site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राजनीतिक तमासामा निरीह दाहाल

नेपाली राजनीतिमा यतिबेला कहिल्यै नभएको तमासा चलेको छ । तमासा रमाइलो पनि छ, पीडादायी पनि । कथित राजनीतिक तमासाका कारण देशको अस्मिता र देशवासीको भविष्य कस्तो हुने हो भन्ने भने अनिश्चित छ । तमासा किन भयो वा कसको कारण ? यो प्रश्नको उत्तर सहज पनि छ असहज पनि । सहज उत्तर कम्युनिस्ट तमासा हो भने असहज यिनको लगाम कहाँ छ ? भन्ने हुन्छ । 

अहिलेको फोहरी राजनीतिमा एउटा सम्भावनासमेत जब्बर छ – त्यो कथित कम्युनिस्टको ‘व्यापार’मा नयाँ रुपान्तरणको ढोका खुल्नु हो । कम्युनिस्ट नेपालको राजनीतिको समस्या हो समाधान होइन भन्ने पुष्टि इतिहासले गरिसकेको छ । यसमा धेरै बहस आवश्यक छैन । एकैछिन घोरिएर विगततिर नियालियो भने कम्युनिस्ट समस्या सर्जकमा मात्र अगाडि देखिएको स्पष्ट हुन्छ । 

मीठा र आकर्षक नारा दिने । गरिब र सर्वहाराको नारा लगाउने, वर्गीय समानताको धक्कु लगाउने कम्युनिस्टहरु जब सरकारी सत्तामा पकड जमाउन पुग्छन् तब स्वयं सामन्त र स्वेच्छाचारी अधिनायक हुने गर्छन् । विश्वव्यापी अकाट्य यही कम्युनिस्ट परम्पराको उदाहरण नेपालमा नेकपा (एमाले) को केपी ओली नेतृत्वको कम्युनिस्ट सरकार बनेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कम्युनिस्ट प्रधानमन्त्री ओलीमात्रै होइनन् समग्र कम्युनिस्टहरुले नै एकपटक आफ्नो अनुहार ऐनामा हेरुन् त्यहाँ देखिने एकमात्र तस्बिर अराजक, स्वेच्छाचारी र अधिनायक हुने कम्युनिस्ट दर्शन भन्दो भिन्न स्वरुप भेटाउन सम्भव छैन । यही तानाशाही वा अधिनायकवादी कम्युनिस्ट सोचको प्रत्युत्पादन अहिलेको राजनीतिक तमासा हो । यो तमासाको सहायक पुष्पकमल दाहाल, माधव नेपाल र झलनाथ खनाल पनि हुन् भने खड्गप्रसाद शर्मा ओली महानायक । 

नेपाली राजनीतिमा भयंकर चतुर मानिएका तर चरम  अवसरवादी पुष्पकमल दाहाल ‘प्रचण्ड‘ यतिबेला वैध, अवैध उपायमा खुँखार तिकडमबाज केपी शर्मा ओलीको प्रहारले निरीह साबित भएका छन् । दाहालले कसलाई धोका दिएनन् ? नोकरसँग होइन मालिकसँग कुरा गर्ने भन्दै दाहालले मालिक पुकारिएका राजालाई देखादिएको बाटोमा कुन बाटो पठाउन सहायक भए ? हेरे पुग्छ । आफूलाई सुरक्षा छाता ओढाउने शान्ति प्रक्रियाका नेता गिरिजाप्रसाद कोइरालालाई पनि धोका दिए । यसअघि केपी ओली र छोरीको झन्डा बोकाएका शेरबहादुर देउवालाई पनि दाहालले ‘पाहा’ जसरी पछारेकै थिए । अहिले आफैँ पनि पाहा झैँ पछारिएका छन् ।   

Global Ime bank

दाहाल यतिबेला सर्वांग फुस्किएका प्रभावहीन नायक हुन् । उनका दजनौँ प्रभावशाली नेता, कार्यकर्तालाई एमाले अध्यक्ष ओलीले ‘बिग मार्टको कमोडिटी गुड्स’ बनाएपछि दाहाल शान्ति प्रक्रियापछिको सबैभन्दा निरीह स्थिति भोगमा पुगेका छन् । यही कारण माओवादी केन्द्रका अध्यक्ष दाहाल एमाले अध्यक्ष ओलीसँग एकता गरिपाऊँ भनी अदालतको शरणमा निवेदन बोकेर पुगेका हुन् । 
अदालतले ठीक फैसला दिएको हो । ऋषि कट्टेलको नेकपालाई अग्रिम अधिकारमा स्थापित गर्यो । कानुनले जे भन्छ त्यही गर्यो ।  ह्याकुलाले मिचेर नेकपा खोस्ने दाहाल, ओली, नेपाल र खनालको नेकपालाई कानुनको सही बाटो देखाई दियो । यत्ति फैसलामा छोडेको भए सरकारी कथित नेकपाको हैसियत के हुन्थ्यो ? त्यसैले यिनलाई बचाउनै भन्यो – पूर्ववत् एमाले र माओवादी केन्द्र हुनसक्छौ वा अर्को नाम न्वारन गरेर विधिवत् नयाँ दल बन्न सक्छौ । 

एमाले अध्यक्ष ओली अदालतको फैसलाले सन्तुष्ट छन् चाह जसरी नै उनी ‘जबज’ जन्माउने हैसियतमा पुगे । उनी अदालतले पार्टी एकता गराउने होइन भन्ने सत्यबोध गराउन दाहाललाई दीक्षा दिइरहेका छन् । दाहाललाई एकता चाहिएको हो भने अध्यक्ष ओलीलाई शरण मागेर निवेदनपत्र दिनुपर्ने, होइन भने आफ्नो माओवादी केन्द्रको हैसियतमा डट्नु पर्ने तर उनी उल्टो अदालतको शरणमा पुगे । राजनीतिमा यसभन्दा निरीह र लज्जास्पद अरु के पो होला र ? 

राजनीतिले राजनीतिक बाटो लिनुपर्ने हो । अदालतलगायत राज्यका अरु निकायले आआफ्नो वैधानिक बाटो हिँड्ने हो । यो सत्य स्वीकार गर्नुको साटो पहिचानहीन दाहाल कार्यकर्ता र नागरिक समाजलाई भ्रममा पार्ने उद्देश्य बोकेर अदालतमा पुग्नु हास्यापद पाखण्डी उपाय हो । दाहाल किन पहिचानहीन भए भने न उनी नेकपा रहे न नेकपा एमाले नै बने । अर्कोतिर नेकपा (माओवादी केन्द्र) बन्न नमानेर उनी अदालत गए । राजनीतिक दलको स्थितिमा उनी अर्थात् दाहाल कहाँ रहे त ? ओली सरकारलाई समर्थन दिने कि विश्वासको मत फिर्ता लिने ? पहिचान के ?   

यहाँ उनको सत्यबोध सत्य नै देखिन्छ । अब अप्रत्याशित चमत्कार भएन भने दाहालको राजनीतिक अवसान भयो । यसको बहादुरी प्रशंसा एमाले अध्यक्ष केपी शर्मा ओलीले नै पाउँछन्, दिनु पनि पर्छ । राम्रो, नराम्रो जे भए पनि जसको कर्म वा शौर्य   उसैको जस, अपजस । दाहाललाई भित्ता लगाउने खेलाडी त अध्यक्ष ओली न हुन् ।

हत्या, हिंसा परित्याग गरेर बहुदलीय प्रतिस्पर्धात्मक संसदीय प्रणालीमा प्रवेश गरेका पुष्पकमल दाहालको राजनीतिक भविष्य अब के, कहाँ ? हार वा सकिने विन्दुबाट बच्न र भविष्य सुरक्षित खोज्न मुख्य दुई उद्देश्यले उनी अदालतको शरणमा पुगे । पहिलो अदालतको पूर्वफैसला उल्टाएर अध्यक्ष ओलीसँग हुन नसके पनि नेपाल, खनालसँग एकता गर्ने आधार बनोस् । यसै उपायमा दोस्रो नेपालसहितसँग वैधानिक संख्या पुगे अर्को दल दर्ता गर्ने वा बहुमतले प्रधानमन्त्री ओलीलाई हटाउने । उनका यी दुवै लालसा पूरा हुने देखिँदैन । जुट्न पनि नसक्ने र फुट्न पनि तिघ्रा कमाउनेलाई त्यसभन्दा अरु उपाय अदालतले के नै देओस् र ?
अदालतले त भनेकै थियो – कानुन मिच्न पाइँदैन, नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ऋषि कट्टेलको हो । नेकपा नाममा दाहाल, ओलीको आधिकारिकता पुग्दैन । अर्को दल बनाउने भए पन्ध्र दिनभित्र निर्वाचन आयोगमा जाऊ, कानुनबमोजिम नाम जुराऊ । नभए चुनाव लड्दा जो जहाँ थियौ त्यहीँ रहू । दाहालले निवेदनमा भनेछन् – निवेदकले नमागेको (एमाले, माओवादी केन्द्र बनाउने) विषयमा फैसला दिइयो । उनले प्रतिनिधि सभा विघटन बदरको माग गर्दाको कुरा बिर्सेछन् । तेह्र दिनभित्र पुनःस्थापित प्रतिनिधि सभाको बैठक बोलाई दिन कसैले माग गरेको थियो र अदालतसँग ? 

संवैधानिक इजलासले विघटन बदर गर्ने फैसलामात्र गरेको भए ओलीले प्रतिनिधि सभा बैठक अहिलेसम्म नबोलाए हुन्थ्यो के ?

लड्डुको गुलियो अहिलेभन्दा तीतो पीरो हुने थिएन र ? अर्थात्, अदालतले गर्ने फैसलाभित्र आउने अपेक्षित वा आवश्यक परिणामलाई पनि सम्बोधन गर्छ, गर्नुपर्छ । यही अवधारणामा तिम्रो नयाँ पहिचान बनाउने भए बनाऊ, नभए पुरानोमै तिमीहरु  बाच्न सक्छौ, नेकपा एमाले र माओवादी केन्द्र भएर  भन्यो त अदालतले बिरायो के ?

अब रुनुको अर्थ के ? अस्तित्व बचाउन दाहाललाई एमाले अध्यक्ष ओली चाहिएका हुन् भने उनकै समिपमा बिन्तीपत्र चढाउनु पर्यो । होइन, राजनीति नै हो भने माओवादी केन्द्रको अध्यक्षका हैसियतमा राजनीतिक स्पर्धा गर्नुपर्यो । अदालतलाई हामीलाई मिलाई देऊ न भन्ने हास्यास्पद र लज्जास्पद रुन्चे हर्कतको के काम ?

दाहाल अदालतमा पुग्नु उनी राजनीतिकरुपमा सकिएको सन्देश हो । दाहालले पदमा जोरी खोजे, अध्यक्ष ओलीले उनको हैसियत झारिदिए वा देखाई दिए । राजनीतिक हैसियत खुइलिएपछि उनी अदालत पुगे । रहे, दाहालसँग मिलेर ओलीलाई कुर्चीबाट लघार्न उद्यत एमालेभित्रका नेपाल, खनाल । खनाल के गर्छन् भविष्यले देखाउला । नेपाललाई पनि अध्यक्ष ओलीबाट क्षमादान प्राप्त गर्ने वा राजनीतिक विद्रोहीको हैसियत देखाउने दुवै अवसर छ । के होला ? पर्ख र हेर हो । ओलीले त लखेट्नकै लागि सशक्त कारबाही गरिसके – जाऊ अन्तै कतै भन्ने सन्देश नेपाललाई दिइसके । ओलीले बाटोमात्र देखाएका छन् उनलाई ।    
दाहाल, नेपाल रोइलो गर्दैछन् – नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष ओलीले कम्युनिस्ट पार्टी वा आन्दोलनलाई क्षतविक्षत गर्दैछन् । यिनले कम्युनिस्ट सिध्याउने भए । साँच्चै त्यसै हो भने त अध्यक्ष ओली प्रशंसाका पात्र हुन् । किन चाहियो यस्तो कम्युनिस्ट दल र चरित्र ? जसले जनतालाई ढाँट्यो, दुःखी बनायो । विदेशी हस्तक्षेपको नांगो खेल मैदान देशलाई बनायो । संविधान मिच्यो, लोकतन्त्र भत्काउन उद्यत रह्यो, प्रेसको घाँटी मिच्न सहायक भयो । जनता झुक्याउन ‘विष कुम्भ पयो मुखम्’ चरित्र अपनायो । यस्तो कम्युनिस्ट किन चाहियो ? किन बाँच्नु पर्यो वा किन रहनु पर्यो ? राष्ट्र पीडक कम्युनिस्ट ?  
यहींनिर कथित कम्युनिस्ट, खासगरी दाहाल, नेपाललाई सुवर्ण अवसर पनि आएको छ । उनीहरु कम्युनिस्ट नाम, काम र चरित्र समूल त्यागेर प्रजातन्त्रको पहरेदार हुने अवसर । यो अवसर अध्यक्ष ओलीले पनि छोप्न सक्छन् तर उनी एमालेमै रमाउने मुडमा देखिन्छन् । मौका छोपेर पूर्णतः प्रजातन्त्रवादी भए दाहाल, नेपाल नेपालको वैकल्पिक सशक्त प्रजातान्त्रिक शक्ति बन्ने सम्भावना प्रबल छ । यसैमा भविष्य सुरक्षित हुनेछ । 

नेपालमा लोकतन्त्रको एकमात्र पक्षधर दल नेपाली कांग्रेस छ । अर्को लोकतान्त्रिक दल विकल्पका निम्ति पनि अपेक्षित र आवश्यक छ । ‘फिल इन् द ग्याप’ भने झैँ यो खाली ठाउँ भर्ने सौभाग्य यिनलाई वा कुनै पनि कथित कम्युनिस्टलाई जुटेको छ तर खाँचो हिम्मत, हैसियत र इच्छाशक्तिको हो । उही गन्दगीमा बसेर, गाडिएर सफा सुगन्ध खोज्नु धूर्त कम्युनिस्ट पाखण्ड सिबाय के होला र ? नाम, काम, चरित्र र प्रतिबद्धताले नै विकल्प बन्न सक्ने लोकतान्त्रिक दलको खाँचो छ । त्यो कहिले, कसरी प्राप्त गर्ला देशले भन्न सहज छैन । अहिले चाहिँ कथित कम्युनिस्टलाई अवसर छ । दाहालको निरीहता हट्ने र सान्दर्भिकता पनि जोगिने यसभन्दा अर्को उपाय यतिबेला छैन । कम्युनिस्ट माधव नेपाल पनि लोकतन्त्रवादी नेता बन्नसक्छन् । 

भन्छन् – मौका आउँछ पर्खँदैन । फर्की हेर्दा जतिबेला दाहाल, नेपालसँग केन्द्रीय समिति र संसदीय दलमा चालीस प्रतिशतभन्दा बढी मत थियो, त्यही बेला अर्को दल बनाउने हिम्मत गरेको भए  अहिले यिनको ‘घर न घाट’ हुनेथिएन । त्यो मौका अध्यक्ष ओलीलाई सत्ताच्युत गर्ने दम्भमा गुम्यो । अबको अवसर पूर्णतः लोकतन्त्रवादी बन्नुमा देखिन्छ । कम्युनिस्ट नै रहनु देश र आफैँलाई थप धोका दिनु हो । बुझे बेस !            

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७  ०९:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC