काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना संक्रमणको दोस्रो लहरसँगै अर्थतन्त्र थप प्रभावित हुने जोखिम रहेको बताएका छन् । नेपाल राष्ट्र बैंक स्थापनाको ६६ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा बोल्दै उनले काेभिडकाे जोखिम कायमै रहेकाले अर्थतन्त्र थप प्रभावित हुनसक्ने बताए ।
मुलुकभित्र उत्पन्न हुनसक्ने मानवीय तथा आर्थिक संकटको संयमतापूर्वक उचित व्यवस्थापनसहित आर्थिक क्रियाकलापको चुस्त सञ्चालन तथा व्यवस्थापन गर्नुपर्ने देखिएको उनले बताए । महामारीको अवधिमा पनि विभिन्न नीतिगत प्रयासहरूले गर्दा अर्थतन्त्र पुनरुत्थानको दिशातर्फ उन्मुख हुँदै गएको उनले बताए । “यद्यपि कोभिड १९ अझै हामीबीच रहेकोले जोखिम भने कायमै रहेको छ” उनले भने, “स्वास्थ्य संकट अझै गहिरिंदै जाने र अर्थतन्त्र थप प्रभावित हुने जोखिम छ ।”
गत वर्षको बन्दाबन्दी पूर्ण रूपमा हटेको र कोभिड–१९ विरुद्दको खोप लगाउने कार्यसमेत सुरु भएपछि खुम्चिएको अर्थतन्त्र सामान्यतर्फ फर्कन सुरु भइसकेको अवस्थामा पछिल्लो समय फेरि कोभिड–१९ को संक्रमण दर छिमेकी देशमा पुनः बढ्दै गएको साथै नेपालमासमेत संक्रमण दर र जोखिम बढ्दै गएको हुँदा अर्थतन्त्र अझ पनि यसबाट थप प्रभावित हुने जोखिम कायमै रहेको उनले बताए ।