रवीन्द्र खड्का
धेरैपछि पुराना र अग्रजहरूको नाट्य अभियानले हामीलाई एकै ठाउँमा जोडेको छ । धेरैपछि फेरि पुराना साथीभाइहरू नाचघरको यस परिसरमा भेला हुने अवसर जुरेको छ । खुसी लागेको छ । यो एउटा राम्रो कामको सुरुवात भएको मलाई अनुभव भइरहेको छ ।
आजभन्दा ३५ वर्षअघि नाचघरको यही परिसरमा उभिएको अहिले मलाई सम्झना भइरहेको छ । त्यसबखत यो भवन थिएन । अर्कै भवन थियो । प्रेक्षालय पनि अर्कै नै थियो । उति बेला पानी परेको समय भनौँ, वर्षाको बेला पानी चुहिन्थ्यो । प्रेक्षालयमा अगिल्तिर पानी जमेको हुन्थ्यो । तर, हामी जमेको पानीको मतलब नगरेर नाटक मञ्चनमा सक्रिय रहन्थ्यौँ !
ठाउँ–ठाउँमा माथिबाट चुहिने रंगमञ्च । नाटक खेल्दा खाजामा आलु र चिउरा अनि लखरलखर हिँडेर आउने अवस्था यति बेला मलाई सम्झना भइरहेको छ । तर, नाटकप्रतिको आशक्ति यस्तो थियो कि सारा कुरा गौण भइदिन्थ्यो । मन–मस्तिष्कमा मात्र रहन्थ्यो, आफूले गर्ने नाटकको स्वरूप र दर्शकलाई पूर्ण सन्तुष्टि दिने इच्छाशक्ति ।
त्यस्तो परिस्थितिमा हामी मञ्चमा अभिनय पनि गरिरहेका हुन्थ्यौँ । अनि, मौका मिल्नासाथ पानी चुहिएको ठाउँमा बाल्टिन थापिरहेका हुन्थ्यौँ । कहिलेकाहीँ त कलाकारहरू आफैँ पनि पानीले भिजिरहेका हुन्थे ।
त्यसबखत हामीले नाटक प्रदर्शन गर्दा कहिलेकाहीँ दुई–चारजना दर्शक मात्रै हुन्थे हलमा । कहिलेकाहीँ भने थामिनसक्नुको भिड हुन्थ्यो । तर, जुनसुकै परिस्थितिमा पनि नाट्यकर्म नै हाम्रो लक्ष्य रह्यो । आफ्नो भूमिका र पात्रलाई नै महत्व दियौँ । हाम्रो सोच र दृष्टिकोण नै हामीले अभिनय र निर्देशन गर्ने नाटकलाई कसरी उत्कृष्ट बनाउनेमा रहन्थ्यो । वास्तवमा हामीले नाट्य जीवनमा अनेकानेक प्रसंग अनुभव गरेका छौँ ।
नाचघरको यो कम्पाउन्डमा अहिले रंगीचंगी देखिन्छ । चहकिलो र विशाल प्रेक्षालय र मूल भवन छ । त्यो समयमा सानो थियो । जीर्ण थियो । तर, त्यसको स्वरुपले हाम्रो अभिनयमा वा काम गराइमा कहिल्यै प्रभाव पारेन । बरू, काम गर्न हामीलाई प्रेरित नै गर्यो भन्दा हुन्छ ।
अझै म त यो सांस्कृतिक संस्थानमा छ/सात वर्ष जागिरे नाट्यकर्मीका रूपमा पनि रहेँ । मेरो काम नै अभिनय गर्नु थियो । हाम्रा अग्रज हरिप्रसाद रिमाल– जसलाई म हरि बुवा भन्थेँ– को छत्रछायामा हामीले दर्जनौँ नाटक गर्र्याैँ ।
मलाई नाचघरको माया औधी लाग्छ । किनभने, मेरो एउटा अर्को आमा हो, नाचघरको स्टेज । मेरो अर्को आमा प्रज्ञा भवनको स्टेज हो । यी स्टेज (मञ्च)हरूमा हामीले अनगिन्ती नाटक गर्र्यौँ । हामी सबै रंगकर्मीले नाट्यकर्मलाई आफूमा आत्मसात् गरेका थियौँ ।
त्यस बेला नाट्य विभागमा हरि बुवासँगै म थिएँ । र, थिए, प्रभाकर शर्मा अनि वीरेन्द्र हमाल । उनीहरू अहिले नाचघरको रंगमञ्चीय जिम्मेवारीमा छन् ।
मैले पहिलोपटक प्रज्ञा भवनको मञ्चबाट नाटकमा अभिनय गर्न सुरु गरेको हुँ । त्यस बेला तत्कालीन प्रज्ञा प्रतिष्ठानले बर्सेनि नाटक महोत्सव गर्दथ्यो । र, मैले २०३४ साल वैशाख १ गतेबाट काठमाडौंको रंगमञ्चमा पाइला हालेका हुँ । यसरी हेर्ने हो भने एउटा लामो कालखण्ड व्यतित भइसकेको छ ।
त्यस बेला पनि नाटक महोत्सव हुँदै थियो । मेरा गुरु मनोहरि भण्डारीले ‘जाल’ नामक नाटक गर्दै हुनुहुन्थ्यो । मेरो रंगकर्मको विधिवत् थालनी यहीँबाट सुरु भयो भन्दा हुन्छ । त्यसैले पनि म मनोहरि भण्डारीलाई गुरु भन्छु ।
मेरो बुवा राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । मेरो मूल थलो पनौती भए पनि मेरो पढाइ–लेखाइ काठमाडौंमा भयो । न्युरोड, पाकोमा हाम्रो बसोबास थियो । त्यहीँ मेरा एकजना साथी थिए, दीपक घिमिरे । उनको र मनोहरि भण्डारीमा खासा दोस्ती थियो । उनीहरू भेटिरहन्थे ।
२०३३ सालतिर म स्कुलमा नै पढ्थेँ । मलाई दीपकले एक दिन ‘नाटकमा खेल्छस्’ भनेर सोधे । सानैदेखि नाट्यकलाप्रतिको रुचि थियो ममा । त्यसैले पनि ‘नाटक खेल्न पाएपछि किन नखेल्ने’ भनेँ । मेरा लागि त अवसर थियो यो ।
त्यस बेला ‘डबुप्याख’ भन्थे । टोलटोलमा रहेको डबलीहरूमा नाटकहरू भइरहन्थ्यो । मैले पनि डबलीमा भएका नाटकहरू हेरेको थिएँ ।
त्यसो त म पनौती र खोपासीमा हुँदा पनि नाटक गर्थेँ । मेरा दाजु पनि नाटकमा हिरो भएर खेल्नुहुन्थ्यो । दसैंको समयमा प्रदर्शन हुन्थ्यो नाटक । त्यस बेला खुबै इज्जत हुन्थ्यो दाजुको । मलाई त्यो देखेर रमाइलो लाग्थ्यो । कलाकार हुनु भनेको राम्रो कुरा रहेछ भन्ने मेरो मनमा गढेर बसेको थियो ।
खासमा मलाई प्रभावचाहिँ हिन्दी फिल्महरूको थियो । हिन्दी फिल्म हेरेर फर्किएपछि त्यसका कथाहरूलाई जोडजाड गरेर म त्यसको नाटकीय रूपान्तरण गर्थेँ । र, मीनपचासको छुट्टीमा गाउँ गएको बेला ‘लौ सेनिमा खेलौँ है’ भनेर आफ्ना समवयीहरूलाई लिएर नाटक गर्थें । र, त्यो नाटकको निर्देशन पनि आफैँ गर्थेँ ।
मलाई नाटक भन्ने पनि थाहा थिएन, त्यस बेला । म त सेनिमा देखाउँँदै छु भनेर नै सबैलाई बोलाउँथे । आमा–बुवा, हजुरबुवा–हजुरआमा, काका–काकी, गाउँका अग्रज आफन्त सबैलाई दलान (गोदाम)जस्तो घरमा बोलाएर आफूले बनाएको सेनिमा (नाटक) मञ्चन गर्थेँ । सबैको साथ मिल्थ्यो पनि । त्यसका लागि म आफैँ सिकाउँथेँ । अनि, अभिनय पनि गर्थेँ !
रमाइलो कुरो त के भने, काठमाडौंमा सिनेमा हेर्न जाँदा टिकटमा क, ख, ग, घ लेखेर दिने गरेको मलाई थाहा थियो । त्यसैले गाउँमा पनि नाटक देखाउँदा चिर्कटोमा मैले क, ख, ग, घ लेखेर गाउँका सबैलाई दिन्थे र ‘सेनिमा हेर्न आउनुस् है भन्थेँ’ ।
हामीले बोलाएपछि सबैजना हेर्न आउनुहुन्थ्यो । सुकुलमा बसेर हामीले गरेको नाटक हेर्नुहुन्थ्यो । नाटक सकिएपछि हाम्रो प्रशंसा पनि गर्नुहुन्थ्यो । ‘कति राम्रो गरेका तिमीहरूले । लौ, आनन्द आयो’ भन्नुहुन्थ्यो । हाम्रा लागि यस्तो भनाइ पुरस्कार नै हुन्थ्यो । अग्रजहरूको प्रशंसा हाम्रा लागि उत्प्रेरणा र हौसला हुन्थ्यो ।
यसरी नै गाउँमा नाटक गरिएको हो । त्यही धङ्धङीमा दीपक घिमिरेले ‘नाटक खेल्छस् ?’ भनेपछि त्यो त मेरा लागि सम्पूर्ण पाएजस्तो नै भयो । र, मैले पनि हुन्छ भनेँ ।
मैले अभिनय गरेको पहिलो नाटक ‘जाल’मा धेरे कलाकारहरू थिए । त्यो भिडमा मेरो रोल एकदम सानो थियो । उमेर पनि किशोरावस्थाको । चरित्र पनि त्यस्तै । ‘जा त, त्यो केटीको कपाल तानेर आइज । जा त चुरोट किनेर ल्या...’ जस्ता केही संवादका बीच मैले अभिनय गरेको थिएँ । तर, धेरै कलाकारहरूका बीचमा पनि मेरो सानो भूमिका मानिसले मन पराए । मेरो डायलग त न को बराबर थियो । सबैले ताली बजाए । अहिले पनि त्यो ताली मेरो मानसपटलमा ताजा छ ।
काठमाडौंको रंगमञ्चमा अभिनित मेरो पहिलो नाटकमै मैले प्रोत्साहन स्वरुप २०१ रुपैयाँ नगद पुरस्कार पाएको थिएँ । त्यो पाएपछि नाटकमा ताली, प्रशंसा र पैसा सबै पाइने रहेछ भन्ने मलाई लाग्यो । यसरी मेरो रङमञ्च यात्रा सुरु भएको थियो ।
र, मेरो निरन्तरता नाट्यकला क्षेत्रमा नै रह्यो । अहिले सोच्छु, धन्न कुलतमा लागिएन छ ! यो लत त राम्रै रहेछ । कलायात्राको यो नशामा म अहिले पनि लट्ठीरहेको छु ।
त्यसपछि भने काठमाडौंमा निरन्तर नाटक गर्न थालेँ । २०३७ सालतिर सुमन खरेलको समेत अभिनय रहेको नाटक ‘आघात’मा काम गरेँ । त्यसपछि ‘आक्रोश’मा गरेँ । पछि त अरूहरूमा पनि गर्दै गइयो, जस्तै ‘क्रसमा टाँगिएको जिन्दगी’, ‘जेमन्त’ आदि । कतिपय नाटकहरू त मैले आफैँले निर्देशन गरेँ ।
अभिनयकै क्रममा मैले सन्तोष पन्तसँग गाईजात्रामा जोडी बनाएर प्रहसन पनि गरेको थिएँ । २०४२ सालसम्म नै त्यो जोडीले स्टेजमा प्रहसन देखाएको हो ।
त्यसबखत नाचघरमा नाटक भइरहन्थ्यो । निरन्तर हुन्थ्यो । हरिप्रसाद रिमालका छोरा अरविन्द मेरा साथी हुन् । त्यसैले पनि हरि बुवाले मलाई कहिलेकाहीँ नाचघर बोलाउनुहुन्थ्यो । एक दिन मैले हरि बुवासँग ‘मलाई पनि नाटकमा रुचि भएकोले यहीँ नै जागिर खान पाए हुन्थ्यो’ भन्ने कुरा उठाएँ । त्यसपछि तत्कालीन महाप्रबन्धक गणेश रसिक र हरि बुवाकै कारण म नाचघरमा करारमा जागिरे भएँ । त्यस बेलासम्म मैले नाटकका क्षेत्रमा थोरै चर्चा बटुलेको थिएँ ।
नाचघरमा जागिरे कलाकार भएपछि मैले धेरै नाटकहरूमा अभिनय गरेँ । साथै, नाटकहरू निर्देशन पनि गरेँ । ‘क्रसमा टाँगिएको जिन्दगी’, ‘साहुजीकी लाटी स्वास्नी’, ‘मुनामदन’ आदि धेरै नाटकमा अभिनय गरेको थिएँ ।
त्यसैले पनि मेरा लागि यो नाचघर पवित्र मन्दिर हो । झन् अहिले त अग्रज रंगकर्मीहरूले यहाँबाटै नाटक गर्ने भनेपछि ममा उही पुरानै उत्साह र उमंगले घेरेको छ ।
जहिले पनि नाटकप्रति नै मेरो आशक्ति रह्यो । कुनै–कुनै नाटक त नाचघरमा महिनौँ चल्थ्यो । त्यसले हामीलाई रंगकर्मप्रति लगनशील भइरहन र थरीथरीका नाटक गर्न प्रेरित गरिरहन्थ्यो ।
आज पनि मेरो रुचि नाटकप्रति छ । रुचि हराउने कुरै भएन । नाटक खेल्छु पनि । त्यसैले पनि त अग्रजहरूको नाट्य अभियानसँग जोडिएको हुँ, म ।
(नाचघर परिसरमै भेटिएका रंगकर्मी रवीन्द्र खड्कासँग गरिएको कुराकानीमा आधारित ।)