गोधूलि समयको औरही गाउँ । घरको नगोलमा बसेको छु । सडकमा कुदिरहेका छन् साइकल, मोटरसाइकल । केही टायर गाडा, बयल गाडाहरू गन्तव्य पक्डेर लम्किरहेका छन् । गाई, गोरु फाट्टफुट्ट देखिन्छन् डगहर (धुले सडक) मा, बासतिर लम्किँदै ।
अचानक घुरको धुवाँ म बसेतिर मडारिएर आइपुग्छ । घुरको धुवाँको तिक्खर गन्ध ! सडकपारिको घर–गोठछेउमा बालिएको घुरको धुवाँ मलाई झस्काउनै नगोलसम्म आइपुगेको रहेछ ।
केहीबेर त्यही धुवाँसँगै रगमगिएँ म पनि । त्यसले मलाई मेरो किशोरवयमा पुर्यायो । झन्डै पैँतालीस वर्षअगाडि ! पैँतालीस वर्षअघि मावल गाउँमा त्यही घुरछेउ बसेर आगो तापियो । आफ्नै उमेर समूहका केटाहरूसँग अनेक रङका खेलाँची गरियो । केही सिकियो । केही नौटङ्की गरियो !
नगोलमा त्यही समय सम्झिएँ । नौटङ्की सम्झिएँ । साथीभाइ सम्झिएँ । र सम्झिएँ घुरको आगोले दिएको त्यही न्यानोपन ।
०००
काम गर्ने जिम्मा लिएकाले साँझ सिँगै दरबज्जा (खलियान) मा सिनित्तै झाडु (खरेटो) लगाए । बाँसको झाडुले कुना–काप्चा सबैतिरको फोहोर सोहोर्दै गर्दा सर्वत्र धुलोले धुम्म बनायो । त्यसबेला त्यसरी पात–पतिङ्गर, लार–पुवारसहितका कसिङ्गर सोहोर्दा कसले मास्क लगाउने ! कसले नाक छोप्ने ! अहिले भए सायद गोजीबाट रुमाल निकालेर नाक छोपिन्थ्यो होला । मास्क झिकेर भिरिन्थ्यो होला ।
तर, त्योबेला के को नाक छोप्नु ! त्यही धुलोमा नाक रगडिँदा पनि रुघा लाग्थेन ! उमेरै त्यस्तो थियो जो ! हो, हजुरबा खलकका बूढापाका भने गमछा (पातलो टाबेल) लाई गलेबन्द र मास्क दुवै बनाउँथे ।
दरबज्जाको एउटा कुनामा टुक्रुक्क बसेका हाम्रा बाबा र कान्छबाका गमछाले नाक छोप्ने काम पाएको थियो । हामी भने त्यो धुलो पनि कम भएजस्तै गरी उफ्रीउफ्री झन् धुलो उडाउँदै थियौँ ।
गाउँमा साँझपखको दैनिकी यस्तै हुन्थ्यो । हरेक घरका सुक्खा फोहोरहरू बाहिर घुरको डुङ्गुरमा फ्याँकिन्थ्यो । त्यसबेलासम्म गुहाली (गोठ) मा चर्न गएका गाई, गोरु, भैँसी, बाख्रा–बाख्री भित्रिसकेका हुन्थे ।
गुहाली व्यवस्थापनको काम सजिलो हुन्न । गुहालीमा रहेका पशुधनलाई पिना, सानी, कुट्टी, कुँडोको व्यवस्था आफैँमा गाह्रो हुन्छ । त्यो सकाएर गाई–भैँसीको दूध दुहेपछि मात्रै बाहिर घुर बाल्ने तयारी हुन्थ्यो ।
सिरहा जिल्लाभित्र पर्ने त्यो नितान्त गाउँ भलुवाही (जुन मेरो मावल हो) मा मेरो किशोरकालको लामो समय बित्यो । र, त्यहीँ मैले घुरको आगो तापेँ । घुरको धुवाँले हानेको आँखा मिच्दै मनग्ये आँसु, र्याल र सिँगान बगाएँ । घुरमा बलेको पराल र गुइँठा छोएर कालो भएको हात आँखादेखि अनुहारसम्मै दलेँ । अनुहार कालो न कालो बनाउँदै ।
तर, घुरको तातोले ज्यान सेकाउन छाडिनँ । बडेमानको घुरमा बलेको आगोको तापले ज्यान मज्जाले तात्थ्यो । भलै, पछिल्तिर चिसोले सेकोस् ! घुरको तातो त त्यही हो, अगाडि सेकुन्जेल अगाडिको भाग तातो । पछाडि पिठ्युँ सेक्न थालेपछि अगाडिको भाग सेलाउन बेरै नलाग्ने ।
र पनि घुरले मोहित बनाएको थियो । साँझ परेपछि घुर कतिबेला बाल्ने होला भनेर पर्खिएर बसिन्थ्यो । हामीलाई भने घुर बाल्न अनुमति थिएन । ‘आगो नचला, राति ओछ्यानमा पिसाब हुन्छ’ भन्नुहुन्थ्यो हजुरआमा । त्यसैले डर कायम थियो । ओछ्यानमा पिसाब फेर्ने जोखिम मोल्ने कुरै थिएन !
