site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank

घुस खाएको आरोप लगाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा ४२ दिन हिरासतमा राखिएका रामहरि सुवेदीले घरौटीमा रिहा भएपछि आत्महत्या गरे । सुवेदीले आत्महत्या गरेको वर्ष दिन भएछ । अख्तियारले लगाएको अभियोग भने न्यायालयमा स्वतन्त्ररूपमा पुष्टि हुन सकेन । विशेष अदालतले सुवेदीलाई घुस खाएको आरोपबाट उन्मुक्ति दियो । सुवेदी कलंकी मालपोत कार्यालयमा खरिदार पदमा कार्यरत थिए । उनलाई एक हजार रुपियाँ दिँदैगरेको अवस्थामा पक्राउ गरेको दाबी अख्तियारले गरेको थियो । सुवेदीले आफूमाथि लागेको अरोप अदालतमा इन्कार गरेका थिए । अन्ततः, अख्तियारको दाबी झुटो ठहरियो । तर, रामहरि सुवेदीको ज्यान त त्यही झुटो दाबीले लियो । अख्तियारको बदनियतपूर्ण कार्यबाट आफ्नो स्वाभिमानमा चोट परेकै कारण रामहरि सुवेदीले ज्यान दिएका हुन् । निर्दोष नभएको भए सायद उनले यसरी ज्यान दिने पनि थिएनन् । 

सुवेदीलाई पक्रन अख्तियारले अपनाएको शैली नै बदनियतपूर्ण थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो संवैधानिक निकायले कथित ‘स्टिङ अपरेसन’ चलाउँदा नै ठूला भ्रष्टाचारीहरू उम्काउन जनताको ध्यान अन्यत्र तान्ने प्रयास भएको अनुभव धेरैले गरेका थिए । जाँदाजाँदै त्यति बेलाका प्रमुख आयुक्तले तामेलीमा राखेका र उन्मुक्ति दिएका मुद्दाहरूले जनताको अनुमान सही सिद्ध भएको छ । रामहरि सुवेदीको नाटकीय पक्राउ, ४२ दिन हिरासतमा राखेर गरिएको प्रताडना, आत्महत्या र विशेष अदालतले निर्दोष ठहर गरेको फैसलासमेत हेर्दा अख्तियारका पदाधिकारी र पासो थाप्ने कर्मचारीहरूले उनको हत्या गरे भन्नु अन्यथा हुँदैन । अख्तियारका पदाधिकारी वा कर्मचारीमाथि रामहरि सुवेदीको हत्यामा मुद्दा सायद नचलाइएला । परन्तु, तिनीहरूकै कारण उनको ज्यान गएको हुनाले प्राकृतिक न्यायका दृष्टिबाट हेर्दा त ती हत्याका कारक नै देखिन्छन् ।  सुवेदीले त्यही घटनाका कारण न आत्महत्या गरेका हुन् । सुवेदीलाई हिरासतमा ४२ दिन राख्नुको औचित्य पुष्टि हुँदैन । यो उनलाई मानसिक यातना दिने बदनियत नै हो । अख्तियारका पदाधिकारी यसका लागि दोषी देखिन्छन् । 

उत्तेजनामा आएको भिडमा प्रहरीले चलाएको गोली लागेर निर्दोष व्यक्तिको मृत्यु भयो भने राज्यले त्यसको क्षतिपूर्ति दिन्छ । प्रहरीको बल प्रयोग उचित भए नभएको छानबिन गर्छ । अनुचित बल प्रयोग गरिएको देखिए सम्बन्धित कर्मचारीलाई कारबाही पनि गर्छ । यही सिद्धान्त रामहरि सुवेदीको (आत्म) हत्याका सम्बन्धमा पनि लागू हुनुपर्ने हो । अख्तियार जस्ता संवैधानिक निकायमा नियुक्त हुने व्यक्तिहरू आफूले गरेको गलत र बदनियतपूर्ण निर्णयका लागि जिम्मेवार हुन नपर्ने परिपाटीकै कारण रामहरि सुवेदीको ज्यान गएको हो । तिनलाई उत्तरदायी बनाउने परिपाटी पनि थाल्नुपर्छ । साथै, राज्यले सुवेदीको परिवारलाई उचित क्षतिपूर्ति पनि दिनुपर्छ । जति नै बदनियतपूर्ण काम गरे पनि कसैलाई उत्तर दिन नपर्ने हो भने अरू धेरै जना रामहरि सुवेदी बन्न बाध्य हुनेछन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७  १२:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro