काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमास (चैत मसान्त)मा अधिकांश बैंकको आधार ब्याजदर घटेको छ । तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका २७ वटै वाणिज्य बैंकमध्ये २४ वटा बैंकको आधार ब्याजदर घटेको छ ।
बैंक तथा वित्तीय संस्थाले ऋणी ग्राहकबाट दिने ब्याजदर आधार ब्याजदरको आधारमा निर्धारण गर्ने गर्दछन् । राष्ट्र बैंकले एकीकृत निर्देशनमार्फत बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदरलाई आधार ब्याजदरसँग टाइअप गर्नुपर्ने व्यवस्था गरेको छ । आधार ब्याजदर घट्दा कर्जाको ब्याजदर पनि घट्ने गर्दछ ।
यद्यपि, बैंकहरुले ऋणी र कर्जाको प्रकृतिअनुसार आधार ब्याजदरमा थप प्रिमियम जोड्ने गर्छन् । नेपाल राष्ट्र बैंकले आधार कर्जाको ब्याजदरलाई आधार ब्याजदरसँग टाइअप गरे पनि आधार ब्याजदरमा कति प्रतिशत प्रिमियम थप गर्ने भन्ने नतोकेर बैंकहरुलाई छोडेको छ । यसले गर्दा बैंकहरुसँग बार्गेन गर्न सक्ने टाठाबाठालाई कम र सोझासाझा ऋणीलाई भने बढी ब्याजदर लिने गरेको पाइन्छ ।
राष्ट्र बैंकले १० लाखभन्दा साना कर्जामा भने आधार ब्याजदरमा २ प्रतिशतभन्दा बढी प्रिमियम लिन नपाउने व्यवस्था गरेको छ । यसले साना ऋणीलाई भने राहत प्रदान गरेको छ ।
अहिले कोभिड–१९ को कारणले बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा कर्जाको ब्याजदर घटेको अवस्था छ । गत पुसमा वाणिज्य बैंकहरुको आधार भारित औसत ब्याजदर ७.१८ प्रतिशत रहेको थियो । चैत मसान्तमा आउँदा २७ मध्ये १२ बैंकको आधार ब्याजदर ७ प्रतिशतभन्दा कम रहेको छ । जसमध्ये पनि चारवटा बैंकको ६ प्रतिशतभन्दा पनि तल रहेको छ । बाँकी रहेका १५ बैंकको आधार ब्याजदर ७ प्रतिशतमाथि रहे पनि साढे ७ प्रतिशतभन्दा माथि आधार ब्याजदर हुने बैंकको संख्या ६ मात्रै छ । कुनै पनि बैंकको आधार ब्याजदर ८ प्रतिशतमाथि छैन ।
गत पुसमा सिटिजन्स बैंक र सिभिल बैंकको आधार ब्याजदर ८ प्रतिशतभन्दा माथि र नेपाल बंगलादेश बैंकको ८ प्रतिशत रहेकोमा अहिले सबै बैंकको आधार ब्याजदर ७ प्रतिशतबाट तल झरेको छ । यद्यपि, तीनवटा बैंकको भने पुसको भन्दा चैतमा आधार ब्याजदर बढेको छ ।
नबिल बैंकको आधार ब्याजदर ५.७६ प्रतिशतबाट बढेर ६.१८ प्रतिशत, एनआईसी एशिया बैंकको ६.६५ प्रतिशतबाट बढेर ६.७७ प्रतिशत र मेगा बैंकको ७.३५ प्रतिशतबाट बढेर ७.५९ प्रतिशत पुगेको छ ।
चैत मसान्तमा सबैभन्दा कम आधार ब्याजदर स्ट्यान्डर्ड चार्टर्ड बैंकको ५.३३ प्रतिशत रहेको छ । बैंकको गत पुसको आधार ब्याजदर ६.०७ प्रतिशत रहेको थियो । यस्तै, राष्ट्रिय वाणिज्य बैंकको ५.६१ प्रतिशतबाट ५.५ प्रतिशतमा झरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको ६.५६ प्रतिशतबाट ५.९५ प्रतिशत र नेपाल बैंकको ६.१९ प्रतिशतबाट ५.९८ प्रतिशतमा झरेको छ ।
पुस मसान्तमा सबैभन्दा धेरै आधार ब्याजदर सिभिल बैंकको ७.८२ प्रतिशत रहेको छ । बैंकको आधार ब्याजदर पुस मसान्तमा ८.४५ प्रतिशत रहेको थियो । अधिक तरलताले बैंकहरुबीच कर्जा खोसाखोस हुँदा कर्जा जोगाउन र नयाँ व्यवसाय विस्तार गर्ने होडबाजीले बैंकहरुको कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड रेट)पनि घटेको छ । २७ वाणिज्य बैंकमध्ये दुई बैंकको स्प्रेड रटे बढ्दा अरु बैंकको घटेको छ ।
राष्ट्रिय वाणिज्य बैंकको स्प्रेड रेट पुसमा ४.०९ प्रतिशतबाट चैतमा ४.४ प्रतिशत पुगेको छ । यस्तै, प्राइम कमर्सियल बैंकको ४.३७ बाट बढेर ४.३८ प्रतिशत पुगेको छ । सबैभन्दा धेरै स्प्रेड रेट हुनेमा राष्ट्रिय वाणिज्य बैंक ४.४, प्राइम कमसियल बैंक ४.३८, एनआईसी एशिया बैंक ४.३८ प्रतिशत रहेका छन् ।
पुसमा ४.६९ प्रतिशत स्प्रेड रेट रहेको ग्लोबल आईएमई बैंकको चैतमा ४.१७ प्रतिशतमा झरेको छ । नबिल बैंकको ४.०७ प्रतिशतबाट ३.२ प्रतिशतमा झरेको छ । हिमालयन, नेपाल इन्भेष्टमेन्ट र नेपाल एसविआई बैंकको स्प्रेड रेट पनि ३.४ भन्दा तल रहेको छ ।
गत असारमा राष्ट्र बैंकले तोकेको ४.४ प्रतिशतको स्प्रेड कायम गर्न हम्मे परेका बैंकहरुको स्प्रेड रेट चैतमा ह्वात्तै घटेको छ ।