काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुलाई कोरोनाभाइरसविरुद्धको खोप दिन सुरु गरिएको छ । बुधबार बिहान १० बजेदेखि सिभिल अस्पाल नयाँ बानेश्वरमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुलाई कोरोनाविरुद्धको खोप दिन थालिएको हो ।
पहिलो दिन सभामुख अग्निप्रसाद सापकोटालगायत सांसदहरुले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । बुधबार सभामुख, राष्ट्रियसभाका अध्यक्ष, राष्ट्रियसभाका उपाध्यक्षसहित प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुलाई खोप लगाउने कार्यक्रम छ ।
कोभिड–१९ विरुद्धको खोप लगाइसकेपछि सभामुख सापकोटाले कोभिड–१९ विरुद्ध पूर्ण विजय हासिल गर्न सकिन्छ भन्ने विश्वास पैदा भएको प्रतिक्रिया दिए । खोप वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएका कारण निर्धक्क भएर सबैले लगाउनेमा उनले विश्वास व्यक्त गरे ।
“यसको असर, प्रभावबारे त मैले भर्खरै लगाउँदै छु । मैले सबै कुरा भन्नु त हतार होला । तर, मलाई खोप लगाइसकेपछि अहिले भएको अनुभूति के छ भने यो बहुत सहज छ । यो वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएको भएपछि यसमा पूरै निर्धक्क भएर सबैले लगाए हुन्छ । किनभने, यो विज्ञानको कुरा हो । वैज्ञानिक प्रयोगबाट सफल भएको हुनाले सम्पूर्ण नेपालीहरुले कुनै पनि रौँ बराबरको पनि हिच्किचाहट नगरीकन लाउँदा फाइदा हुन्छ,” उनले भने ।
सभामुख सापकोटाले सांसदहरुलाई खोप लगाउन गरिएको व्यवस्थापन राम्रो रहेको पनि बताए । खोप अभियान सफल भई विश्वव्यापी रूपमै कोभिड–१९ माथि विजय प्राप्त गर्नेमा उनले विश्वास व्यक्त गरे ।