site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीले ‘पाता कसिदिन्छु’ भनेको रतुवा खोलामा अझै भाटे पुलकै भर ! (तस्बिरसहित)

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापा हो । ओलीको गृहनगर भएरै बग्छ रतुवा खोला पनि । मास्तिर चुरे क्षेत्रबाट समथर फाँटमा झर्ने क्रममा रतुवा खुब उर्लन्छ । यो खोलामा बाँध बाँध्‍ने र बाढी नियन्त्रण गर्ने विषयलाई लिएर हिजोआज पनि झापामा प्रधानमन्त्री ओलीले गरेको एउटा भाषणको चर्चा हुने गर्छ । यसलाई उखान टुक्काकै शैलीमा जनताले टिप्पणी गर्ने गर्छन् ।

बर्सेनि रतुवाको बाढीले झापा र मोरङमा धेरै धनजनको क्षति हुने गर्छ । खेत कटान गर्छ । बाली बगाउँछ । यही मेसोमा प्रतिनिधिसभा चुनावताका ओलीले “अब म जितेर गएपछि रतुवाको पाता कसिदिन्छु” भन्दै चुनावीसभामा भाषण गरेका थिए । खासमा बाँध बाँधेर बाढीको समस्या समाधान गर्ने मनसायले यसरी भाषण गरे पनि चुनाव जितेर गएका ओली निर्वाचन क्षेत्र फर्किएनन् । विकासमा ध्यान दिएनन् । अर्को चुनावमा जनताले ओलीलाई हराइदिए । उनको साटो तत्कालीन माओवादीका उमेदवारलाई जनताले चुनावी मत दिए । अहिले पनि जनताले टिप्पणी गर्दै भन्ने गर्छन् ‘प्रधानमन्त्री ओलीले पाता कसिदिन्छु भनेको रतुवाले हाम्रै पो पाता कसिरहेको छ ।’

ओली फेरि दमक क्षेत्रबाट चुनाव जितेर गए । अहिले प्रधानमन्त्री बनेका छन् तर उनको गृहजिल्ला र गृहनगरनजिकैको एक पालिकालाई प्रदेश राजधानी विराटनगरसँग जोड्ने हुलाकी मार्गमा रतुवा खोलाको बिजोगले भने गिज्याइरहेको छ । “रतुवा खोलाको पाता अझै कसिएको” छैन बरु सर्वसाधारण पक्की पुल मुन्तिर बाँसको पुल बनाएर जोखिमपूर्ण तरिकाले आउजाउन गर्न बाध्य छन् । लड्दैपड्दै र शुल्क बुझाएर गौरीगन्जबाट रतुवाईमाईतर्फ आउनु सर्वसाधारणको नियतिजस्तै बनेको छ ।
 
सरकारकै पहलमा पक्की पुल त बन्यो तर यसको प्रयोग हुन सकेन । बाँसको भाटे पुलबाट शुल्क तिरेर दैनिक सयौं मानिस आउजाउ गर्नुपर्छ । दुवै पालिकाका स्थानीयले आ-आफ्नो तिरबाट बाँसको पुल बनाएका छन् । जताबाट आउने हो उसैको पुल प्रयोग गर्नुपर्छ ।

पक्की पुलबाट आवत-जावत नहुँदा सर्वसाधारणले मोटरसाइकलको ३० रुपैयाँ, साइकलको २० रुपैयाँ र पैदल यात्री गर्ने भए १० रुपैयाँ शुल्क बुझाउनुपर्छ । स्थानीय कैलाश श्रेष्ठले पक्की पुल खोलाको बीच भागमा परेकाले बाँसको पुल नै प्रयोगमा आएको सुनाए । ढुंगा र जाली बाँधेर पुलका दुवै छेउमा बाटो बनाउनुपर्ने भए पनि यो नबन्दा सर्वसाधारण बाँसकै पुल प्रयोग गर्न बाध्य छन् । बर्खामा बाढीले पुलछेउका बाटो बगाउने गरेकाले पुल सञ्चालनमा नआएको स्थानीय बताउँछन् । 

९ पिलरहितको पुल निर्माण गर्न सरकारले १० करोड ४१ लाख ९४ हजार रुपैयाँ खर्च गरेको थियो । पुलको लम्बाइ २०५ मिटर छ । दुईतर्फी यातायात सञ्चालन गर्न सकिने भए पनि पुल प्रयोगमा छैन । बर्खामा पानीको सतह बढ्दा स्थानीयले डुंगा प्रयोग गरेर आउजाउ गर्थे । हुलाकी राजमार्गमा पर्ने यो पुल २०६५ साउन १ गतेदेखि औपचारिक शिलान्यास भई निर्माण सुरु भएको थियो । झन्डै ५ वर्षपछि २०७२ जेठमा पुल निर्माण भएको थियो ।

क्याप्सन :
रतुवा खोलामा पक्की पुलमुनि बनाइएको बाँसको पुलबाट आउजाउ गर्दै सर्वसाधारण । तस्बिर सौजन्य : रवीन्द्र बराल
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०७७  ०६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro