विराटनगरको नाट्य परिवेश खुबै उत्साहपूर्ण थियो, त्यो समयमा । स्थानीय ‘दियालो परिवार’ नाटक मञ्चनमा सक्रिय थियो । बद्री अधिकारी, मुकुन्द श्रेष्ठलगायत रंगकर्मीहरू निरन्तर नाटक गरिरहेका थिए ।
त्यति बेला रमेश बुढाथोकीले एसएलसी दिइसकेका थिए । नाटकका क्षेत्रमा नै केही गर्नुपर्छ भन्ने सोचले गर्दा रमेश दियालो परिवार र बद्री अधिकारीहरूको सम्पर्कमा पुगे ।
यो सम्पर्कले अभिनयमा रुचि भएका रमेशलाई रंगमञ्चमा पुर्यायो । फाट्टफुट्ट नाटकहरूमा अभिनय गर्न थाले । उनले मुकुन्द श्रेष्ठको नाटक ‘द्रोही’मा सानो भूमिका निर्वाह गरे ।
त्यसपछि उनले ‘यहाँ मरे बाँचिन्छ’ नाटकमा काम गरे । यसरी रमेश बुढाथोकीको रंगयात्रा आफ्नै थातथलोबाट सुरु भयो ।
त्यसैबीचमा विराटनगरका अग्रज रंगकर्मी माधव सापकोटाको लेखन तथा निर्देशनमा मञ्चित नाटक ‘रक्तिम बलेसीका रातहरू’मा पनि रमेशले अभिनय गर्ने मौका पाए ।
नाटकहरूमा काम गर्दै जाँदा रमेशलाई लाग्यो, अब आफैँ नाटक लेख्नुपर्छ । त्यसपछि उनले आफैँ नाटक लेखे । उनले सम्झिए, आफूले लेखेका केही नाटकहरूको नाम, ‘दुई लास एक चिहान’, ‘सत्यको खोज’, ‘धुवाँ’, ‘सिम्रिकको भिक्षा’ आदि ।
नाटकहरू लेख्दै उनी आफैँ नाट्य निर्देशन पनि गर्न थाले । उनको नाटक निरन्तर मञ्चन हुन थाल्यो ।
विराटनगरमा नाटक मञ्चन गर्दा कलाकारमा बद्री अधिकारी, सुनील पोखरेल, मोहन निरौला, दीपक सिंह, दीपक बस्नेतलगायत कलाकारहरूलाई अभिनय गराएको उनी सम्झिन्छन् ।
केही दिनअघि फोनमा सम्पर्क हुँदा पुराना रंगकर्मी रमेश बुढाथोकीले भने, “तत्कालीन समयमा हिन्दी सिनेमाको जगजगी थियो । हिन्दी फिल्म हेर्ने रुचिले पनि नाटकमा लाग्न प्रेरित गरेको हो । स्कुलमा पढ्दा खुबै फिल्म हेरिन्थ्यो र ती फिल्मका पात्रहरूले जस्तै अभिनय साँझ साथीभाइसँग खेल्दा गरिन्थ्यो । त्यसैले अभिनय कलातर्फ प्रभावित गर्दै लग्यो ।”
विराटनगर गर्मी ठाउँ, साँझपख साथीभाइसँग खेल्दा पनि सिनेमा कै दृश्य हुबहु अभिनय गर्थे, उनीहरू । यो खेलकुदको उपक्रम भए पनि रमेश अभिनयमा माझिँदै गए । अभिनयप्रतिको उत्साह झन्–झन् झांगिँदै गयो ।
यसरी अभिनय गर्नुपर्छ अथवा नाट्य संस्थामा गएर नाटकमा लाग्नुपर्छ भनेर उनलाई कसैले बताएको थिएन । न त कसैले सिकायो नै । उनलाई त उनको भित्री मनले नै अह्राउँथ्यो । मनको यही अन्तरदृष्टिले उनलाई दियालो परिवारतिरको मार्ग देखाएको थियो ।
रमेशले कुराकानीकै क्रममा सम्झिए, कलाकार राज आनन्द कार्कीलाई । उनी देव आनन्दका फ्यान थिए । त्यसैले पनि उनले आफ्नो नाम राज आनन्द राखेका थिए । यी राज आनन्द पनि आफ्नो प्रेरणाको स्रोत भएको बताउँछन् रमेश । जसले सधैँ रमेशलाई अभिनयमा लाग्न हौसला दिइरहन्थे ।
एसएलसीपछि उनी महेन्द्र मोरङ क्याम्पसमा पढ्न थाले । पढाइसँगै नाटक मञ्चनमा पनि उनको क्रियाशीलता बढ्दै गयो । र, उनको अन्तरमनले नै नाटक खेल्न अह्राइरहेकोले नाटक उनको जीवनको हिस्सा बन्यो ।
रमेश बुढाथोकी भन्छन्, “विराटनगरमा हुँदा नै जब म नाटकको अभ्यास गरिरहेको हुन्थेँ, मसँगै अरू सहकलाकार पनि अभिनय गरिरहेका हुन्थे । म अरू साथीहरूको अभिनयमा गहिरो दृष्टि दिन्थेँ । सोच्थेँ, मैले गर्न पाए यो संवाद यसरी बोल्थेँ । अभिनय यसरी गर्थेँ ! यसैले पनि मलाई आफैँ नाटक लेखेर अभिनय तथा निर्देशन गर्न अभिप्रेरित गरेको हो भन्ने लाग्छ ।”
त्यसैले उनले आफैँले नाटक लेखे । आफैँले निर्देशन गरे । अरू रंगकर्मीहरूलाई आफ्नो निदेशनमा खेलाए । उनले आफैँले लेखेर निर्देशन गरेको पहिलो नाटक थियो, ‘विधवाको सिन्दुर’ । जुन नाटक वीरेन्द्र सभागृहमा मञ्चन भएको थियो ।
उनी भन्छन्, “मैले लेखेको नाटक साहित्यिक रूपमा उत्कृष्ट रचना थियो भन्दिनँ म । त्यसको साहित्यिक भ्यालु थिएन । तर, ती नाटक मञ्चनमा राम्रा रहे । ‘क्रमश चट्टान चोइटिँदै छ’, ‘मलाई माफ गरिदेऊ’जस्ता नाटकहरूलाई दर्शकले मन पराए ।”
उतिखेर नाटक गर्न गाह्रो थियो । नाटक लेख्नु, निर्देशन गर्नु, अभिनय गर्नुका अतिरिक्त मञ्च तयार गर्ने, भित्ता–भित्तामा पोस्टर टाँस्नेसम्मका सबै काम उनी र उनका सहकर्मीहरू गर्थे ।
तिनताक तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष नाटक महोत्सव गर्दै आएको थियो । र, एक वर्ष विराटनगरबाट रमेश बुढाथोकी पनि नाटक लिएर राजधानी भित्रिए । नाटक थियो, ‘गोधूली साँझ’ । जसमा विराटनगरकै कलाकारहरूले अभिनय गरेका थिए । यो नाटक प्रज्ञाको महोत्सवमा मञ्चन गरियो ।
त्यस बेला प्रज्ञा प्रतिष्ठानले हरेक विकास क्षेत्रबाट एक÷एकजना कलाकारलाई रंगकला तालिमका लागि छनोट गर्थ्यो । त्यही वर्ष रमेश रंगमञ्चको तालिम लिने गरी छनोटमा परे ।
यसरी एकवर्षे अभिनय तालिम लिन रमेश बुढाथोकी विराटनगरबाट काठमाडौं आए, २०३८ सालमा । त्यतिन्जेलसम्म उनको आईएको पढाइ सकिएको थियो । यो तालिमको अवधि उनका लागि दोहोरो मौका लिएर आएको थियो । त्यसैले रमेश मौकाको फाइदा उठाउँदै त्रिचन्द्र कलेजमा बीए पढ्ने गरी भर्ना भए ।
अर्थात्, उनको दिनचर्या रंगमञ्च तालिम, नाट्य अभिनय र पठनपाठनमा बाँडियो । उनी बिहान नाटकको तालिम लिन एकेडेमी जान्थे । साँझमा कलेज पढ्थे । अनि, दिउँसोको समयमा राजधानीमा रहेका रंगकर्मी साथीहरूसँग भेट्थे । कहिलेकाहीँ उनी भारतीय पुस्तकालयमा गएर हिन्दी नाटकहरू अध्ययन गर्थे ।
फुर्सदको समयमा काठमाडौंमै पनि उनले नाटक गर्न थाले । कहिले विजय मल्लको नाटक, कहिले गोविन्दबहादुर मल्ल गोठालेको त कहिले सरुभक्तको नाटक । उनले भारतीय लेखकहरू बादल सरकार र विजय तेन्दुलकरका नाटकलाई नेपालीमा अनुवाद गरेर पनि मञ्चन गरे ।
विजय तेन्दुलकरको एउटा हिन्दी नाटक अनुवाद गरियो र ‘मृगतृष्णा’ शीर्षक दिएर मञ्चन गरियो, एकेडेमीको नाट्य महोत्सवमा । यस नाटकले विभिन्न विधामा पुरस्कार प्राप्त गरेको रमेश बताउँछन् ।
अनील बर्बेको ‘थ्यांक्यु मिस्टर ग्ल्याड’लाई प्रकाश सायमीले अनुवाद गरे । नाटकको शीर्षक राखियो, ‘उसको कवितामा अब को रुँदैन’ । र, यो नाटक पनि मञ्चन भयो । यो नाटक त्यस बेला धेरै दर्शकले मन पराएको रमेश बताउँछन् । उनको सम्झनामा अहिले पनि ताजा नै छ, त्यो परिदृश्य !
नाटकमै निरन्तर लागिरहने रमेश बुढाथोकी विराटनगरमा मात्र हैन, काठमाडौंमा पनि निकै खटिए । अहिले सम्झिँदा ती दिन दुःखका दिनजस्तो लाग्न सक्छ । तर, त्यति बेला भने दुःख भएको महसुस हुन्थेन । किनभने, नाटकप्रतिको लगाबले दुःखलाई थिचिदिएको थियो ।
एकवर्षे तालिम लिँदा रमेशले मासिक ३ सय रुपैयाँ तालिम भत्ता पाउँथे । त्यसले उनको बसाइ, पढाइ र खानपान तिनै कुरा पुगेको थियो । तर, तालिम सकिएपछि अप्ठेरो दिन सुरु भयो । तथापि, नाटकको उन्नयनमा आफूलाई समाहित गर्ने दृष्टिकोणले रमेशलाई अरू केही गर्न दिएन । उनी रंगमञ्च र कला क्षेत्रमा मात्रै क्रियाशील रहे ।
रमेश भन्छन्, “एउटा चियापत्ती कम्पनीमा सेल्सम्यानको जागिर नखाएको होइन । तर, त्यो जागिर १५÷१६ दिनभन्दा बढी खाइनँ । किनभने, नाटकको रिहर्सललाई समय नै दिन सकिएन । अनि, जागिर छोडेँ । त्यसपछिको समय जे जसरी बित्यो, रंगमञ्चमै बित्यो । कलाकर्ममै बित्यो ।”
पछि रंगकर्मी जमातको परिकल्पना गरियो । त्यसमा विराटनगर क्षेत्रका केही कलाकारहरू जोडिए । तिनीहरु नाटक मञ्चनमा लागे । खर्चबर्च नभए पनि नाटक गर्नुपर्छ, राम्रो र दर्शकले मनपराउने नाटक गर्नुपर्छ भन्ने दृष्टिकोणबाट अभिप्रेरित रंगकर्मी जमातका सबै कलाकार नाटकमै लागे ।
रंगकर्मी जमातले त्यस बेला धेरै नाटकहरू मञ्चन गर्यो । ‘अन्ततः मीरा गइन्’, ‘ऋचा’, ‘इतिहासभित्रको इतिहास’, ‘अपाहिज यौवनका रातहरू’जस्ता कैयन नाटक गरिएको रमेश सम्झिन्छन् । उनी भन्छन्, “जमातको सायद पहिलो नाटक ‘अपाहिज यौवनका रातहरू’ नै हो । जसको निर्देशन प्रचण्ड मल्लले गर्नुभएको थियो ।”
बुढाथोकीका अनुसार त्यस बेला कठिन थियो, अभिनय र निर्देशन गर्नु । तर पनि नाटक मञ्चनको व्यवस्थापन उनले गर्दै गए । “हुँदो रहेछ आँटेपछि,” भन्दै थिए रमेश ।
त्यस बखत भृकुटीमण्डप रोडको टुकुचाछेउमा इन्द्र दाइको पसल थियो । उनको पसलको एउटा कुनामा रिहर्सल गर्दथे, रमेशहरू । त्यसबाहेक कहिले आरआर क्याम्पसमा त कहिले वाल्मीकि क्याम्पसको कक्षाकोठामा पनि तिनले रिहर्सल गरे ।
रमेश भन्छन्, “बिर्सनै नमिल्ने नाम हो, इन्द्र दाइ । उहाँले हामीलाई हरहमेसा सहयोग गर्नुहुन्थ्यो । हामी उहाँकहाँ उधारो राखेर रिहर्सल गर्दथ्यौँ । र, नाटक मञ्चन भएपछि पुस सेल टिकटबाट उठेको पैसाबाट इन्द्र दाइको पैसा तिर्दथ्यौँ ।”
खासमा संघर्षपूर्ण जीवन थियो, त्यस बेला । नाटकमा करोडपतिको रोल गरिए पनि घर फर्केपछि पानी मात्रै पिएर रात काट्नु पथ्र्यो । यस्तो अभावको बीचमा पनि उनी र उनका सहयात्री नाटकमा नै लागिरहे । अभावले नाट्यकर्मप्रतिको क्रियाशीलतामा कुनै अवरोध आउन दिएन । कुनै कमी आउन दिएन ।
रमेश भन्छन्, “युवा अवस्थामा अनेक चाहना हुन्छ । विशेषगरी खानपिनको । तर, खल्तीमा पैसा हुन्थेन । रित्तो हुन्थ्यो गोजी । हामीले आफ्ना कैयन रहरहरूलाई मार्यौँ । तर पनि नाटकमा लागिरह्यौँ ।”
रमेशका अनुसार त्यो समय नाट्य क्षेत्रका लागि स्वर्णिमकाल थियो । धेरै नाट्य संस्था नाटकमैै सक्रिय थिए । नाटक भइरहन्थे । प्रज्ञाले गर्ने बर्सेनिको नाटक महोत्सव रंगकर्मीहरूका लागि पर्वजस्तै थियो ।
रमेश भन्छन्, “मेरा लागि नाटक नै सबै कुरा थियो । मलाई जे जति दियो, यही क्षेत्रले दियो । त्यसैले म यो क्षेत्रलाई अत्यन्त सम्मान गर्दछु ।”