site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
बीउ रोप्ने डाक्टर

श्रीओम रोदन



जन्मेपछि नमर्ने आजसम्म कोही छैनन् । जन्मनुजत्तिकै सत्य छ मृत्यु । त्यसैले प्रत्येक बच्चा जन्मँदा आफू रुन्छ र अरूलाई हसाउँछ । मर्दा आफू शान्त हुन्छ र अरूलाई रुवाउँछ । जन्मसँगै बोक्ने मृत्युलाई मानिसले कहिले भारी ठानेनन् । ज्ञान भएर पनि अज्ञानी बन्ने गरेका छन्, यस मामलामा । नत्र आफ्नो आयुको ठेगान नहुनेहरू किन लिइरहन्छन् अरूका वर्षौँ वर्षका ठेक्काहरू ?

यही अज्ञानताले त हो नि मान्छे बाँचुन्जेल मात्र बाँच्ने मोहले आफ्नो आँखामा आफैँ पट्टी लगाउँछन् । शरीरले बाँच्नेलाई आफ्नो जीवन र सार्थक ठान्छन् । थोरै होलान्, आफूप्रति विश्वास गरेर समाजप्रति इमानदार बन्नेहरू । उमेरले भन्दा सीमा नाघेर बाँच्नुलाई सार्थक ठान्नेहरू ।

Dabur Nepal
NIC Asia

मान्छे धनले धनी हुन्छ । शक्तिले बलियो हुन्छ । बनाए सालिक पनि बन्छ । तर, विचार, विवेक र कीर्तिले धेरै कुरा बन्न सक्छ । मरेपछि पनि बाँचिरहन्छ । यही कारण मानिस कसरी जन्म्यो र कसरी मर्‍यो भन्दा कसरी बाँच्यो भन्ने महत्त्वपूर्ण हुन्छ ।

सन्दर्भ यतिखेर डा. बिहारीलाल श्रेष्ठको हो । बाहिरी आँखाले देख्ने एउटा स्वरूपको मात्र हो बिहारीलाल । सामान्य बुझ्नेहरूका लागि नेपालका वरिष्ठ हाडजोर्नी विज्ञ मात्र । तर, डाक्टर सा’पलाई बुझ्न खोज्नेहरूले बुझ्न खोज्दा पनि पूर्णता पाउन सकिँदैनथ्यो । समुद्रजस्तो, आकाशजस्तो विराट् व्यक्तित्व ।

शारीरिक रुपले २०५९ को पहिलो महिनामा नै उहाँले यो पृथ्वी छोडेर जानुभयो । तर, उहाँले गर्नुभएको त्याग, समर्पण, आदर्श र विचारहरूले कहिले कसैलाई छोड्न सकेन । डाक्टर सा’प एक हुनुहुन्थ्यो, अनेक भएर बाँचिरहनुहुनेछ । बाँच्ने यसरी नै होइन र ? जीवनको सार्थकता यही होइन र ?

पेसागत कर्तव्य र धर्मबाहेक मानवीय धर्मका लागि उहाँले कहिले आफू र आफ्नो भन्नु भएन । आफ्नो स्वास्थ्य भन्नु भएन । परिवार भन्नु भएन । घर भन्नु भएन । सम्पत्ति भन्नु भएन । 

जहिले पनि नेपालका लागि, समाजका लागि मात्र लागिरहने । उहाँ जुनसुकै सन्दर्भमा पनि सेवा, समाज र राष्ट्रका लागि भन्ने सन्देश अन्तरनिहित गरिरहने । अरू कतिपय समयका सन्दर्भहरू छोड्दा पनि उहाँ मातृभूमि सेवक संघको स्तम्भ बन्नुभएको छ । हिन्दु विद्यापीठ भएर विस्तार हुनुभएको छ । समाजसेवाको उदाहरण बन्नुभएको छ । समग्रमा नेपाल आमाका आदर्श पुत्र भएर बाँच्नुभएको छ । जीवनभरको कमाइको प्रतिफल, उहाँ मरेर बाँचिरहनुभएको छ शिक्षा, स्वास्थ्य र समाजसेवाका लागि । यो हामी सबैका लागि गौरव हो र यो उदाहरण पनि ।

