै उमेरदेखि मानसपटलमा बसाइसकेको छ ।
 
त्यस्तै लामो समय बेलायत वा अन्य युरोपिएन राष्ट्रको उपनिवेश भएर रहेको हुनाले सेतो रंग र “बेलायती” भन्नेबित्तिकै उनीहरूकाे रहनसहन, मूल्य मान्यता उच्च ठानेर अनुसरण गर्नुपर्छ भन्ने मानसिकता अधिकांश एसिएन समाजले घरमा होस् कि प्रवासमा बाेकेका छ ।

एसिएन अमेरिकन समाजमा पनि अश्वेत जाति, खासगरी अफ्रिकन अमेरिकनप्रतिको धारणा र अभिव्यक्ति कुनै विभेदकारी श्वेत जातिभन्दा कम छैन । उनीहरू आफूलाई अफ्रिकन अमेरिकन वा ल्याटिनो अमेरिकनभन्दा फरक र “उच्च” ठान्छन । यस्को उदाहरण केही वर्ष पहिले भएको सर्वेक्षणमा अधिकांश एसिएन अमेरिकनले आफस अरु जातीय समुदायभन्दा अधिकांश श्वेत छिमेकी भएको बस्तीमा बस्न रुचाउने देखाएको थियो ।
 
एसिएन मानसिकतामा  युरोपियन उपनिवेशवादको गहिरो छाप छ भने उनीहरू आफूलाई विभेदको सिकार बनाउनेलाई आफूजस्तै अल्पसंख्यकभन्दा बढ़ी रुचाउँछन् ।

श्वेत समाजले बनाएको मिथ्या र स्वेछाचारी जातीय पदानुक्रममा अफ्रिकन अमेरिकन वा ल्याटिनोभन्दा माथि ठानिदिएकोमा कृतज्ञ छन् । यद्यपि, त्यो त श्वेत अमेरिकाले आफस विभेदी नभएको देखाएर आफैँलाई सान्त्वना दिने सजिलो उपायमात्र हो । 

अधिकांश एसिएन आप्रवासी आफैँ विभेदको इतिहास र संस्कार लिएर मुगलान लागेकाको भित्री आत्माबाट त्यसकाे विरोध गर्न पनि सक्दैनन् । आफ्नाे रगत पसिनालेले निर्माण गरेको दुनियाको शक्तिशाली राष्ट्र भनेर गौरव गर्ने  श्वेत अमेरिकीले समाजमा तिरस्कार हुँदा पनि चुप लागेर टाउको निहुराएर बस्छन् ।
 
हामी नेपाली पनि त हाम्रो धर्म धानिदिने शक्ति पीठका पूजारी “पोड़े”, खाना पकाउने भाँडा बनाउने “कामी”, नाङ्गो शरीर ढाकीदिने “दमाई” अनि मनोरञ्जन गराइदिने अन्य “दलित”ले आआफ्नो ‘ठाउँ’मा रहेर काम गरे ठीक तर तिनले आफ्नो हक, हित, र इज्जत खोजे भने “ठूलाबढा” छटपटाउने समाजका उपज न हौँ । सायद, आत्मग्लानिले होला आफ्नो नयाँ समाजमा पनि विभेदका विरोधमा हामी केही बोल्दैनौ ।
            
कोरोनाको महामारीबाट एसिएन मूलका मानिसहरूप्रति लक्षित हिंसा मार्च १६ मा अटल्यान्टामा भएको हत्यासँगै चुलिएको हो । समाजशास्त्रअनुसार समाजिक मूल्य मान्यता संविधानमा बदलिए पनि व्यवहारमा फेरिन समय लाग्छ । आज अमेरिकामा नागरिक हकको आन्दोलन भएको पनि पाँच दशक नाघी सक्यो तर विभेद अझै विद्यमान छ । परिवर्तनको गति समाजको बदलिँदो वर्णभन्दा पछाडि छ ।
 
भरखरै फेरिएको राष्ट्रिय नेतृत्व र डेमोक्रेटिक पार्टीको समावेशी र प्रगतिशील विचारधाराले गर्दा नै एप्रिल २२ मा अमरिकी कांग्रेसले एसिएन अमेरिकनविरुद्ध हुने जातीय हिंसालाई कानुनी कारबाहीको सहजीकरणको विधेयक नै पास गरेकाे छ । तैपनि, समग्रमा  एसिएन समुदाय आफूहरू यो विभेदको विरोधमा उत्रने कि दशकौं अभ्यास गर्दैआएको ‘आदर्श’ आप्रवासी समुदायकै भूमिका आत्मसात गर्ने भन्नेको अझै पनि दोसाँधमा देखिन्छन् ।

अधिकांश नेपाली वा एसिएनले ट्रम्पलाई मत त दिएनन् होला परन्तु त्उसकाे अर्थ विभेदको विरोधमा उत्रेको त होइन नि ।  युवा पुस्ताको हिंसा, विभेदको प्रतिकारले अमेरिकी समाज र प्रशासनको आँखा खुलेको छ । फलस्वरूप, अघिल्लो पुस्तालाई पनि खुलेर विरोधमा उत्रन सजिलो वातावरण बनेको छ ।

हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ भनेजस्तै एसिएन युवा पुस्तामा समाजमा रहेकाे विभेदको संज्ञा र विरोध गर्ने साहस एवं चेतनाको विकास भने देखिन थालेकाे छ ।

Nepal Investment bank
Nepal Investment bank
मंगलबार, वैशाख २१, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्