site stats
बाह्रखरी :: Baahrakhari
विशेष
जसले नेपाली खानालाई विश्वमा चिनाए 

काठमाडौं ।  ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ मा नेपाली सेफ सन्तोष साह शीर्ष तीनमै सीमित भए । अन्तिम प्रतिस्पर्धामा सन्तोष र अर्का एक प्रतियोगीलाई पछि पार्दै बेलायतकै २५ वर्षीय आलेक्स वेबले उपाधि जिते ।

उत्कृष्ट तीनसम्म पुगेका सन्तोषले प्रतियोगिताको ‘टाइटल’ त जितेनन् । तर, निर्णायकदेखि नेपालीहरुको मन भने जितेका छन् ।

“यी परिकारहरु मेरो आमाको प्रेरणाबाट बनाएको हो । मेरी आमा मेरो मनमा हुनुहुन्छ,” उनले शीर्ष चारको प्रतिस्पर्धामा भनेका थिए, “म १२ वर्षको हुँदा कुलो बनाउने काम गर्दा मेरी आमा मलाई मन पर्ने खाना लिएर आउनुहुन्थ्यो ।”

Argakhachi Cement Island Ad

उनले सेफले लगाउने टोपीको सट्टा नेपालीपन झल्काउने कालो भादगाउले टोपी लगाएका थिए । खानाका परिकार बनाउँदै आफूले सानै उमेरमा भोग्नु परेको दुःखका सम्झनाहरु सुनाएका थिए । माहोल नै छुट्टै बनाएका थिए । उनले उक्त कार्यक्रममा नेपाली खानामात्र हैन, नेपाली मनको भावनासमेत पस्किए ।

साहको कुरा सुनेर निर्णयकहरुले उनको प्रशंसामात्र गरेनन्, उनले बनाएको परिकारहरु आफूहरुले चाहेर पनि त्यस्तै स्वादमा बनाउन नसक्ने जनाएका थिए ।

“मेरो जीवनमा धेरै मानिस जोडिएका छन्,” निर्णयकहरुसँग उनले भनेका थिए, “मेरो जीवनको सबै सफलताहरु आमालाई नै समर्पण गर्न चाहन्छु ।”

सानै उमेरमा बाबु गुमाए । दाजुहरु सन्तोष सानै छँदा आ–आफ्नो बाटो लागे । सानो उमेरमा नै धेरै दुःखको पहाड चढेका साह भन्छन्, “आफ्नाहरु नै बाटो लागेपछि आमाको मात्र आड–भरोसाले के नै पो गर्न सकिने रहेछ र ?”

सानै उमेरमा बाबु गुमाएका साहले आर्थिक अभावकै कारण होटलमा भाँडा माझ्ने कामदेखि गाउँमा नै पोलिथिन र पाउरोटी बेचेर अध्ययन गरे । उनलाई पढाइमा मन त थियो । तर, एसएलसीको नतिजा उनले सोचेको जस्तो भएन । उनी तीन विषयमा फेल भए । राम्रो पढौँला, जीवनमा केही उन्नति गरौँला भनेर सोचेका साहलाई चाहनाले भन्दा बाध्यताले पिरोल्यो र १५ वर्षकै उमेरमा भारत पसे ।

“म गाउँकै साथीहरुको पछि लागेर भारतको गुजरात पुगेँ,” राम्रो पढाइ नभएको कारण सोचेजस्तो काम नपाएको सुनाउँदै साह थप्छन्, “खान दिने र मासिक ९०० सय भारु दिन्छ भनेपछि म होटलमा भाँडा माझ्न र सरसफाइमा लागेँ ।”

उनलाई होटलमा काम गर्दा सेफले लगाउने अग्लो टोपी र सेतो पोसाकले नै मन लोभ्याएको थियो । अझ आफूले ९०० भारु र त्यहाँका सेफले १६ हजार भारु पाउने थाहा पाउँदा सेफको पहिरनमात्र होइन, तलबले पनि सेफ कसरी बनिएला भनेर सोच्न थाले ।

“एक दिन म सेफलाई भेटेर आफूलाई पनि सेफ बन्ने इच्छा व्यक्त गरेँ,” उनलाई एक्जिक्युटिभ सेफ सरोज दासले काँधमा हात राख्दै भने, “तिमीलाई सेफ नै बन्नु छ भने भोलिदेखि नै ज्वइन गर्नू ।”
 

नेपाली सेफ सन्तोष साह उत्कृष्ट तीनमा सीमित

एक्जिक्युटिभ सेफले नै भोलिदेखि आउनू भनेको दिन आफू जीवनकै धेरै खुसी भएको दिनको रुपमा उनी सम्झन्छन् । खुसी नहुन् पनि कसरी ? उनलाई अब साथीहरुले भाँडा माझ्ने, सफा गर्ने केटो होइन, ‘सेफ’ भनेर सम्बोधन गर्ने थिए ।

उनी यतिमा मात्र खुसी थिएनन् । उनी त पहिले–पहिले आमालाई पठाउने पैसाभन्दा धेरै गुणा बढी पैसा पठाउन सक्ने हुँदै थिए । साह त्यही सपना देख्दै भोलिपल्टदेखि तन्दुरी रोटीको लागि आटा मुच्छ्ने, रोटी बनाउन सुरु गरे ।

उनले त्यहाँ काममात्र होइन, डिग्रीसमेत पाएको बताउँदै भन्छन्, “काम सुरु गरेको केही महिनामा नै म बस्नेनजिकैको होटल इन्स्टिच्युटमा काम गरेँ । र, त्यहीँबाट डेढवर्षे डिप्लोमा सकाएँ ।”

पढाइ सकेपछि उनले त्यहीँको एक पाँचतरे होटलमा काम सुरु गरे । त्यतिबेलासम्म उनले सोचेका धेरै सपना पूरा भइसकेका थिए । आमालाई पठाउने पैसा पहिलेभन्दा धेरै थपिएको थियो । तर, सन्तोषले त्यतिमा मात्र सन्तोक मानेनन् । उनी अझै अगाडि बढ्न चाहन्थे । आफूमा अंग्रेजी भाषा कमजोर भएको ठानेर एकैपटक तीन ठाउँमा भाषा पढ्न सुरु गरेको उनी बताउँछन् ।

“कामसँगै भाषा पनि उत्तिकै जरुरी रहेछ । भाषा सिकेपछिमात्र एक्जिक्युटिभ सेफ भएँ,” उनले सुनाए ।

भारतकै होटलहरुमा काम गर्दागर्दै उनलाई अरु देशमा जाने सोच आयो । उनी मोन्टेनिग्रो उडे । तर, त्यहाँ धेरै समय बस्न सकेनन् । भारत नै फर्किए ।

“म भारत फर्किएको केही समयमा लन्डनमा होटल चलाउँदै आएका एकजनाले सम्पर्क गरे । त्यही दिन नै उनलाई भेट्न उनको घर गएँ,” उनले सम्झिए ।

त्यहीँबाट सुरु भयो, उनको लन्डन यात्रा । गुजरातीले लन्डन जानको लागि आवश्यक कागजात मिलाउन र आवश्यक खर्च आफैंले व्यहोर्ने बताएपछि साह खुसी नहुने कुरै भएन । गुजरातीसँग भेट भएको केही समयपछि अर्थात् सन् २०१० मा लन्डन पुगे ।

सन्तोषले गुजराती साहुको नराम्रो व्यवहारको कारण लन्डनमा धेरै समय काम गर्न सकेनन् । तर, अरु अवसरले डोर्‍यायो । उनले लन्डनकै अर्को होटलमा काम गर्न सुरु गरे । त्यहाँ काम गर्दागर्दै उनी मास्टरसेफको प्रतिस्पर्धामा पुगेका हुन् ।

धेरै वर्ष अरु देशका खाना बनाएका र चाखेका साहका अनुसार नेपाली खाना अरु देशको खानाभन्दा ‘युनिक’ छ ।

साहले विश्वभरिका मानिसको चाख हुने “बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०” मा नेपाली खानामात्र पस्किए । उनले भनेका थिए, “यदि, मेरो उद्देश्य प्रतिस्पर्धा नै जित्ने थियो भने त २० वर्ष काम गरेको भरतीय खाना नै पस्कन्थेँ नि !”

नेपाली परिकारहरु केही परिमार्जन गरेर विश्वसामु चिनाउन सकिन्छ भन्ने हौसलासँगै आत्मविश्वास बढेको उनी बताउँछन् । साहले प्रतियोगिता जित्न कुनै ‘कम्प्रमाइज’ गरेनन् । बरु, नेपाली खाना नै पस्किइरहे ।

प्रकाशित मिति: शुक्रबार, पुस ३, २०७७  १५:५९
प्रतिक्रिया दिनुहोस्