प्रत्येक ढुकढुकीमा ‘व्यक्ति निर्माण’ गुन्जिरहन्थ्यो उहाँमा । अस्पताल, क्लिनिक, स्कुल, संघजस्ता कुनै पनि ठाउँमा भेट हुने जो कोहीलाई व्यक्ति निर्माणको आदर्श बताउन थाल्नुहुन्थ्यो । जुनसुकै ठूला अभियानको सुरुवात आफैँबाट गर्नुपर्छ । आफू मानसिक रूपमा तयार नभएर गरिएको कुनै काम पूर्ण हुन सक्दैन । त्यसका लागि व्यक्ति निर्माण अपरिहार्य हुन्छ भन्ने उहाँको सोच थियो । उहाँको विश्वास थियो संघले निर्माण गरेको व्यक्ति राष्ट्रको उदाहरण बन्नेछ । व्यक्ति निर्माण भएपछि न ऊ आफ्नो स्वार्थमा लाग्न सक्छ न परपीडामा लाग्नसक्छ । समाजविपरीत कुनै कार्य सपनामा पनि देख्न चाहँदैन र सक्दैन पनि । यस्ता व्यक्तिहरू बढाउँदै जान सके मात्र मुलुक समृद्ध बन्छ । देशको मुहार उज्यालो हुन्छ । अनि, हामी उज्यालिन्छौँ भन्नुहुन्थ्यो । विभिन्न क्षेत्र र वर्गमा धेरैभन्दा धेरै व्यक्ति निर्माण हुनुपर्छ । यदि, त्यस्तो हुन सकेन भने थोरै भए पनि आदर्श नेतृत्व गर्न सक्ने हुनुपर्छ, हजाराँै सेनालाई कमान्डरले नेतृत्व गर्न सकेजस्तै भन्ने उहाँको सपना थियो ।

संघका कार्यकर्तालाई उहाँ प्रत्येक भेटमा यसरी नै प्रोत्साहित गरिरहनुहुन्थ्यो । चिकित्सा क्षेत्रको मान्छे । बिरामीको सेवा गरेर पैसा कमाउने र आफ्नो नर्सिङ होम बनाउनेतिर नलागेर डाक्टर सा’प समाज–समाज मात्र भनिरहनुहुन्थ्यो ।

उहाँको सोच, विश्वास, प्रतिबद्धता र लगानी अरूका लागि पनि प्रेरणादायी बन्न सके कस्तो हुन्थ्यो होला हाम्रो समाज ? कहिलेकाहीँ एक्लो हुँदा आफैँसँग प्रश्न गर्ने गर्छु म । तर, उत्तर दिन सक्दिनँ आफैँले आफैँलाई पनि । उहाँ र उहाँजस्ता व्यक्तिको अभावले त हो समाज भत्केको भत्केकै छ । देश बिग्रेको बिग्रेकै छ । यसको जिम्मा हामीजस्ता जनताको भागमा थोरै त पर्छ नै होला । तर, हजाराँै गुना बढी जिम्मेवार ती व्यक्तिहरू नै हुन्, जसले समाज बदल्छु भनेर नेतृत्व गरे । तर, आफू पनि बदल्न सकेनन्, मात्र आफ्नो हैसियत बढाए । जसले जनतालाई विश्वास दिलाएर आफ्नो नाममा मत कमाए र झन्डा फहराउने बनाए । तर, आफू र आफन्तबाहेकलाई कहिल्यै झन्डा फहराएको अनुभूति गराउन सकेनन् । यी नेपाल आमाका कुपुत्रहरू । यी धर्तीका भारहरूले शपथ खाएको दिन वा पदबहाली गरेको दिन एकपटक एक दिनभरि मात्र डाक्टर सा’पले जस्तो सोचेका भए देशले र जनताले यस्तो त्रासदी जीवन बाँचिरहनुपर्ने नै थिएन सायद ।

