काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले बराबरी खेलेको छ । आइतबार भएको खेलमा बार्सिलोनाले काडिचसँग १–१ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदानमा लिएको सुरुआती अग्रता जोगाउन नसक्दा बार्सिलोनाले बराबरी खेल्नु परेको हो ।
बार्सिलोनाका लागि खेलको ३२ औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । योसँगै मेस्सी ला लिगाका ३६ फरक क्लबविरुद्ध गोल गर्ने खेलाडी बनेका छन् ।
८९ औं मिनेटमा काडिचका लागि आलेक्स फर्नान्डेजले गोल गर्दै टिमलाई हारबाट जोगाए । बराबरीसँगै बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँग अंक बराबरी गर्ने मौका गुमाएको छ ।
लिगमा २३ खेल खेलेको बार्सिलोनाको ४७ अंक छ । बार्सिलोना लिगको तेस्रो स्थानमा छ । ५२ अंक जोडेको रियल दोस्रो स्थानमा छ । बराबरी खेलेको काडिच २४ अंकसहित तालिकाको १४ औं स्थानमा छ ।