काठमाडौं । तीन वर्षको उमेर । न आमाको काख, न त बुबाको काँध । टिनको जस्ता भएको घरको पेटीमा रात बिताउनुपर्ने बाध्यता । कैयौं रात त सडक पेटीमा चप्पलको सिरानी राखेर बिते । दबिएका रहर र नदेखिएका सपना । जिन्दगी एक भुइँमान्छे ।
होटेलका जुठा भाँडा माझ्दै, टेबल पुछ्दै, भुइँ बढार्दै जिन्दगीको सुरुवात गरेका राष्ट्रिय ब्याडमिन्टन खेलाडी सुमन लिम्बूको कथा यस्तै छ । रिक्सा र टाँगा चलाउँदै जसले जे भन्यो त्यही गर्ने त्यो बालापनमा के भविष्यको चिन्ता हुनु र के लक्ष्य बोक्नु । उनको साँझ बिहान कसरी दुई छाकको जोहो गर्ने भन्ने नै ठूलो लक्ष्य र गन्तव्य थियो ।
२७ वर्षअघि सुमन धरानमा जन्मिए । तीन वर्षको हुँदा उनका बुबाले धरान बसपार्कमा रहेको भोजपुरे होटेलमा सुमनलाई बेचिदिए । उनका बुबाले होटेलको साहुनीसँग ५० हजार रुपैयाँको कागज बनाउँदै सनाखत गरेर बेचेका थिए । उनलाई बुबाले फर्किएर लिन आउने आशा देखाएका थिए । त्यही आशामा उनले बुबाको पर्खाइमा पाँच वर्ष बिताए, त्यही होटेलका जुठाभाँडा माझेर । आफूलाई पैसाको आवश्यकता परेको र केही बेरमा फर्किने सर्तसहित छोरालाई होटेलमा छोडेर हिँडेका सुमनका बुबा पाँच वर्षसम्म पनि फर्किएनन् । तर, उनको बुबाआमालाई भेट्ने चाहना अहिले पनि उत्तिकै धेरै छ । बुबाको हात टाउकोमा राखेर थमथम्याउन पाइयोस् भन्ने इच्छा अझै छ ।
“मेरो वास्तविक जन्म कहाँ भयो, त्यो पनि थाहा छैन । तर, धरानमा काम गर्दा त्यहीं भएको भन्ने सुनेको मैले,” राष्ट्रिय ब्याडमिन्टन खेलाडी सुमनले भने, “म तीन वर्षको हुँदा बुबाले धरान बसपार्कको भोजपुरे होटेलमा बेच्नुभएको थियो रे । साहुनीसँग ५० हजारको कागज बनाएर मलाई पछि लिन आउँछु भनेर छाडेर जानुभएको थियो रे ।”
उनले थपे, “बुबाले मलाई त्यो होटेलमा छाडेपछि बूढी आमालाई सघाउँदै म कहिले जुठोभाँडा माझ्थें भने कहिले टेबल सफा गर्थें, भुइँ बढार्थें । तर, एक महिना बित्यो, दुई महिना भयो, वर्षौं बित्यो बुबाआमा आउनु भएन ।”
त्यसपछि बुबाआमा नआएपछि उनी त्यो होटेल छाड्दै बस स्टेसनतिर काम गर्न थाले । त्यहाँ भारी बोके । रिक्सा चलाए । टाँगा कुदाए । केही वर्ष यसरी बिताए । तर, बुबाआमा अझै आएनन् । तर पनि उनका आँखा अझै थाकेका छैनन्, बुबाको पर्खाइमा ।
२४ वर्षदेखि बुबाआमा भेट्ने हुटहुटी
२७ वर्षीय सुमन २४ वर्ष लामो बुबाआमा भेट्ने रहर र भेटपछि बुबाआमासँग धेरै कुरा गर्न साँचेर राखेका छन् । धेरै प्रश्न छन् । जुन प्रश्नले सुमनलाई कहिले निराश बनाउँछ त कहिल उद्वेलित गर्छ ।
“अझै पनि बुबाआमालाई भेट्न रहर मरेको छैन् । मलाई लाग्छ एक न एकपटक अवश्य भेट्छु । छोरा भनेर एक न एक दिन अवश्य आउनुहुनेछ,” उनले भने, “मलाई बुबाआमाको अनुहार पनि त्यति याद छैन । आमाचाहिँ बाहिर काम गर्न जान्छु भरेर जानु भएको थियो रे । मलाई त्यो होटेलमा छाड्दा बुबा मात्रै हुनुहुन्थ्यो रे ।”