२०४२ सालतिर सानेपाको टीका विद्याश्रम स्कुलमा शाखा लाग्दथ्यो । प्रत्येक हप्ताको शनिबार बिहान सबेरै चउरमा जम्मा भएर योग, खेलकुद तथा समसामयिक विषय र विकासमा बौद्धिक मन्थन गर्ने काम शाखामा हुन्थ्यो । यी दुवै अभ्यास सामाजिक परम्परा, संस्कृति, विकृति, सुधार तथा राष्ट्रिय विभूतिहरूमाथि केन्द्रित हुन्थ्यो । त्यहाँ विद्यालयका विद्यार्थीदेखि डाक्टर, इन्जिनियर, प्राध्यापकजस्ता प्राज्ञिक व्यक्तिहरूको जमघट हुन्थ्यो । त्यहाँ उमेरले कोही ठूलो–सानो हुँदैनथ्यो । जातले कोही ठूलो–सानो हुँदैनथ्यो । सम्पत्तिले कोही धनी–गरिब हुँदैनथ्यो । कुनै कुराको विभेद कोहीमाथि हुँदैनथ्यो । त्यहाँ उपस्थित हुनेहरू सबै समान हुने गर्दथे ।

शाखा एक घण्टा चल्थ्यो । कार्यक्रम अवधिभर युवाहरूलाई मनोवैज्ञानिक रूपमा प्रभाव पार्ने र प्रोत्साहित गर्ने गरिन्थ्यो । त्यो समानता, त्यो रमाइलो वातावरण र आफूभन्दा ठूलाहरूसँगको हार्दिकताको अनुभूति सहभागी भएपछि मात्र गर्न सकिन्थ्यो । यद्यपि, बिहानको ओछ्यान छोडेर जान भने निकै अल्छी लाग्थ्यो । तर, त्यहाँ पुगेपछि भने नआएको भए घाटा हुनेरहेछ भन्ने लाग्थ्यो ।

डाक्टर सा’पको घर जाउलाखेलमा थियो । उहाँ पाँच बजे नै आफ्नो कारमा अट्नेजतिलाई लिएर आउनुहुन्थ्यो । मेरो घर बाटैमा पर्ने भएकोले प्रत्येक हप्ता कार रोकेर मलाई उठाउने गर्नुहुन्थ्यो । गर्मी महिनामा खासै गाह्रो हुँदैनथ्यो । तर, जाडो महिनामा सिरक ओढेर सुतिरहेको बेला उठेर हुस्सु लागेको खुला मैदानमा जानुपर्दा कम दिक्क लाग्दैनथ्यो । तर, डाक्टर सा’प आउनुभएपछि केही भन्न सक्दिनँ थिएँ । जाडो महिनामा शाखामा म रहरलेभन्दा करले नै जाने गर्थेँ । आफ्ना लागि नभएर डाक्टर सा’पका लागि । कहिलेकाहीँ सन्चो छैन भनेर टारिदिन मन लाग्थ्यो । त्यसो भन्नासाथ डाक्टर सा’प भोलिपल्टै घरमा आइपुग्नुहुन्थ्यो ।

प्रत्येक हप्ताको बिहीबार डाक्टर सा’पको घरमा चिन्तामणिजीले गीताको पारायण र चर्चा गर्नुहुन्थ्यो । हाम्रा सांस्कृतिक चाडपर्वको वैज्ञानिक महत्त्व, त्यसमा आएका विकृति, धार्मिक ग्रन्थको सान्दर्भिकता, संघकार्यलाई कसरी प्रभावकारी बनाउनेजस्ता विषयमा छलफल हुन्थ्यो । उपस्थित सबैले क्रमिक रूपमा आफ्नो धारणा राख्नुपर्थ्यो । फरक धारणा राख्नका लागि म पाएसम्मका पुस्तकहरू पढ्ने गर्थेँ ।

कार्यक्रम दुई घण्टाको हुन्थ्यो । म अफिस बिदा भएपछि सिधै त्यहीँ जान्थेँ। दिनभरिको बैंकको व्यस्तताले थकाइ र भोक पनि लागेको हुन्थ्यो । तर पनि डाकटर सा’पकहाँ जानैपर्ने ठानेर जाने गर्थेँ । कुनै हप्ता उपस्थित हुन सकिएन भने डाक्टर सा’पले नआउनुको कारण सोधिहाल्नुहुन्थ्यो । अर्को कुरा, उहाँ अगाडि पर्नासाथ म ढाँट्न सक्दिनँ थिएँ । नजाउँ न त भन्ने लागेको दिन के जवाफ दिने भन्ने डर लागिहाल्थ्यो । एक किसिमको दबाब पथ्र्याे र पुगिहाल्थेँ । तर, कार्यक्रममा बसिसकेपछि भने बौद्धिक चिन्तनले गर्दा विभोर हुन्थे ।

प्रत्येक वर्ष संघको शिविर हुन्थ्यो, चार दिनको । शिविर बिहान छ बजेदेखि राति दश बजेसम्म हुन्थ्यो । सहभागिता सयौँको हुन्थ्यो । त्यहाँ पनि शारीरिक र बौद्धिक कार्यक्रमहरू नै हुन्थे । हामी सबैले दौरा–सुरुवाल र टोपी अनिवार्य लगाउँथ्यौँ । समूहगत बौद्धिक चर्चा गर्ने जिम्मेवारी मलाई पनि दिनुहुन्थ्यो । सहभागीहरू उमेरले, अनुभवले, शिक्षाले र ज्ञानले पनि मभन्दा पाकाहरू पनि समूहमा हुन्थे । गुरुकुलीय परम्पराअनुसार गरिने चर्चामा निकै अप्ठेरो लाग्थ्यो । तर, डाक्टर सा’पले पटक–पटक दिनुभएको हौसलाले ममा आत्मविश्वास बढेको थियो । शिविर धेरै वर्षसम्म काठमाडौंबाहिर घटस्थापनाको दिन सुरु भएको थियो । दसैँमा घर छोड्न गाह्रो लाग्थ्यो । तर, डाक्टर सा’प घरमा नै आएर बा–आमासँग कुरा गरिदिनुहुन्थ्यो ।

अहिले म बुझिरहेको छु डाक्टर सा’प शाखामा लैजान किन बल गर्नुहुन्थ्यो भनेर । अहिले सम्झिरहेको छु बैठकमा थोरै भए पनि बोल्न किन कर गर्नुहुन्थ्यो भनेर । शिविरमा किन शिक्षकको जिम्मेवारी दिनुहुन्थ्यो भनेर ।

आफ्नो धर्म र संस्कृतिप्रति प्रेम गर्न, राष्ट्र र राष्ट्रियताप्रति सम्मान गर्न, शिर ठाडो गरेर स्वाभिमानीपूर्वक बाँच्न डाक्टर सा’पले नदेख्ने गरेर मभित्र त्यस्ता बीउहरू रोपिदिनुभएको रहेछ । बीउहरू नटुसाउँदै, नहुर्कँदै नमासियोस् भन्ने डाक्टर सा’पको अन्तरचाहनालाई कसरी बुझ्न सक्थेँ मैले त्यो उमेरमा ? उहाँले गर्नुभएको करबलको माया के थाहा पाउनु मैले ? डाक्टर मान्छे, यति सरल र सुषुप्त शैली अपनाउनुहुन्छ भन्ने के थाहा मलाई ।

डाक्टर सा’पको सद्भाव र संगतका कारण अहिले कसैका सामु उभिन धक लाग्दैन मलाई । बोल्दा खुट्टा काम्दैनन् मेरा । जानेर कसैको नराम्रो गर्न सकेको छैन मैले । यति धेरै सम्पत्ति जुराइदिने डाक्टर सा’पप्रति मेरो श्रद्धा मात्र हैन, सदाको सलाम छ ।

जीवनभरि बिरामीको स्वास्थ्यलाई ध्यान दिनुभयो उहाँले । तर, आफ्नो स्वास्थ्यलाई कहिले वास्ता गर्नु भएन । अरू आफ्नो सानो फाइदाका लागि अरूलाई ठूलो घाटा लगाउँछन् । अरू के गर्दा के हुन्छ भनेर हिसाब गरेर काम गर्छन् । तर, डाक्टर सा’प अरूलाई के गर्न सकिन्छ भन्ने मात्र ध्यान दिनुहुन्थ्यो । धर्म, संस्कृति, राष्ट्र र राष्ट्रियताको गीत गुनगुनाउनुहुन्थ्यो । तर, कहिले प्रचार होस् भनेर चाहना राख्नु भएन । कुनै काममा कहिले फाइदा खोज्नु भएन । यो आजको समाजका लागि आदर्श मात्र होइन, अपवाद पनि हो ।

डाक्टर  सा’प बिहारीलाल श्रेष्ठमात्र हुनु हुन्न, विचारका आन्दोलक हुनुहुन्थ्यो । शिक्षा, स्वास्थ्य, चिकित्सा र समाजसेवाका अभियन्ता र उदाहरण हुनुहुन्थ्यो । ‘व्यक्ति निर्माण’का प्रणेता हुनुहुन्थ्यो । जति ठूलो काम गर्ने हो भने पनि सुरु आफैँबाट गर्नुपर्छ भन्नुहुन्थ्यो ।

धेरैले नभन्लान्, डाक्टर सा’पकै कारण धर्म, संस्कृति र राष्ट्रप्रति प्रेम गर्न सिकेँ भनेर । सामाजिक सेवा भावप्रति आँखा खुल्यो भनेर । त्याग र समर्पणको आनन्द लिन जानेँ भनेर । भनोस् नभनोस्, यो कुनै ठूलो कुरो होइन ।

तर, डाक्टर सा’पले रोपेका बीउहरू टुसाएको अनुभव नगर्ने सायदै होलान् । धेरै इमानदार बन्न नसके पनि बेइमान बन्न सक्दैनन् । लोभले आफ्नो सनातन धर्म परिवर्तन गर्न सक्दैनन् । यत्ति त हुन्छ हुन्छ तपाईंको बीउको काम डाक्टर सा’प । मेरो विश्वास हो यो । आखिर बीउ पनि माटोमुनि नै हुन्छ, नदेखिने गरी । विश्वासलाई किन प्रमाणित गरिरहनुपर्छ र ?

म विश्वस्त छु । सबैसामु हात उठाएर भन्न सक्छु । डाक्टर सा’पको कारण, संघको कारण, शाखाको कारण, शिविरको कारण म आफ्नोपनमा गौरव गर्ने भएको छु । आत्मालाई धरौटी राख्न नसक्ने भएको छु । समाजप्रति जिम्मेवार भएको छु । देशलाई माया गर्ने भएको छु । मभित्रको यो चेतनाको बीउ रोपिदिने तपाईं डाक्टर बिहारीलाल नै हो । यो मैले कहिल्यै तिर्न नसक्ने ऋण हो ।

मलाई विश्वास छ नभेटिने र नबोल्नेहरूसँग जत्तिको आस्था अरू कोसँग हुनसक्छ र ?

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ११, २०७८  ०६:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro