काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले अबको दशक आन्तरिक रोजगारी दशकको रूपमा मनाउने बताएका छन् ।
बुधबार काठमाडौंमा अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा मन्त्री अर्यालले आन्तरिक रोजगारी सिर्जना गर्न ससाना व्यवसायहरूमा पनि जोड दिन आवश्यक रहेको बताए ।
अबको एक दशक देशमा सिपमूलक तालिमहरू दिनुपर्ने उनको भनाइ छ । उनले सोहीअनुसार मन्त्रालयले योजना बनाएर काम गरिरहेको जिकिर गरे । उनले वैदेशिक रोजगारीमा जानेहरूलाई कसरी सुरक्षित गर्न सकिन्छ भनेर पनि काम गरिरहेको बताए ।
मन्त्री अर्यालले देश समृद्ध बनाउन स्वदेशमै रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताए । उनले शिक्षा नीति र बजारको माग नमिलेकाले अहिलेको प्रविधियुक्त मागलाई परिपूर्ति गर्नेगरी काम गरिरहेको बताए ।