नेपाल कृषि प्रधान देश हो । नेपालको सरदर दुईतिहाइ जनसंख्या कृषिमा आश्रित छन् । कृषि प्रधान देश भए पनि नेपाल कृषिजन्य वस्तुमा आत्मनिर्भर हुन सकेको छैन । हाल विश्वभर फैलिरहेको नोबेल कोरोनाभाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले कोभिड—१९ नाम दिएको छ र यसलाई विश्वव्यापी महामारी घोषणा गरेको छ । उक्त भाइरसको वैज्ञानिक नाम सार्स—कोभ — २ हो । यसको सुरु मध्यचीनको हुवै प्रान्तको वुहान सहरमा सन् २०१९ को डिसेम्बरमा भएको थियो ।
कोभिड—१९ श्वासप्रश्वासको माध्यमबाट भाइरस सर्ने रोग हो । यो संक्रमित व्यक्तिले खोक्दा वा हाच्छिउँ गर्दा नाक वा मुखबाट निस्कने छिटाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ । विश्वको अधिकांश देशमा र नेपालमा पनि महामारीले गर्दा मानिसहरू अत्यावश्यक काम सीमित भएका छन् । नेपालमा संक्रमितको संख्या बढिरहेको हुँदा लकडाउन गरी सवारी साधनको आवागमन रोक्दा कृषि फार्मको अर्थतन्त्रलाई पनि ठूलो चोट लागेको छ ।
कृषि क्षेत्रको उत्पादन बढाउन गुणस्तरयुक्त बीउ आवश्यक हुन्छ । गुणस्तरयुक्त बीउ बालीको वंशानुगत जातीय शुद्धता, भौतिक शुद्धता, उपयुक्त चिस्यान, राम्रो उमार शक्ति, रोग कीरा मुक्त स्वास्थ्य, समान आकार प्रकार, चमकपन आदि गुणहरू तोकिएको मापदण्डअनुसार कायम भएको हुनुपर्छ । महामारी पूर्व पनि नेपालको कृषि क्षेत्र खराब अवस्थामा नै थियो । तर, कोभिड—१९ को प्रकोपका कारण गत वर्षको तुलनामा यो वर्ष अझ कमजोर देखिन्छ ।
कोभिड—१९ को कारण प्रभावित हुनेमा नेपालको कृषि क्षेत्रको प्रथम महत्त्वपूर्ण पक्ष बीउ हो । यसमा देहायबमोजिम असर परेको पाइन्छ —
१. स्वदेशमा उत्पादन नभएको ठिमाहा (हाइब्रिड) जातका बीउ विदेशबाट राम्रोसँग आयात नभएको परिणामस्वरूप खाद्यान्न असुरक्षा निम्त्याउने डर भएको ।
२. हाइब्रिड बाहेकका अन्य उन्नत जातका बीउहरू पनि नियमित उपलब्ध हुन नसकेको ।
३. पर्याप्त बीउको आपूर्तिको अभावमा कृषकले चाहेबमोजिमको बीउ रोपी सोचेजति उत्पादन गर्न नसकेको र बढी मूल्य तिरेर बीउ किन्नुपरेको ।
४. स्थानीय स्तरमा परम्परागत बीउको कमी, यातायात र मानिसको आवतजावतको कमीले एक स्थानबाट अर्को स्थानमा ओसारपसार हुन नपाएको ।
५. बीउबिजन विक्री गर्ने पसलहरु र एग्रोभेटहरु बन्द हुने गरेका र ती एग्रोभेटले पनि आवश्यक मात्रामा बीउको कारोबार गर्न नसकेको ।
६. खेतबारीको खनजोतमा आधुनिकीकरण भएको हुँदा बन्दाबन्दी (लककडाउन)ले गर्दा ट्रयाक्टर मार्फत खेतबारी जोतेर गरिने कृषिमा ट्रयाक्टरको अभाव हुन गएको ।
७. धेरै जना जम्मा भएर खेती गर्न कोभिड—१९को डरले नमिलेको कारणले मजदुरहरूको कमी हुन गएको ।
८. अन्य थप समस्या : राज्यको कमजोर नीति, उत्पादित कृषि सामग्रीको बजारीकरणको अभाव, परम्परागत कृषि प्रणाली, सिँचाइको अभाव, खेती लगाउने बेलामा मल, विषादी आदिको हाहाकार हुनु, उत्पादनपछि कृषि उपजहरुको बजार पनि सहज नहुनु आदि कृषिमा देखिएका मुख्य समस्या हुन् ।
माथिका समस्याको न्यून गर्न यस्ता उपाय अपनाउन सकिन्छ :
१. बालीमा उन्नत जातहरुको गुणस्तरीय बीउको विकास र बजारीकरणमा सरकारबाट अनुकूल वातावरण सृजना गरिनुपर्ने ।
२. बीउ उत्पादनको लागि गरिने खेतीको अनिवार्यरूपमा बिमा गरिनुपर्ने ।
३. कोभिड—१९ अनुकूल वातावरण सृजना गरी हरेक कार्यक्रम तथा क्रियाकलापहरू सुचारुरूपमा सञ्चालन गरिनुपर्ने ।
४. विदेशबाट कोरोना भाइरसको कारण स्वदेश आएका युवालाई कृषि क्षेत्रमा उन्मुख गराउन तालिम र प्रोत्साहन गर्ने ।
५. बीउ उत्पादक, संरक्षण र उचित भण्डारण गर्ने कृषकका लागि सरकारबाट आवश्यक अनुदानसहित प्रोत्साहन गर्ने ।
६. अन्तर्राष्ट्रिय कम्पनीहरुको सहकार्यमा वृद्धि गर्ने र नेपालमै आवश्यक बीउको उत्पादनमा पहल गर्ने ।
७. नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) द्वारा कृषि जैविक विविधताको संरक्षण र दिगो उपयोगबाट स्थानीय बीउको सुरक्षा र प्रवद्र्धन गर्ने ।
८. कृषक र एग्रोभेटहरूको गुणस्तरीय बीउ र बीउजन्य सामग्रीमा पर्याप्त मात्रामा पहँुच बढाउन अरू संस्था र सरकारले पनि सहयोग गर्नुपर्ने ।
९. कृषि प्रसार प्रणाली प्रवर्धन गरी सरकारबाट प्रदान गरिने सेवाको फाइदा हरेक कृषकले उठाउन सक्ने गरी सो क्षेत्रलाई सुगठन गरिनुपर्ने र सरकारद्वारा बीउको उचित मूल्य तोकिनुपर्ने ।
अन्ततः कोरोना भाइरसको संक्रमणको समयलाई पनि सही सदुपयोग गरी बीउ र अन्य कृषि क्षेत्रको विकास र विस्तारलाई मुख्य विषयको रुपमा लिएमा सम्बन्धित सबै निकायले आवश्यक कदम चालेमा देशलाई खाद्य उत्पादनमा आत्मनिर्भर बनाउन सकिन्छ ।