मन्त्रिपरिषद्को सिफारिसमा पुस ५ गते राष्ट्रपतिले प्रतिनिधिसभा भङ्ग गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली र प्रचण्ड–माधव नेपाल गरी दुई पक्षमा विभाजित भएको छ । नेकपाको विभाजनसँगै नेकपा कार्यकर्ता पनि दुई भागमा बाँडिएका छन् । नेकपा कार्यकर्ता मात्रै होइन आमनागरिक पनि पक्ष–विपक्षमा विभाजित भएका छन् ।
केहीले संसद् विघटन गर्ने ओलीको कदम सही भएको भन्दै उनको पक्षपोषण गरिरहेका छन् भने अर्को पक्ष प्रचण्ड–माधवको समर्थन गरिरहेको छ ।
नागरिक समाज संविधान र लोकतन्त्रको घाँटी निमोठिएको भन्दै अहिले सडकमा छ । नागरिक समाजका अगुवाहरू प्रायः दिनहुँ कहिले माइतीघर त कहिले बालुवाटारअगाडि प्रदर्शन गरिरहेका छन् । उनीहरू बालुवाटारसँग भनिरहेका छन्– राजनीतिक स्थिरता देऊ, संविधानको पालना गर, जनतालाई प्राथमिकता देऊ ।
सरकार उनीहरूको प्रदर्शनलाई मत्थर बनाउने हरप्रयास गरिरहेको छ । पानीको फोहोरा हानेर होस् अथवा बल प्रयोग गरेर होस्, आफूविरुद्ध आवाज उठाउनेहरूको आवाज बन्द गराउने प्रयासमा छ ।
नारायण वाग्ले, अर्जुन पराजुली, खगेन्द्र संग्रौला, सञ्जीव उप्रेती, कृष्ण पहाडी, डा. गोविन्द केसीलगायत नागरिक अगुवा संविधानको रक्षार्थ दिनकै मैदानमा उत्रिएर भनिरहेका छन्– तेस्रो जनआन्दोलन सुरु भयो । अब यसमा आमनागरिकको साथ र सहयोग चाहिन्छ । तर, अपेक्षित उपस्थिति उनीहरूको खबरदारीमा देखिएको छैन । ०६२–६३ को जनआन्दोलनमा अग्रपंक्तिमा उभिएर लोकतन्त्रका लागि लड्ने व्यक्तिहरू अहिले कहाँ गए ?
छर्लंगै छ, कोही सरकारी उच्च पदहरूमा आसिन छन् । कोही सरकारी सेवा–सुविधाको लाभ लिएर बसिरहेका छन् । त्यसैले सरकारी सेवा–सुविधाको अपेक्षा नगरी तत्कालीन आन्दोलनमा होमिएका फ्रन्टलाइनरहरू अहिले मौन छन् ।
तर, किन ?
हास्य कलाकार हरिवंश आचार्य पनि अहिले मौन छन् । ०६२–६३ का समकालीनहरू अहिले सडकमा उत्रिरहेका बेला हरिवंशमा त्यो चाह किन पलाएन ?
