काठमाडौं । नेकपा विभाजित भएपछि दुवैतर्फका नेताहरू हतास, हतप्रभ देखिन्छन् । प्रश्नैप्रश्नबाट घेरिएकाले उनीहरूले के बोल्नुपर्ने हो र जनतालाई के भनेर आश्वस्त तुल्याउने हो भनेर भेउ पाउनसमेत छाडेको अनुभूति गर्न सकिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीमा पनि यो समस्या देखिन्छ । पुस ५ गतेको कदमको औचित्य पुष्टि गर्ने नाममा हिजोको सहधर्मी, सहकर्मीमाथि विदुषकको भूमिकामा प्रस्तुत भएका छन् । तल्लोस्तरको उखान, टुक्का र हाँसो–ठट्टाको सहारा लिइरहेका छन् ।
सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले प्रधानमन्त्री केपी ओलीलाईसमेत उछिनेका छन् । उनले कुन भाषा बोलिरहेका छन्, उनी कुन मनोदशामा बाँचिरहेका छन् भनेर मानिसहरूले अनुमानसमेत गर्न सकेका छैनन् ।
पुस ५ गते प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गरेपछि नेकपा विभाजित भयो । विभाजित दुवै घटकले पुस ७ गते केन्द्रीय कमिटीको बैठक राखे । पुस ९ गते केन्द्रीय कमिटी बैठकको समापन भाषणमा गृहमन्त्री रामबहादुर थापा बादलले प्रधानमन्त्रीको संसद् विघटन गर्ने कदमलाई अग्रगामीको संज्ञा दिए ।
स्वयम् प्रधानमन्त्री छक्क पर्नेगरी गृहमन्त्री थापाले दिएको अभिव्यक्तिले नेकपाका अध्यक्ष प्रचण्डसमेत दिग्भ्रमित भएछन् ।
पुराना सहकर्मीका हिसाबले बादलको मनोविज्ञान नबुझ्ने कुरा भएन । एकतापछि त्यो पनि बुझ्न छाडेछन् प्रचण्डले । उनी व्यङ्ग्य कस्दै थिए, “यता गर्न राखेको भाषण पक्कै उता गरेको हुनुपर्छ । उहाँको कुरा सुन्दा त्यस्तै लाग्थ्यो ।” पार्टीमा विग्रह चुलिएयता बादल लामो समय तटस्थ बसे । पार्टी एकता कायम राख्न प्रयत्न पनि नगरेका होइनन् । तर, विग्रह बादलको काबुमा रहेन ।
विभाजनको आखिरी क्षणमा खुलेका बादलले बढी नै विश्वास जगाउन प्रधानमन्त्रीको कदमलाई छलाङ्को उपमा दिए होलान् भनेर अनुमान गर्ने पनि थिए । तर, बादल उस्तै मनोदशामा रहेको शुक्रबारको जनसभाले पुष्टि गर्यो । सरकारको गृहमन्त्रीको पदमा आसिन रहेका बादलले नारायणहिटीको पटाङ्गिनीबाट तेस्रो जनआन्दोलनको उद्घोष गरे । नेतृत्वको रक्षाका लागि सरकार र त्यसको नेतृत्व गरेको नेकपाको ओली समूहसँग तेस्रो जनआन्दोलन विकल्प बनेर उभिएको उनको निचोड थियो ।
यतिमात्र होइन । प्रचण्डहरूले मांसहारी आन्दोलनका लागि उक्साइरहेको सुनाउँदै कानुनको पालना गराउनुपर्ने दायित्व बोकेका गृहमन्त्री बादलले उनीहरूलाई चिडियाघरमा लगेर थुन्ने चेतावनी पनि दिए । मांसहारी आन्दोलनलाई संविधान–कानुनले निषेध गरेको उनको भनाइ थियो । त्यसो हुँदा उनले त्यस्ता आन्दोलन गर्नेलाई कानुन बमोजिम दण्डित गर्छु भन्नुपर्ने हो, तर उनले चिडियाघरतिर थुन्ने बताएपछि मानिसहरूले खित्का छाडे ।
प्रचण्ड– नेपाल समूहका स्थायी कमिटी सदस्य देव गुरुङ गृहमन्त्रीको अभिव्यक्तिको टिप्पणी गर्नुअघि सरकार सडकमा आउने विषय नै उल्टो भएको बताउँछन् । सत्तामा नरहेकाले सडकबाट आवाज बुलन्द गर्नुपर्ने भए पनि तानाशाही मुलुकमा जस्तैगरी ओलीले सडकको सहारा लिएको उनको निष्कर्ष छ ।
“तानाशाही मुलुकमा त सरकार नै सडकमा आएको देखिन्छ । हाम्रै सन्दर्भमा हेर्दा पञ्चायतमा पञ्चहरुले अरूलाई प्रतिबन्ध लगाएर पञ्च र्याली गर्थे । सरकार पक्ष प्रजातान्त्रिक मुलुकमा सडकमा आएको देखिँदैन । हाम्रोमा सत्ता सडकमा आउनुले निरंकुश र फासिँवादतिर गएको संकेत दिन्छ । योभन्दा बढी टिप्पणी आवश्य छैन,” उनले बाह्रखरीसँग भने ।
सत्तापक्ष सडकमा उत्रिएको भन्दै चौतर्फी आलोचना पनि भइरहेको छ । ओली समूहले पनि जुलुस, र्याली, सभा गर्दै आएको छ ।
राजनीतिक विश्लेषक मुमाराम खनाल सरकारले सडकबाट समर्थन खोज्ने नभइ सेवाप्रवाहबाट काम देखाउनुपर्ने निचोड सुनाउँछन् ।
“सरकारले सडकबाट हो कि सेवाप्रवाहबाट हो ? सेवाप्रवाहबाट गर्ने हो नि । सत्तापक्ष पनि सडकमा उत्रिएको छ । प्रधानमन्त्री स्वयम विद्रोही छन् । राज्य सत्ताको स्वामित्व लिने व्यक्ति नै भएन । लोकतन्त्रले स्वामित्व लिनुपर्थ्यो,” उनी घटनाक्रमको विश्लेषण सुनाउँदै भन्छन् ।
सरकारका गृहमन्त्री रहेका बादलको बोली सडकमा संघर्ष गरिरहेको पक्षको जस्तो सुनिन्छ । नेता गुरुङ बादल विवेक शुन्य भएर त्यस्तो विवादित अभिव्यक्ति दिएको टिप्पणी गर्छन् ।
“सरकार दिनानुदिन अकर्मण्य बन्दैछ । एकपछि अर्को विवादास्पद कुरा गरिरहेको छ । आन्दोलन त सरकारमा नरहेकाले उठान गर्ने हो नि,” पहिले बादलकै खेमामा रहेका र बादलसँगै एकता प्रक्रिया (तत्कालीन एमाओवादी) मा समाहित भएका गुरूङ भन्छन्, “पहिलो जन आन्दोलन २०४६–४७ सालमा सरकारमा नरहेका, पञ्च नरहेकाले गरे । सरकारमा बसेर त गरेको थिएन ।”
दोस्रो जन आन्दोलन ०६२–०६३ मा दलहरु सरकारमा रहेर आन्दोलन नगरेको बरु अरू नै तरिकाले प्रतिरक्षा गर्दै हिँडेको उनी बताउँछन् । “अहिले तेस्रो जनआन्दोलन उठान भयो भने पनि सरकार बाहिर रहेकाले गर्ने हो । सरकारले आन्दोलन गर्ने कुरा होइन यो कुरा कतै मेल खाँदैन,” उनी भन्छन् ।
चिडियाखानामा थुन्ने अभिव्यक्तिले मानिसलाई पशुजस्तो ठानेको र मालिकहरुले दासहरुलाई पशुबराबर मानेर खोरमा थुन्नेजस्तो तानाशाही शैलीको टिप्पणी गरेको उनी बताउँछन् ।
जता गए पनि भाषा एउटै !
