रोशन थापा ‘नीरव’
मान्छेहरूको भिड ।
एउटा भव्य महल ।
महलको लन भनौँ वा चउर ।
मान्छेहरू बिहानैदेखि भिडबद्ध ।
बडाहाकिमको अझै तल सवारी भएको थिएन ।
भर्खर त सात बज्यो ।
उहाँ ६ बजेसम्म सुकुला हुनुहुन्थ्यो ।
सात बजे पूजाकोठामा पस्नुहुन्थ्यो ।
धार्मिक वाणीका अतिभन्दा अति मन्त्रहरू गुनगुनाउनुहुन्थ्यो, लगभग दुई घण्टा ।
त्यसपछि मात्र चिया खानुहुन्थ्यो ।
चियासँग खाजा होइन, पत्रपत्रिका हुनुपथ्र्यो ।
राष्ट्रिय दैनिकदेखि लिएर अनेक पत्रिका पढेपछि मात्र तल लनमा ओर्लने गर्नुहुन्थ्यो, त्यो पनि आफ्नो इच्छानुसार ।
कुनैकुनै पत्रिकामा कहिलेकाहीँ के हुन्थ्यो भने त्यस पत्रिकामा उहाँको बीपी हाई हुने गरी उहाँबारे न्युज मुद्रण भएका हुन्थे ।
यस्तो अवस्थामा उहाँ तल ओर्लनुहुन्नथ्यो ।
बरु माथि आफ्नो गोप्य कक्षमा पसेर हटलाइनबाट प्रहरी, विशेष प्रहरी, सेनामेना, अख्तियार आदि सबै ठाउँमा त्यस पत्रिकाबारे दोहोलो काढ्ने आज्ञार्थ कठोर वाणी सम्प्रेषण गर्नुहुन्थ्यो ।
होइन, यदि पत्रिकामा उहाँबारे राम्रो कुरा वा उहाँँको अन्तर्वार्ता छापिएको भए उहाँ हर्षका अनेक गीत गुनगुनाउँदै तल आउनुहुन्थ्यो ।
०००
अब आज हेर्नु थियो—उहाँ कुन मुडमा हुनुहुन्थ्यो ?
मान्छेहरू आशा–निराशाको जोखाना लिएर उपस्थित थिए ।
आशा कुन अर्थमा भने उहाँ तल ओर्लिए त हाम्रो जीवन बन्ने र काम पूर्ण हुने थियो ।
होइन, ओर्लनुभएन त खतम—आजको दिन व्यर्थै हुने भयो ।
अनेक मान्छे, अनेक तर्क ।
आफ्नो–आफ्नो दर्शन ।
त्यसमाथि बडाहाकिमबारे आफ्नो–आफ्नो किंवदन्ती र बखान पनि त्यहाँ सम्प्रेषित भएको देखिन्थ्यो ।
बडाहाकिम यथार्थमा त्यसै बडाहाकिम हुनुभएको थिएन ।
उहाँ त प्रजातन्त्र आएको दिनदेखि यस गणतान्त्रिक पन्ध्रवर्षे समयभित्र असङ्ख्य सम्पत्ति र यो बडाहाकिमी संज्ञा–पदवी पाउनुभएको थियो रे ।
भनिन्थ्यो, त्यसअघि राजधानी भित्रँदा उहाँ झुम्रे लुगामा दाम्लो र जनैमा जुम्रा लिएर पस्नुभएको थियो ।
पसेर केही समय अति नै दुःख वा सङ्घर्ष गर्नुभयो ।
दुःख र सङ्घर्षभित्र उहाँ अनेक धनुषटङ्कार, स्वस्तिवाचनको चलायमान गति प्रत्यारोप गर्नु भएर आजको स्थितिसम्म आउन सफल हुनुभयो ।
अहिले त दुई–दुईवटा महल, तीनथान स्वास्नी, आधा दर्जन सन्तानले सम्पन्न भएर रहनुभएको थियो ।
बडाहाकिमको प्रशस्ति यस्तरी र यसरी नै त्यहाँ गुञ्जायमान थियो ।
प्रत्येक दिन मन्दिरमा देउताको स्तुति गरेजस्तै ।
०००
त्यहाँ आउनेहरूमा घरखेत, सरुवाबढुवा र रोजगारीका लागि बढी आफ्नो समस्या लिएर आएका हुन् भन्ने कुरा ऊ एउटा कुनामा बसेर सुन्दै थियो ।
त्यसो त ऊ पनि अहिले काम खोज्न नै आएको थियो ।
पन्ध्र वर्षको जागिर उसको, षड्यन्त्रकारी कुतत्त्वहरूले खाइदिए र अहिले बेरोजार भएको थियो ।
बेरोजगार हुनु त्यति चिन्ताजनक थिएन, जति चिन्ता आपूm लालाबालासहितको गार्हस्थ्य जीवनले ओतप्रोत हुनुले थियो ।
सानासाना कुरामा सानासाना समस्याले पनि ग्रस्त हुने स्थिति उत्पत्ति भएको थियो ।
यथासम्भव टारिन्थ्यो पनि, तर समस्या त यस्तो पाहुनाजस्तो भइदिएको थियो, जुन जति बेला पनि आउने र आएपछि जाने नामै नलिने ।
त्यस स्थितिमा के गर्ने ?
कामको खोजीमा ऊ धेरै भौंतारिन थाल्यो ।
ऊ लेखनसेखन पनि गथ्र्यो क्यारे ।
उहिले प्रेमिका फकाउन कविता लेखेको थियो ।
अहिले श्रीमती फुलाउन कथा लेख्थ्यो भनेर यदि भनियो भने यो जस्तो अतिशयोक्ति अरू केही हुँदैन उसको सम्बन्ध र सन्दर्भमा, किनभने देशकाल र आपूm बेकारी हुनुको रोस छर्न ऊ कथा लेख्थ्यो भनेर मान्न सकिन्थ्यो, अनि ऊ बिहानै बाहिर भौँतारिएर रात परेपछि घर फर्कन्थ्यो ।
किन ?
किनभने ऊ कथा र नोकरी एकसाथ खोज्दथ्यो र यसमा कथा भने कसै गरी पाइ पनि हाल्थ्यो भने नोकरी भने...पाउन कठिन मात्र देखिएन, असम्भव नै हुन पुगेको थियो उसको प्रसंगमा ।
यद्यपि कथाखोजीमा समय नष्ट गर्नुभन्दा बेस त यही नै हुन जान्थ्यो, ऊ काम खोज्नतिर बढी प्रेरित र अग्रसर हुनु राम्रो ।
त्यसो त कथा, कविता केके लेख्यो पनि ।
देशमा यस्ता लेख्नेलाई लेखौटे र अनुत्पादकशील पदार्थमा दँजनी गरिन्थ्यो ।
सबै आत्मरतिमा डुब्ने लिप्तकारी हो भनिन्थ्यो ।
यसर्थ जस्तै लेखक हुनु र बेरोजगार पनि हुनु भने त झन् चौखण्ड हीन र दीन हुने नै भयो ।
समाजलाई झन् यस्ता मान्छे एउटा पाठ बनिदिन्थ्यो—देखिस्, साहित्य लेख्नाले यस्तो भएको, दुःख पाइएको, आदिइत्यादि ।
ऊ पनि यसरी नै लाञ्छनामा ग्रसित भएर अन्ततः काम खोज्न जारी गर्दथ्यो ।
त्यही खोज्ने क्रममा कसैले यहाँ अर्थात् यस बडाहाकिमकहाँ ल्याइपुर्याइदियो, बडाहाकिमको गुन बखान गर्दै र आश्वासन देखाउँदै ।
उसलाई यसमा झिनै आशा भए पनि पलाएर होला, ऊ यहाँ सधैँको मटमैलो परिधान, वेशभूषा त्यागेर चिटिक्क परेर उपस्थित भयो । काम प्राप्त हुन्थ्यो कि !
०००
भिड जर्याकजुरुकका साथ धरहराजस्तो बन्यो ।
ऊ पनि अनुसरणमा घण्टाघर भयो ।
कसैले उसको कानमा फुसफुसायो— ‘बडाहाकिम रसिक स्वभावका हुनुहुन्छ । केही सोध्न सक्नुहुन्छ । उत्तर हामीले त्यस्तै पारामा दिनुपर्छ ।’
बडाहाकिमबारे किंवदन्ती थियो– हर्षले गद्गद हुनुभएका बेला कसैलाई सहयोग गर्न आउनुहुँदा— ‘ल, दुई कानमा दुई हातले समातेर कुखुरी काँ गर्, म दुई हजार दिन्छु’ भन्न पनि सक्नुहुन्थ्यो ।
त्यस मान्छेले बडाहाकिमको आज्ञा त मान्नैपर्यो नि ।
कसैलाई भन्न पनि सक्नुहुन्थ्यो— ‘ल, तँ कुकुरजस्तो भुक् त, म तँलाई तीन बोरा चामल दिन्छु ।’
त्यस मान्छेले अन्ततः कुकुर बनेर भुक्नु नै पथ्र्यो ।
यो संसार एउटा अभिनयशाला ।
यति जाबो अभिनय गरेर केही पाइन्थ्यो भने भनेको किन नगर्ने !
फेरि कुकुरको अभिनय गर्दैमा कुकुर नै त भइँदैनथ्यो नि ।
मान्छेहरू यस्तो सोच्तथे र आफ्नो दैनिक ज्याला प्राप्त गरेर फर्कन्थे ।
बडाहाकिमको यस्तो विशेषता सुनेपछि उसलाई भय, ग्लानि र क्षोभ एकसाथ लाग्न थाल्यो ।
कतै मोरो बडाहाकिम आएर मलाई पनि ‘गधा जस्तो कराएर देखा त’ भन्ने त होइन !
गधाजस्तो कराइएछ भने पाउने के ?
‘ल तिमीले बिहानबेलुका मेरो घरमा मेरो ग्रेहाउन्ड कुकुरलाई डुलाउने काम पायौ र यसबापत पाँच हजार दिनेछु’ भन्यो भने के गर्ने ?
०००
मुटु ढुकढुक त थियो नै ।
जुन साथीले यहाँ ल्याइपु¥यायो, त्यसले भनेको थियो—सकेसम्म पोलाइट भएर सक्दो दीन बनेर काम माग्नू !
आफूलाई उसले सयौँपटक धिक्कारेर बल्ल त्यस अभिनयसाथ यहाँ प्रस्तुत भएको थियो ।
अब के हुने थियो ?
गुनगुन र जर्याकजुरुकले बडाहाकिम प्रत्येक नागरिकको इच्छा सोध्दै आउनुभएको देखियो ।
कसैले सरुवा मागे ।
कसैले बढुवा मागे ।
कसैले के, कसैले के मागे ।
कसैले त प्रेमिकासँग बिहे गर्न प्रेमिकाका पिता शत्रु बनेकाले आफ्नो प्रेम सफल गरी पाऊँ भनेर पनि मागे ।
सबैलाई तथास्तु भन्नुहँुदै बडाहाकिम वरवर सर्दै आउनुभएको उसले देख्यो ।
मुटु ढक्क र मुहार रातो र तातो भएको अनुभव भयो उसलाई ।
०००
बडाहाकिम ठ्याक्क उसको अगाडि आएर उभिनुभयो ।
उसको कान तातो भयो ।
बडाहाकिमले तलदेखि माथिसम्म यसो हेर्नुभयो ।
उहाँसँगै उभिएको उहाँको चम्चे अनुहारको पथप्रदर्शकले परिचय दियो ।
...हजुर, यी बाबु, बेकार भए ।
नोकरी थियो ।
केही दुष्टले रुष्ट भएर कष्ट दिने गरी खोसिदियो ।
अहिले यिनी हजुरसँग सहयोग माग्न आएको...!
बडाहाकिम गर्र्व र दर्पले जँुगा मुसार्दै हुम्म...हँुकार्नुभयो ।
तलमाथि हेर्नुभएर बोल्नुभयो...ठीक छ, दिउँला, तर...।
...के तर...।
...तर नोकरी माग्न आउनेले यस्तो लुगा, जुत्ता लगाएर आउँदैन यहाँ ।
ऊ झस्केर आफ्नो लुगा र जुत्ता हेर्न थाल्यो ।
लुगा नयाँ थियो, जुत्ता पनि टलकदार राम्रो थियो ।
...तर हजुर...यसले के गर्छ र ?
...गर्न त केही गर्दैन, तर यहाँ यस्तो पहिरन लगाउनेलाई नोकरी होइन, घाँसको टोकरी दिइन्छ ।
...म के गरूँ त ?
...केही नगर...।
...किन ?
...किनभने तिमी त फिल्ममा खेल्नेजस्ता देखिन्छौ, काम खोज्नेजस्ता होइन...तिमी जस्ता त यस देशलाई मात्र होइन, मलाई पनि आवश्यक छैन...ऊ हेर त्यो मान्छे जस्तो हुनुपर्छ, तब मात्र नोकरी पाइनेछ...।
उसले हेर्यो बडाहाकिमले इंगित गर्नुभएको मान्छेतिर अनि ऊ झस्कियो ।
त्यो मान्छे...लुगा फाटेको, दारी पालेको चिप्रे मैलो देखिन्थ्यो ।
बडाहकिम हाँस्दै बोल्नुभयो...त्यस्ता मान्छेले नै यस देशलाई विपन्न हुनुको सार्थकता दिनुका साथै मलाई पनि आनन्द दिने गर्छ...त्यो देखेर मलाई सधैँ लाग्छ, म कति गौरवशाली भाग्यमानी छु, त्यस्तो मान्छेभन्दा । मलाई साँच्चै आनन्द र मनोरञ्जन प्राप्त हुन्छ ।
अनि बडाहाकिम हाँस्न थाल्नुभयो ।
साथमा अन्य भरौटेहरू पनि हाँस्न थाले ।
०००
ऊ यति बेला साँच्चै देशको अनावश्यक मान्छे जस्तै शून्य सडकबाट एक्लै फर्किरहेको थियो ।
(लेखकको शीघ्र प्रकाशित कथासङ्ग्रहबाट ।)