मिथिला पेन्टिङ : घरको भित्ताबाटै क्यानभासको यात्रा !

मिथिला पेन्टिङ : घरको भित्ताबाटै क्यानभासको यात्रा !

काठमाडौं । घरको भित्तामा अर्थपूर्ण र सन्देशमूलक चित्रहरू कोरेर ज्ञान दिनुका साथै घरलाई सजाउने परम्पराबाट सुरु भएको मिथिला चित्रकला अहिले घरको भित्ताबाट क्यानभास, कागज तथा कपडामा परिणत हुन थालेका छन् ।

मिथिला समुदायमा विवाह, चाडपर्व, पूजाआजा हुँदा अनिवार्य रुपमा माटोका घरका भित्तामा भगवान, मानिस, फूललगायत आकृतिलाई विभिन्‍न रातो, पहेंलो, सुन्तलाजस्ता उज्यालो विरोधाभासी रंगहरूको प्रयोग गरी प्रतिकात्मक रुपमा चित्रहरू कोर्ने चलन थियो ।

मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको भगवान् रामसँग विवाह हुँदा गाँउका कलाकारहरूलाई दरबारका भित्ताहरू सजाउन लगाएपछि यो मिथिला चित्रकलाको सुरुवात भएको किंवदन्ती पनि छ । यद्यपि समय परिवर्तन भइसकेको छ । पछिल्लो समय पुराना माटोका घरहरू सिमेन्ट तथा कंक्रिटमा परिवर्तन हुन थालेका छन् । जसका कारण मैथिल समुदायका घरहरू विवाह, चाडपर्वमा पहिलेजस्तै रंगिन हुन छाडेका छन् ।

तर भित्तेचित्रको चलन लोप हुने अवस्थामा पुगे पनि भुँइचित्र भने अहिले पनि हरेक मैथिल घरमा चाडपर्वमा अनिवार्य देख्‍न सकिन्छ । तर मैथिल समुदायको यो कलात्मक चित्रकलालाई कलाकारहरूले क्यानभास तथा कपडामा उतारेर जोगाइराखेका छन् ।

“समय परिवर्तित छ । अहिले माटोका घरहरू कम हुँदै छन् । विस्तारै सबैले सिमेन्टका घरहरू बनाउन थालिसकेका छन् । तर सिमेन्टका घरमा पेन्टिङ गर्न सम्भव छैन । त्यसैले भित्तेचित्रको चलन विस्तारै हराउँदै गएको छ । तर खुसीको कुरा यसलाई क्यानभास र कपडामा उतारेर जोगाइएको छ,” मिथिला चित्रकार एससी सुमन बताउँछन् ।

मिथिला चित्रकलाले यसको स्वरुपमा मात्रै परिवर्तन गरेन यसलाई व्यावसायिक तर्फ पनि डोर्‍याउने काम भएको उनको बुझाइ छ । उनका अनुसार यसले विस्तारै मिथिला कलाबारे तेस्रो मुलुकका नागरिकले पनि थाहा पाउन थालेका छन् । क्यानभास, कपडामा कोरिन थालेसँगै यसको माग विदेशी बजारमा हुन थालेको थियो भने विस्तारै यसले नेपाली बजार पनि ओगटिरहेको उनले बताए ।

विगत ३ दशकदेखि मिथिला संस्कृतिलाई पेन्टिङमार्फत जोगाउन र यसको आयाम अझै फराकिलो बनाउन जुटेका सुमन अहिले मिथिला पेन्टिङका ग्राहक नेपालीहरू पनि भएको बताउँछन् । परम्पराका रुपमा रहेको यो कला व्यावसायिक रुपबाट अगाडि बढेसँगै रोजगारीको सिर्जना भएको उनी बताउँछन् । यसले थुप्रै रहरले र परम्परालाई अघि बढाउनुपर्छ भन्‍ने सोचले पेन्टिङ गरिरहेका कलाकारलाई आफ्नै रहरको पेसालाई रोजगारीमा परिर्वतन गर्ने मौका दिएको पनि उनी बताउँछन् ।

कलाकार एससी सुमनका अनुसार सन् १९९० को दशकदेखि नेपालमा मिथिला कलाको व्यावसायिककरण भएको हो ।  घरमा आमा, हजुरआमाले घरका भित्ता रंग्याएको देखेर मिथिला पेन्टिङ गर्न सिकेकी मिथिला चित्रकार पुनमकुमारी दास पनि क्यानभासले मिथिला चित्रकलालाई थप परिस्कृत बनाएको महसुस गर्छिन् ।

“मैले आमाहरूले जस्तै पुरानो माटोको घरको भित्ताबाट कोर्न सिकेकी हुँ । तर पछि आधुनिकीकरणले घर पनि माटोबाट बन्‍न छाडे । यसका साथै विदेशीहरूले घरको भित्तामा कोरेर चित्रलाई उनीहरूको देशमा लैजान कागजमा उतार्न लगाएँ,” करिब ३ दशकदेखि मिथिला चित्रकला कोरिरहेकी दास भन्छिन्, “भित्ताबाट कागजमा र कागजबाट क्यानभास र क्यानभासबाट कपडामा मिथिला पेन्टिङ कोरिन थालियो ।”

उनका अनुसार माध्यम परिवर्नतले कुनै एक समुदायको संस्कृतिका रुपमा मात्रै रहेको लुकेको कला र कलाकारले विश्‍वबजारमा आफ्नो संस्कृति र आफ्नो सीपलाई प्रस्तुत गर्ने मौका पाएको छ । पहिलो घरको भित्ता मात्रै सजाउने महिलाहरूलाई यहि सिर्जना क्यानभासमा उतार्ने मौका मिलेसँगै उनीहरूलाई स्वावलम्बनतिर डोर्‍याएको छ । 

अर्का कलाकार विजयदत्त मणि घरको भित्ताबाट क्यानभास र कपडामा मिथिला चित्रकला फैलिन थालेको पाटोलाई उपलब्धि मान्छन् । यद्यपि यसलाई व्यावसायिक आयामबाट हेर्न थालिएसँगै यसको मौलिकता हराउने हो कि भन्‍ने उनको डर छ । “मिथिला चित्रकला देशसँगै विदेशमा पनि चिनिन थालेको त छ, र यसको कारण भनेको यसलाई (वाल) बाट कागजमा उतार्न थालेकाले नै हो त्यो पनि म मान्छु । तर आधुनिकीकरण र व्यावसायिकता हाबी हुँदै गएसँगै यसको मौलिकता हराउने हो कि भन्‍ने डर पनि कहीं कतै महसुस हुन थालेको छ,” उनी अगाडि थप्छन्, “यसको मौलिकता हरायो भने प्यारोडी बन्‍ने हो कि भन्‍ने चिन्ता लाग्‍न थालेको छ ।”

सानो हुँदा आफ्नै वा छिमेकीको घरमा विवाह, चाडपर्व आउनेबित्तिकै टोलभरका सबै हजुरआमाहरू मिलेर घरबाहिर अनि दुलाहाको कोठाको भित्तामा मिथिला पेन्टिङ कोर्न जाने गर्थे । यही हेरेर हुर्केका उनलाई कुन बेला कला क्षेत्रमा लगाव बढ्यो थाहा भएन । पहिले भित्तामा चित्र कोर्दा त्यो त्यही घर र समुदायका मानिसमा मात्रै सीमित हुन्थ्यो तर अहिले यसलाई जुन देशका कलाप्रेमीले पनि हेर्न मात्रै होइन आफ्नो घर, कार्यालयमा लगेर सजाउन पनि पाएको कलाकार विजय बताउँछन् । 

चित्रकारहरू माध्यम परिवर्तन भएसँगै यसका विषयमा पनि विविधता आएको मान्छन् । पहिले भगवानका आकृति, विवाहमा महिला पुरुषजस्ता विषय मात्रै अटाइन्थ्यो भने अहिले आएर सामाजिक, राजनितिक र समसामयिक विषय पनि मिथिला पेन्टिङमा देखिन थालेको छ ।

 

जस्तै अहिले विश्‍व नै आक्रान्त बनाइरहेको कोरोना महामारीलाई पनि मिथिला चित्रकारहरूले मौलिकता नमेटी यी विषयमा पेन्टिङ गरिरहेका छन् । जसमा चित्रकार सुमनले मास्कमा मिथिला कलालाई कलात्मक रुपमा प्रस्तुत गरेको पेन्टिङ संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले आयोजना गरेको भर्चुअल कला प्रदर्शनीमा प्रदर्शन भएको थियो ।

यस्तै कलाकार विजय दत्तले पनि यो लकडाउनमा यस्तै मास्कमा मिथिला कला समेटेर कोरोनाले जकडेको समाजलाई उतारेका छन् । मिथिला चित्रकला प्रदर्शनभन्दा तिनले दिने सन्देश ठूलो कुरा भएको उनको बुझाइ छ । यो एक जिवन्त र देशको महत्त्वपूर्ण लोककला भए पनि राज्यपक्षबाट भने यसलाई आजसम्म पनि नजरअन्दाज गरेकामा मिथिला चित्रकारहरू  भने निराश छन् । राज्यले पनि मिथिला कलालाई प्राथमिकतामा राखेर सहयोग गर्नुपर्ने उनीहरूको माग छ ।

वर्षा महर्जन

प्रतिकृया दिनुहोस
ad