site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
महाधिवेशनसम्म शेरबहादुर देउवा प्रतिस्पर्धामै रहनुहुन्न 
Sarbottam CementSarbottam Cement

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस महाधिवेशनको तयारीम जुटेको छ । नेतृत्वमा आकांक्षी धेरै छन् । सभापतिको दौडमा रहेका एकजना केन्द्रीय सदस्य हुन्, डा. शेखर कोइराला

१३ औँ महाधिवेशनपछि सबैभन्दा धेरै जिल्ला पुगेर कार्यकर्तासँग भेटवार्ता गर्ने नेता हुन् कोइराला । 

सभापति शेरबहादुर देउवाकै कारण पार्टी बिग्रिएको उनको निष्कर्ष छ । आगामी महाविधेशनमा कसैका लागि पनि आफूले ठाउँ नछाड्ने अडानमा रहेका उनै कोइरालासँग बाह्रखरीका रमेश वाग्लेले महाधिवेशन केन्द्रित कुराकानी गरेका छन् ।
प्रस्तुत छ, नेता कोइरालासँग वाग्लेले गरेको कुराकानीको सम्पादित अंशः 

Prabhu Bank
Agni Group
NIC Asia

कांग्रेसले अग्रसरता लिने निर्णय गर्‍यो, अब सत्तामा जाने समय आएको हो ?

हामीले संसद् पुनःस्थापना हुनुपर्छ भन्यौँ । त्यसको कारण भनेको संविधान नै डिरेल हुँदैथियो । संविधानको कुनै पनि धारा नै नटेकी प्रधानमन्त्रीले संसद् विघटन गरिदिनुभयो र संविधान नै कोल्याप्स गराउने उहाँको चाल थियो । त्यो एक हदसम्म रोकियो ।

Global Ime bank

तर, अहिले कस्तो अवस्था देखिन्छ भने संसद्लाई बिजनेस नदिने, संसद्लाई बिजनेस कसले दिन्छ ? सरकारले दिने हो नि त ।

यसमा सभामुखले पनि केही बिजनेस दिन सक्नुहुन्थ्यो । जस्तो, उपसभामुखको निर्वाचन गराउन सक्नुहुन्थ्यो । खाली छ नि त ।

उहाँले दिन सक्नुहुन्थ्यो । तर, किन दिन सकिराख्नुभएको छैन । त्यसैले सभामुखले पनि बिजनेस पाइनँ भनेर रोदन गर्न पाउनु हुन्न । उहाँले गर्नुपर्ने कामचाहिँ नगर्ने अनि सरकारले बिजनेस दिएन भन्न सुहाउँदैन । सरकारले त दिनुपर्थ्यो बिजनेस ।

यो अवस्थामा राजनीतिमा नैतिकताको खडेरी छ भन्ने छर्लंग भइसक्यो । त्यसकारण राजीनामा दिनुपर्थ्यो कि पर्दैनथ्यो भन्ने बहसको अब औचित्य सकियो । तर, राजीनामा दिएर पनि संविधानअनुसार त बहुमतको सरकार बनाउनुपर्ने हुन्छ । नेपाली कांग्रेसले संसद् पुनःस्थापनाकै समयमा सरकारले गरेको ज्यादतीका विषयमा प्रश्न उठाएको थियो । त्यसकारण कांग्रेसले प्रधानमन्त्रीको राजीनामा उस बेला नै माग्नुपर्ने थियो । ढिला गर्‍यो । तर, प्रधानमन्त्रीको राजीनामा मागेर कांग्रेसले ठिकै गरेको छ ।

त्यसो भए अब सरकारको नेतृत्व नेपाली कांग्रेसले नै गर्छ ?

राजीनामा एउटा कुरा भयो, सरकारको नेतृत्व गर्ने अर्कै कुरा भयो । सरकारको नेतृत्व फेरिनुपर्छ ।यो आम नेपाली कांग्रेसका कार्यकर्ताको मात्र होइन, आम नेपाली जनताको आवाज त्यही देखिन्छ ।

तर, यसमा समय आएको छ कि छैन भन्ने कुरा त राजनीतिलाई तपाईंले कसरी डोर्‍याउनुहुन्छ, समय त्यही रूपमा अनुकूल बन्दै जाने हो । तर, म त भन्छु, कांग्रेसले नेतृत्व लिँदा पनि चुनावी सरकारको नेतृत्व गर्नुपर्छ । किनभने, यो संसद्ले अब काम गर्न सक्ने अवस्था देखिएन ।

सरकारले बिजनेस नदिने, संसद्ले आफैँ पनि केहीगर्न नसक्ने अवस्थाले निकास निस्कँदैन । प्रधानमन्त्री कहिले बजेट ल्याउने र संसद् विघटन गर्ने भनेर बाटो हेरिरहेको जस्तो देखिँदैछ, त्योभन्दा पहिले हामीले निर्णय गर्नुप¥यो। संसदीय व्यवस्थामा अंकगणित (संख्या)को खेल पनि त हुन्छ ।

त्यो खेलमा हामीले मात्र पहल गरेर त हुनेवाला छैन । त्यसका लागि माओवादी केन्द्र र सिंगो जसपा आयो भने मात्र वैकल्पिक सरकार बन्ने हो ।

जसपाका केही मुद्दाहरु छन् । ती मुद्दामध्येको एउटा त संविधान संशोधनको मुद्दा हो । त्यो संविधान संशोधनको विषय नेपाली कांग्रेस, माओवादी केन्द्र र त्यस बेलाको राजपाबीचको सहमतिअनुसार संशोधन प्रस्ताव लगिसकेको छ । त्यो विषय अब जसपाको मात्र विषय हो भन्ने रहेन ।

त्यस बेला फेल कसले गरायो ?सबैलाई थाहा छ, अहिलको प्रधानमन्त्रीले नेतृत्व गरेको नेकपा एमालेले । अहिले जसपाका नेताहरु तीनै प्रधानमन्त्रीकोमा धाइराख्नुभएको छ । त्यो पनि विचार गर्नुपर्छ हामीहरुले ।

