site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
सिर्जनाको बास्ना पाउनै सकिनँ !
Sarbottam CementSarbottam Cement

(कवि डा. विष्णुविभु घिमिरेको नाम आफैंमा पूर्ण परिचय हो । नेपाली साहित्यमा लामो समयदेखि क्रियाशील घिमिरे कुनै समय लोकप्रिय साहित्यिक मासिक पत्रिका ‘गरिमा’ का सम्पादक थिए । साझा प्रकाशनको अध्यक्षसमेत भइसकेका नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति घिमिरेसँग नेपाली साहित्य र उनको साहित्यकर्मलाई लिएर लामो कुराकानी भयो । प्रस्तुत छ, डा. घिमिरेसँग बाह्रखरीका राजेश खनालले गरेको कुराकानीको सार ।)

पछिल्लो समयमा तपाईंको दिनचर्या कस्तो चलिरहेको छ ? केही अघिसम्म प्रज्ञा प्रतिष्ठानको उपकुलपतिको जिम्मेवारीमा हुनुहुन्थ्यो । त्यहीअनुसारको कार्यबोझ थियो होला । तर अहिले पदबाहिर हुनुहुन्छ । 
पदमा रहँदा नै पदबाट बाहिरिएपछि केही कामहरू गर्छु भन्ने थियो । केही कामलाई पूर्णता दिन्छु भन्ने सोचेको थिएँ । खासमा, नेपाली भाषा साहित्यका क्षेत्रमा नयाँ जागरणको आवश्यकता महसुस गर्दै, नयाँ जागरण के–के हुनसक्छ ? भन्ने विषयमा विचार गर्दै कामको खाका कोर्दै थिएँ । मुलुकमा लोकतन्त्र आइसकेपछि नयाँ जागरण के–के हुनसक्छ भन्ने विषयमा मूलतः सोचिएको हो । सबै विचारका मानिसहरूबाट यी सबै कुरालाई समेटेर तिनका विचार बुझौं । उक्त काममा साथीहरूको पनि सहयोग पनि लिउँ । गरिएको कामले सबैलाई हौसला पनि मिलोस् भन्ने अवधारणाका साथ उक्त विषयमा म प्रवेश गरिसकेको पनि थिएँ । 

तर अहिलेको अवस्था के–हो भने, लोकतन्त्र त हामीकहाँ आयो तर लोकतन्त्रलाई धान्ने मन भने हामीसँग भएन ! यतिबेला समानता त सबैमा आएको देखियो, तर समानता मान्ने मन भने बनिसकेको छैन ! सबैभन्दा ठूलो कुरा त मनको परिवर्तन नै हो नि । तथापि साहित्यमा त्यसलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा सोचेरै म लाग्दै थिएँ । केही काम थालेको पनि थिएँ । 

Prabhu Bank
Agni Group
NIC Asia

यसका अतिरिक्त लामो समयदेखि मैले अध्ययनमा समय दिन सकिरहेको थिइनँ । किताबहरू थन्किएका थिए । अरूतिरको काममा बाँडिदा–बाँडिदा आफ्ना लागि समय मिलिरहेकै थिएन । त्यसैले केही किताबहरू पढ्छु भनेर छुट्याएको थिएँ । 

तर पछिल्ला केही महिनादेखि कोरोना भाइरसको कहरले निम्त्याएको असहज परिस्थितिले सबैलाई आक्रान्त तुल्यायो । लकडाउनले केही समय खलबलियो । त्यसैले केही काम थाती रहे । तर पनि अहिलेको मेरो दिनचर्या भनेको पढ्ने र आफूले चाहेको कामलाई पूर्णता कसरी दिने भन्ने नै हो । त्यसैमा मेरो समय बितिरहेको छ ।

Global Ime bank

संस्थागत रूपमा जिम्मेवारी लिँदा अनेक काम गर्ने कार्ययोजना बनाएर बसिएको हुन्छ । तर यदाकदा समयमै ती सबै काम पूर्णता दिन सकिँदैन । जब उक्त संस्थामा नयाँ नेतृत्व आउँछ, त्यो नेतृत्वले पुरानाले बाँकी राखेका कामलाई पूर्णता दिँदै आएको देखिएको छ कि छैन ?
वास्तवमा यो पुस्तागत हस्तान्तरण हो । हामीलाई अघिल्लो पुस्ताले के दिएका छन्, हामीले काम त्यहीँबाट सुरु गर्नु पर्छ । उनीहरूले थालेका राम्रा कामलाई हामीले पूरा गर्नेगरी अघि बढाउनुपर्छ । तर पछिल्लो समय के भइदियो भने राजनीतीकरण बढी भइदियो । त्यसले गर्दा आफ्नो विचार जोडिने काम नै गर्न मनलाग्ने भयो मानिसलाई । आफ्नो विचारभित्र सबैलाई अटाउन खोज्ने वा आफ्नै विचारले सबैलाई झुकाउन खोज्ने, आफ्नै विचारभित्र मात्रै म सुरक्षित छु भन्ने मानसिकता राखेर हिँड्ने, यस किसिमको व्यवहारले गर्दा नै अप्ठ्यारो भइरहेको हो भन्ने मलाई लाग्छ । 

यहाँ साझा प्रकाशनको कुरा जोड्न चाहन्छु । साझा प्रकाशन एउटा बृहत् संस्था भएको सबैलाई थाहा छ । जहाँ दुई हजारभन्दा बढीको संख्यामा लेखक कवि सेयर सदस्य हुनुहुन्छ । त्यो संस्थामा नेपालका सबै विचारका लेखक कविको उपस्थिति छ । त्यहाँ सबै अटेका छन् । तर त्यहाँ पनि राजनीतीकरण गरिदिएर सबै खत्तम गरिएको छ ! सरकारले एक पैसा लगानी नगरीकन नेपाली भाषा, साहित्यका कृतिहरूको बिक्री भइरहेको थियो, साझा प्रकाशनबाट । तर राजनीतीकरणले सबै ध्वस्त गरिदियो । 

मलाई लाग्छ यो खालको संस्था दक्षिण एसियामै छैन । यो नमुना संस्था थियो । तर यसलाई हामीले बचाउन सकेनौं ! आज साझा प्रकाशन अस्तव्यस्त छ । सबैभन्दा दुःखलाग्दो कुरा के छ भने त्यहाँबाट भानुभक्तदेखि अहिलेका नयाँ लेखकहरूका कृति पनि प्रकाशित भएका छन् । अनगिन्ती किताब छन् । ती किताबहरूको संरक्षण अब कसले गर्ने ? कोर्समा रहेका कृति त अरूले पनि प्रकाशन गर्लान् तर बाँकी किताब त गर्दैनन् । यसले नेपाली साहित्यलाई ठूलो घाटा त पुर्याएकै छ ।

साहित्य, कला र संस्कृति भनेको आममानिसको साझा विचार हो । यसमा राजनीतीकरण नगरिदिएदेखि त्यसको विकास र विस्तार भएर जाने थियो । हेर्नुस् पुराना पुस्ताले गरेको राम्रो कामलाई हामी सबैले पछ्याउनै पर्छ । पछ्याउन नदिने भनेको आफ्नो विचार लाद्नेले मात्रै हो । 

पुराना नेतृत्वकर्तालाई बोलाएर, तपाईंले गर्न खोजेको काम हामीले निरन्तरता दिँदै छौं– भनेर बोलाउने र सल्लाह–सुझाव लिने गर्छन् कि गर्दैनन् ? 
म आफू भएको समयमा पुराना गरिएका कामहरूको अध्ययन भएको छ । त्यसलाई निरन्तरता पनि दिइएको हो । हामीले त्यस्ता काम अगाडि बढाएका पनि हौँ । मेरो पहिलो उद्देश्य पनि थियो कि हामीले आफूभन्दा अग्रजले थालेको कामलाई अगाडि बढाउनुपर्छ भन्ने । धेरै विद्वान् व्यक्तिको साथ लिएर हामीले काम थालेका पनि हौँ । 

हाम्रो कार्यअवधिभर त्यस्ता काम अगाडि बढेका थिए । त्यति मात्रै होइन, शब्दकोशका कुराहरू पनि आयो । एकेडेमीमा केही समस्याका कुरा पनि थिए । त्यसको पनि समाधान गरिएको नै हो । हेर्नुस्, हामी एकेडेमीमा जाँदा स्रोत व्यक्तिका रूपमा भित्रिएका थियौँ । हामीले त विभिन्न विद्वान्हरूबाट काम पनि लियाैं । 

देश त विभिन्न विचार बोकेका मानिसको हो । विभिन्न विचारको देश भएकाले हामीले ती सबै विचारको सम्मान त गर्नुपर्छ नै । त्यत्रो राजनीतिक आन्दोलन भयो । विभिन्न विचारको समान कदर होस् भनेरै त्यो आन्दोलन भएको थियो । एउटै विचार मान्नुपर्ने थियो भने त पञ्चायत पनि त ठीकै थियो होला नि ! जब विभिन्न विचारबाट सञ्चालन हुने शासनप्रणाली आयो भने आफ्नै मात्र विचार लाद्ने कुरा कसलाई सह्य हुन्छ र ! तसर्थ साहित्य, कला, संस्कृतिमा पनि त्यही दृष्टिकोणले हेरिनुपर्छ भन्ने मलाई लाग्छ ।

अहिलेको साहित्यलाई कसरी हेरिरहनुभएको छ ? अहिले साहित्य छ वा साहित्यका नाममा अरू केही ?
अहिलेको अवस्थामा केही नयाँ, समयअनुसारको विचार अभिव्यक्तिहरू साहित्यमा आइरहेको छ । तर त्यसले निश्चित गन्तव्य समाइसकेको भने देखिँदैन । पुरानाबाट नयाँमा आउँदा साहित्यमा केही समय लाग्छ । साहित्य, कला र संस्कृतिमा परिवर्तन हुन समय लाग्छ । राजनीतिमा जस्तो होइन तत्कालै परिवर्तन हुने । 

पछिल्लो समयमा लकडाउन भयो । निषेधाज्ञा भयो । तर साहित्य लेखन रोकिएन । साहित्य लेख्नेहरूले विभिन्न माध्यमबाट आफ्नो विचार र साहित्य सम्प्रेषित गरी रहे । गतिविधि भइरह्यो । भर्चुअल रूपमा भए पनि साहित्यकारहरूले गतिविधि अगाडि बढाइ रहे । त्यसको प्रशंसा गरिनुपर्छ । तर कुरा के छ भने युगिन साहित्य, कालजयी साहित्यका लागि भने वातावरण बन्दैछ । यद्यपि त्यो वातावरण अहिले आइसकेको छैन । 

अहिलेको नेपाली साहित्यमा माटो र जीवन भेटिँदैन भनिन्छ नि ?
हाम्रो समय र अहिलेको समयमा फरक छ । हाम्रो समयमा कुनै कविता वा लेख लेख्यो भने त्यो पत्रिकाको सम्पादकको हातसम्म पुग्थ्यो । अनि सम्पादकले पढेर त्यो राम्रो–नराम्रो भएको टिप्पणी गर्थे । सुधार्नुपर्ने भए सुधार्न भन्थे । हामीलाई सुझाव दिन्थे । राम्रो भए राम्रो छ, छाप्छौँ भन्थे । त्यसबेला हामीले पनि माझिने मौका पाउँथ्यौँ । 

अर्को कुरा, त्यसबेला साधारण कुराले साहित्यलाई प्रभाव पार्न सक्दैनथ्यो । कारण त्यतिखेर प्रचार–प्रसारको माध्यम पनि कम थियो । अहिले त हातहातमै छ प्रकाशन । लेख्यो र फेसबुकमा पोस्ट गरिदियो । हजार लाइक र कमेन्ट आउँछ त्यसपछि । अनि लेखक÷कविले के सोच्छन् भने मलाई यतिले मानेका छन्, म यति लोकप्रिय भइसकेँ ! 

यस दृष्टिकोणबाट हेर्दा अनुभूत हुन्छ, अहिलेका साहित्यकारहरूको अभिभावक छैनन् । यो अप्ठ्यारो परिस्थिति हो । किनभने अहिले साहित्यमा धेरैभन्दा धेरै मानिसको उपस्थिति छ । ती सबै हतारमा छन् । लेखनको हतार अनि प्रकाशनको हतार !

यो हतारले त समग्र साहित्यलाई असर गर्छ होला ?
यतिबेला हामी कताकता अलमलिरहेको अवस्था छ । अहिले जुन साहित्य भनिएको छ, त्यो अलमलिएको साहित्य हो । हामीलाई ३० को दशकका कवि–साहित्यकार भनियो । हामीले गद्य कवितामा आफूहरूलाई अगाडि बढायौँ । त्यसअघि रिमाल थिए, भूपि थिए, हरिभक्त थिए । मोहन कोइराला, बैरागी काइँला, ईश्वर बल्लभहरूले लेखिरहेका थिए । त्यसपछि कृष्णभक्त, द्वारिका श्रेष्ठ, मदन रेग्मीहरू लेखनमा सक्रिय थिए । 

हामी केही कवि नयाँ धार समाएर आयौँ । जो ३० को दशकका कविका रूपमा गनिए । त्यो समूहले अहिले पनि लेखिरहेको छ । त्यो समूह लामो समय क्रियाशील रह्यो । त्यसपछि अर्को समूह आयो । 

फेरि भनौँ, नयाँपुस्ताका लागि सबैभन्दा गाह्रो कुरा तिनका अभिभावक छैनन् ! हामीले जसलाई कालजयी साहित्य भन्दै आएका छौँ त्यो साहित्य आज जन्मिन सकिरहेको अवस्था छैन । अचेल त खाली प्रचारमा सबै लागेका छन् । केही समय राम्रो लाग्ने तर त्यसलाई पढेर अर्थबोध गर्दा खासै केही नदेखिने । अहिलेको साहित्य त्यस्तै देखिएको छ ।

कवितामा पनि त्यस्तै छ । सामान्य विषयलाई लेख्ने अनि फोटो राखेर अहिलेको सञ्चारमाध्यममा राखिदिने । अचेलका लेखकमा अहंकार पनि छ । मलाई के लाग्छ भने लेखकमा अहम् (गर्व) हुनुपर्छ तर अहंकार हुनुहुँदैन । 

साहित्यकारले आजभन्दा दुई हजार वर्षअगाडि लेखिएका साहित्यहरू पनि पढ्नुपर्छ । हामीले कतिको गतिलो लेख्यौं भन्ने सोच्नुपर्छ । अर्थात् आफूलेभन्दा अगाडि लेखिएका साहित्यको अध्ययन हरेक लेखकले गर्नुपर्छ । त्यसो भए मात्रै लेखन राम्रो हुन्छ । तर त्यस्तो अवस्था अहिले देखिँदैन ।
 
पछिल्लो ६ महिनामा तपार्इंको कलम कत्तिको सक्रिय रह्यो ?
म धेरै कम कविता लेख्छु । म वर्षको चार–पाँचवटा कविता लेख्ने मानिस हुँ । मलाई आफ्नै कविता पनि कहिलेकाहीँ चित्त बुझ्दैन । त्यसैले पनि कम लेख्छु । 

मेरो लेखाइमा कुनै अहंकार छैन । मेले यसबीचमा केही कविता लेखेँ । नलेखेको होइन । पछिल्लो समय म जीवनवादी कविताहरू लेखिरहेको छु । जीवनको गहिराइसम्म पुगेर लेख्ने कविता, जगतलाई हेरेर लेख्ने कविताहरूमा अहिले केन्द्रित छु, म । कवितामा दर्शन दिने प्रयासमा छु ।

युवापुस्ताका कविताहरू पनि त पढिरहनुभएको होला ?
पढिरहेको छु । उनीहरू भाषा प्रस्तुतिमा केही नवीनता दिने कोसिसमा छन् । नयाँनयाँ प्रयोग पनि गरिरहेका छन् । तर, केही कुरा हामीलेभन्दा अप्ठ्यारो हुनसक्छ । एउटा कवि स्थापित हुनलाई कम्तीमा पनि १० देखि १५ वर्ष लाग्छ ।

समाजले मान्यता दिनुपर्छ, एउटा कविलाई । समाजका मानिसको मनमा बस्न सक्नुपर्छ एउटा कवि । त्यसपछि मात्रै कवि स्थापित हुन्छ । 

अहिलेका लेखक कविमा अध्ययन त्यति देखिँदैन । त्यसमाथि समालोचकहरू खासै देखिँदैनन् । समालोचकले एउटा लेखकलाई मार्गनिर्देश गर्थे पहिले । तिनले कथा, कविता, निबन्धको मूल्याङ्कन गर्थे । तर आज सिर्जनाको मूल्याङ्कन गर्ने समालोचकको नै पनि अभाव छ, हामी कहाँ !
 
अहिले त समालोचक पनि फेसबुक नै भएको देखिँदैन र ?
ठीक भन्नुभयो । अहिले त आफैं लेखक, आफैं प्रकाशक र आफैं समालोचक भएको अवस्था छ । वास्तवमा अहिले लेखक आत्मरतिमा रमाएर बसिरहेका छन् । म त्यस्तै देख्छु । यसले सिर्जनामा त असर पर्छ नै ।

एउटा प्रसंग उठाउँ, अहिले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज  (अनेसास) भन्ने संस्था विश्वव्यापी रूपमा स्थापित छ । यसको व्यापकताको प्रशंसा गर्नुुपर्छ नै । यो संगठन त छ तर सिर्जना छैन ! सिर्जना त चाहिन्छ नि । त्यहाँबाट प्रकाशित हुने पुस्तक यति राम्रो कागजमा छापिएको हुन्छ, भनेरै साध्य छैन । हामीले त त्यस्तो कागजमा कहिले छाप्नै सकेनौँ । हेर्दै लोभ लाग्छ । पल्टायो, कागजको मगमग बास्ना आउँछ । तर सिर्जना पढ्दा त्यसमा प्रस्तुत सिर्जनाको बास्ना मलाई अलिकति पनि आएन । ती किताबमा सिर्जनाको बास्ना मैले पाउनै सकिनँ । यो उमेरमा आएर मैले ढाँट्न हुँदैन । साँचो भन्नुपर्छ । सत्य त्यही पनि हो, सिर्जनामा बास्ना छैन ।

एकेडेमीमा कार्यरत छँदा केही काम गर्न सकिनँ भन्ने लाग्यो कि लागेन ?
मैले गर्न नसकेका केही काम पक्कै छन् । मैले विनय रावलको सिर्जना र उसको योगदानका विषयमा केही गर्न सकिनँ । शिव अधिकारीको सिर्जना र तिनको योगदानका विषयलाई लिएर पनि केही गर्न सकिनँ । त्यति मात्रै होइन, मैले धेरै विषयमा काम गर्न खोजेर पनि सकिनँ । जस्तो, जनकलाल शर्मालाई अहिले कसले सम्झिरहेका छन् ? जबकि तिनको साहित्य लेखनको चर्चा गरेरै सकिन्नँ । कृष्णचन्द्रसिंह प्रधानलाई कसले सम्झिएको छ र यतिबेला ? मोहन कोइरालालाई कसले सम्झिरहेको छ ? गोविन्दबहादुर मल्ल गोठाले वा विजय मल्लका कुरा गरौँ, कसलाई सम्झिरहेका छन् अहिले कसैले ?

अहिले केहीलाई सम्झिन्छन् होला । बाँकी रहेकालाई सम्झिने अवस्थै रहेन । नयाँ पुस्ताले पनि तिनका सिर्जना वा पुस्तक पल्टाएर हेर्ने आवश्यकता ठानेका छैनन् । नयाँहरू त सीधै अंग्रेजी साहित्यबाट आएका छन् । अंगे्रजी साहित्यबाट केही कुरा नेपाली साहित्यमा ल्याएका छन् तिनले । तर यहाँको जमिन छोएकै छैनन् । यहाँको जनजीवन छोएकै छैनन् । हाम्रो स्वभाव हुनुपर्छ हाम्रो साहित्यमा । हाम्रो स्वभाव त आएकै छैन, आजको साहित्यमा । 

तपाईंले विचार गर्नुभएको छ, रवीन्द्रनाथ टैगोरले जेजति लेखे बंगाली भाषामै लेखे । बंगालका केही गाउँ र केही सहर लेखे । उनले हिन्दीमा लेखेनन् । बंगाली संस्कृति लेखे । तर उनी त्यसैबाट विश्वप्रसिद्ध भए । 

अर्थात्, हरेक लेखकले आफ्नोपन लेख्नुपर्‍यो । आफ्नो माटो लेख्नुपर्यो । तर त्यही हामीले बिर्सियौँ । हामीले त प्रयोगका लागि प्रयोग गर्दै सीधै अंग्रेजी साहित्यलाई नेपालीमा ल्यायौँ । यसले हाम्रो जनजीवन, हाम्रो माटो, हाम्रो संस्कृति र कला केही पनि साहित्यमा आउँदैन ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १०, २०७७  ०८:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC