site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारले बुझेन, निजी क्षेत्रले सुनेन 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

भारतलगायत विश्वका अधिकांश देशमा सरकार तथा राज्यहरूले नै फिल्म फेस्टिभल आयोजना गर्छन् । विश्वका ठूला फिल्म देखाउँछन् । राम्रा फिल्म–मेकरहरूलाई बोलाउँछन् । र आफ्नो देशका चलचित्रकर्मीहरूसँग छलफल, भेटघाट तथा अन्तर्क्रियाहरू गराइदिन्छन् । त्यसले आफ्नो देशका चलचित्रकर्मीहरूले अब्बल तथा अनुभवी मेकरहरूबाट धेरै कुरा सिक्छन् । आएका अन्तर्राष्ट्रिय फिल्म प्रोड्युसरहरूले राम्रो लागे उनीहरूका कथामा लगानी गर्छन् । सेल्स एजेन्टहरूले विश्व बजारमा चलचित्र लैजान्छन् । परिणामः चलचित्र ग्लोबलाइज हुन्छन् । चलचित्र ग्लोबल हुनु भएको देशका कला, संस्कृति तथा साहित्य पनि ग्लोबल हुनु हो । संरक्षण र विस्तार हुनु हो । राम्रा चलचित्र बन्न सुरु हुनु हो । त्यसैले यसमा विश्वका धेरै देशका सरकारले लगानी गरिरहेका छन् । तर, नेपालले यसलाई बुझ्न सकेको छैन अथवा नजरअन्दाज गरिरहेको छ । त्यो त सरकारलाई नै थाहा होला । तर, सरकार मात्रै होइन निजी क्षेत्रले पनि यसमा खासै चासो देखाएको छैन । किन ? यस विषयमा यस्तो छ, चलचित्रकर्मी नवीन सुब्बाको विचार :

० ० ०

नेपालमा फिल्म फेस्टिभल हुन सुरु भएको तीन दशक भइसक्यो । यो ३० वर्षको समयमा यस्ता फेस्टिभलहरूले जति परिणाम दिनसक्नु पर्ने थियो त्यति दिन सकेका छैनन् । ३० वर्ष लामो समय, शक्ति र पैसा जति लगानी भएको छ । त्यसले नेपाली चलचित्र क्षेत्रमा जति रूपान्तरण ल्याउनुपर्ने हो ल्याउन सकेको सत्यलाई कसैले नजरअन्दाज गर्न सक्दैन । 
 
हामी सानो स्केलमा फेस्टिभलहरू गरिरहेका छौं । ठूला फिल्म र अब्बल फिल्म मेकरहरू हामीले ल्याउन सकेकै छैनौं । संसारका राम्रा भनिएका चलचित्र र तिनका मेकरहरूलाई हामीले ल्याउन सकेकै छनौं । रचनात्मक रूपमा अब्बल मानिने निर्देशकका कुनै पनि काम हामीले नेपाल ल्याउन नसकेको अवस्था छ । साधारण कुरा गरौं, वोङ कार–वाई लाई नै ल्याउन सकेका छैनौं । युरोपका ठूला चलचित्र नै ल्याउन सकेका छैनौं । त्यो तहका चलचित्रका निर्देशकहरूलाई बोलाएर उनीहरूका कुरा सुन्न पाएका छैनौं । जुन काम विश्वका ‘ए’ ग्रेडका फिल्म फेस्टिभलहरूले गरिरहेका छन् । पहिलो लेबलका बर्लिन, भेनिस र कान्स । दोस्रो तहका बुसान, लोकार्नो, रोटार्डन, सनडान्सजस्ता फिल्म फेस्टिभलहरूसँग नेपालका फेस्टिभलहरूले सहकार्य गर्न सकेका छैनन् । यो तहका फेस्टिभल आयोजना गर्न हामीले नसकेका कारण पनि प्रतिफल आउन नसकेको हो ।
 
अर्को प्रस्ट देखिएको पक्ष नेपालमा व्यक्तिगत पहलमा मात्रै फेस्टिभलहरू भइरहेका छन् । यो पनि एउटा समस्या हो । ठूला बिजनेस घरानाहरूले सहयोग गर्नुपर्ने हो । तर गरिरहेको छैनन् । सरकारले पनि जति सहयोग गर्नुपर्ने हो गरेको छैन । खाना खर्च मात्रै भए पनि दिनुपर्छ है भन्ने तहमा पनि आयोजकले कराउँदा कराउँदा बल्लबल्ल पुगेको अवस्था छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia


अरू देशमा सरकारकै लगानी
अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने बुसान फिल्म फेस्टिभलको खर्च बुसान सिटी काउन्सिल अर्थात् नगरपालिकाले बेहोर्छ । उक्त फेस्टिभलका लागि २० मिलियन यूएस डलरभन्दा धेरै खर्च गरिरहेको छ । 
 
भारतकै गोवा इन्टरनेसनल फिल्म फेस्टिभल सरकारले आयोजना गर्छ । त्यसको मार्केट सेक्सनमा मात्रै २० करोड भारु सरकारले खर्च गर्दै आएको छ ।
 
फेस्टिभलसँगै धेरै कुराहरू जोडिएर आउँछ । फेस्टिभलमा संवादमूलक कार्यक्रम हुन्छ । राम्रा फिल्म मेकरहरूले आफ्नो अनुभव सुनाइरहरेका हुन्छन् । मार्केट सेक्सन हुन्छ । मार्केट सेक्सनभित्रै आफ्नो काम देखाउन पाइन्छ । गोवामा दुई सय जनाभन्दा धेरै अन्तर्राष्ट्रिय फिल्म प्रोड्युसर आउँछन् । उनीहरू सबैलाई गोवा सरकारको स्पोन्सर हुन्छ । यसको उद्देश्य अन्तर्राष्ट्रिय प्रोड्युसर तथा सेल्स एजेन्टहरूलाई भेटाइदिने र संवाद गराइदिने हो । यसले फिल्ममा लगानी गर्ने विदेशी प्रोड्युुसर तथा सेल्स एजेन्ट भेटाइदिन्छ । राम्रा फिल्म सेल्स एजेन्टमार्फत विदेशमा जान्छन् । यसले भारतीय चलचित्रको तीव्रतर विकास भइरहेको छ । राम्रा फिल्म फेस्टिभलले कन्टेन्ट बिक्री गर्ने र उत्पादन गर्ने अवसरको ढोका खोल्छन् ।

निजी क्षेत्र आकर्षित भएन  
फेस्टिभलमा क्रिएटिभ काम पनि हुन्छ । स्क्रिप्ट रि–राइट गर्ने तथा प्रोड्युुसरसामु स्टोरी पिच गर्ने काम हुन्छ । यस्ता कुराहरू हामीले गर्न सकेकै छैनौं । बीचमा एउटा फेस्टिभलले लोकार्नो फिल्म फेस्टिभलसँग सहकार्य गरेको थियो । तर, त्यो फेस्टिभलले निरन्तरता पाउनै सकेन । नहुनुमध्ये हुनु राम्रो हो । यद्यपि, नेपालमा गर्नका लागि मात्रै फेस्टिभलहरू आयोजना भइरहेका छन् । वास्तवमा हाम्रोमा निजी क्षेत्र यसमा आकर्षित हुन सक्नुपर्ने थियो, जुन भइरहेको छैन । 
 
क्षमता छैन भनौं भने फोब्र्सको सूचीमा पर्ने उद्योगपति हाम्रै देशमा छन् । बेलाबेलामा संस्कृतिको क्षेत्रमा यसरी काम गर्नुपर्छ भनेर उहाँहरूकै लेख पढ्न पाइन्छ । तर, व्यवहारमा त्यो देखिएको छैन । रसिया, अस्ट्रेलियाजस्ता देशका धनीहरूमा हाम्रै देशका बिजनेस–मेनहरू नै हुनुहुन्छ । अरू थुप्रै देशमा स्थापित बिजनेस–मेनहरू नेपाली नै छन् । तर, उहाँहरूले यो क्षेत्रमा वार्षिक यति लगानी गर्छौं है भनेर घोषणा गर्न सक्नुभएको छैन । भलै यसमा हामीले पहल गर्न सकेनौं अथवा उहाँहरूले चासो देखाउनु भएन ? यो विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ ।

Royal Enfield Island Ad

सरकारको आफ्नै फेस्टिभल खोई ?
यसका लागि सरकारले नै चासो देखाउनुपर्ने हो । सरकारको आफ्नै फिल्म फेस्टिभल हुनुपर्ने हो । संस्थाहरू विकास गर्नुपर्छ । एउटा संस्थाले पुग्दैन । चलचित्र विकास बोर्ड एउटा मात्रै भएर पुग्दैन । अरू पनि संस्थाहरू चाहिन्छ । छुट्टाछुट्टै संस्थाहरू विकास गरेर कसैले जनशक्ति विकासमा काम गर्नुपर्छ । जनशक्ति निर्माण गर्दा समावेशी हुनुपर्छ । कारण जनशक्ति समावेशी नभइ समावेशी कथाहरू आउँदैनन् । यो नभइ बजार विस्तार नै हुँदैन । हाम्रोमा सूत्रबद्ध चलचित्र बन्छन् । यसले सबैलाई समेट्न सक्दैन । फिल्म मेकर महिलाहरू बलियो भएर आउनुपर्छ । पुरुषले महिलाको जतिसुकै आवाज समेटेर बनाए पनि महिलाले बनाएजस्तो आधिकारिक आवाज आउँदैन ।
 
मधेसमा हाम्रा चलचित्र चल्दैनन् । कारण मधेसका विषय हामीले उठाएकै छैनौं । मधेसलाई नेपाली चलचित्र उद्योगले हाम्रो पनि कथा उठाउँछ भन्ने विश्वास नै छैन । मधेसको आवाज उठाउने संयन्त्र नै विकास गरेका छैनौं । जनजातिलाई केही बजेट छुट्याइएको छ । तर, यो जनजातिको पेरिफेरीबाट बाहिर निस्किनै सकेको छैन । क्षेत्रीयताको कुरा गर्दा कर्णाली र सुदूरपश्चिमका मुद्दा र विषय हाम्रा चलचित्रमा खोइ ? यस्तै कथाहरू नआएका कारण हाम्रो बजार संकुचित भएको हो । हाम्रो चलचित्र २०/२१ वर्षदेखि ३०/३२ वर्ष उमेरमा मात्रै सीमित छ । त्यसैले बजार विस्तार गर्न संस्थाहरूको विकास गर्दैै जानुपर्छ । यस्ता संस्थाहरूमध्ये एक हो, फिल्म फेस्टिभल । फेस्टिभल सञ्चालन तथा नियमन गर्न एउटा निकाय चाहिन्छ । जसलाई सरकारले प्रत्यक्ष सञ्चालन गर्नुपर्छ ।
 
सातवटा प्रदेशमा सातवटै ठूला फिल्म फेस्टिभल आयोजना गर्नुपर्छ । जसले पर्यटन प्रवद्र्धनसँगै जनशक्ति उत्पादनमा सहयोग गरुन् । हामीसँग महानगरपालिकाहरू छन् । ठाउँअनुसार महानगरले आफैं फिल्म फेस्टिभलहरू आयोजना गर्न सक्छन् । भक्तपुरमा आउटडोर फिल्म फेस्टिभल गर्न सके त्यसले त्यहाँको स्थानीय कला, संस्कृतिलाई ग्लोबलाइज गर्न सहयोग गर्छ । तर, यो विषय महानगरहरूले सक्ने भएर पनि सोचेनन् । 

भारतमा हरेक राज्यको आफ्नै फेस्टिभल छन् । कोलकाता, पुने, केरला फिल्म फेस्टिभल संसारभर प्रख्यात फिल्म फेस्टिभलहरू हुन् । उनीहरूले आफ्नो उद्योग, कन्टेन्ट र जनशक्तिलाई प्रोमोसन गर्न उपयोग गर्छन् । हाम्रोमा खोई यस्तो काम ?

अन्डररेटेड फिल्ममेकर 
अहिले भर्खरै पास–आउट भएका थुप्रै युवा फिल्म मेकरहरूले काम गरिरहेका छन् । उनीहरूलाई सहयोग गर्ने र प्लेटफर्म दिने निकाय छैन । सबै दीपक रौनियार र मीन भाम हुन् सक्दैनन् । त्यो क्षमता पनि हुँदैन । सुजित बिडारीको चलचित्र केही समयअगाडि ‘बुसान फिल्म फेस्टिभल’को मेन कम्पिटिसनमा थियो । तर, उनलाई कसैले सहयोग गरेन । उनी अन्डररेटेड भए । बिडारीजस्ता फिल्म मेकरहरू ठूलो संख्यामा भित्रभित्रै काम गरिरहेका छन् । धेरै सुजित बिडारीहरू सीधै आफ्नै पहुँचले बाहिर जान सक्दैनन् । त्यस्ता मेकरहरूलाई हामीसँग यस्तो जनशक्ति पनि छ भनेर सरकारले प्लेटफर्म दिनुपर्ने हो ।

इगो र इमेजका लागि फेस्टिभल
हाम्रोमा धेरै फिल्म फेस्टिभल आयोजकहरूको इगोका कारण मात्रै भइरहेका छन् । अर्कोले गर्यो मचाहिँ किन सक्दिनँ भन्ने सोचबाट भइरहेका छन् । फेस्टिभल गर्यो भने मेरो इमेज पनि बन्छ भन्ने सोच छ । आर्थिक रूपमा फेस्टिभलमा खासै फाइदा हुँदैन । त्यसैले आर्थिक उपार्जनभन्दा पनि इगो र इमेजका लागि भइरहेका छन् । किनभने फेस्टिभल गर्न कठिन छ । म आफैंले पनि केही समय फेस्टिभल आयोजना गरेर नसकेर बसिरहेको छु । तर, आर्थिक उपार्जनका लागि पनि कसैले फेस्टिभल गरिरहेको हुनसक्छ ।

मेन स्ट्रिमका मेकरको बेवास्ता
मेन स्ट्रिमका मेकरहरू खासै फेस्टिभलहरूमा सहभागी हुँदैनन् । कारण उनीहरूलाई त्यति धेरै सपोर्ट नहुने भएर पनि हो । तर, भारतका विभिन्न फिल्म फेस्टिभलहरूमा त्यहाँका ठूला फिल्म मेकरहरू गइरहेका हुन्छन् । कारण त्यसले जनशक्ति निर्माण गर्न सहयोग गर्छ । त्यसैले हामी गइदिनुपर्छ भन्ने बुझाइ छ । भारतमा हाम्रो जुन व्यक्तित्व र क्षमता छ त्यसलाई नयाँ पुस्तासँग पनि जोड्नुपर्छ भन्ने सोचले काम गरिरहेको छ । उनीहरूलाई पनि फाइदा छ, त्यसैले जान्छन् । कारण फिल्म फेस्टिभलले अन्तर्राष्ट्रिय भाषाको चलचित्रको कुरा गर्छ । नेटफ्लिक्स र अमेजन प्राइममा रहेका सिरियलहरूमा रहेका भिडियोमा परिचित नामहरू नै काम गरिरहेका छन् । यसले अन्तर्राष्ट्रिय भाषा निर्माणको काम गरिरहेको छ । नेपाली चलचित्रको इन्टरनेसनल भाषा निर्माण गर्न यो प्लेटफर्मले काम गर्छ, अन्तर्राष्ट्रिय बजारमा पुग्ने प्रतिस्पर्धी चलचित्र बनाउन यो प्लेटफर्मले सहयोग गर्छ भन्ने बुझ्नु आवश्यक पर्छ । यो बुझेको अवस्थामा फेस्टिभलको महत्त्व रहन्छ ।
 
नेपालमा अभिनय भनेको मुख बङ्ग्याउने, बिगार्ने र स्वर अनौठो निकाल्ने भन्ने बुझाइ छ । वास्तवमा अन्तर्राष्ट्रिय बजारले स्वीकार गर्ने अभिनय यो होइन, यसमा बहस हुन सक्छ । र हुनु पनि पर्छ । अहिले जसलाई हामीले भयंकर अभिनय गर्ने अभिनेता भनिरहेका छौं, साँच्चै उहाँहरूलाई अभिनय गर्न लगाउँदा आउँछ त ? अन्तर्राष्ट्रिय बजारसँग हिँडेनौं भने प्रतिस्पर्धी हुन सक्दैनौं र पछि परिन्छ भन्ने भारतले बुझेको छ । 

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय भाषा
सिनेमा मेकिङ ग्लोबल भयो । प्लेटफर्महरू एउटै भए । हिजो भारतलाई चाइना र अमेरिकामा चलचित्र देखाउन समस्या थियो । तर, आज नेटफ्लिक्स र अमेजन प्राइममा राखिदियो भने चाइना र अमेरिका मात्रै होइन विश्वले हेरिरहेको छ । यसको अर्थ विश्वको सारा दर्शक हाम्रा पनि दर्शक हुन् । 

केही दिनअगाडि म सुन्दै थिएँ– म एउटा चलचित्रमा १० करोड रुपैयाँ लगानी गर्छु तर बजार खोइ ? १० करोड लगानी गर्न सक्ने व्यक्तिले बजार नदेख्ने भनेको नेपालबाहिरको बजार नहेरेको भन्ने हो । नेपालमा निर्देशक छैन भन्दै थिए । निर्देशक विदेशबाट ल्याएर प्रतिस्पर्धी चलचित्र बनाएर बाहिरको बजारमा चलाए हुन्छ । नेपाली चलचित्र विदेशमा जाने हो । समग्रमा नेपाली चलचित्र क्षेत्रलाई नै फाइदा हुने हो । तर, बजार छैन भन्नुचाहिँ मूर्खता हो । अन्तर्राष्ट्रिय बजारमा जाने हाम्रो क्षमता छैन, यो सत्य हो । यदि अन्तर्राष्ट्रिय बजारमा जाने हो भने नेपाली चलचित्रको अन्तर्राष्ट्रिय भाषा बनाउन सक्नुपर्छ । यो त्यो समय सम्भव हुन्छ, जति हामी धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय मेकरहरूसँग अन्तर्क्रियाहरू गर्छौं । यसका लागि निजी तथा सरकारी तवरबाट पनि काम हुनुपर्छ । व्यापारिक घरानाहरूको पनि यसमा आकर्षण बढ्नुपर्छ ।
 
किन हामी विदेश भन्दै डायस्पोरिक नेपालीमा मात्रै हाम्रा चलचित्रहरू बनाइरहेका छौं । भारतीय, चाइनिज तथा अमेरिकनहरूले पनि हाम्रा चलचित्र हेरून् । यसका लागि प्लेटफर्महरू छँदै छन् । पाहुना भन्ने चलचित्र नेटफ्लिक्समा हुने तर त्योभन्दा स्तरीय नेपाली चलचित्र किन नहुने ? कारण हाम्रो राम्रो नेटवर्किङ छैन । अन्तर्राष्ट्रिय स्तरमा हाम्रो सम्बन्ध छैन । जान नसक्नुको कारण नेटवर्किङ नहुनु पनि हो । फिल्मको विकास र विस्तार भनेको नेटवर्किङ पनि हो । यसलाई बुझेकै कारण भारतले मोटो रकम खर्चिएर स्पेस बनाइदिइरहेको छ । तर, नेपालले यो बुझेकै छैन ।
 
नेपालमा भइरहेका फेस्टिभललाई अन्तर्राष्ट्रिय स्तरमा रिकग्नाइज फेस्टिभल बनाउन भनेर हाम्रोमा न सरकार लाग्यो न बिजनेस घरानाहरू नै । जहिले पनि हाम्रा फेस्टिभलका आयोजकलाई पैसाकै अभाव हुन्छ । फेस्टिभल आउने बेलामा आयोजक साथीहरू भन्छन्, लौन पैसा नपुग्ने भयो कसैलाई भन्दिऊँ । कसलाई भन्यो भने पैसा आउँछ ?, जुरी मेम्बर को हुनसक्छ ? सोधिरहनुभएको हुन्छ । ३० वर्षपछि पनि हामी त्यही ठाउँमा छौं भने खोई कसरी विकास हुन्छ हाम्रो चलचित्र उद्योग ? 

नवीन सुब्बा चलचित्र ‘नुमाफुङ’ तथा ‘गुडबाई काठमाडौं’का निर्देशक हुन् । नेपाली कला–संस्कृति, साहित्य तथा संस्कार समेटिएका मौलिक चलचित्र निर्माण गर्न सके मात्रै नेपाली चलचित्र पनि ग्लोबल हुन्छ भन्ने विचार राख्दै आएका नवीनसँग बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानीमा आधारित ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ७, २०७७  ०७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro