site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तर ‘दूबो’ पनि मर्‍यो ! 
SkywellSkywell

मेरो बुवा एसएल शर्मा भद्रपुर झापामा पत्रकारिता गर्नुहुन्थ्यो । झापाको जेठो पत्रकार । हाम्रो प्रेस पनि थियो, शर्मा प्रेस । त्यहाँबाट ‘मेची सन्देश’, ‘पञ्चामृत’,  विवेचना, सिद्धार्थलगायत पत्रपत्रिका छापिन्थ्यो । बुवा पत्रकारितामा संलग्न हुनुभएकाले त्यहाँ पत्रकारहरूको जमघट हुनु स्वाभाविक थियो ।

तर, त्यसबेला मेरो रुचि पत्रकारितातिर खासै थिएन । मैले एसएलसी गर्दासम्म मैले पत्रकारिता गरिनँ । तर, थोर–बहुत लेख्ने काम भने गरिन्थ्यो । अर्थात कविता अलिअलि लेखिन्थ्यो । झापामा रहँदा नै मैले ‘विवेचना’ र ‘सिद्धार्थ’मा लेखेँ । मेरो लेखन भनेको त्यतिकैमा सीमित थियो ।

म २०३१ सालमा काठमाडौं आएँ । काठमाडौं आउनुको उद्देश्य उच्च शिक्षा अध्ययन थियो । काठमाडौंमा आएर ल क्याम्पसमा पढ्न सुरु गरेँ । केही समयपछि नै पत्रपत्रिकाहरूमा लेख्ने क्रम सुरु भयो । यसरी धेरै साप्ताहिक पत्रपत्रिकाहरूमा स्तम्भ नै लेखेँ । जस्तो, पद्मसिंह कार्कीको ‘गतिविधि’मा लामो समय नै लेखेँ । ‘युग सम्वाद’मा पनि लेखेँ । पछि ‘गोरखा एक्सप्रेस’मा पनि लेखेँ । यसरी साप्ताहिक पत्रिकाहरूका माध्यमबाट मेरो लेखनले अलिकति गति लिएको थियो । 

KFC Island Ad
NIC Asia

एक समय ‘पर्दा’ साप्ताहिक र ‘उर्वशी’ सिने मासिकमा पनि संलग्न भइयो । यसरी पत्रकारितामा जानी नजानी लाग्दै गइयो । र, अहिले पनि थोर–बहुत संलग्नता पत्रकारितामा छ । साहित्यिक अनलाइन ‘अक्षरंग’सँग जोडिएको छु । 

म एउटा निश्चित यात्रामा मात्रै लागिनँ । कविता लेख्नु र कानुन पढेर कानुन पढाउनुबाहेक अरू कुनै एउटै काम मात्रै गरिनँ । साथीभाइसँग जेजसो काम कुरो जुर्छ, त्यसरी नै काम गर्दै गइयो । यसो हुनुको कारण थियो, जे गरे पनि सिर्जनात्मक काम गरौँ भन्ने सोच । त्यसैले सिर्जनात्मक कार्यमा म कुनै न कुनै रूपमा संलग्न हुँदै गएँ । 

Royal Enfield Island Ad

सिर्जनाप्रतिको त्यही मोहले होला, नाटकमा अभिनय गरेँ । नाटक निर्देशन गरेँ । साहित्यिक पत्रिका निकालेँ । भर्खर खुलेको नेपाल टेलिभिजनका लागि साहित्यिक कार्यक्रमको निर्माण गरेँ । टेलिफिल्म निर्देशन गरेँ । ठूलो पर्दाको फिल्म पनि निर्देशन गरेँ । एफएम रेडियोमा कार्यक्रम सन्चालन गरेँ । यसरी छापा, रेडियो, टीभी र फिल्म सबैमा संलग्न भइयो । 

यसको मूल कारण सिर्जनाप्रतिको अथाह लगाव नै हो । त्यसैले पनि समयले जताजता डोहोर्‍यायो, त्यतैत्यतै लागेँ । 

काठमाडौं आएपछि पत्रपत्रिकाहरूसँग नजानिँदो पाराले जोडिएँ । कविता लेखनमा रुचि त थियो नै । त्यसका अतिरिक्त साप्ताहिक पत्रिकाहरूमा नियमित स्तम्भ लेख्न सुरु गरेकोले पनि ‘दूबो’ साहित्यिक पत्रिका प्रकाशनको हुटहुटी जागेको हो । 

२०३३३४ सालतिर होला, मेरो साथी भरत भूर्तेल र म स्कुलमा सँगै पढ्ने भएकोले एकापसमा अनेक कुराकानी हुन्थ्यो । एकफेर कुरैकुरामा पत्रिका प्रकाशन गर्ने चर्चा चल्यो । ऊ पनि लेख्ने । म पनि लेख्ने । त्यस पछि नै हामी दुवै ‘दूबो’ प्रकाशनको निष्कर्षमा पुगेका हौँ । 

खासमा हामी अरूको पत्रपत्रिकामा लेख्थ्यौँ । अरूकै सम्पादनमा पत्रिका निस्किन्थ्यो । आफै सम्पादक भएर पत्रिका निकालौँ न त भन्ने सोचले पनि ‘दूबो’को प्रकाशनलाई मलजल गरेको हो । एकपटक बिदामा झापा गएको बेला मैले बुवालाई सोधेँ । बुवाले पनि हुन्छ गर् भन्दै कार्तिकलाई सोध्न भन्नुभयो । कार्तिक प्रेसका व्यवस्थापक थिए । उनलाई नै सारा जानकारी थियोे, प्रेसको बारेमा । 

त्यसपछि हामीले थाहा पायौँ, साठी पेजको एकप्रति दूबो निकाल्नलाई एक सिट न्युजप्रिन्टले भ्याउने रै’छ । र, छापेर निकाल्दा एक रुपैयाँ पर्ने रहेछ एकप्रतिलाई । 

त्यसपछि झापाबाटै ‘दूबो’ साहित्यिक द्वैमासिक पत्रिका दर्ता गर्‍यौँ । र, ‘दूबो’ प्रकाशन गर्न थाल्यौँ । सामान्यतया पत्रिका डिमाई साइजमा निस्किन्थे । केही फरक गरौँ भन्ने सोचले नै हामीले त्यसलाई गोजीका (पकेट साइज)को आकार दियौँ । हुन त अरू पत्रिका पनि प्रकाशित भइसकेको थियो, पकेट साइजमा । सायद, हरिभक्त कटुवालले त्यस्तै साइजमा पत्रिका निकालेका थिए । कवि स्नेह सायमिले पनि त्यस्तै साइजमा पत्रिका निकालिसकेका थिए । हामी पनि त्यो फरक साइजमा आयौँ ।

हामीलाई कविता, मुक्तक, लघुकथालगायतका साहित्यिक सामग्री पस्कन त्यो साइज सहज थियो । र, पत्रिका थोरै रकममा पनि छापिन सक्ने भएकोले पनि त्यो आकार दिएका थियौँ । अर्को कुरो, पत्रिकाको नाम जुराउँदा दूबो कहिल्यै मर्दैन भनेरै ‘दूबो’ नाम राखेका थियौँ । तर, ‘दूबो’ पनि मर्‍यो ! अर्थात ‘दूबो’ केही वर्षपछि यसको प्रकाशन बन्द भयो । आज कतना वर्ष बितिसकेको छ !

पत्रिका निकाल्न सजिलो थिएन । बुट्टा र फोटोका लागि जिङ्क ब्लक बनाउनुपथ्र्यो । त्यसैको जमाना थियो । जिङ्क ब्लक महँगो पर्दथ्यो । त्यसैले हामी प्रेसमा भएको लिनोलियममा नहरनी (नङ काट्ने औजार)ले अक्षर र बुट्टा कुँदेर पत्रिकाको कभर बनाउँथ्यौँ । त्यसका लागि खुबै मिहिनेत गर्दथ्यौँ भरत र म । कहिलेकाहीँ प्रेसमा उपलब्ध ब्लकहरू पनि प्रयोग नगरेको होइन । 

हामीले हरेक अंक विशेष अंकका रूपमा ‘दूबो’ प्रकाशन गरेका थियौँ । कहिले कविता अंक, कहिले मुक्तक अंक र कहिले लघुकथा अंक । अनि, कहिले चाकडी अंक पनि । एक दुई अंक त हामीले अटो अंक पनि निकाल्यौँ । एकताका साथीभाइसँग अटो भर्न लगाउने चलन खुबै चलेको थियो । र, अटोमा कुनै साहित्यकारले के लेखेको छ भन्ने खोजेर त्यसलाई दूबोमा प्रकाशित गर्दथ्यौँ । अटो अंकका लागि भने अटो खोज्न गाह्रो हुन्थ्यो । तर पनि हामीले अटो अंक निकाल्यौँ ।

‘दूबो’ झापा, भद्रपुरबाटै प्रकाशित हुन्थ्यो । किनभने, भरत मेची क्याम्पसमै पढ्थ्यो । र, यहाँबाट प्राप्त सामग्रीहरू पठाएपछि त्यसको प्रुफ हेर्नेदेखि अरू काम भरतले झापामै गर्दथ्यो ।

काठमाडौंमा मेरो काम ‘दूबो’का लागि रचना कलेक्सन गर्नु पनि हुन्थ्यो । त्यसले धेरैजनासँग सम्पर्क पनि गरायो । सम्बन्ध बढायो । कतिपय अंकका लागि सानो फरम्याट तयार गरेका थियौँ । त्यो भर्न लगाएर त्यसमा लेखिएको म्याटर दूबोमा प्रकाशित गर्दथ्यौँ । जस्तो, चाकडी अंक । हरेकले कसै न कसैको चाकडी गर्छ नै । हो, त्यही चाकडीको सानो अंश तिनले त्यो फरम्याटमा भरेर दिन्थे र हामी पत्रिकामा छाप्थ्यौँ ।

त्यसबेला लेखकसँग भेटेरै दूबोका लागि सामग्री जुटाउँथेँ म । मेरो बसाइ मोहनराज शर्मा बसेको ठाउँमा भएकोले केही सजिलो थियो । उहाँकहाँ लेखकहरू आइरहन्थे । त्यसले पनि सजिलो थियो, दूबोको लागि सामग्री जुटाउन । 

कहिलेकाहीँ गोष्ठी वा कार्यक्रममा लेखकहरूसँग भेट हुन्थ्यो । कहिले पिपलबोटमा भेटघाट हुन्थ्यो । पिपलबोट त सबैजना आउने ठाउँ नै थियो । त्यहीँ भेट्यो । दूबोका लागि सामग्री माग्यो । पत्रिकाका लागि सामग्रीका विषयमा मैले कसैलाई दोहोर्‍याएर भन्नु परेन । 

पछि भरत पनि काठमाडौं आयो । ऊ काठमाडौं आएपछि नै हो, दूबो पनि बन्द भएको । किनभने, यहाँ त दूबो निकालिदिन एसएल शर्माको शर्मा प्रेस त थिएन !

हामीले दुई वर्षसम्म त दूबो निकालेका हौँ । १२ अंक । तर, त्यो सबै अंक मसँग पनि छैन । साँचेर राख्ने काम नै कहिल्यै गरिएन !

दूबो जसले बेच्थ्यो, त्यसैले पैसा खान्थ्यो । हामीले त एक पैसा पनि पाएनौँ । तर पनि त्यो बेला गरेका कामहरूले सन्तुष्टि दिन्थ्यो ।  

विभिन्न साप्ताहिक पत्रपत्रिकाहरूमा मेरो स्तम्भ लेखन निरन्तर थियो । मैले लेख्ने भनेको साहित्यिक विषय नै हुन्थ्यो । समसामयिक विषयमा यदाकदा मात्रै लेखेँ ।  

त्यसबेला ‘गतिविधि’का पद्मसिंह कार्कीले दसैं दसैंमा घर जाने बेला पैसा दिनुहुन्थ्यो । गोरखा एक्सप्रेसका राजन कार्कीले पनि स्तम्भ लेखेबापत पैसा दिनुहुन्थ्यो ।

पछि शैलेश आचार्यका कारण ‘पर्दा’मा म जोडिएँ । रमण घिमिरे, सरोज खनाल पनि थिए । शैलेश दाइ ‘उर्वशी’ फिल्मी पत्रिकामा गएपछि म पनि उर्वशीमा गएँ । हामी टिम नै गयौँ । पछि दीपकजीको ‘चाँदनी’मा पनि लेखेँ । यसरी पत्रकारितामा मेरो निरन्तरको आबद्धता रह्यो । जुन आजसम्म चलिरहेको छ ।

पत्रकारितासँग जोडिएको एउटा रोचक प्रसँग मेरो सम्झनामा छ । मेरो स्कुले साथी सावरमलले मसँग फिल्म बनाउने कुरा गर्‍यो । उसले लगानी गर्ने भयो । शैलेश दाइ निर्माण परिकल्पनाकार हुनुभयो । फिल्म ‘विजय पराजय’ बनाइने भइयो ।

त्यसका लागि अर्को निर्देशक खोजिएको थियो । तर, उनले भाउ खोजे । त्यसपछि शैलेश दाइले मलाई तिमीले टेलिभिजनमा काम गरेका छौ । क्यामेरा र छायांकनको बारेमा सबै थाहा छ । तिमीले नै निर्देशन गर भन्नुभयो । तर, मैले मलाई फिल्मबारेमा थाहा छैन नै भनिरहेँ ।

त्यसपछि शैलेश दाइले भन्नुभयो, ‘त्यसो भए पत्रिकाका लागि सुटिङ रिपोर्ट लिन जाऊ । र, फिल्म मेकरले काम गर्ने तरिका हेर ।’ त्यसबेला प्रकाश थापाको ‘कन्यादान’, तुलसी घिमिरेको ‘कोसेली’ र यादव खरेलको ‘चेलिबेटी’को सुटिङ भइरहेको थियो । 

र, म पत्रिकाको लागि सुटिङ रिपोर्ट लिन भनेर फिल्म मेकिङका विषयमा जानकारी लिन, केही सिक्न ती फिल्महरूको सुटिङ स्पटमा पुगेको थिएँ ! 
  
शिक्षणकर्मबाहेक गर्न त थोर–बहुत भए पनि धेरै काम गरियो । तथापि, म कवि कि टेलिभिजनकर्मी ? म फिल्मकर्मी कि नाट्यकर्मी ? म शिक्षक कि पत्रकार ? यो प्रश्न कहिलेकाहीँ म आफैसँग गर्छु । यतिबेला  प्राध्यापन पेसाबाट अवकाश लिइसकेकाले र कुनै न कुनै रूपमा सञ्चारकर्मसँग जोडिएकाले आफूलाई सञ्चारकर्मी नै भन्ने गर्छु । 

(कुराकानीमा आधारित ।) 


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १७, २०७७  ११:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro