चीनले नबुझेको नेपाली भावना 

कुलचन्द्र वाग्ले 

उत्तरी छिमेकी चीनलाई नेपाली नागरिकको भावनामा ध्यान दिन सम्झाउनु परेको छ । केही वर्ष अघिसम्म छिमेकी चीनसँग कुनै नेपालीले यस्तो अनुरोध गर्नु आवश्यक ठानेको हुँदैनथियो । समय परिवर्तन र चीन विश्वशक्तिको स्पर्धामा पुगेपछि अहिले धेरै नेपाली यस्तो आग्रह गर्न बाध्य छन् । कतिपय स्पष्टसँग लेख्न, बोल्न हिचकिचाउँछन् । किनभने चीन शक्तिशाली छ । सँगै बसेर भलाकुसारी गर्दा यसअघि कहिलै नसुनिएको नेपालीको दुःखेसो चीनसँग बढेको स्पष्ट बुझिन्छ । तिनै भावनालाई राख्ने यी पंक्तिको आशय हो । 

चीनलाई केही वर्षअघिसम्म मौन कूटनीतिको पर्यायका रूपमा चिनिन्थ्यो । शक्ति बढ्दै गएपछि उसले मुखर (भोकल) कूटनीतिको मार्ग अवलम्बन गरेको देखिँदैछ । छिमेकीसँगको चीनको आर्थिक वा व्यापारिक स्वार्थबाहेक आन्तरिक राजनीतिमा उसको शालीनता वा मौन यहाँमात्र होइन विश्वभर नै प्रशंसित थियो । अहिले आएर चाहिँ चीनले आफ्नो संस्कार, स्वरुप र शैली फेरेको देखिएको छ । 

दक्षिणी छिमेकी भारतसँग जुन प्रकारको गुनासो र विवाद यसअघि हुन्थ्यो, अब नेपालीले ठ्याक्कै त्यही स्तरको गुनासो वा विवाद उत्तरी छिमेकी चीनसँग पनि गर्न थालेका छन् । भारतसँग सीमा विवाद थियो र छ । त्यस्तै चीनसँग पनि सीमा विवाद उल्झिएको छ । भारतले नेपाली राजनीतिमा अनपेक्षित हस्तक्षेप गरेको आरोप लाग्थ्यो, ‘माइक्रो मेनेजमेन्ट’ गर्न खोजेको आरोप थियो ।  चीनले पनि यस्तै हस्तक्षेपको बाटो समाएको यहाँ सार्वजनिक भएको छ । 

दुवै छिमेकीप्रतिको तथ्यगत गुनासोको परिणाम नेपालले भोग्ने नियति के हो थाहा छैन तर नेपालको भूअवस्थिति दुवै छिमेकीसँग समान छैन, भिन्न छ । भारत—नेपालको सीमा अधिकांश समथर भूबनोटमा जोडिएको छ तर चीनसँग उसको स्वशासित राज्य तिब्बतसँगको हिमाली र पहाडी क्षेत्रसँग नेपाल बढी नै टाँसिएको छ । सीमाको यस्तो स्वरुप चाहना होइन प्राकृतिक बनोट हो । 

समथर दक्षिणी सीमाको कारण त्यहाँ बस्ती र बासिन्दाको घनत्व पनि छ तर उत्तरी तिब्बत हिमाली र पहाडी पठारमा बस्ती सहज छैन, निकै पातलो छ । मानव बस्तीसँगै हुने थिचोमिचो अनधिकृत भए पनि बुझ्न सकिने विषय हो तर बस्ती नभएको हिमाली वा उच्च पहाडी क्षेत्रको थिचोमिचो चाहिँ बस्तीले भन्दा पनि सरकारी संयन्त्रले हुनुपर्छ भन्ने बुझिन्छ । नेपाली मनको यही कठघरामा अहिले चीन पुगेको दुःखेसो बढ्दै छ । 

चीनले सधैँ नेपाली सार्वभौमिकता र अखण्डताको पक्षमा बोलेको छ । नेपाली पनि चीनको सदाशयमा विश्वस्त छन् तर त्यस्तो विश्वास भत्किँदै र भत्काइँदै छ । नेपाललाई भारतले जे गथ्र्यो अहिले चीन पनि त्यही हेप्ने बाटोमा देखिएको छ । चीनको प्रति यस्तो गुनासो वा आरोप लेख्नुपर्दा राम्रो लाग्दैन । तर, पुरानो विश्वास टुक्रिँदै छ, टुंगिदैछ । 

चीन नेपालसँगको सीमा विवादलाई आपसी समझदारीमा अत्यन्त सौहार्दपूर्वक सुल्झाएको थियो । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला (२०१६साल) र चीनका प्रधानमन्त्री चाउ एनलाईको समयमा छिमेकी दुई देशीय सीमा विवादमात्र सुल्झिएन, सगरमाथाको विवाद पनि हार्दिकतासाथ मिलाइएको थियो । 

चीनले पनि बिर्सनु हुँदैन सानो मुलुक तर ठूलो विचारका साथ नेपाली कांग्रेसका नेता एवं प्रधानमन्त्री बीपी कोइरालाले संयुक्त राष्ट्रसंघमा चीनको सहभागिता आवश्यक रहेको कारणसहित  महासभामा मन्तव्य दिनुभएको थियो । चिनियाँ सहभागिताबारे बीपीको मन्तव्य तत्कालीन भारतीय नेतृत्वलाई आफू अनुकूल लागेन सायद । परिणाम नेपालमा नवस्थापित प्रजातन्त्रको हत्या गर्ने मन्त्रणा राजा महेन्द्रले भारतबाट पाउनुको यो एक कारण बन्यो । 

चीन र नेपालबीच अहिलेको जस्तो विवाद पहिले कहिल्यै थिएन । राजशाही वा तानाशाह सरकारले सत्ता स्वार्थबमोजिम यता, उता गरे पनि सम्बन्ध सधैँ सुमधुर रह्यो । जब तिब्बत अलग्गै थियो (सन् ०४९ अघि) यहाँ सरकारमा राणाहरु थिए । त्यतिबेलासमम नेपाल तिब्बतबीच लडाइँ पनि भएको इतिहास छ । यस्ता लडाइँमा तिब्बतमा रहेका चिनियाँ अम्बा (तत्कालीन चीन सरकारका  प्रतिनिधि) ले नेपाल — तिब्बतबीच सहमति र सम्झौताको लागि मध्यस्थता गरेको पनि पाइन्छ । तिब्बत चीनको स्वशासित क्षेत्र भएपछिका दिनमा भने दुई देशबीचको  मैत्री सम्बन्ध सधैँ सुमधुर राखिएको थियो । 

चीनले राजनीतिक तटस्थता बनाएरै नेपालप्रति हार्दिक सम्बन्ध कायम राखेको थियो । अहिले शक्ति बढोत्तरीसँगै चीनको नेतृत्व किन त्यो मित्र परम्परा उल्ट्याउँदै नेपालप्रतिको शालीन व्यवहारलाई कटुतामा बदल्न उद्यत भएको हो ? बुझिनसक्नु  छ । कुनै पनि छिमेकीप्रति कटुतापूर्ण अनुभूति भन्न, लेख्न नपरे हुन्थ्यो भन्ने लाग्छ तर सबै नागरिक आआफ्नो देशहित र अखण्डताप्रति प्रतिबद्ध, संवेदनशील र समर्पित हुन्छन् । नेपाली पनि यस्तै नागरिक हुन् । चीनले अन्यथा नठाने हुन्छ । 

चीनसँग नेपालीको दुई विषयमा गुनासो बढेको छ । आरोप प्रत्यारोप सुरु भएको छ — पहिलो सीमा विवाद र दोस्रो राजनीतिक हस्तक्षेप । सीमा मिचिएको गाँइगुँइ अन्यत्रसमेत सुनिए पनि हुम्लाको लिमीलगायत क्षेत्रमा चाहिँ तथ्यगत प्रमाणसहित चीनले नेपाली भूमि मिचेको दाबा आएको छ । चीनले भने नेपाली दाबाको पटकपटक खण्डन गरिरहेको छ । 

पहिले स्थानीय बासिन्दा र त्यहाँका जनप्रतिनिधिले हुम्लामा नेपाली भूमि मिचिएको जानकारी सार्वजनिक गरेका हुन् । त्यसपछि सहायक प्रमुख जिल्ला अधिकारी (सप्रजिअ)ले समेत यो कुरा पुष्टि गरे । प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को नेतृत्वमा स्थलगत अध्ययन प्रतिनिधि टोली त्यहाँ पठाइयो तर टोली फर्कनु र प्रतिवेदन दिनु अगावै नेपालको कम्युनिस्ट सरकारले काठमाडौंमा हचुवामा भनिदियो – सीमा मिचिएको छैन । 

सीमा मिचिएको बताउने सप्रजिअले चौबीसघन्टे सरकारी स्पष्टीकरण पुर्जीको प्रत्युत्तर माफ मागेर जागिर जोगाएको थाहा पाएका प्रजिअ र उनको सरकारी टोलीले तब मुख खोल्न सक्ने कुरै भएन — तैँ चुप मै चुप । मुख त बन्द भयो नै प्रजिअ टोलीको प्रतिवेदन पनि सरकारले लुकायो, सार्वजनिक गरेन । यसले सीमा मिचिएको आशंका यहाँ थप जब्बर भएको छ । 

यस्ता धेरै भनाइ र तथ्य प्रमाणबीच प्रदेश सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीको नेतृत्वमा जनप्रतिधि (स्थानीयसमेत) को टोली मिचिएको भनिएका हिल्सा, लिमीलगायत सीमा क्षेत्र अवलोकन, अध्ययनमा पुग्यो । जुन स्वाभाविक थियो । हुम्लावासी कांग्रेस नेता शाहीको टोलीले सीमा मिचिएको प्रतिवेदन सार्वजनिक गर्यो । 

शाहीको टोलीले कांग्रेस पार्टी र कम्युनिस्ट सरकारलाई पनि त्यस क्षेत्रको तस्बिरसहित प्रतिवेदन दियो । त्यहाँ पुग्दा चिनियाँ सुरक्षा पक्षले अश्रुग्यास प्रहार गरेर उनीहरुलाई भगाउन र धम्काउन प्रयत्न गरेको समेत बताइयो । टोलीमा जानेहरुले विभिन्न एफएम रेडियोमा अन्तर्वाता दिए र सीमा मिचिएकै पुष्टि गरे । जीवन शाहीको पनि यस विषयमा अन्तर्वार्ता आए । यतिविघ्न दाबा र आरोपलाई उचित सम्बोधन गर्नुको सट्टा चिनियाँ पक्ष दबाबी खण्डनमा व्यस्त छ । यो नेपालीले चिनेको मित्र चीनभन्दा भिन्न छ ।  

नेपालको कम्युनिस्ट सरकारले नकारे पनि यसबीच नेपाल (नेपाली) चीनबीचको सीमा विवाद केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमको विषय पनि भयो । विवाद भएपछि समाचार बन्यो । यो अनौठो भएन । अनौठो चाहिँ चीनका सञ्चारमाध्यमले गर्दैछन् । सीमा विवादबारे चिनिया पक्ष (नेपालस्थित चिनिया दूतावास) ले सक्रियतासाथ बारम्बार खण्डन गरेको छ, सीमा मिचेका छैनौ भनेको छ । चीनले नेपाली सार्वभौमिकता र अखण्डताको सदैव सम्मान गरेको र गर्छ भन्ने ‘न्यानो’ विज्ञप्ति पटकपटक सार्वजनिक गरेको छ । 

नेपाली नागरिकको यति धेरै दाबा वा आरोपलाई खण्डन गर्नमात्र चीन किन सीमित छ ? सदैव नेपाली ‘टेरिटोरी’को सम्मान गरेको भन्न नथाक्ने मित्र चीन आऊ नेपाल विवाद उठाइएको सीमामा जाऊँ किन भन्दैन ? यस विषयमा नेपाल सरकारले पनि कूटनीतिक पहल गनुपर्ने हो तर यो कम्युनिस्ट सरकार लाचार छ । आशा गर्ने कुरै भएन । लाचारले कुरा राख्न सकेन भन्दैमा असल छिमेकीले असल नियतले सीमा निरीक्षण र विवाद अन्त्य गर्न पहल लिन नमिल्ने त थिएन ।  

आरोप प्रत्यारोप बढ्दै गएको बेला चीन सरकारबाट सञ्चालित पत्रिका ‘ग्लोबल टाइम्स’ले ‘भारत, पश्चिमा र युरोपपरस्त नेपालीहरुले सीमा विवाद खडा गरेको’ तीखो आरोप प्रकाशन गरेछ । नेपाली कांग्रेस ( कांग्रेस चीनको पुरानो वा पहिलो मित्र नेपालको राजनीतिक दल) लाई त्यो पत्रिकाले यही दर्जामा उल्लेख गरेछ । सीमा मिचिएको प्रतिवेदन दिने नेपाली कांग्रेसका नेता शाहीले ग्लोबल टाइम्स र चिनिया दाबालाई चुनौती दिँदै आफू गलत ठहरिए जस्तो दण्ड पनि भोग्न तयार रहेको विज्ञप्ति (दि राइजिङ नेपाल, नोभेम्बर १३, २०२०) सार्वजनिक गरेका छन् । नेपाली कांग्रेसले पनि ग्लोबल टाइम्सको आरोपको खण्डन गरेको छ । 

विडम्बना, भारतसँग नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमा विवादलाई भारतीय सेना (स्थलसेना) अध्यक्ष मनोजमुकुन्द नरवणेले ‘चिनिया उक्साहट’को कारण भन्नु र चीन सरकारको मुखपत्र ‘ग्लोबल टाइम्सको त्यस्तै भनाइ समान चरित्रका छन् । छिमेकीबीच विवाद अनौठो होइन तर व्यर्थको विवादले असल छिमेकीको पहिचान बन्दैन । वार्ता, संवाद र सहिष्णु प्रक्रियाले विवाद सुल्झिन्छ, सुल्झाइन्छ भन्ने मान्यता चीनले नबुझेको विषय पक्कै होइन । नेपाल चीन दुवै मिलेर यो विवाद समाप्त गर्नु उचित हुन्छ । लम्याउनु दुवैकोे हितमा हुँदैन । 

रह्यो राजनीतिक हस्तक्षेपको विषय । नेपालमा चीनको राजनीतिक हस्तक्षेप अहिले चरममा पुगेको देखिएको छ । नेपालीमा उखान छ ‘अति गर्नु अतिचार नगर्नु ।’ चिनियाँ भाषमा पनि यस्तो उखान पक्कै होला । नेपालको कम्युनिस्ट सरकार र त्यस दलको भातभान्छा जोगाउन सबै आस्थाका नेपालीको मित्र चीन यति विवस्त्र लाग्नुले यहाँ गुनासोमात्रै किन स्पष्ट भन्दा आक्रोश बढ्दै गएको छ । चीनले नेपालीको भाव, भावनालाई सुनोस्, बुझोस् र आफ्नो व्यवहार सच्याओस् पनि । 

नेपाल कम्युनिस्ट पार्टीभित्र जब जब विवाद बढ्छ यहाँस्थित चिनिया राजदूत हाउ यान्छी कम्युनिस्ट नेताको घरदैलो गर्न थाल्छिन् । अहिले पनि यस्तै अकूटनीतिक व्यवहार फेरि प्रदर्शित भएको छ । नेपालको राजनीतिको छिनोफानो नेपाली स्वयंले गर्ने हो । नेपाल सानो छ तर सामरिक अर्थका कारण पश्चिमा वा युरोप, भारत र चीनबीच स्पर्धाको त्रिकोणीय दबाबमा पनि पर्दैछ । असल छिमेकी चीनले नेपाललाई थप स्पर्धाको विन्दुतिर धकेल्नुभन्दा जोगाउन लाग्दा नेपालीको अपेक्षा सम्बोधन हुनेछ । 

नेपालको सरकारी सत्तामा (कथित) ‘क्रान्तिकारी राष्ट्रवादी’हरुको दोहन छ । विगतमा रातो झन्डा बोकेर मिचिएको सीमा क्षेत्रमा जाऊँ भन्नेहरु सरकारमा छन् । अरुलाई विदेशी दलाल भन्नेहरु नै सरकारमा छन् । अहिले तिनको औकात न सीमा मिचिएकोमा देखिन्छ न विदेशी दलाल हुनबाट जोगिएको नै पाइन्छन् । 

यहाँका राष्ट्रपतिले सम्पूर्ण नैतिकता दाउमा राखेर ‘आफ्नो दलको’ सरकार टिकाउन शीतलनिवासलाई दुरुपयोग गरे पनि मित्र चीन यस्ता कृत्यबाट जोगियोस्, सबै नेपालीको मित्र बनोस् । झन्डै तीन साता चीन घुम्दा देखेको भव्यता, स्वागत र सुखद अनुभूति अन्त कतै लेख्नु पर्ला । सदाशय छ चीनले नेपाली भाव र भाषा बुझोस् । भावनात्मक सौहार्द नबिग्रियोस्, नबिगारियोस् । 
 

प्रतिकृया दिनुहोस
ad