“अलि राम्रो मान्छेले बोलाएको भए अस्ति नै गइसक्थ्यौं । बोलाउनेहरू पनि त्यस्तै त्यस्तै छन्, बोलाउने अवस्था सिर्जना गर्नेहरू पनि त्यस्तै त्यस्तै छन्,” हरिवंश भन्छन्, “कसको आवरणमा जाने भन्ने भइरहेको छ । कसको चम्चा हुन जाने भन्ने भइरहेको छ ।”
अन्ततः नागरिक अगुवा तथा कलाकारहरू जसको समर्थन गर्यो त्यसकै ‘चम्चा’का रूपमा लिइने गरेको उनी बताउँछन् ।
नेकपाका दुवै पक्षको प्रवृत्ति राम्रो नरहेको भन्न हरिवंशको जिब्रो लकपकाउँदैन । काँचको पर्दामा तिखो व्यङ्ग्य गर्ने उनी अहिलेको राजनीतिक अवस्थाप्रति आफ्नो खुलस्त धारणा राख्छन् ।
“पहिला आन्दोलनमा गएकै हो । लोकतन्त्र पनि ल्याएकै हो । प्रवत्ति दुईटै पक्षको राम्रो छैन । एउटाको राम्रो भएको भए यसको पक्षमा लागौं भन्ने हुन्थ्यो । तर, दुइटैको प्रवृत्ति उस्तै छ,” हरिवंश भन्छन्, “त्यसैले कसको पक्षमा लाग्ने भन्ने निर्णय लिन समय लाग्छ । चोखो मान्छेले बोलाएको भए लोभिन हुन्थ्यो । यहाँ त दुइटै पक्ष उस्तै भए ।”
आवरणमा देखिने नागरिक समाज पनि देख्दै जाउँजाउँ लाग्ने खालको नरहेको उनी बताउँछन् । निःस्वार्थ व्यक्तिको अभाव महसुस गरिरहेको हरिवंश सुनाउँछन् ।
नागरिक समाजको आवरणमा नागरिक आन्दोलनलाई प्रयोग गर्नेहरूको भिडबाट पनि सतर्क छन्, हरिवंश । नागरिक समाजको अगुवाका नाममा स्वार्थ बोकेर छिरेका व्यक्ति सरकारी पद र प्रतिष्ठामा पुगेर राजनीतिक दलहरूकै पक्षपोषण गरिरहेको विगतबाट पनि सतर्क हुनुपर्ने उनी बताउँछन् ।
“नागरिक समाजले दलहरूलाई ठाउँमा पुर्याइदिनुपर्ने । अनि उनीहरू मनपरी गर्ने,” हरिवंश भन्छन्, “निःस्वार्थ नागरिक समाज पनि जस्ताको तस्तै, कलाकार पनि जस्ताको तस्तै । नागरिक समाज पनि जिल खाने, हामी पनि जिल खाने भइरहेको छ ।”
नागरिक समाज र कलाकारको उद्देश्य सत्तामा पुगेको व्यक्ति तथा दलले राम्रो काम गरुन् भन्ने भए पनि त्यस्तो अनुभूत आफूहरूले गर्न नपाएको उनी बताउँछन् ।
“अहिले म हेर्दै छु के ठीक हुन्छ र के उचित हुन्छ भनेर । अफ्ठ्यारो पर्दा हामी गएकै हो । सहयोग गरेकै हो । ०४६ मा पनि गएकै हो । ०६२–६३ सालमा पनि पनि जनआन्दोलनमा लागेकै हो,” हरिवंश असन्तुष्ट सुनिन्छन्, “आन्दोलनमा लागेर धेरैलाई धनी बनाइयो । धेरैलाई ठुल्ठूलो पदमा पुर्याइयो । तर, अवस्था अहिले पनि उस्तै रह्यो ।”
कलाकार र नागरिक समाजलाई मात्रै सरकारले सुविधा प्रदान गरोस् भन्ने सोचाइ पनि राख्दैनन् उनी । अफ्ठ्यारोमा परेका सबै नागरिकलाई सहयोग गरे त्यसभित्रै कलाकार र नागरिक समाज पर्ने हरिवंश बताउँछन् ।
“हामीलाई मात्रै सहयोग गर्नुपर्दैैन सबै नेपाली जनतालाई सरकारले हेर्नुपर्यो । नेपाली जनताको सानो अंग मात्रै हो कलाकार । हामीलाई मात्रै सहयोग गर्नुपर्छ भन्ने पनि छैन, कारण हामी कलाकार चन्द्रमाबाट आएका मान्छे होइनौं,” उनी भन्छन्, “त्यही भएर अहिले हामीले सडकमा आउनुअघि सोच्नुपर्ने अवस्था छ ।”