उनले सम्झिए, “मेरा लागि जे जस्तो भए पनि त्यो होटेल सबथोक भयो । म त्यहीं हुर्के, बढे । तर कहिलेकाहीं केही काम बिग्रिँदा खाएको गालीले मलाई बिरानो बनाउँथ्यो । त्यसैले पनि बुबाआमाको माया कस्तो हुन्छ भन्ने थाहा पाउन मन छ ।”
होटेलका लागि उनी सधैंजसो बजारमा तरकारी किन्न जान्थ्ये । तर, उनलाई त्यहाँको दृश्यले सधैं बुबाआमाको याद ताजा गरिदिन्थ्यो । अरुका बुबाआमाले आफ्नो छोराछोरीको हात समातेर तरकारी बजार हिँडेको दृश्य उनका लागि निकै नै पीडादायी थियो ।
“म बजारमा तरकारी किन्न जाँदा अरुले आफ्ना छोराछोरीको हात समातेर हिँडिरहेका देख्थे । तर मेरो हातमा तरकारीको झोला हुन्थ्यो । त्यो दृश्य मेरा लागि निकै नै कहालीलाग्दो थियो,” उनले विगतको सम्झिए, “त्यसैले पनि मलाई एकपटक भए पनि बुबाआमालाई भेट्न मन लागेको छ । माया बुझ्न मन लागेको छ । कहिले मेरो खोजीमा फर्किनुभयो भने फोन गर्नू भनेर मैले त्यहाँका दाइहरुलाई नम्बर दिएको छु ।”
उनले बुबालाई आफूलाई छाडे पनि फेरि किन लिन नआएको भनेर सोध्न मन छ सुमनलाई । उनले भने, “धरान हुँदा कहिलेकाहीं खोलातिर जाँदा महिलाहरुले आफ्ना छोराछोरीलाई पिठ्युँमा बाँधेर गिट्टी कुटिरहेको देख्थें । उनीहरुले त्यस्तो दुःख गरेर भए पनि आफ्नो छोराछोरीलाई पालेका छन् । त्यस्तो मलाईचाहिँ किन गर्न सक्नुभएन भनेर सोध्न मन छ । मेरो के गल्ती थियो र छाड्नुभयो बुझ्न मन छ । दुःखसुखका कुरा साट्न मन छ ।”
उनले थपे, “त्यतिबेला अनाथाश्रमबाट पनि मान्छेहरु लिन आएका थिए । मलाई सोधेका पनि थिए । मैले मेरो बारेमा सबैथोक भनेको पनि थिए । तर, मैले मेरा बुबाआमा आउनुहुन्छ भने । उनीहरुले धेरैपटक साँच्चै आउनुहुन्छ भनेर सोधेका पनि थिए । मैले आउनुहुन्छ भनेर आश्रममा जान मानिनँ ।”
तर, कहिलेकाहीँ आफैंलाई भाग्यमानी महसुस गर्ने उनले बताए । उनले आफ्नो कर्मले धेरै थोक दिएको भन्दै आफू भाग्यमानी भएको बताए । आफूसँग जन्म दिने नभए पनि थुप्रै कर्म दिने भएकाले आफू भाग्यमानी महसुस गर्ने उनले बताए । तर, हालसम्म एक्लै बस्दै आएका सुमन चाडपर्वका बेला भने धेरै रुने गरेको सुनाउँछन् ।
नाम र थरको कहानी
सुमनका बुबाले छाडेर गएको होटेल एक वृद्ध महिलाले चलाउँथिन् । उनै बूढीआमाले उनलाई सुमन भनेर बोलाइन् । तीनै बूढी आमाले बोलाएको नाम नै उनको परिचय बन्यो ।
“मैले होटेलको बूढीआमालाई धेरैपटक सोधेको थिएँ । मेरो वास्तविक नाम केहो भनेर । उहाँले तिम्रो बुबाले तिम्रो नाम सुमन भनेर भन्नुभएको थियो भन्नुभयो,” उनले भने, “त्यही वरपरकाहरुले पनि मेरो बुबाआमालाई चिन्नुहुँदो रहेछ । मलाई चन्द्र दाइको छोरा भनेर भन्थे । त्यहीबाट मेरो नाम र थर थाहा भएको हो । अरु मलाई मेरो परिवारको बारेमा केही थाहा छैन ।”
त्यतिबेला नै उनले आफ्नो बुबाको बारेमा सोध्ने गरेको बताए । तर, प्रतिउत्तरमा उनीहरुले थाहा नभएको जवाफ दिन्थे । उनीहरुले सुमनलाई बुबा आउनुहुन्छ भन्दै सान्त्वना दिन्थे र टार्थे । उनले भने, “त्यो होटेलमा धेरै गाह्रो थियो । पढ्ने उमेरमा भाँडा माझ्नु, टेबल सफा गर्ने, भुइँ बढार्ने काम मलाई गाह्रो हुन्थ्यो । मेरै उमेरकाहरु त्यहींअगाडि स्कुल गइरहेका, खेलिरहेका देखिन्थे । त्यतिबेला आफूलाई पनि त्यस्तै गर्न मन लाग्थ्यो । तर, त्यस्तो गर्न मेरा लागि कुनै वातावरण नै थिएन ।”
अन्य बालबालिकाजस्तो विद्यालय जान नपाएपछि उनले होटेलको काम नै आफ्नो जिन्दगी सोच्न थाले र त्यसैमा खुसी खोज्न थाले । आफ्नो परिचय खोज्न थाले ।
सडक पेटीको बसाइ
स्कुल कस्तो हुन्छ र स्कुल गएर के सिकिन्छ भन्ने कुरा केही थाहा थिएन । उनले अरुले बोलेका कुराहरुबाट के बोल्ने, के नबोल्ने भन्ने कुराहरु सिके । तर, त्यतिबेला उनले सबै कुरा सिकेका थिएनन् । उनी भोजपुरे होटेलबाट बाहिर समान किन्नबाहेक खासै बाहिर गएका थिएनन् । तर, उनले एकाएक होटेल छाड्दै त्यहाँ बाट बाहिरिए ।
“त्यहाँ निकै गाह्रो भएपछि मैले भोजपुरे होटेल छोडेर हिँडे । त्यतिबेला कति कुरा राम्रो पनि बोले होला, कति कुरा नराम्रो पनि बोले होला । त्यसैले पनि होला म भोजपुरे होटेलबाट निस्किएपछि मलाई दुई वर्ष अर्कै दुनियाँजस्तो लागेको थियो,” उनले भने, “होटेलबाट निस्केको केही दिन मैले टिनको जस्ता भएको घर पेटीमा सुते । खुट्टाको चप्पललाई सिरानी बनाए । चप्पल हराउँछ कि भनेर हातले च्यापेर सिरानी बनाउँथे । कैयौं रात सडकपेटीमा बिताए ।”
त्यसको केही दिनपछि उनको भेट त्यहाँका टाँगा संघका दाइहरुसँग भयो । उनीहरुले सुमनलाई तरकारी, माछामासु किन्न पठाउँथे । त्यहीबाट बचेको पैसाले उनले खाने जोहो गर्थे । त्यसपछि तिनै दाइहरुसँग मिलेर उनी पनि टाँगा र रिक्सा चलाउन थाले । उनले दुई वर्ष टाँगा र रिक्सा चलाए । उनी तिनै रिक्सा चलाउनेहरुसँग चिनजान भएपछि सँगै बस्न थाले ।
ट्याम्पु स्टेसन, बस स्टेसनसम्म ठेलामा समान पुर्याउँदा २०-३० रुपैयाँ पाउँथे । उनले रिक्सा चलाउँदा दिनमा १५० सम्म कमाइ गर्थे । त्यही पैसाले बस्ने-खाने, लत्ताकपडाको जोहो गर्थे ।
फेरिएको लक्ष्य
सुरुवाती दिनमा साँझ बिहान कसरी दुई छाकको जोहो गर्ने भन्ने लक्ष्य लिएको सुमनको लक्ष्य यतिबेला फेरिएको छ । यतिबेला उनको लक्ष्य देशका लागि खेल्नु र पदक दिलाउनु छ । राष्ट्रिय च्याम्पियन बन्नु छ ।
“त्यतिबेला के बन्ने, के गर्ने भन्ने मेरो कुनै लक्ष्य थिएन । मैले रिक्सा चलाउन सिकेको थिए । टाँदा कुदाउन सिकेको थिए । यो मेरा लागि सबैभन्दा ठूलो कुरा थियो । सामान्य दिन कसरी चलाउने, साँझ-बिहान कसरी दुई छाकको जोहो गर्ने भन्ने मेरा लागि त्यही सबैभन्दा ठूलो लक्ष्य थियो । जिन्दगी एक भुइँमान्छेको थियो । अनि के सपना हुनु ? के लक्ष्य हुनु ?” उनले भने, “पढ्नुपर्छ भन्ने भए पनि पैसा हुँदैन थियो । त्यसैले लक्ष्यभन्दा पनि थोरै भए पनि पैसा कसरी बचाउने भन्ने चिन्ता हुन्थ्यो ।”
उनले थपे, “त्यतिबेला मसँगै काम गर्ने साथीहरु एक दिन काम गरेपछि एक साता रमाउने थिए । किनभने उनीहरुको परिवार थियो । केही भए पनि उनको परिवारले हेर्थ्यो । तर, मेरो कोही थिएन, मलाई त्यति थाहा थियो । किनभने मैले भर्खर होटेल छोडेर पनि आएको थिएँ ।”
उनले आफ्नै लागि मात्र भए पनि बस्न खानको जोह गर्नु ठूलो चुनौती भएको बताए । उनले आफ्ना बारेमा मात्रै भए पनि सोचेकाले सडक बालबालिकाजस्तै कुलतमा आफू नफसेको उनले सुनाए । आफूसँगैका भन्दा आफूभन्दा ठूलो मान्छेहरुको संगतले आफ्नो जीवन सोचेभन्दा फरक भएको उनले बताए ।
“सोचेको पनि थिएन जिन्दगी यस्तो होला भन्ने । मिहिनेत र परिश्रम गर्दै गए । यहाँसम्म पुगे । एकपटक राष्ट्रिय च्याम्पियन बन्ने लक्ष्य छ । पहिले बिहान बेलुका खान बस्नका लागि मात्र सोच्ने लक्ष्य अहिले फेरिएको छ,” उनले भने ।
ब्याडमिन्टको सुरुवात
उनी बस-स्टेसनमा काम गर्दा त्यहीमाथिको पञ्चकन्या रिसोर्टमा काम गर्ने एकजनाको आवश्यकता रहेछ । सुमन काम गर्ने ठाउँमा रिसोर्टका मालिक पूर्णबहादुर लिम्बूका छोरा जिमु लिम्बूका साथी उनीसँग काम गर्दा रहेछन् । सहकर्मीले रिसोर्टमा जान आग्रह गरेपछि उनी त्यहाँ पुगेका थिए ।
“रिसोर्टमा भाँडा माझ्ने मान्छे चाहिएको रहेछ । टाँगा कुदाउनेसँगै काम गर्ने दाइले मलाई तिमी रिसोर्टमा जाउँ । कति दिन यताउति गर्दै अर्काको घर सुत्न जान्छौ भने । जहाँ पनि भाँडा माझिराको उता राम्रो छ जाउ भनेपछि म त्यता पुगें,” उनले भने, “त्यहाँ भाँडा माझें । रिसोर्टमा रिसोर्टकै मालिक पूर्णबहादुरले ब्याडमिन्टन सिकाउनु हुँदो रहेछ । मैले पनि त्यही काम गर्न र खेल्न सुरु गरेँ ।”
रिसोर्टबाट सुरु भएको सुमनको ब्याडमिन्टन यात्राले उनलाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्याएको छ । उनले रिसोर्टमा ब्याडमिन्टन खेल्दा धेरैसँग चिनजान गरे । ब्याडमिन्टन सिके । पूर्णबहादुरले सिकाइरहँदा शेखर लामाले उनलाई देखे र सुमनलाई यू-१४ ब्याडमिन्टन च्यम्पियनसिपका लागि काठमाडौं ल्याए ।
“म पञ्चकन्या रिसोर्टमा भाँडा माझ्थेँ । त्यसै क्रममा रोसोर्टका मालिक पूर्णबहादुरसँग ब्याडमिन्टन खेल्न सुरु गरेँ । उनले मलाई ब्याडमिन्टनमा स्कोर गर्न सिकाए । त्यस्तै रेफ्री गर्ने र लाइन जज गर्न सिकाए,” उनले भने, “त्यहाँ मैले तीन वर्ष बिताउँदा ब्याडिमिन्टको धेरै विषय सिक्ने अवसर पाए । यसै क्रममाः शेखर दाईले यू-१४ प्रतियोगिताका लागि मलाई काठमाडौंमा ल्याउनुभयो ।”
उनका लागि त्यो प्रतियोगिता पहिलो थियो । यसअघि उनले कुनै पनि प्रकारका प्रतियोगिता खेलेका थिएनन् । पाँचौं राष्ट्रिय खेलकुदमा छनोटमा परे पनि उनले खेल्न भने पाएका थिएनन् । तर, काठमाडौंमा भएको यू-१४ मा नै उनी क्वार्टर फाइनलसम्मको यात्रा गरे । उनको प्रदर्शन देखेर शेखरले एपीएफ क्लबमा राखी दिएका थिए । उनलाई शेखरले एपीएफ क्लबका को-ओर्डिनेटर प्रेम श्रेष्ठको जिम्मामा लगाइदिएका थिए । त्यसपछिको ब्याडमिन्टन यात्रा फलदायी बन्दै गयो ।
हाल एपीएफमा स्थायी जागिरे भएका उनले करिब पाँच वर्ष करारमा रहेर एपीएफ क्लबबाट ब्याडमिन्टन खेलेका थिए । उनी २०७२ फागुनमा एपीएफको स्थायी जागिरे भएका थिए । उनले एपीएफबाटै लगातार छैटौं, सातौँ र आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालगायत थुप्रै प्रतियोगितामा सहभागिता जनाएका थिए । धनगढीमा भएको छैटौंमा क्वार्टरफाइलबाट बाहिरिएका उनले पूर्वाञ्चलमा भएको सातौँमा भने डबल्समा कास्य पदक जितेका थिए । नेपालगन्जमा भएको आठौं राष्ट्रिय खेलकुदमा उनी जुनियरतर्फमा कीर्तिमानी खेलाडी प्रिन्स दाहालसँग प्रि-क्वार्टर फाइनलमा पराजित भएका थिए ।
यसअघि उनले सन् २०१० मा काठमाडौंमा आयोजना भएको चेल्सी जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको यू-१७ रजत पदक जितेका थिए । त्यस्तै ३४औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको जुनियर ब्वाइजमा रजत, २०६९ मा आयोजना भएको कृष्णमोहन स्मृति ब्याडमिन्टन प्रतियोगिताको जुनियरतर्फ रजत र सोही वर्ष धनगढीमा भएको रिडमोर अल नेपाल स्कुल ब्याडमिन्टन प्रतियोगिताको यू-१९ तर्फ कास्य पदक जितेका थिए ।
१३ वर्षको उमेरबाट पढाइ सुरु
धरानमा रहँदा उनले चाहेर पनि पढाइ सुरु गर्न सकेनन् । त्यो समय कामभन्दा अन्य कुनै सहज वातावरण बनेन । त्यसैले उनले स्कुल जान सकेनन् । त्यतिबेला उनलाई पेट पाल्न स्कुलभन्दा काम प्यारो लाग्यो । काठमाडौं आएपछि उनले १३-१४ वर्षको उमेरमा स्कुल जान सुरु गरे । जुन समय नियमित स्कुल जाने विद्यार्थीले एसईई दिन्छ ।
“धरानमा हुँदा मैले चाहेर पनि स्कुल जान सक्ने अवस्था थिएन । त्यतिबेला मेरा लागि काम नै प्यारो थियो । तर, काठमाडौं आएपछि मैले स्कुल जान सुरु गरे । त्यतिबेला म १३-१४ वर्ष उमेरको थिएँ,” उनले भने, “म अरुणोदय स्कुलमा सोझै ५ कक्षामा भर्ना भएको थिए । तर, मैले सामान्य कुरा पनि सिकेको थिएन । मेरो उमेरको आधारमा उहाँहरुले पाँच कक्षामा राखिदिनुभयो ।”
सामान्य कखरा नसिकेका उनी ५ कक्षामा भर्ना भएपछि उनलाई त्यति सहज भने थिएन । तर, उनले हार मानेनन् । उनले त्यस समय नर्सरी पनि पढ्न सुरु गरेँ । स्कुलका सर र म्याडमको सहयोगमा उनले करिब तीन महिना नर्सरीमा बिताए । अहिले उनले १२ कक्षाको परीक्षा दिइसकेका छन् ।
“मैले खेलकै कारण पढ्न पाएकाले खेल्न छाडिनँ । प्रेम सरले मेरा लागि पढाइ र स्कुलको समय मिलाइदिनुभएको थियो । दिउँसो स्कुल अनि साँझ ५ देखि ७ बजेससम्म दुई घण्टा प्रशिक्षण गर्थे,” उनले भने ।