पछिल्ला भाषणहरूमा गृहमन्त्री थापा बादलले प्रतिक्रियावादी, अवसरवादी, षड्यन्त्रकारी जस्ता ‘कम्युनिस्ट जार्गन’ छुटाउँदैनन् । बादलले तत्कालीन माओवादीमा रहँदा पनि आरोप लगाउँथे । त्यही शब्दहरु प्रयोग गर्ने गर्दथे । उनले बोल्दा विचार नपुर्याउने उनी निकट रहेर काम गरेकाहरु बताउँछन् । कतातिरको भाषा बोल्दैछन् त बादल ? भन्ने प्रश्नमा विगतमा उनकै खेमामा रहेकाहरू पनि अलमलमा छन् । बादलको चरित्र कुनामा बसेर, मौनताभित्र षड्यन्त्रको आँधि रच्ने किसिमको भएको बताउँछन् ।
“उहाँले बोल्दै आएको कतैको भाषा होइन । उहाँ धेरै नबोल्ने, भित्रै बसेर षड्यन्त्र गर्ने स्वभाव छ । जसलाई पनि षड्यन्त्रकारी प्रतिक्रियावादी भन्ने गरेको सुनिन्छ । हिजो माओवादीमा छँदा पनि त्यति शब्द जानेका थिए । त्यही कुरा दोहोर्याइरहेका छन् । को हो अवसरवादी, को हो प्रतिक्रियावादी, यो त अमूर्त कुरा भयो नि,” बादलको नजिकै रहेर काम गरेका एक नेताले भने ।
प्रचण्डसँग बदलाको भाव !
गृहमन्त्री बनेको केही समयपछि बादललाई प्रचण्डको साथ छोडेको आरोप लाग्यो । कित्ता क्लिएर गर्न घचघच्याउँदा उनी लामो समय बादल तटस्थ बसे । अन्ततः पार्टीले विभाजनबाटो समात्दा बादलले ओली समूहमा आफूलाई सुरक्षित देखे । प्रचण्डसँग बदलाको भावका कारण उनी ओली कित्तामा पुगेको विश्लेषण पनि हुने गरेको छ ।
२०५३ मा बादलमा सांस्कृतिक विचलन देखिएको भन्दै उनलाई कारबाही गरिएको तत्कालीन माओवादी नेताहरु बताउँछन् । सुरूमा बादलले त्यसलाई अस्वीकार गरे पनि पार्टीको अनुसन्धानबाट त्यो पुष्टि भएकासमेत उनीहरूको दाबी छ ।
त्यही कारण देखाउँदै उनलाई जिम्मेवारीमुक्त पनि गरिएको माओवादी केन्द्रका तत्कालीन नेताहरू बताउँछन् । पार्टीमा त्यतिबेला प्रचण्डले साथ नदिएकोले त्यो कुण्ठा अहिले कुनै न कुनै रूपमा मुखर भइरहेको उनीहरूको भनाइ छ ।
“पहिले पार्टीभित्रका हरेक षड्यन्त्रमा दुवैसँगै थिए । सांकृतिक विचलनको आरोपपछि उनको प्रचण्डसँगको सम्बन्ध बिग्रिएको हो । प्रचण्डसँग जहाँ पाए पनि बदला लिने भाव देखिन्छ । उनी कुण्ठा पनि देखिन्छ । प्रतिभाशाली भएर भन्दा पनि प्रचण्डको नजिक भएकाले उनी माथि आए । बादलका सहयात्री छुट्टिए,” स्रोत जिकिर गर्छ ।
त्यसो त बादलले निर्णायक संघर्षमा प्रचण्डको साथ छाड्दै आएका छन् । प्रचण्डको कोटामा गृहमन्त्री बनेका बादलले अहिले उनलाई अवसरवादी भन्नु गलत रहेको तर्क पनि गर्दै आएका छन् ।
“पहिले विद्रोह गर्नुपर्छ भनेर शान्ति प्रक्रियाको विरोध गरे । पार्टी फुटाउँदा विभिन्न ढङ्गले बार्गेनिङ गरे । रक्षामन्त्री भए, पछि मोहन वैद्य ‘किरण’तिर गए । र प्रचण्डसँगै फर्किए । प्रचण्डको कोटामा गएर गृहमन्त्री बनेका बादल अहिले ओलीको पक्षमा गएर प्रचण्डलाई अवसरवादी भन्दैछन् । यो शब्दले नै अर्थ गुमाइसक्यो,” पूर्वमाओवादी केन्द्र समूहका एक नेता बताउँछन् ।