राजनीति गर्ने मान्छेले प्रधानमन्त्रीले त्यस बेला किन गर्नुभएन, अहिले गर्नुहुन्छ भन्ने आधार छ, विश्वास छ भने हामीले भन्नु केही छैन । हामी त तयार छौँ, म जहिले पनि तयार थिएँ । हामीले कांग्रेसकै नेतृत्वमा संविधान संशोधन प्रस्ताव लगेका हौँ, एमालेले मात्र साथ नदिएको हो । त्यही कारण दुईतिहाइ पुगेन ।

बाहिर सुन्दा, पत्रपत्रिका पढ्दा, टेलिभिजन हेर्दा (भित्र त कुरा के हो, थाहा छैन) बाबुराम र उपेन्द्र समूह प्रधानमन्त्री हट्नुपर्छ भन्दै हुनुहुन्छ । महन्थ–राजेन्द्रहरु ओलीसँगै मिलेर जानुपर्छ भन्दै हुनुहुन्छ । रह्यो त्यसमा थारु समुदायको द्वन्द्वका विषयमा कसरी जाने भन्ने कुरा छ । म पनि टीकापुर दुई–चारपटक गएको छु । त्यहाँको स्थानीयका आधारमा भन्नुपर्दा केही मानिसहरु अनाहकमै थुनिनुभएको छ । मुद्दा खेपिरहनुभएको छ, उहाँहरुलाई तत्कालै रिहाइ गरिदिए भइहाल्यो । रेशम चौधरीको कानुनी प्रक्रिया कसरी अघि जान सक्छ, त्यसलाई हेरेर अघि बढाउन सकिन्छ । निर्णय गर्दा त एकदमै गम्भीर भएर गर्नुपर्ने हुन्छ । हचुवा निर्णयले हुँदैन ।

त्यसो भए जसपाका माग सम्बोधन गर्नुपर्‍यो भने कुनै समस्या हुँदैन कांग्रेसलाई ?

संविधान संशोधनको माग त कांग्रेसले सम्बोधन नै गरिसकेको हो । एमाले तयार नभएर टेक्निकल्ली असफल भएको हो । अहिले त्यसमा विरोध गर्नुको त कुनै औचित्य नै छैन ।

एमालेले नमानेको त हो । अब एमालेले मान्छ भने ठिक छ, अहिले त्यो पारित भइहाल्छ । एकपटक आफैँले दर्ता गरेको प्रस्तावमा कांग्रेसले इन्कार गर्ने कुरै आउँदैन ।

तर, जसपाले भन्दैछ–कांग्रेसले गठबन्धन बनाउन खाजेको होइन, मेरो नेतृत्वमा सबै आऊ भन्दैछ । त्यसरी पनि गठबन्धन हुन्छ ? 

होइन, होइन । ‘त्वम् शरणम्’ भन्ने हुँदैन राजनीतिमा । जसपाको हामी पनि हुने होइन, नेपाली कांग्रेसलाई राजपाले त्यसो गर्नुपर्छ भन्ने पनि होइन । राजनीति भनेकै त्यही हो । उहाँहरुले गलत भन्दै हुनुहुन्छ, उहाँहरुले बरु हाम्रो नेतृत्व किन नहुने भन्न सक्नुपर्‍यो ।

तर, सरकारको नेतृत्वका विषयमा कांग्रेस एकमन हुनै सकेको छैन । सभापतिनिकटका मान्छेहरु तपाईंहरुलाई १५ दिनअघिसम्म सरकारमा जानु हुँदैन भन्ने अहिले सरकारको विकल्प खोज्नैपर्छ ? भन्दै हुनुहुन्छ । के हो यसको रहस्य ?

त्यसरी कुरा गर्नुहुन्छ ? मैले त थाहा पाएको छैन । तपाईंले भन्दै हुनुहुन्छ । बेसिकल्ली के हो भने हामी प्रमुख प्रतिपक्षी हौँ ।

प्रमुख प्रतिपक्षी भनेको ‘गभर्मेन्ट इन वेटिङ’ पनि हो । र, नेपाली कांग्रेसको जन्मदेखि नै हामी ‘प्रोएक्टिभ’ भएका छौँ ।

कहिल्यैपनि ‘रियाक्टिभ’ भएका छैनौँ । अहिलेको नेपाली कांग्रेसको नेतृत्व मात्र त्यस्तो छ, जो ‘प्रोएक्टिभ’को कुरा छाडिदिनुस् ‘रियाक्टिभ’ पनि भइराखेको छैन ।‘द्याट इज द डेन्जरस थिङ फर नेपाली कांग्रेस’ । प्रोएक्टिभ पार्टी हो नि नेपाली कांग्रेस त ।

हामी एकदमै कमजोर भएका बेला राजाको पालामा पञ्चायतको पालामा समेत प्रोएक्टिभ थियौँ,हैन ?संविधानसभाको पहिलो निर्वाचनपछि हामी एकदमै खुम्चिएका थियौँ, जनमताबाट ।

तर, गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा हामी एकदमै प्रोएक्टिभ थियौँ । हार्न त त्यस बेला पनि हारेका हौँ । राजाको पालामा संसद्मा समेत थिएनौँ । तर, कांग्रेसको आफ्नो प्रोएक्टिभनेस त थियो । अहिले त जनताले खोजी रहेका छन्, प्रतिपक्ष कहाँ छ भनेर । यो कांग्रेसका लागि ‘गुड साइन’ हुनसक्छ ?

दोस्रो कुरा, कुरा प्रतिपक्ष भइसकेपछि सरकारमा जाने/नजाने लामो बहस गर्नु जरुरी छैन, दिए हुन्छ अर्को पार्टीलाई ।तर, यो सरकार बस्नु हुन्छ कि हुँदैन भनेर बहस गर्नुपर्‍यो, निष्कर्षमा पुग्नुपर्‍यो । मलाई भन्नुहुन्छ भने यो सरकार जति दिन बस्छ, त्यति दिन सर्वसत्तावाद, लगामविहीन अघि बढिरहन्छ । त्यो त विचार गर्नुपर्‍यो ।

प्रतिनिधिसभा विघटनपछि तपाईंहरुले विघटन असंवैधानिक हो भनेर आन्दोलनमा जानुभयो । तर, आन्दोलनमा त त्यो विघटनलाई सहयोग गर्ने गरी कसैले निर्वाचन ठिक हो भन्नुभयो, कसैले पुनःस्थापना भन्नुभयो । अहिलेपनि तपाईंहरुले केन्द्रीय समितिबाट सरकारको विकल्प खोज्ने भन्नुभयो । अब त्यसको कार्यान्वयनमा पनि त तपाईंहरु विभाजित हुने होला ?

सभापति र सभापतिको ग्रुपको कुरा गर्नुभएको होला, तपाईंले त्यस बेलाको । संविधानमै नभएका कुरा प्रधानमन्त्रीले गर्दिनुहुन्छ । त्यसमा चुप लागेर बस भन्ने त उहाँको गलत कुरा हो नि त ।

संविधान बाँच्छ कि बाँच्दैन भन्ने कुरा इम्पोर्टेन्ट हो । अहिले संसद् अनिर्णयको बन्दी भएको छ । संसद् अनिर्णयको बन्दी बन्नु भनेको देशका निम्ति एकदमै घातक कुरा हो ।

सरकार अराजक हुने बाटो खोजिरहेको छ । यस्तो बेला जनताले नेपाली कांग्रेसको भूमिका अपेक्षा गर्छन् । संसद् अनिर्णयको बन्दी बन्ने अनि सरकार बेलगाम हिँड्यो भने त अराजकता निम्तिने भयो । त्यसकारण यो सरकारलाई तुरुन्तै प्रतिस्थापन गरेर अर्को चुनावी सरकार बनाएर अघि जानुपर्छ ।

अब चुनावमै जाने हो ? दुईवर्ष थप समय कुर्नु जरुरी छैन ?

यो संसद्लाई काम गर्न नसक्ने बनाइयो । म दुई वर्ष कुर्नुपर्छ भन्ने पक्षमा छैन, कांग्रेसको निर्णय आएपछि पार्टीको धारणा बन्ला ।

सरकारको नेतृत्व जसलाई दिएपनि हुन्छ भन्दैहुनुहुन्छ तपाईं । कांग्रेसले त आफैँ अग्रसरता लिने भनेको छ । यो कुरामा पनि पार्टीसँग तपाईंको फरक मत हो ?

होइन, मैले त्यसो भनिनँ । हामीले कोसिस आफ्नै नेतृत्वमा बनाउन गर्ने हो । तर, हामीले कोसिस गर्दा बन्दैन र अरु कसैले नेतृत्व गर्छ भने हामीले ‘रिजिड’ हुन जरुरी छैन भन्ने हो ।

त्यस्तो बेला हामी सहयोग गर्छौँ भन्नुपर्‍यो या तपार्इंहरुलाई सहयोग गर्छौँ। तर, हामी बाहिरै बस्छौँ भन्न सक्नुपर्‍यो । तर, मूल कुरा अहिलेको बेलगाम सरकारलाई हटाउनुपर्‍यो । यो सरकारलाई राखिराख्यो भने देशमा अराजकता आउँछ ।

यो सरकार जोगाउने विषयमा तपाईंकै नेतृत्व लागिरहेको छ भन्नेआरोप छन् । संवैधानिकपरिषद् अध्यादेश असंवैधानिक र अमान्ने छ भन्ने, त्यही अध्यादेशअनुरुपका पदाधिकारीको भागबन्डामा भाग लिने काम भइरहेकै छ  । तपाईंहरुको यो कस्तो खालको नैतिकता हो ?

यसमा मेरो भनाइ के छ भने सभापतिजी जनताको नजरमा शंकाको घेरामा हुनुहुन्छ,यो संवैधानिक परिषद्को अध्यादेश आएपछि भएको निर्णय र नियुक्तिको सन्दर्भमा ।

होइन भन्दै हुनुहुन्छ उहाँले त ?

उहाँले भन्दैमा मान्छन् जनताले, तपाईं पत्याउनुहुन्छ कि उहाँले भाग लिनुभएको छैन ?एउटा आम नागरिकले मान्छ ? मान्दैन ।

अनि, तपाईंहरुकै नजरमा नि ?

एउटा कुरा के बुझ्नुपर्‍यो भने, जसरी संवैधानिक परिषद्मा नियुक्ति भयो, त्यो नियुक्तिले आशंका पैदा गरिसकेपछि नेपाली कांग्रेसको सभापति मौन बस्नुभयो ।

धेरैपछि आएको छ नि, संवैधानिक परिषद्को नियुक्ति गलत हो भन्ने निर्णय त । गलत मात्र गलत होइन, वास्तवमा भन्नुहुन्छ भने अहिले भएका नियुक्ति सबै खारेज गर्नुपर्छ ।

हटाउन सक्ने क्षमता राख्न सक्नुपर्छ नेपाली कांग्रेसले, हो कि होएन भन्नुस् त ? तपाईं क्षणिक फाइदाका लागि, एउटा व्यक्तिको स्वार्थका लागि पार्टीलाई दाउमा राख्न पाउनुहुन्छ ?त्यो त पार्टीको, नीतिको कुरा भएन ।

देशको संविधानलाई कुल्चिएर प्रधानमन्त्री नियुक्ति गर्ने अनि कांग्रेसको नेतृत्वले सपोर्ट गरेर मान्छे दिने अनि कांग्रेस स्वभाभिमानी पार्टी रहन्छ ?

जनताले कांग्रेसलाई प्रश्न गर्छन्, तपाईंहरु त्यो प्रश्नको समर्थन गर्नुहुन्छ । तर, त्यस्ता प्रश्नबाट नेतृत्वलाई थकाउन त सक्नु हुन्न ?

यो थकाउने वा गलाउने कुरा महत्वपूर्ण होइन । म बोल्ने ठाउँमा बोलिरहेकै छु । अहिले तपाईंसँग पनि भनेँ, यही हो हामीले गर्ने । ‘ह्वाट टेल्स यु क्यान डु’? गलत कुरालाई गलत भन्न सकिएन भने किन पार्टीमा लाग्ने ?

तपाईं यस्तो कुरा गर्नुहुन्छ । तर, नेपाली कांग्रेसले भन्ने कुरा र डा. शेखरले भन्ने कुरा त फरक–फरक छन् नि ! पार्टीमा सबैले गलतलाई गलत भन्छन् त ?

संवैधानिक परिषद्को सन्दर्भमा असंवैधानिक भनेर सबैले भनेको छैन ?

असंवैधानिक भन्ने अनि त्यसैमा भाग लिने, यो त म्याच फिक्सिङ भएन? विपक्षबाट खेल्ने तर सपोर्ट गर्ने ?
तपाईंले भन्नुहुन्छ, म्याच फिक्सिङ । तर, गलत भयो भनेर पार्टीले निर्णय गरिसक्यो नि !

अनि, भाग लिएको कुराचाहिँ नि ?

त्यसैले त भन्दैछु त । त्यो कांग्रेसले भाग लिएको होइन । यो त नितान्त सभापतिको व्यक्तिगत हो । पार्टी व्यक्तिगत हिसाबले गइरहेको छ ।

त्यसैले त सभापतिजी जनताको प्रश्नको घेराभित्र हुनुहुन्छ । जो जो व्यक्ति नियुक्ति लिएर जानुभएको छ, उहाँहरु पनि जनताको नजरमा शंकाको घेराभित्रै हुनुहुन्छ ।

पार्टीभित्र त्यसको मूल्यांकनचाहिँ महाधिवेशनले गर्ने हो ?

पार्टीको महाधिवेशनले त धेरै कुराको मूल्यांकन गर्छु नि !

कांग्रेसको महाधिवेशन वैधानिक अवधि गुमाएर संविधानको वैशाखी टेकेरभदौमा तोकिएको छ ।भदौमा महाधिवेशन हुन्छ भन्नेमा ढुक्क हुनुहुन्छ ?

भदौमा महाधिवेशन हुन्छ । म यसमा ढुक्क छु । केही स्थानमा विवादहरु आउँछन् । एउटा पार्टीमा सामान्य विवाद रहन्छन् । तर, भदौमा कांग्रेसको महाधिवेशन हुन्छ ।

केही मानिसहरु भन्छन् कि माओवादीले ११ वर्षदेखि, एमालेले आठ वर्षदेखि महाधिवेशन गरेका छैनन् । जसपाको अवस्था फरक छ, राप्रपाको फरक छ । त्यसैले कांग्रेसको महाधिवेशन समयमा नगर्दा प्रश्न उठाउने कोही पनि छैन । भदौमा महाधिवेशन पनि हुँदैन । किनभने, सभापतिले चुनावअघि महाधिवेशन गराउनुहुन्न ! तपाईं मान्न तयार हुनुहुन्छ ?

एउटा लोकतान्त्रिक पार्टी आफूलाई भन्छौँ र अरुलाई डेमोक्रेटिक नर्मस् भ्यालु सिकाउँछौँ भन्ने हो भने आफू पहिले डेमोक्रेटिक हुन सिक्नुपर्छ । आफू डेमोक्रेटिक हुन विधि–विधान र लोकतन्त्रिक परम्पराहरुलाई लिएर अघि जान सक्नुपर्छ । नत्र किन लोकतान्त्रिक भन्ने ?

परम्परा भनेको चाहिँ पहिले प्रतिबन्धितकालमा वर्षौँसम्म महाधिवेशन हुँदैनथ्यो नि ! त्यसलाई नै भन्न खोज्नुभएको हो ?

महाधिवेशनको विषयमा टार्ने विषय होइन । बीपी, गणेशमान, किशुनजी, गिरिजाबाबुले निर्णय कसरी गर्नुहुन्थ्यो, पार्टी कसरी चलाउनुभएको थियो, संकटमा पार्टीलाई कसरी नेतृत्व दिनुभएको थियो, जनता र कार्यकर्ताको मनोबल गिर्न नदिन के गर्नुभएको थियो, त्यो कुरा अहिले छ कि छैन ? मैले परम्म्परा भनेर त्यसलाई भन्न खोजेको हुँ । त्यो कठिन सयमा यो पार्टीलाई जोगाउन उहाँहरु कसरी अघि बढ्नुभयो, त्यसलाई हेरेर काम गर्नुपर्‍यो । परम्परा भनेको त त्यही हो नि, होइन र ?

तपाईं पनि सभापतिको रेसमा हुनुहुन्छ, छु भन्नुभएको छ, भए/नभएको तपाईंहरुको महाधिवेशनसम्मको दौडले बताउला पनि । अहिले तपाईंहरु एउटा समूहबाटै जुन तहका रेसमा देखिँदै हुनुहुन्छ, त्यो नेतृत्वको विस्थापनका लागि हो कि मात्र प्रतिस्पर्धाका लागि हो ?

हेर्नुस्, नेपाली कांग्रेसमा तलदेखि नै कार्यकर्ताहरुले आफ्नो भविष्य खोजिरहेको अवस्था छ । जुनसुकै समूहका हुन् । अघि मात्र तपाईंले देख्नुभयो, ग्रुपको हिसाबले मेरो निकटका होइनन्, सभापति शेरबहादुरजीकैग्रुपका हुन्, उनीहरु पार्टीभित्र आफ्नो भविष्य खोजिरहेका छन् । उहाँहरु पार्टी छोडेर जानुहुन्न, नेपाली कांग्रेसभित्रै आफ्नो भविष्य खोज्दै हुनुहुन्छ । वर्तमान नेतृत्वबाट हुँदैन भन्ने कुरामा उहाँहरु विश्वस्त हुनुहुन्छ । ग्रासरुटबाट नै महाधिवेशन आउँछ । त्यो अहिले कार्यकर्ता आफैँले बुझिरहेको अवस्था छ । त्यसैले कांग्रेसमा नेतृत्व परिवर्तन अपरिहार्य छ । त्यो हुन्छ ।

नेतृत्व परिवर्तन हुन्छ भन्दा पनि कसरी हुन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ, हैन ?

कसरी हुन्छ भन्ने त मुखले भन्ने होइन नि त । महाधिवेशनले देखाउँछ । अहिले यसरी हुन्छ भनेर हचुवा तर्क गरेर त भएन नि ।

तर, अहिले भएका प्रतिस्पर्धीहरुमध्ये सबैभन्दा बलियो व्यक्ति त शेरबहादुर देउवा नै हो, हैन ?

नेचुरल हो । म मान्छु ।

मान्नुहुन्छ भने उहाँलाई हराउन कसरी सक्नुहुन्छ ?

यो पार्टीभित्रको महाधिवेशन हो भन्ने कुरा भुल्न भएन नि ! पार्टीको अधिवेशनमा महाधिवेशन प्रतिनिधिहरु मोस्ट इम्पोर्टेन फ्याक्टर हुन्छ, भोटिङको कन्टेस्टबाट हेर्दा । उनीहरु आफ्नो भविष्य हेरिरहेका छन् । फेरि, अहिलेको नेतृत्वभन्दा म शेरबहादुरजीलाई मात्र इंगित गरिरहेको छुइन,–धेरै कुरा भनिरहेको छु ।

प्रतिपक्षी नेतृत्व पनि ?

म कसैको नाम लिने पक्षमा छैन । तर, भोट खसाल्ने हो, उसले यसचोटि १०० पटक सोचेर मात्र भोट खसाल्छ । कसलाई अघि बढाउँदा पार्टी चलायमान हुन्छ, कसले हाम्रो भविष्य सुरक्षित राख्नसक्छ, त्यो सोचिरहेको छ अहिले ।

तपाईंले त बडो तटस्थ प्रतिनिधि आउँछन् भन्ने शैलीमा कुरा गर्दै हुनुहुन्छ । कांग्रेसमा स्थानीयस्तरमै नेतासँग जोडिएर निकटताका आधारमा महाधिवेशन प्रतिनिधि चयन हुन्छन् । उनीहरु तिनै नेतासँग जोडिएर महाधिवेशनस्थल पुग्छन् । अनि, ती नेता जता उभिन्छन्, उतै निर्णायक हुन्छ । यही होइन, कांग्रेसको अभ्यास ?

तपाईं पनि नेपालमै बस्नुहुन्छ होला । म पनि नेपालमै बस्ने हो । कांग्रेसको १४औँ महाधिवेशन आउन अब चार–पाँच महिना मात्र बाँकी छ । हेर्नुहोला, के हुनेरहेछ । त्यो अवस्था अब छैन । पहिले–पहिलेको अभ्यास तपाईंले भनेकै जस्तो थियो । पहिले किन थियो भने, नेताहरुको मोरल अथुरिटी थियो । अहिले मोरल अथुरिटी गुमाइसकेका नेताहरु छन् । त्यसकारण त्यो अवस्था रहिरहन सक्दैन । तपाईंले भनेको कुरा १० प्रतिशत अहिले पनि हुन्छ । तर, त्यसको प्रभाव त्योभन्दा माथि रहनेवाला छैन ।

त्यसो भए अर्को प्रश्न, तपाईंजस्ता आकांक्षीहरु नेतृत्व बदल्नुपर्छ भन्ने धारणामा ऐक्यबद्ध हुने र अन्तिमसम्म सहमति हुने सम्भावना पनि बाँकी छ ?

त्यसरी हेर्नुहुन्छ भने, अरुलाई मात्र किन भन्ने ? वर्तमान सभापतिजी नै महाधिवेशनसम्म प्रतिस्पर्धामा नरहने सम्भावना छ नि । उहाँलाई भिन्नै राखेर किन कुरा गर्नुहुन्छ । यो त पार्टीभित्रको प्रतिस्पर्धाको कुरा हो नि । तपाईं उहाँलाई छुट्टै राखेर कुरा नगर्नुस् ।

त्यसो भए तपाईं उहाँले म प्रतिस्पर्धी बन्दिनँ, मेरो प्रतिस्पर्धी फलानो हो वा म नेतृत्व हस्तान्तरणका लागि तयार छु भन्ने सम्भावनाको पर्खाइमा हुनुहुन्छ ?

होइन, पर्खाइमा छैन । तर, राजनीति भनेको सम्भावनाको खेल हो । यसमा असम्भव भन्ने कुरा केही पनि हुँदैन । उहाँले उठ्दिनँ भन्न सक्ने सम्भावना किन नहुने ?

सबैभन्दा इम्पोर्टेन कुरा के हो भने, अब उहाँ उठ्नुपर्ने वा उठ्छु भन्नुपर्ने कारण के बाँकी छ ? उहाँले के कुरा डेलिभर गर्न सक्नु भएन, किन सक्नु भएन, यो कुरा त कार्यकर्ताले जान्नुपर्‍यो नि । कार्यकर्ताले यो कुरा त खोज्छ नि त । किन सेकेन्ड टाइम उहाँलाई भोट दिने, यो कुरा उहाँले सिद्ध गर्नुपर्छ होला नि !

उहाँ चुप लागेरै नेकपा विभाजित हुने अवस्था निर्माण गर्नुभयो । अहिले एमाले पनि विभाजित हुने अवस्था छ । त्यसपछि चुनावमा जाने पार्टीलाई बलियो बनाउने उहाँसँग धेरै कुरा छन् भन्दै पनि त हुनुहुन्छ, उहाँनिकटहरु !

कार्यकर्ता अहिले त्यति बेवकुफ पनि छैनन्, जसले जे भनिदियो त्यही पत्याइदिने । उहाँहरुले फुटाउनुभएको होइन । पार्टी फुटाउने अरु नै छन् । केही एमालेभित्र होलान्, केही माओवादीभित्र होलान्, केही अन्यत्रै होलान् । हामीले पार्टी फुटाएको हो, हाम्रो खेलले फुटेको हो ? होइन । यस्ता हचुवा तर्क कसैले पत्याइ दिँदैन ।

त्यसो भए देशभरका कांग्रेजन १४औँ महाधिवेशनबाट कांग्रेसको नेतृत्व परिवर्तन हुन्छ, अहिलेको आवश्यकता सम्बोधन गर्ने नेतृत्व आउँछ भनेर आश्वस्त हुन सक्छन् ?

तपाई मसँग २४ घण्टा हिँड्नुस् अनि राम्रोसँग बुझ्नुहुन्छ । आज उहाँकै (शेरबहादुर देउवा) जिल्लाका, उहाँकै क्षेत्रकार धेरै प्रदेशका मानिसहरु पनि मकहाँ आएका थिए । मेरा मान्छे हैन, उहाँलाई भोट दिएका मान्छेहरु । उहाँहरुका कुरा सुन्नु आवश्यक छ तपाईंहरुले, हाम्रा कुरा सुन्नुको कुनै अर्थ छैन ।

उहाँका मान्छेहरु अब शेरबहादुर देउवाबाट कांग्रेस चल्दैन निष्कर्षमा पुगेका हुन् ?

उहाँहरुले नै भन्दै हुनुहुन्छ । मैले भनिरहेकै छैन । उहाँले डेलिभर के गर्नुभयो ? एउटा त देखाउनुप¥यो, मैले यहाँनेर पार्टीलाई फाइदा पुर्‍याए, दुर्घटनाबाट जोगाए भनेर ।

त्यसो भए कांग्रेस अब पुस्तान्तरणमा जान्छ कि नेतृत्व परिवर्तनमा ?
राजनीतिमा पुस्तान्तरण भन्ने हुँदैन । राजनीतिमा जसले नेतृत्व गर्न सक्छ, जसले डेलिभर दिनसक्छ, जसले कार्यकताको मन छुन सक्छ, जसले कार्यकर्तामाझ आफूलाई आइडेन्टिफाइ गराउन सक्छ, त्यही न नेता हुने हो ।

त्यसो भए म फेरि पनि सभापतिलाई छुट्टै राखेर भन्छु । किनभने, उहाँ दिन सक्ने ठाउँमा हुनुहुन्छ, तपाईंहरु माग राख्ने ठाउँमा । माग राख्ने पक्षबाट प्रतिस्पर्धामा रहेकाहरुबीच विश्वास निर्माण गर्न सक्नुहोला ?

सभापतिको रुपमा उहाँप्रति मेरो रेस्पेक्ट छ, हामी सबै रेस्पेक्ट गर्छौँ । हाम्रो बीचमा कुनै मिस अन्डरस्ट्यान्डिङ छैन । प्रतिस्पर्धा त हुन्छ, सभापतिको पदमा पुग्ने एकजना मात्रै हो ।

तर, रेस त जारी छ । रेसमा त कहिले एउटाले उछिन्छ, कहिले अर्कोले उछिन्छ, तेस्रो मान्छे पनि अघि लागिरहेको हुन्छ । तर, अन्तिममा रेस जित्ने त एउटाले हो नि त । त्यसका लागि समय बाँकी छ ।

हामीहरु छलफल राम्रैसँग गरिरहेका छौँ । हामीहरुबीच कुनै रिसइवी पनि छैन । यो कुरा बुझ्नुस् कि अन्तिमसम्म अहिले देखिएका धेरै प्रतिस्पर्धी बाँकी रहँदैनन् । समझदारीले नै धेरै कुराको टुंगो लगाइसक्छ ।

देउवालाई सभापति बनाउन महत्वपूर्ण भूमिका खेलेकामध्येका, सभापति देउवाले नै उपसभापति बनाएर केन्द्रीय प्रशिक्षण तथा नीति अनुसन्धान प्रतिष्ठानको प्रमुख हुनुभएका विमलेन्द्र निधि पनि रेसमा हुनुुहुन्छ, कुराकानी भएको छ ?
उहाँसँग धेरैपटक मेरो कुरा भएको छ । उहाँ मेरो सिनियर नै हो । म उहाँलाई भेट्न पनि गए । उहाँ तयारीका हिसाबले परिपक्व ढंगले अघि बढेको देखेँ, मैले । उहाँले फोनदेखि भेटघाटसम्म एक प्रकारको तयारी अघि बढाएको मैले पाएको छु । पछिल्ला केही महिनाचाहिँ मैले उहाँसँग भेट गरेको छुइनँ ।

त्यस्तो अवस्था पनि बन्न सक्छ कि सभापति देउवानिकटको अहिलेको संस्थापन र पुरानो संस्थापन (तपाईंहरु)बीच नै एलाइन्स हुने र वर्तमानमा देखिएको गुटबन्दी ध्वस्त पारेर नयाँ नेतृत्व चयन हुने ?

यसपटक एउटा कुरा तपाईंहरु बुझ्नुस् कि पहिलेको अवस्था रहँदैन । सिरियसली हेरिदिनुस् तपाईहरुले, पहिलेको ग्रुप ठ्याक्कै त्यही अवस्थामा अहिले पनि छैन । परिवर्तन भइरहेकै छ ।

१२औँ महाधिवेशनको स्वरुप १३औँ महाधिवेशनमा परिवर्तन भएको छ । रामचन्द्रजीका केही साथीहरु शेरबहादुरजीतिर जानुभयो, शेरबहादुरजीका मान्छेहरु रामचन्द्रजीसँग जानुभयो ।

बेटर मान्छे, असल मान्छेहरुलाई त हामीले साथ लिएर हिँड्नुपर्‍यो नि त । शेरबहादुरजीसँग पनि त रामा मान्छेहरु त छन् नि त । नत्र भने त ग्रुपको राजनीतिले त राम्रा मान्छेहरु फेरि पनि पाखा लाग्छन् नि ! यो गुटको सबैभन्दा ठूलो समस्या हो ।

राम्रा मान्छे जोगाउन त मैले मात्र गरेर पनि हुँदैन, दुवैतर्फबाट यी यी मान्छे जोगाउने भन्ने न्यूनतम समझदारी आवश्यक हुन्छ नि ! मलाई मन नपराओस्, मेरो आलोचना गरोस् । तर, पार्टीका लागि राम्रो गर्ने मान्छे छ भने त्यो मान्छे त केन्द्रीय समितिमा ल्याउनुपर्‍यो नि ।

अहिले कांग्रेसले प्राक्टिसका हिसाबले कम्युनिस्ट पार्टीको जस्तै देखिने गरी ८५ जनामा ८४ जना थपेर केन्द्रीय समिति बनाएको छ । यस्तो संरचनाले पार्टी बलियो बन्छ ?

अहिले पनि सभापतिले मनलाग्दी केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य थपेर गलत गर्नुभएको छ । विरोध गर्ने काम छैन, गर्नुभएको छ गर्न दिऊँ । त्यसले उहाँलाई र नियुक्त हुनेलाई फाइदा होला, पार्टीलाई त्यसले फाइदा गरेको छैन । गर्दैन ।

तपाईंले भनेको संख्या थप्ने कुरा छ, यसले अब केन्द्रीय सदस्यको रोल नै घटाइदिन्छ । अझ केन्द्रीय समितिकै रोल घट्छ र कार्यसम्पादन समितिको रोल बढेर जान्छ । कार्यसम्पादनले गरेका निर्णय केन्द्रीय समितिले अनुमोदन गर्ने अभ्यास हुनसक्छ । कम्युनिस्ट पार्टीकै जस्तो देखिन संरचनाले भोलिका दिनमा राम्रो गर्दैन । तर, हामीले महासमिति बैठकबाट गरिहाल्यौँ ।

भोलिका दिनमा सच्चिन सक्छ ?

अहिले नेपाली कांग्रेसमा म के देखिरहेको छु भने मेरो पोजिसन के भन्ने कुराले काम गरिरहेको छ । मलाई पनि पहिले त्यही लाग्थ्यो कि मेरो पोजिसन के हो ? मलाई जिम्मेवारी किन दिइराखिएको छैन ? तर, अहिले आउँदा मैले कुरा बुझेको छु, जिम्मेवारी कसैले दिँदैन । तपाईंले के गर्ने भन्ने कुरा तपाईं आफैँले छनोट गर्ने हो । गिरिजाबाबु सभापति हुँदा पनि म केन्द्रीय सदस्य थिएँ । सुशील’दा सभापति हुँदा पनि म केन्द्रीय सदस्य भएँ । शेरबहादुर देउवा हुँदा पनि म केन्द्रीय सदस्य भएँ । मलाई उहाँहरुले संगठनको कुनै जिम्मेवारी दिनुभएको छैन । मैले जे गरेँ, आफैँले गरेको छु ।

फेरि, मानिसहरु तुलना गर्छन्, वडाको मान्छेलाई माओवादी केन्द्रले, एमालेको ओलीले केन्द्रीय सदस्य बनाइदियो । के भयो त बनाइदियो, के उसलाई नेपाली कांग्रेसको कार्यकर्ता हुनुमा तिमीलाई हुने गर्वजतिको बनाइदिएको छ, त्यसोभन्दा हैन । दाइ, मञ्चमा बस्न त गाह्रो भयो, ऊ प्रमुख अतिथि बन्छ, म तल बस्नुपर्छ ।

ऊ मेरो जुनियर हो । तर, ऊ ठूलो पोजिसनमा पुग्यो । नेपाली कांग्रेसमा त्यसबाट पीडित भएको, हिनताबोध भएको मैले पाएको छु । नेपाली कांग्रेसले गर्वका साथ पदले होइन, आफ्नो भूमिकाले गर्व गर्ने हो भन्न सक्नुपर्छ । ३००/४०० केन्द्रीय सदस्य बनाइदियो भने के हुन्छ, धेरै मान्छेहरु त त्यसमा अटाउन सक्छन् तर, केन्द्रीय सदस्य भएबापत आउने इज्जत समाप्त हुन्छ । त्यसले माने नै राख्दैन नि !

तपाईं देशव्यापी हिँडिराख्नुभएको छ, सभापतिको उमेदवारको रुपमा प्रस्तुत गर्दै । अघिल्लोपटक पनि त्यसरी नै हिँड्नुभएको थियो, अन्तिममा लड्नु भएन । अहिले पनि त्यस्तै हुने त होइन ?

वाग्मतीमा धेरै पानी बगिसक्यो, यो पाँच वर्षमा । बगेको पानी फर्कन्छ ? फर्किँदैन होला नि त !

ठ्याक्कै त्यस्तै हो, उमेदवारी रोकिँदैन ?

रोकिँदैन । म सभापतिबाहेक अर्को पदमा उमेदवार बन्दिनँ र एकपटकका लागि मात्र सभापति बन्छु ।

हारे पनि जिते पनि अर्कोपटक लड्नु हुन्न ?

हार्ने कहाँ कुरा गर्दै हुनुहुन्छ ?

सबैजनाले त जित्दैनन् नि !

हामी सबै जित्छौँ, सबै नेपाली कांग्रेस बनाउन लागेका हौँ र सबैले कांग्रेसलाई निकास दिँदै देशलाई विकास दिने हो । जितेको नेपाली कांग्रेस बनाउनु खोजेको हो, सबैलाई समेट्ने नेपाली कांग्रेस बनाउन खोजेको हो ।

तर, सबैभन्दा ठूलो समस्या कांग्रेसको शीर्ष तहको व्यवस्थापन नै हो नि, हैन ?

मेरो पनि जिम्मेवारी हो कि सबैलाई मिलाउनुपर्ने । सबैलाई शतप्रतिशत मिलाउन त सम्भव नहोला । तर, ६० प्रतिशत, ७० प्रतिशत, ८० प्रतिशतसम्म त मिलाउनुपर्ने हुन्छ । त्यसमा मेरो पनि कोसिस आवश्यक छ, म लागिरहेकै छु ।

तपाईंले भनेजस्तै ६० प्रतिशतभन्दा बढी मिलाउनलाई कहिलेसम्म लाग्छ ?