बडो मिहिनेत साथ घुर बल्थ्यो । बिजुली पुगेको थिएन गाउँमा । लालटिनभन्दा बढी डिबिया (टुकी) कै प्रयोग अधिक हुन्थ्यो । कहिलेकाहीँ घुरले घुर्की देखाउँदा त्यही लालटिन अथवा डिबियाबाट मट्टितेल खन्याएर घुर दन्काउँथे, जुगुत र मंगलाहरू । अनि, जगमगाउँथ्यो सारा दरबज्जा, झललल ।
हाम्रो घरअघिल्तिरको दरबज्जामा मात्रै होइन, प्रायः हरेक दरबज्जामा घुर बल्थ्यो । हो, कतैको घुरमा बढी भिड हुन्थ्यो भने कतै थोरै मानिस मात्रै रहन्थे । र, जहाँ गफाडी हुन्थे, त्यो घुरमा जमघट पनि दह्रै हुन्थ्यो ।
आज सोच्दा लाग्छ, त्यो घुर संस्कृति आफैँमा उत्कृष्ट थियो । त्यसले घरको फोहोर मैलाको साङगोपाङगो व्यवस्थापन गरेको त थियो नै । त्योसँगै सबै मानिसलाई एकठाउँमा ल्याएर जोडेको थियो । घुर एउटा चौतारोजस्तै थियो । कहिलेकाहीँ त सानो घुर भए पनि वरिपरि आगो ताप्ने र उभिएर गफैमात्र सुन्ने पनि प्रशस्त हुन्थे ।
घरको गल्नेखालका फोहोर बारीको खाल्डोमा मल बनाउन हालिन्थ्यो । बाँकी फोहोरले घुर ताक्थ्यो । र, त्यही फोहोर केहीबेरमै खरानी बन्थ्यो । घुर संस्कृति, वास्तवमा फोहोर व्यवस्थापनको अनुपम उदाहरण थियोभन्दा अतिरञ्जना नहोला । सबैको माटो र फुसकै घर थिए । तर पनि घरमा फोहोर देखिन्थेन । फोहोर केही निस्किए त्यसले आफ्नो उचित स्थान पाउँथ्यो नै ।
गुहालीबाट निस्कने गाई/भैँसीका गोबर धेरैजसो गुइँठा र चिपरी (आगो बाल्न प्रयोग हुने जर्ना) बनाउनमा काम आउँथ्यो । फेक्न बाँकी रहेका गोबरले त्यही घुर समाउँथ्यो । त्यसैले पनि घुरको आगो रातभर गाढा रातो भएर भित्रभित्रै बलिरहेको हुन्थ्यो ।
कहिलेकाहीँ रातबिरात निद्रा खुल्दा पनि झ्यालबाट घुरको छेउछाउ कोही न कोही बसिरहेका देखिन्थे । बिहान झिसमिसेमा उठ्दा म पनि धेरैपटक घुरको आगो ताप्न पुगेको छु ।
जाडोको एक साँझ खाना खाइवरी भान्सामै गफगाफ चल्दै थियो । भान्साको एकमुखे चुलोमा दूध उम्लिरहेको थियो । चुलोमा दाउरा दनदनी बलेकाले भान्सा कोठा तातो थियो । त्यसैले चुलोकै छेउमा बसेर हजुरआमाको कुरा सुनिरहेको थिएँ ।
त्यसैबेला दरबज्जाबाट जोडदार सिटी बज्यो । हजुरआमाले मतिर हेर्दै भन्नुभयो, ‘‘आए राहुहरू ! अब निस्क्यो यो पनि ।’’ अनि, भन्नुभयो, ‘‘चाँडै फर्किनू । ढिलो गरिस् भने बाबा रिसाउनुहुन्छ ।’’
यति अनुमति मिलेपछि के चाहियो । त्यसपछिको आधा–एक घण्टा चहारी–चहारी घुर ताप्नलाई कसले रोक्ने । अनि, किरण, पुष्कर र म हिँड्थ्यौँ, कहिले पिताजीको दरबज्जामा बलेको घुर ताप्न त कहिले गौतम कुटीरमा दन्किएको घुरको तातोमा रन्किन ।
बाहिर आगो नदन्किए पनि गहिरो ताप दिन्थ्यो, त्यस्ता घुरहरूले । बरु, बेलाबेलामा आँखै पोल्ने धुवाँ र त्यसको तिक्खर गन्धले घुर छोडेर भागुँ भन्ने बनाउँथ्यो । तर, भाग्न सकिन्थेन । एकापट्टि मात्रै तातो पारे पनि त्यो आनन्दको गर्माहट् छोड्न सकिन्थेन !
घुर बाल्ने ठाउँ एउटा चौतारोसरह हुन्थ्यो । जब घुर सल्किन्थ्यो, विस्तारै विस्तारै सबै घुरको वरिपरि जम्मा हुन्थे । कहिलेकाहीँ घुरमा बाबाखलकको जमघट हुन्थ्यो । कुन र कसको खेतमा धान राम्रो भयो, धान राम्रो उब्जेन भने किन उब्जेन, खेतमा पानी पुगेन कि, खाद पुगेन कि, बीउ राम्रो भएन कि ?
चौमासमा रोपेको आलु, प्याज अनि मडुवा (कोदो) कस्तो भएको छ ? यी खेती–किसानीका समस्याहरूसँगै गाउँघरका समस्याहरूमाथि पनि छलफल भएको मैले धेरैपटक सुनेको छु । यदि, सिक्न खोज्ने हो भने त्यहीँ बसेर पनि खेती कसरी गर्ने भन्ने सिकिन्थ्यो, बूढाहरूको कुराले मात्रै पनि ।
सायद त्यसैले पनि होला, घुर परम्परालाई गाउँले संस्कृति भनियो । जुन संस्कृति अहिले विस्तारै हराउँदै गएको देखिन्छ, गाउँमै पनि । इतिहासविद् डा. विमल शर्मासँग केही दिनअगाडि घुरका विषयमा कुराकानी हुँदा उनी पनि आफूले गाउँमा रहँदा भोगेको घुरको धुवाँ र तातो ‘मिस’ गरिरहेको बताउँदै थिए ।
डा. विमल भन्छन्, “घुर सरसफाइको एउटा महत्त्वपूर्ण पाटो त हुँदै हो । त्यसदेखि बाहेक यो हरेकलाई केही न केही सिक्ने सिकाउने चौतारो पनि हो । हामीेले त्यही घुरको आगो ताप्दै धेरै कुरा सिकेका छौँ । खासमा घुर एउटा ट्युसन सेन्टरजस्तै हुन्थ्यो । अलिकति ध्यान दिएर बसे त्यहाँबाट धेरै कुरा सिकिन्थ्यो । चाहे त्यो खेती किसानीका कुरा हुन वा व्यावहारिक ज्ञानका कुरा ।”
त्यसो त अरूको बतखोई पनि नहुने हैन, घुरछेउमा । अनेक कुरा गरेर घुरबाट भाग्नुपर्ने अवस्था पनि आउँथ्यो कहिलेकाहीँ ।
तर, घुरको एउटा मीठो सम्झना सधैँ आइरहन्छ, ओरहा खाएको । चना वा केराउसहितको हरियो झार नै हामी घुरको आगोमा पोल्थ्यौँ र खान्थ्यौँ, जसलाई ओरहा भनिन्थ्यो । मौका मिले घरबाट आलु अनि अलुहा (सखरखण्ड) ल्याएर घुरमा हाल्यो र दश–पन्ध्र मिनेटपछि निकालेर पोलेको आलु र अलुहा खायो । गतिलो ‘स्न्याक्स’ थियो त्यो हाम्रा लागि ।
बस्, स्न्याक्स मात्रै । त्यो उमेरमा अरू त के खानु थियो र !
०००
औरहीको नगोलमा बसिरहँदा रगमगिएको धुवाँले पु¥याएको भलुवाही र त्यहाँ तापेको घुरले जन्माएका अनगिन्ती कथा छन् । बस्, अब त घुर पनि एउटा कथा भइसकेको छ । अनेक जातका हिटरहरूको यो युगमा घुरको कथाले के न्यानो देला र ! तर, आफूलाई त्यो न्यानो अहिले पनि अनुभूत भइरहेको छ ।