सन्ध्यालाई चिर्ने तागत अस्ताउँदै गरेको सूर्यमा हुँदैन, किनकि सन्ध्यालाई पूर्ण रूपमा जूनले ताराहरूका लागि रात लिलामी गरिसकेको हुन्छ । जूनले लिलामी गरेको रात जतिसुकै सुमधुर भए पनि आफ्नो प्रेयसीको काखमा टाउको राखेर सपना देख्न नपाउँदा त्यो रात खल्लो नै हुन्छ । आफ्नो प्रेमीको आँखामा आँखा राखेर खुलेआम सपनाको संसार सजाउन नसकेका प्रेयसीको मनमा धेरै तागत र ऊर्जा हुन्छ । प्रेयसीको मनभित्रको तागतलाई कुनै अनकन्टारबाट बौरिएर बहने हुरीले पनि उडाउन सक्दैन ।
अचानक ! समयले यहीँ पूर्णविराम लगाएको भए ? अचानक ! समय रातझैं गहिरो निद्रामा सुतेको भए ? अचानक ! मेरो उमेर त्यही यौवनले भरिएको उमेरमा टक्क रोकिएको भए ?
कसरी मैले आफ्नो उमेरलाई फर्काएर ल्याऊँ ? म कल्पिन्छु त्यो कलकलाउँदो बैँसका लागि । त्यो उमेरमा म कसैको सुन्दिनथेँ । मेरो आफ्नै वेग थियो । आफ्नै लहर थियो । तर मलाई थाहा छ जति कल्पे पनि मेरो बैँस कहिल्यै फिर्ता आउँदैन ।
चिच्याउन मन लाग्छ । मान्छे किन आफ्नो इच्छाअनुसार बाँच्न सक्दैनन् ? म अझैँ बाँच्न चाहन्छु । उनकै उमेरमा फर्किन चाहन्छु तर के उनको उमेरमा फर्किन सम्भव छ र ? अहँ ! म उनको उमेरमा फर्किन सक्दिनँ । तर जति समय मेरो भागमा छ त्यो समय म खुलेर बाँच्न चाहन्छु । उनीसँग हरेक पल खुसीले बिताउन चाहन्छु ।
२९ वर्षका हब्बिब र ५५ वर्षकी म, शोभा । उनी मलाई हजुर भनेर सम्बोधन गर्छन् । म उनलाई तपाईं भनेर बोलाउँछु । उनको ऊर्जा देखेर म बहुलाउँछु । उनको यही ऊर्जा मलाई मनपर्छ । मेरो महिनावारी बन्द भएको पाँच वर्ष भइसकेको छ । ममा उनीजस्तो ऊर्जा छैन, तर उनको ऊर्जा देखेर कुन्नि कसरी ममा आफैँ ऊर्जा जागृत हुन्छ !
अखिर मन न हो । मेरा अङ्गहरू बे–रसिला र सुख्खा छन् तर उनको ऊर्जा देखेर म रसिली हुन्छु । म पहिलेजस्तो तरुनी छैन । तर केही मात्रामा ऊर्जावान् भइदिन्छु । मेरो ऊर्जा देखेर उनी पूर्ण सहयोगको अनुभूति गर्न थाल्छन् । मेरो महिनावारी सुकिसकेकाले बच्चा बस्ने डर छैन । न त परिवार नियोजनका साधन नै प्रयोग गर्नुपर्ने बाध्यता ।
शारीरिक सम्बन्ध नै सबैथोक त होइन तर लोग्ने–स्वास्नीको बन्धनमा बाँधिएपछि यसबाट अछुतो रहनु मैले जायज ठानिनँ । बिहेपछि उनी मेरो कोठामा सुत्ने आँट गर्दैनथे । बैठक कोठामा ओछ्यान लगाएर सुत्थे । उनकी स्वास्नी भएको नाताले मैले उनको आवश्यकताको ध्यान राख्नुपथ्र्यो । राख्न तयार पनि भएँ ।
मलाई पनि उनीसँग एउटै ओछ्यानमा सुत्न मन लाग्दैन्थ्यो । तर, उनको शारीरिक आवश्यकता मैले नबुझे कसले बुझिदिने ? एकदिन म धेरै हिम्मतसाथ उनको छेउमा गएर सुतेँ । म उनको छेउमा सुतेको देखेर उनले मतिर पुलुक्क हेरे अनि अलिक वर सरे । मलाई छेउमा पल्टेको देखेर मानौं उनको जिउमा आगो लाग्यो ! भोको बाघले सिकार झम्टेझैं उनले मलाई झम्टिन थाले । हाम्रो अनौठो प्रेमको सुरुवात यसरी नै भएको थियो ।
मेरा उमेरका साथीहरू हजुरआमा बनिसकेका छन् । हुन त म पनि हजुरआमा बनिसकेकी हुन्थेँ । तर मेरो जीवनमा त्यस्तै मोड आयो जुन मोडले मलाई यो सबै गर्नबाट विवश बनायो । मेरो कहानी अरूलाई अपाच्य होला । अपाच्य भए पनि मलाई पाच्य छ । म त्यसैमा खुसी छु । सबैले भन्छन्– उनले मसँग पैसाका लागि बिहे गरेका हुन् । मेरो सम्पत्तिको लोभमा मलाई अपनाउन तयार भएका हुन् ।
तर मलाई त्यस्तो लाग्दैन । यदि उनले सम्पत्तिको लोभमा मलाई अपनाउन तयार भएका हुन् भने पनि भएभरका सम्पत्ति उनलाई लुटाउन तयार छु । जसले मेरो हेरचाह गर्छ, आफूभन्दा बढी माया गर्छ । उनलाई सम्पत्ति दिनका लागि केको तनाव ? केको हिच्किचाहट ? केको शंका ? केको लोभ ?
हो, म मरेपछि मेरो सबै सम्पत्ति उनकै नाममा हुनेछ । जुन दिन उनी मेरो सम्पत्तिको मालिक हुनेछन् त्यो दिन मात्र म स्वतन्त्र हुनेछु । जसले मलाई निःस्वार्थ माया गर्छन् उनलाई सम्पत्ति र सर्वस्व सुम्पिन के–को हेलचेक्र्याइँ ?
मेरा पनि त आवश्यकता छन् । उनी झन् भर्खरका छन् । उनले मसँग बिहे गरिसकेपछि स्वास्नीको हिसाबले मैले उनका सबै आवश्यकतालाई ध्यान दिनुपर्छ । र आवश्यकता पूरा गर्नुपर्छ । त्यसैले म खुलेआम भन्छु उनी मेरा मनपर्ने लोग्ने हुन् र म उनकी सबैभन्दा प्रिय पत्नी ।
मान्छेहरू भन्छन्, ‘यो उमेरमा बिहे नगरेको भए हुन्थ्यो । बूढेसकालमा छोराको उमेरको केटोसँग किन बिहे गरेकी ?’ जसले जे भने पनि मलाई केही फरक पर्दैन । मलाई सही लाग्यो मैले गरेँ । एकपल्टको जुनीमा पनि के गर्ने ? के नगर्ने ? भनेर सोचिरहने हो भने आफ्नो जिन्दगी कहिले जिउने ! म मेरो जीवन आफ्नो सिद्धान्तअनुसार जिउँछु । मलाई जे सही लाग्छ म त्यही गर्छु । यसमा मैले कसैको अनुमति लिनु उचित ठान्दिनँ ।
मेरो मन छोराको उमेरको केटोसँग मिल्न गयोे । कुरो मिल्यो । मैले बिहे गरेँ । यसमा कसैलाई आपत्ति छ भने मेरो भन्नू केही छैन । त्यो अरूको सोच हुनसक्छ, तर मलाई आफैँसँग कुनै आपत्ति छैन ।
मेरो घर नेपालमा छ । उनको घर पाकिस्तानमा । मैले उनलाई नेपाली भाषा बोल्न सिकाएकी छु । उनी मसँग नेपाली भाषामा नै कुरा गर्छन् । म फ्रान्समा बस्छु । मलाई नेपालका मेरा आफन्तहरूले थुक्छन् । नराम्रो भन्छन् । गाली गर्छन् ! बिग्रेकी, पागल र चरित्रहीन भन्दै रिसाउँछन्, तर मलाई कसैको कुनै कुरामा वास्ता छैन । वास्ता लाग्दैन पनि । किनकि मेरो जीवन मैले जिउने हो अरूले होइन ।
मेरा दाजु, बहिनी र आमा छन् जसले मेरो साथ दिइरहेका छन् । मलाई यी तीनजनाको साथ भए पुग्छ । मेरो परिवारले मेरो दुःख बुझेका छन् र त मलाई साथ दिइरहेका छन् ।
जब बिहान उठेर म उनका अगाडि उभिएँ । उनले मलाई सम्झाए, “आज हजुर बिदा मिलाएर ब्युटी पार्लर जानुस् । कपाल स्ट्रेट र कलर गरेर आउनुस् ल ।” उनको कुरा सुनेर मैले हाँस्दै जवाफ फर्काएँ, “मेरो अवस्था त्यति दयनीय भएको छ र ?”
उनले मुसुक्क हाँस्दै भने, “होइन, मेरो नजरमा हजुर सधैँ राम्री देखिनुहुन्छ तैपनि हजुरले शृंगार गर्नुभयो भने झनै राम्री देखिनुहुन्छ ।”
उनको कुरा सुनेर म त्यहाँबाट फुत्त निस्केँ । शृंगार कक्षमा गएँ । ऐनाको अगाडि उभिएँ । मेरा कपालका जराहरू सेता देखिएका थिए । नङतिर हेरँे । नङहरू लामा भएका थिए । र, नङको पालिस पनि खुइलिसकेको थियो । अनुहारमा चाउरी परेको देखिएको थियो । आँखीभौँ बाक्लै गरी आएको थियो । आँखावरपर कालो घेरा देखिएको थियो ।
नुहाएर खाना खाएँ । खाना खाएर म ब्युटी पार्लर गएँ । त्यहाँ गएर आँखीभौँ बनाएँ । मेनिक्युर र पेडिक्युर गराएँ । नङमा जेलिनो लगाएँ । फेसियल गराएँ । कपाल हाइलाइट गराएर रङ लगाएँ । कपाल स्टे«ट गराएँ । झन्डै आठ घण्टा पार्लरमा बिताएँ ।
ब्युटिसियनले सबै सक्याएपछि म ऐनाअगाडि उभिएँ । मिलेका आँखीभौँ, चुच्चो नाक, लाम्चो अनुहार, गुलाबी ओठ, सुनौला कपाल, आफ्नै रूप देखेर लोभ लाग्यो मलाई । आफैँलाई हेरिरहेँ ! म आफ्नो उमेरभन्दा कलिलो लगभग ४०/४५ की देखिएकी थिएँ ।
जब म घर आएँ उनी मलाई देखेर घेरै खुसी भए । मैले लगाउने लुगाहरू उनले नै किनेर ल्याइदिन्छन् । उनी मीठो रङका लुगाहरू छान्छन् । म ब्रा र पेन्टीसमेत उनकै इच्छाअनुसारको लगाउँछु । रड र फोमको कप भएको ब्रा उनले नै ल्याइदिन्छन् । त्यो ब्रा लगाउँदा मेरा छातीहरू आकर्षक देखिन्छन् ।
उनी सक्दो मेरा सबै कुराको हेरविचार गर्छन् । बिहान सधैँ एक घण्टा पार्कतिर घुमाउन लान्छन् । त्यहाँ मलाई योग र शारीरिक व्यायाम गर्न लगाउँछन् । मलाई औषधिहरू समयमा खुवाउँछन् ।
मेरो व्यापार फ्रान्स र बेल्जियममा छ । म वर्षभरिमा ६ महिना बेल्जियम र ६ महिना फ्रान्स बस्छु । म जहाँ जान्छु उनी एक इमानदार लोग्नेका रूपमा मसँगै जान्छन् । म प्रायः अफिसको काममा व्यस्त रहन्छु । बिदा बिरलै हुन्छ ।
३५ वर्षअगाडिको कुरा, जब म २० वर्षकी थिएँ । त्यतिबेला मेरो बिहे श्रवणसँग भयो । बिहेपछि नेपालबाट हामी दुवैजना फ्रान्स आयौँ । धेरै संघर्षपूर्ण दिनहरू बितायौँ । १० वर्ष अनवरत संघर्ष गरेर पैसा जम्मा गर्यौं । पैसा जम्मा गरेर आफ्नै व्यवसाय सञ्चालन गर्यौं । लोग्ने–स्वास्नीको सम्बन्धमा बाँधिएर धेरै वर्ष बिताएका थियौँ हामीले ।
मनको एउटा डोरी थियो, त्यो डोरी मैले पनि देखेकी थिइनँ तर त्यो डोरी तागतले भरिएको थियो । त्यो डोरीमा प्रेम थियो । तर त्यो पे्रम र तागतको डोरी जीवनभर ताजा र स्फूर्त रहेन ! सपना थियो । चाहना थियो । पूरा गर्ने तागत हाम्रो प्रेममा थियो तर कहाँ गएर कसले गल्ती गर्यो ? मबाट गल्ती भयो वा उनीबाट ? मैले गल्तीहरू पत्ता लगाउने धेरै प्रयास गरेँ । तर मेरो प्रयास असफल रह्यो ।
श्रवणसँग म धेरै खुसी थिएँ । हामीले निर्णय लियौँ हामीले एउटा बच्चा मात्र पाउने । चाहे त्यो छोरी होस् वा छोरा । महँगी दिनदिनै बढ्न थालेको हुनाले हामीले एउटा मात्र सन्तान जन्माउने निर्णय लिएका थियौँ ।
हाम्रो पहिलो सन्तान छोरी जन्मिई । छोरीपछि अर्को सन्तान हामीले पाएनौँ । छोरीलाई डाक्टर बनाउने सपना देख्यौँ । छोरीको हेरचाह राम्ररी गर्यौं । छोरीलाई डाक्टरी पढायौँ । वास्तवमा, हामी धेरै खुसी थियौँ ।
छोरी श्रेया एमबीबीएस फाइनल वर्षमा थिई । उसलाई कार किनिदिएका थियौँ । ऊ आफैँ कार चलाएर पढ्न जान्थी । फाइनल वर्षको परीक्षा चल्दै थियो । ऊ परीक्षा दिन जाँदै गर्दा उसको कार दुर्घटनामा पर्यो । ऊ दुर्घटनास्थलमा ठहरै भई ।
त्यो दिन मेरो जीवनको सबैभन्दा दुर्भाग्यपूर्ण दिन थियो । छोरी बितेपछि म गहिरो पीडामा गएँ ।
छोरी बितेपछि श्रवण एकाएक परिवर्तन भए । उनले रातदिन मलाई गाली गर्न थाले । पिट्न थाले । त्यति बुझ्ने मान्छे कसरी त्यस्तो भए ! मलाई अचम्म लाग्यो । उनलाई लाग्न थाल्यो म रित्तो भाँडा हुँ । त्यसमाथि मेरो एउटा किड्नी फेल छ । मैले कतिखेर यो संसार छोड्छु मलाई नै थाहा छैन ।
उनले पटकपटक मलाई भनेका थिए, ‘तँसँग बस्नका लागि केही पनि छैन । तँ रित्तो भाँडा होस् । त्यसमाथि किड्नी पनि फेल ।’
पछि थाहा पाएँ उनी २९ वर्षकी फिलिपिनी केटीसँगको प्रेममा छन् । मन लागे घर आउँथे, नभए आउँदैनथे । राति मोबाइल स्विच्ड अफ गरेर बाहिरै बस्थे । उनको यो व्यवहारले म झन् दुःखी हुन्थेँ । रातभरि सुत्दिनथेँ ।
उनी एकाएक घर आउन छोडे । त्यही केटीसँग बस्न थाले । मलाई डिभोर्स पेपर पठाएँ । मैले हिम्मत हारिनँ । दुःखी पनि भइनँ । ३० वर्षको साथ एकछिनमै छोड्ने मान्छेलाई ‘पति परमेश्वर, मलाई एक्लै छाडेर नजानुहोस्’ भनेर बिलौना गरिनँ । मैले डिभोर्स पेपरमा हाँसीहाँसी दस्तखत गरेर उनलाई मेरो जीवनबाट सदाका लागि बिदा दिएँ । उनले दिएको पीडामा पटकपटक तड्पिएर बाँच्नुभन्दा उनलाई आफ्नो जीवनबाट जान दिनु नै सही ठानेँ ।
म यो उमेरमा बिहे नगरीकनै बस्न सक्थेँ । बिहे गर्नुपर्ने मेरो रहर थिएन । म एउटा किड्नी फेल भएकी मान्छे । कुनबेला यो संसार छाड्छु थाहा छैन । म आफ्नै भविष्यको जिम्मा लिन नसक्ने मान्छे, हब्बिबको भविष्यको जिम्मा कसरी लिन सक्थेँ ?
तर, श्रवणले मलाई रित्तो भाँडा ठानेर छाडेपछि म रित्तो भाँडा होइन भनेर उनलाई जवाफ दिन चाहन्थेँ । पसपूत (अरूका छोराछोरीलाई आफ्नो छोराछोरी बनाउनु) राखेर जीवन बिताउन सक्थेँ, तर मैले जानेर त्यस्तो गरिनँ । उनले मलाई रित्तो भाँडा सम्झेर छाडेर गएपनि म भरिपूर्ण छु भनेर उनलाई देखाउन चाहन्थेँ । पुरुषले आफूलाई ५५ वर्षमा पनि भरिपूर्ण ठान्छन् भने महिला पनि भरिपूर्ण हुन्छन् भनेर म ठोकुवासाथ उनलाई भन्न चाहन्थेँ ।
मेरो अफिसका कामदार जो २९ वर्षका थिए हब्बिब, उनीसँग मैले बिहेको प्रस्ताव राखेँ । उनी एक इमानदार कामदार थिए । कहिल्यै मुख लागेका थिएनन् । सबै काम इमानदारीपूर्वक गर्थे ।
मेरो प्रस्ताव सुनेर उनी एक साता काममा आएनन् ! एक सातापछि उनी आफ्नी आमालाई लिएर आए । बिहेको साइतसमेत तोके । हामीले साधारण तरिकाले बिहे गर्यौं ।
मलाई श्रवणको सम्झना कत्ति पनि आउँदैन । उसैको सम्झना आउँछ जसले दुःख र संघर्षको समयमा साथ दिन्छ । दुःखमा साथ नदिने मान्छेको सम्झना मनमा ल्याएर म आफ्नो समय बर्बाद पार्न चाहन्नँ ।
म हब्बिबको हेरचाहमा बाँचिरहेकी छु । धेरै खुसी छु । सायद जीवनको कुनै पनि मोडमा श्रवणलाई म भेट्न चाहन्नँ । मृत्युशैय्यामा पनि भेट्न चाहन्नँ । उनले मलाई रित्तो र काम नलाग्ने भाँडा सम्झेर छाडे । त्यो उनको बेइमानी थियो ।
इमानदार लोग्नेले आफ्नी स्वास्नीलाई कहिल्यै रित्तो देख्दैन र अन्तिम समयमा छोडेर जाँदैन ।