समय छ । हामी कार्यकर्तामा परीक्षण गर्छौँ, सबैले । नेताहरुबीच सौहार्दपूर्ण कुराकानी जारी रहन्छ । त्यो समय जेठ, असार, साउनसम्म आउँछ । त्यो अहिले नै भन्न सकिने अवस्था पनि छैन । तर, कुरा हुन्छ ।

कांग्रेसले पहाडमा दुई सिट जितेको छ । काठमाडौं उपत्यकामा अलिक राम्रो जिते पनि सबैभन्दा बढी कांग्रेसमाथि प्रश्न यहीँबाट छन् । कांग्रेससँग आस्थावादेखि तटस्थ भएर भोट हाल्ने नागरिक निराश हुने अवस्था किन बन्यो ?

यसमा हाम्रो नेतृत्वको केही रोल रह्यो । शेरबहादुरजी प्रधानमन्त्री हुँदा केही घटनाहरु घटे । केही गलत काम हामीबाट भए । आईजी प्रकरण भन्नुस्, सुशीला कार्की प्रकरण भन्नुस् वा राजदूत प्रकरण भन्नुस् । यस्ता केही घटनाहरु घटे । त्यसकै सेरोफेरोमा निर्वाचन भयो । काठमाडौं बौद्धिकहरुको बसोबास रहेको स्थल हो । बौद्धिक सर्कलले एकपटक केही कुरा भन्यो भने त्यसको पहुँच चारैतर्फ हुन्छ । बौद्धिकले बोलेपछि मिडियाले लेख्न थाल्छ, अर्को अर्को गर्दै सबैले भन्न थाल्छ । त्यसकारण प्रश्नहरु छन् । प्रश्न हामी र हाम्रै नेतृत्वले उठाउने ठाउँ बनाइदिएको हो ।

त्योभन्दा अघि स्थानीय निर्वाचनका क्रममा पनि हामीमाथि प्रश्न आएका हुन् । माओवादीलाई सपोर्ट गर्‍यौँ, किन गर्‍यौँ, ‘नोबडी नोज’ । यस्ता थुप्रै कारणहरु छन्, जसले कांग्रेसमाथि प्रश्न उठाएको छ ।

खाली सभापतिजी र उहाँनिकटहरु भन्नुहुन्छ कि एमाले र माओवादी केन्द्र मिले, त्यसकारण चुनाव हारियो । हैन, त्यति मात्र भनेर समस्याको समाधान निस्कँदैन । धेरै कुरा छन्, जसलाई केलाउने प्रयास पनि भएको छैन ।

नेकपा फुट्यो, त्यसकारण चुनावमा जानुपर्छ भन्दै हुनुहुन्छ त उहाँहरु चुनाव जित्नलाई, तपाईं सहमत हुनुहुन्न ?

नो, आई डन्ट एग्रि विथ द्याट । नेकपा फुटेरै चुनाव भयो भने पनि हामी यस्तै हालतमा रह्यौँ भने फेरि पनि चुनाव जित्दैनौँ । किनभने, नेकपाको भोट क्याडर बेस्ड हुन्छ । माओवादी केन्द्रको भोट कांग्रेसलाई आउँदैन, एमालेको भोट कांग्रेसलाई आउँदैन । उनीहरुको एक दोस्रोमा इन्टर चेन्ज हुन्छ । हाम्रो मास बेस्ड पार्टी हो । त्यसकारण शेखर कोइराला मन परेन भने अर्कोलाई भोट हालिदिन्छ । त्यसैले कांग्रेसमा उमेदवार महत्वपूर्ण हो । रुखको चिह्नको पनि महत्व हुन्छ, नहुने होइन । तर, ‘सर्टेन पर्सेन्ट’बाहेक उमेदवारको ‘क्यारेक्टर’ उबमेदवारको बिहेवियर, उमेदवारले निर्वाचन क्षेत्रमा गरेको काम, उसको संगत र स्वभाव सबै हेर्छ, नेपाली कांग्रेसको भोटरले । मास बेस पार्टीमा उमेदवार छनोटमा ध्यान दिन सकेन भने त्यसले पार्टीलाई क्षति हुन्छ ।

कतिपय व्यक्ति राष्ट्रको जीवनमा नै गम्भीर कदम उठाएर पनि लोकतन्त्रलाई ज्वरो आएको छ, रुघा लागेको छ, के भएको छ भन्दै आफूलाई बलियो रुपमा प्रस्तुत गर्छन् । तर, कांग्रेसमा सही विषयमा समेत संवाद गर्न सक्ने नेतृत्व छैन । यसले कांग्रेसलाई जनतासँग जोड्न सक्ला ?

हो । गोयबल्सका सिद्धान्त घोकेर आफूलाई त्यही रुपमा प्रस्तुत गर्नेहरु नेता भएका छन्, अहिले नेपालमा । उनीहरु सयपटक झुट दोहोर्‍याएपछि, दोहोर्‍याउँदा लाज मान्नुको साटो गर्व गरेपछि मानिसहरुलाई ढाट्न सकिन्छ भन्ने मान्यतासहित प्राक्टिस गरिरहेका छन् । त्यो एउटा कला त हुँदै हो । तर, त्यो कलाले सत्यलाई सधैँ ढाकछोप गर्न सम्भव छैन । अब हिटलरका प्रचार मन्त्री गोयबल्सको थेउरीले मात्र पुग्दैन । कम्युनिस्टहरुले पनि अब बुझे हुन्छ ।

१४औँ महाधिवेशनपछि कांग्रेस एउटा आशलाग्दो पार्टीमा परिणत हुन्छ कम्तीमा कांग्रेसीहरुका लागि ?

१४औँ महाधिवेशनपछि कांग्रेस मात्र कांग्रेसका लागि आशावादी बनाउने पार्टी बन्दैन, जनले पनि आशा हैन, भरोसा गर्ने पार्टी बनाउने हो । आम बौद्धिक सर्कलदेखि एउटा सामान्य नागरिकसम्ममा आशाको सञ्चार हुनेछ । त्यसैले हामी १४औँ महाधिवेशन खोजिरहेका छौँ, निर्वाचनभन्दा अगावै ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २५, २०७७  १२:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय