site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लावण्यदेशको ‘ड्राइफस’ को कथा

उन्नाइसौं शताब्दीको अन्त्यतिर अल्फ्रेड ड्राइफस नामका एक निर्दोष फ्रान्सेली सैनिकमाथि सैनिक अदालतबाट घोर अन्याय भयो ।

उनलाई नगरेको अपराधमा देशद्रोही ठहर गरियो र सार्वजनिकरुपमा मानमर्दन गरेर जेलसमेत हालियो । एक जना इमानदार, निष्ठावान र कर्तव्यनिष्ठ सैनिकलाई ठूलै कसुरविना उसको अस्मितामा प्रहार गर्नु ठूलो पाप हो ।

किनभने, सच्चा देशभक्त सैनिकले सम्पूर्ण जीवन नै आफ्नो मुलुक तथा व्यक्तिगत आत्मसम्मानका खातिर समर्पण गरेको हुन्छ । उसको जीवनभरको लगानी भने पनि आर्जन भने पनि त्यही गरिमा हो ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रथम विश्वयुद्ध सुरु हुनु एक दशकअघि फ्रान्समा उक्त घटना किन भयो, कसरी भयो र कुन परिवेशमा भयो त्यसका आफ्नै विश्लेषण र संश्लेषण छन् ।

उक्त घटनाले आजपर्यन्त एक जना निर्दोष व्यक्ति न्यायकर्ताको कोपभाजनमा परी कसरी दोषी ठहर हुनसक्छ भनी घोत्लिन बाध्य बनाउँछ । ड्राइफसउपर भएको अन्यायका बाछिटाहरु एक शताब्दीपश्चात् अझै पनि हाम्रो समाजमा देखिनु दुःखद हो ।

Global Ime bank

यहाँ प्रस्तुत गर्न लागिएको सैनिकमाथि भएको यो अर्को दारुण कहानी भने लावण्यदेशको ‘ड्राइफस’ को । 

फ्रान्सका जस्तै लावण्यदेशका ‘ड्राइफस’ पनि एक सैन्य अधिकारीमात्र नभई दुई सन्तानका पिता समेत थिए । उनी इमानदार, निष्ठावान्, कर्तव्यपरायण सैनिक त छँदै थिए उनले आफ्नो तीन दशकभन्दा लामो सैनिक जीवनमा सबै प्रकारका भ्रष्ट आचरण, चाकरी, चाप्लुसी, भनसुन आदिबाट टाढै रही आफूलाई हरदम ‘प्रोफेसनल अफिसर’ को रुपमा उभ्याउन कुनै कसर बाँकी राखेका थिएनन् ।

उनी सैनिक तालिम तथा कामकारबाहीमा सँधै अब्बल रहे र आफ्नै बुताले उन्नति, प्रगति पनि गरे । समकक्षी, कनिष्ठ तथा वरिष्ठ सबैले उनलाई सक्षम र पेसेवर अधिकृतका रुपमा सम्मान गर्नेमात्र होइन ‘जुनियरहरु’ले एउटा ‘रोलमोडल’ को रुपमा हेर्ने गरेकोमा उनलाई गर्व लाग्थ्यो ।

उनको स्पष्टवादीता तथा प्रगतिदेखी डाह गर्ने केही अधिकारी पनि थिए । तर, दुई चारजना भने उनको मानमर्दन कसरी गर्ने भन्ने ध्याउन्नामा लागिरहन्थे ।  

फ्रान्सेली ड्राइफसजस्तै लावण्यदेशको ‘ड्राइफस’ ले पनि निकै मेहनतका साथ उच्च तहको सैनिक तालिम गर्ने क्रममा उनका प्रशिक्षक जनरलले पूर्वाग्रह राखी न्यून अंक दिएर उनलाई ग्रेडिङ्गमा पछि पारियो । यस सम्बन्धमा उनीसँगै तालिम गर्ने अधिकृतहरुले असन्तुष्टि पनि पोखे तर तालिमका निर्देशकले कुन बाध्यताले हो कुन्नि त्यसमा चासो तथा प्रतिक्रिया देखाएनन् ।

हुन त ड्राइफस स्वयंले औपचारिकरुपमा कुनै गुनासो गरेका थिएनन् तर पनि ती आत्ममुग्ध अधिकारीहरु उनीप्रति अप्रशन्न भए । यो असन्तुष्टिको असर पछि ‘ड्राइफस’ माथि पर्यो । उनीमाथि प्रतिशोध साधियो । 

फ्रान्समा झैं लावण्यदेशको ‘ड्राइफस’ पनि योग्यता, दक्षता र क्षमताका कारण सैनिक हेडक्वार्टरको जनरल स्टाफ ब्रान्चमा सरुवा भए ।

आखिर काम गर्ने मानिस त सबै ठाउँमा चाहिन्छ नै ! उनी हेडक्वाटरमा कार्यरत रहँदा कामको चापले संधैजसो बिहान साढे छ बजेदेखि राति नौ बजेसम्म अत्यन्त व्यस्त रही काम गर्थे ।

संस्थाको लागि उनी दिलोज्यानले लागि परेका थिए । फलस्वरूप, उनले कहिल्यै पनि घर परिवारलाई पहिलो प्राथमिकतामा राख्न पाएनन् । कतिसम्म भने राति घर फर्केपछि पनि उनी आफ्नो ओछ्यानमा कार्यालयको काम गरेर अबेरसम्म बस्थे ।

यसबापत उनले कुनै तक्मा अथवा पुरस्कार त पाएनन् तर उनको कामबाट सेनापति औधि प्रभावित भए र करिब एक वर्षको अथक व्यस्ततापछि ड्राइफस विदेश तालिममा जानेबेला आफ्नो कार्यालयमा उनलाई अँगालो हाली उत्कृष्ट तवरले काम गरेको र सेनामा आमूल सुधार गर्ने अभियानमा गहन योगदान पुर्याएकोमा हृदयदेखि नै आभार प्रकट गरे ।

साधा जीवन उच्च विचारमा विश्वास राख्ने ड्राइफसलाई त्यो नै आफ्नो लागि सबैभन्दा ठूलो ‘अलंकार र पदक’ झैँ लाग्यो र उनको छाती गर्वले ढक्क फुल्यो । 

परन्तु, अकस्मात, निष्कलङ्क ड्राइफसको सैनिक सेवामा कालो बादल मडारियो । विदेशमा उच्च तालिम गरिरहेको बेलामा एघार महिनाअघि लावण्यदेशको सैनिक हेडक्वार्टरमा लेखिएको कुनै एउटा पत्रको विषयलाई लिएर ‘ड्राइफस’ माथि अनुसन्धान थालियो ।

उनको तालिम समाप्त भएर स्वदेश फर्कने बेला भइसकेको थियो तर पनि मुलुकमा लडाइँ परेको र ‘ड्राइफस’ ले देशद्रोह नै गरे जसरी  अनलाइनमार्फत् मुद्दा चलाइयो ।

उनले सेनापतिसँग आफ्नो कुरा राख्न पाऊँ भनी सेनापतिका सहायकहरुलाई अनेक तरहले अनुरोध गरे तर ‘ड्राइफस’ को अनुनयको कुनै सुनवाइ भएन ।

केही नलागेपछि उनले व्यक्तिगत ईमेलमार्फत् निवेदन पठाई आफू निर्दोष भएको र कसैको षड्यन्त्रको सिकार हुनलागेकाले ‘केस’को राम्रो अनुसन्धान गर्न सेनापतिलाई अनुरोध गरे ।

त्यतिमात्र होइन उनले आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार तामा–तुलसी–गीता भाकेर आफ्ना प्रियजनहरुको कसम समेत खाई आफू निर्दोष रहेको बताए ।

तर, उनको अनुरोधको सुनुवाइ हुनु त परै जाओस् त्यसमा प्रतिक्रिया दिन पनि आवश्यक ठानिएन । जसले तीन दशक लामो सेवा अवधिमा आफूलाई एउटा तीलको दाना जत्ति पनि दाग लाग्न दिएनन् उनकै अनुशासन र मर्यादा माथि औँलो ठड्याइयो ।

यस्तो ठूलो वज्रपात हुँदा पनि धैर्यधारण गर्नु नै शक्ति हो भने। उनले आफ्नो मनलाई सम्झाए ।

आफूले नङ् र मासुसरह भई हरेक दिन सन्निकट रही काम गरेको अधिकारी कसरी एकाएक परिवर्तित भए ड्राइफसले केही बुझ्न सकेनन् । वर्षौं कार्यसम्पादन गर्दा अनवरत असल रहेको उनको ‘नियत’को पछिल्लो मूल्याङ्कन कसरी एउटा सामान्य घटनालाई आधार मानी रौंचिरा नकेलाईकन ‘एकसयअसी डिग्री’ मा भयो यो पनि ‘ड्राइफस’ को समझ बाहिरको कुरा थियो ।

गल्ती गरे सजाय भोग्नुपर्छ भन्ने दृढ मान्यता राख्ने ‘ड्राइफस’ आफूले खाँदै नखाएको विष कसरी लाग्यो भनेर चकित् परे । उनी स्वदेश फर्केलगत्तै विनाकुनै सोधपुछ हठात् जागिरबाट निकालिएको फैसला सुनाइयो र त्यसको प्रचारप्रसार गरियो ।

आफ्नो अध्ययनमा चुर्लुम्म डुबेको बखत कसरी सपना झैँ गरी अत्यन्त छोटो समयमा अकल्पनीय आरोप लागेर अदालतको कामकारबाही पनि भई फैसलासमेत भयो ‘ड्राइफस’ अवाक् छन् । उनलाई न वकिल राख्ने मौका मिल्यो, न प्रमाणहरु केलाइयो, न सूक्ष्म अनुसन्धान नै भयो । शङ्का र पूर्वाग्रहका भरमा ‘ड्राइफस’ लाई दोषी ठहर गरियो । 

उनी आफू ‘प्रोफेसनल’ हुनुपर्ने कुरामा कति सचेत थिए भने चाकरी, चाप्लुसी र भनसुनविरुद्ध सेनामा अभियान नै थालेका थिए ।

आफ्नो कार्यालयको भित्तामा “चाकडी प्रथाको बहिष्कार गरौँं” भन्ने नारा झन्डै एक दशकअघिबाटै फ्रेममा सजाएर राख्ने गर्थे ।

यस्तो दृढता व्यक्त गर्ने व्यक्ति लावण्यदेशको सेनामा सायदै थिए होलान् । भए नै पनि त्यसरी खुलारुपमा व्यक्त गर्ने आँट अरूले गरेको देखिएको थिएन ।

सेनामा काम गर्दा उनले संगठनको हितल व्यक्तिगत स्वार्थभन्दा सँधै माथि हुन्छ भन्ने दर्शनलाई आफ्नो मूलमन्त्र माने । त्यसैले उनले कार्यालयको भित्तामा “यदि तपाईलाई कुनै पनि निर्णय गर्दा दुबिधा हुन्छ भने एकपटक आफ्नै मनलाई सोध्नुस् ‘के यो निर्णय संगठनको हितमा छ?’” भनी लेखेरसमेत राखेका थिए । 

कार्यालयमा रहँदा केही वरिष्ठ, समकक्षी र कनिष्ठ अधिकृतहरुले व्यक्तिगत स्वार्थबाट प्रेरित भएर काम गर्न खोज्दा त्यसको सशक्त प्रतिवाद गरे ।

तथापि, उनले कहिल्यै पनि कसैको चुक्ली हाकिमसँग लगाएनन् । चुक्ली लगाउनुलाई उनी सर्वथा अव्यावसायिक चरित्र मान्थे ।

संगठनको हितलाई सर्वोपरी राखेर काम गर्दा उनले आफ्नै हितलाई अघि सार्नेहरुसँग व्यक्तिगत सम्बन्ध सुमधुर बनाउन सकेनन् ।

अनैतिक र भ्रष्ट आचरणबाट त उनी कोसौं टाढा रहे । कतिसम्म भने सेनामा व्यापक प्रचलनमा रहेको भए पनि उनी सानोभन्दा सानो कोसेली र उपहार लिनुलाई गलत ठान्थे । उनको अगुवाइमा तयार भएको आचारसंहितामा यी कुराहरु समाविष्ट थिए ।

संगठन शुद्धीकरणको कुरा दूषित प्रवृत्तिमा अभ्यस्त धेरैलाई मन नपर्नु स्वाभाविकै थियो । कतिपयले यस्तो अग्रगामी परिवर्तनलाई असंभव पनि ठाने । केहीलाई यस्तो सुधारको काम मनपरेको पनि थिएन । 

उनको संगठन सुधारको वर्षाैंदेखिको आकांक्षा नयाँ सेनापतिको सुधारको अभियानसँग एकाकार भएको थियो । त्यसैले पनि उनी दिलोज्यान दिई काम गर्न हौसिए ।

उनले आफ्नो प्रिय संस्था सुदृढ गर्न अनेकौं पहल गरे । सेनापतिले साथ पनि दिए । वास्तवमा यो सुधारको चाहना उनको र सेनापतिको मात्र नभई लामो समयदेखि सुधारको अपेक्षा राख्ने निष्ठावान सैनिक अधिकृत तथा सकलदर्जाको अभिलाषाको परिणाम थियो ।

सेनामा सबै खराबमात्र नभई सच्चरित्रका अधिकृतहरु पनि थिए जो लोभलालचबाट पर रही आफूलाई एक सबल सेनाको ‘प्रोफेसनल’ अधिकृतको रुपमा प्रस्तुत गर्न चाहन्थे ।

उनीहरु आफ्नो संगठनलाई एउटा प्रभावकारी, क्षमतावान् र गर्विलो संगठनको रुपमा खडा भएको देख्न लालायित थिए । यस्तो आकांक्षा मुख्यरूपमा विकसित मुलुकहरुमा तालिम गरेर आउने अधिकृत र विश्वशान्ति कार्यमा संलग्न भई फर्केका सकल दर्जाले विदेशमा देखेका अनि भोगेका उत्तम व्यवस्था र आफ्नो मुलुकमा पाएको बेठीक अवस्थाबाट उब्जेको थियो । संस्थामा सुधारको दबाब बढ्दो थियो ।

एक हिसाबले भन्ने हो भने, त्यतिबेला संगठन सुधार गर्नैपर्ने बाध्यकारी परिस्थिति खडा भएको थियो । जोसुकै नेतृत्वमा आए पनि संगठन सुधारउन्मुख नभई धरै थिएन ।

हुनत ‘ड्राइफस’ ले कुनै ‘हिरो’ हुने अथवा तिलस्मी काम गरेका थिएनन् – दिइएको भूमिकालाई आफूले जानेबुझेसम्म इमानदारीसाथ सही ढङ्गले पूरामात्र गरेका हुन् ।

तथापि, आफ्नो भूमिका निर्वाह गर्दा सांगठनिक हितको लागि समय प्रवाहविपरीत धारमा हिँड्ने उनको आँट भने उल्लेखनीय थियो ।

तीन दशकभन्दा लामो इमान, निष्ठा, लगन, कर्तव्यपरायणता हुँदाहुँदै पनि किन आज उनको गरिमामा प्रहार भयो भनी ‘ड्राइफस’ अहिले अनिर्वचनीय (अवर्णनीय) र अभिशप्त परिस्थितिमा किंकर्तव्यविमूढ तथा विस्मित छन् ।

न्यायका सर्वमान्य सिद्धान्तले भन्छ गुण, समानता र आवश्यकताका आधारमा न्याय सम्पादन हुनुपर्छ । न्याय निरपेक्ष हुँदैन । तर, आफ्नो हकमा न्यायका सिद्धान्त परिपालना नभएकोमा उनी अवाक् छन् । उनलाई थाह छ, न्याय सम्पादन गर्दा फैसलाको टुङ्गोमा पुग्नुअघि सही विधि र प्रकक्रिया अपनाएको छ कि छैन भन्ने महत्त्वपूर्ण हुन्छ । अनि निसाफ दिँदा दोषी उम्किए पनि निर्दोष नपरुन् भन्ने मान्यता छ । तर, उनको हकमा किन ‘न्यायिक मन’ पनि प्रयोग हुन सकेन भनी ऊ छक्क छन् । 

जिन्दगीको अविरल यात्रामा धेरै कुरा गर्नुपर्ने हुन्छ । जागिर खानु त एउटा सानो पाटोमात्र हो । त्यसमा पनि एक पूर्ण मानव जीवनको दृष्टिकोणबाट नोकरीमा पद्दोन्नति प्राप्त गर्नु र माथिल्लो दर्जामा उक्लनु भनेको नगण्य पक्ष हो । एक असल व्यक्तिको लागि सबैभन्दा ठूलो कुरा उसको आत्मसम्मान र गरिमा हो चाहे ऊ जुनसुकै पदमा आसीन होस् वा जेसुकै पेसा अवलम्बन गरोस् ।

निष्ठावान सैनिकका लागि त गरिमा झन् प्रिय हुन्छ । लावण्यदेशका ‘ड्राइफस’ लाई थाह छ उनका सेनापति आफ्नो आत्मसम्मान तथा गरिमालाई कति महत्त्व दिन्छन् ! तर, सेनापतिले आफ्ना अधीनस्थको आत्मसम्मान र गरिमालाई बेवास्ता गर्ने परिस्थिति कसरी आयो भनी ऊ आश्चर्यमा छन् । आत्मा त आखिर सबैको एउटै हो ! 

कसुर मानिने विषय होइन जानिने विषय हो । जानिएको कसुर र त्यसका असरबीच के कार्यकारण सम्बन्ध छ र त्यसको प्रभाव र गम्भीरता कति छ भनी हेर्नुपर्ने हुन्छ ।

अर्कोतिर, यो जगत विश्वासमा अडेको छ । यद्यपि, कुनै विश्वास संशयको जगमा खडा हुन्छ भने त्यो अविश्वासमा परिणत हुन किञ्चित् बेर लाग्दैन । त्यस्तै, कुनै पनि अनुसन्धान गलत मान्यता (एजम्सनस्) बाट सुरु भयो भने निष्कर्ष पनि गलत निस्कन्छ ।

कुनै विषयवस्तुको छानबिन वस्तुगत तथ्यमा आधारित नभई मनोगत र भावावेशमा हुुन्छ भने त्यो मनको बुद्धिविलासी तर्कभन्दा माथि उठ्न सक्दैन । सही तथ्य बुझ्न आशक्तिरहित आत्मनिरीक्षण पनि त्यतिकै आवश्यक हुन्छ । सत्असत्, उचितअनुचित आदि सम्पूर्ण सांसारिक प्रपञ्चको आदिबीज यही मन हो । हाम्रो दर्शनले भन्छ – सत्य उत्खनन गर्ने अभिलाषा ज्ञान मार्ग हो । अज्ञानलाई सांसारिक भोगको चाहना जगाउने मन्त्रको रुपमा लिइएको छ । चाहना हटाएर सन्त भावले सोचेमात्र ज्ञानको गहिराइमा पुग्न सकिन्छ । तथ्य बुझ्न सम्यक् ज्ञान जरुरी हुन्छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७  १५:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC