नेपाली कांग्रेसको शरीर त छ तर आत्मा देखिँदैन । जीवित छैन भनौ भने देशव्यापी संगठनमात्र हैन गुटबन्दी पनि छ । छ भनौ भने जनताले यत्रो कष्ट सहँदा, देशै संकटमा हुँदा र मानवीय मूल्य ध्वस्त हुनलाग्दा पनि बीपी कोइरालाले स्थापना गरेको देशको आधुनिकता, स्वतन्त्रता र समानताको पर्याय मानिने नेपाली कांग्रेसका नेता कार्यकर्ता सञ्चार माध्यममा दन्तबझान गर्नेबाहेक अन्त कतै देखिएका छैनन् ।
असान्दर्भिक पार्टी ?
देशका धेरै समस्यामा नेपाली पनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जस्तै कांग्रेस पनि विफल र असान्दर्भिक भइसकेको छ । हुनत, २०६३ पछि नै यसका नेताले कांग्रेसलाई लगेर कम्युनिस्टहरूको सेवामा समर्पण गरिसकेका थिए । तैपनि, कोभिड..१९ को महामारीमा नेपाली कांग्रेसले आफूलाई कम्युनिस्ट भन्दा फरक देखाउने मौका पाएको थियो । (यसबीच केन्द्रीय सदस्यहरू गगनकुमार थापा र नवीन्द्रराज जोशीबाहेक अरू कसैले विकल्पको खोजीसम्म गरेको पनि देखिएन ।)
सत्ताको निष्ठावान् सहयोगी !
कांग्रेस नेतृत्वले जनताप्रति जिम्मेवारीबोध गरेको भए यति बेला केन्द्र र स्थानीय स्तरमा केही उल्लेखनीय काम गर्न सक्थ्यो । विशेषगरी जनस्वास्थ्य र अर्थतन्त्रका क्षेत्रमा सरकारलाई चुनौतीसहित मार्गदर्शन गर्नुपर्थ्यो । गर्न सक्थ्यो पनि । यस्तै, कांग्रेसले जितेका स्थानीय तहहरूमा बेग्लै मानवीय दृष्टिकोणसहित महामारीको व्यवस्थापन गर्न सल्लाह र निर्देशन दिनसक्थ्यो । कांग्रेस नेतृत्व त सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को परम सहयोगीका रूपमा पो प्रस्तुत भयो । कांग्रेस त जनतालाई कहिल्यै काम नलागेको प्रधानमन्त्री सहायता कोषमा ‘सभक्ति’ थैली टक्य्राएर गौरवान्वित भयो । त्यो रकम आफूले जितेको स्थानीय तहलाई दिएको भए पनि धेरैको जीवन कष्टकर हुनबाट जोगिने थियो ।
नयाँ दृष्टि त भए पो !
सरकारको दृष्टिकोण नेपालमा कोभिड–१९ को संक्रमण सुरु नहुँदैदेखि गलत धारणाबाट प्रभावित थियो । पहिले त सरकारले नेपालमा संक्रमण फैलन सक्तैन भनेर निषेधात्मक दृष्टिकोण अपनायो । त्यति नै बेला कांग्रेस नेतृत्वले बुझ्नुपर्थ्यो– सरकारलाई चर्कै दबाब नदिने हो भने देशमा भयावह अवस्था उत्पन्न हुन्छ । यसैले कोभिड–१९ को व्यवस्थापनका लागि नेपाली समाज, मानवीय पक्ष र महामारीको प्रकृति बुझेका जनस्वास्थ्यविद्हरूको परामर्श लिएर सरकारलाई स्पष्ट मार्गचित्र बनाएर कांग्रेस नेतृत्वले दिनसक्नु पर्नेथियो । यसका लागि सहयोगी जनशक्ति र अन्तर्राष्ट्रिय अनुभवसमेत जुटाउन खोजेको भए कांग्रेसले सक्थ्यो । सभापतिले चासो नदेखाए चिकित्सा पृष्ठभूमिका महामन्त्रीले नै अगुवाइ गरेको भए पनि हुन्थ्यो । कांग्रेस नेताहरू त उधारो महाधिवेशनमा पद हत्याउने ताकमा लागे ।
अर्थतन्त्रलाई सञ्जीवनी
अर्थतन्त्र गतिशील भइरहने तर संक्रमण पनि नियन्त्रित हुने बीचको बाटो संसारका अरू धेरै मुलुकले अपनाएका छन् । नेपाली कांग्रेसले त्यसमा मानवीय गुणसमेत मिसाएर अर्थतन्त्रको मार्गचित्र कोर्न सक्थ्यो । त्यसका लागि त झन् कांग्रेससँग प्राज्ञिक र व्यावहारिक दुवै क्षेत्रका अब्बल जनशक्ति छ । कांग्रेस सभापतिले आफ्नो पार्टीभित्र र बाहिरका सबैलाई संयोजन गरेर स्पष्ट मार्गचित्र तयार गरी सरकारलाई दिनुका साथै सार्वजनिक पनि गरेको भए सरकारमाथि त्यसभन्दा जनमुखी विकल्प खोज्ने वा त्यसैलाई अनुसरण गर्ने भन्ने दबाब पर्नेथियो । कांग्रेसले अर्थसम्बन्धी प्रतिवेदन बनाएको गाइँगुइँ त भयो तर जनतासम्म केही पनि पुगेन ।
हात्ती र हात्तीछाप चप्पल
केन्द्रमा जे भए पनि स्थानीय तहमा चुनिएका नेपाली कांग्रेसका नेताहरूले कम्युनिस्टभन्दा केही फरक मानवीय गुण देखाउन सक्थे । स्थानीय तहका पदाधिकारीले सरकारी आदेश पालना गर्नेभन्दा अगाडि बढेर आफ्ना क्षेत्रका जनतालाई भोकै बस्नुपर्ने अवस्था आउन नदिन सक्थे । घर फर्केका युवालाई आआफ्नै क्षेत्रमा अड्याइराख्ने योजना बनाउन सक्थे । अलिकति अग्रगामी सोच राख्नेले त गरिबलाई पालिकाबाट सहयोग दिने र अरूका हकमा मध्यस्थता गर्ने गरेर सबैको कोरोना बिमा गराउन सक्थे । आआफ्नो क्षेत्रमा बन्दाबन्दी लागू र पालना गराउन स्थानीय तहले नै पर्ने रहेछ । तिनले स्थानीय अवस्था अनुरूप त्यसो गर्न सक्नेथिए । कहिले भाइरस नदेखिँदै महिनौ बन्दाबन्दी त कहिले संक्रमण फैलदाँ ट्वाल्ल पर्ने पो गरियो । क्वारेन्टिन र आइसोलेसन सेन्टरको व्यवस्थापन पालिकाले नै गरे । कांग्रेसले जितेका पालिकाहरूले मानवीय दृष्टिकोणबाट व्यवस्थापन गरेर उदाहरण कायम गर्न सक्थे । तर, कतै त्यस्तो उदाहरणीय काम भए गरेको थाहा भएन ।
जानेको भए !
पर्याप्त सावधानी अपनाएर स्थानीय उद्योग, व्यवसाय चलाउन र खेतीपातीमा लाग्न घर फर्केका युवालाई प्रोत्साहित गर्न सकेको भए स्थानीय अर्थतन्त्र धरापमा पर्ने थिएन । बीपीले भनेजस्तो जनमुखी विकासको रेखा कोर्ने अवसर नेपाली कांग्रेसको नेतृत्वले गुमायो ।
यस अवसरलाई कांग्रेसले जितेका स्थानीय तहहरूले आफ्नो क्षेत्रलाई आत्मनिर्भर अर्थतन्त्रतर्फ उन्मुख गराउन सदुपयोग गर्न सक्थे । यस संकटका बेला सुरुदेखि नै सहयोगी हुनसक्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सामाजिक संघसंस्थालाई एक प्रकारले राज्यले दुत्कारेको थियो । राज्यका सबै अंगमा प्रभुत्व हुनेबित्तिकै कुनैबेला गैरसरकारी संस्थाकै माध्यमबाट जनतासम्म पुगेका र व्यक्तित्व बनाएका कम्युनिस्टहरूले सामाजिक संस्थाको स्वतन्त्रतामा आक्रमण गर्न र दुत्कार्न थालेका छन् । कांग्रेसले स्थानीय स्तरमा सामाजिक संस्थाहरूसँग सहकार्य गर्न खोजेको भए जनजीविका र जनचेतनाका क्षेत्रमा उल्लेख्य काम गर्न सक्थ्यो । क्वारेन्टिन र आइसोलेसन केन्द्रहरूको व्यवस्थापन पनि धेरै मानवोचित हुन्थ्यो ।
परन्तु, कांग्रेसको राष्ट्रियमात्र हैन स्थानीय नेतृत्वले पनि कम्युनिस्टहरूको पदचिह्न पछ्याउनेबाहेक केही गरेको देखिएन । इतिहासकै सबैभन्दा नालायक कांग्रेस नेतृत्वसँग त खासै अपेक्षा पनि थिएन । तर, सबैले निराश बनाए । अहिलेका सत्तारुढभन्दा नेपाली कांग्रेस विचार र व्यवहारमा फरक देखिएन । अर्को चुनाव कम्युनिस्टहरूसँगै लड्नुपर्ने होला । विचार र व्यवहारमा फरक नभए पनि ‘डन’ र ‘धन’कै भरमा चुनाव जित्ने सपना धेरै कांग्रेस नेताले देखेका होलान् । तर, डन र धनकै भर हो भने नेपाली कांग्रेस नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग दाँजिन पक्कै सक्तैन !
अनि खै त कांग्रेस भन्नु परेन ?
र अन्त्यमा
जनता महामारी र भोकमरीका डरले त्राहित्राहि छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरूले ६ महिना ‘विधि र पद्धति’का नाममा बिताए । अन्त्यमा विधि, पद्धति, नैतिकता, संविधानको मर्म र जनमत सबैलाई घात हुने निर्णय गरे । महामारी पीडित जनताका कष्ट र पीडाले महलभित्रका कम्युनिस्ट नेताहरूलाई छोएन ।
संसद्भित्र सानै संख्यामा भए पनि विपक्षी नेपाली कांग्रेसले अगिल्लो निर्वाचनमा ल्याएको मत हेर्दा कमजोर देखिँदैन । तर, जनताले गुहार मागेका बेला कांग्रेसका नेताहरू पार्टीभित्र शक्तिको बाँडफाँटको किचलोभन्दा बाहिर निस्कन सकेनन् । सायद, हुँदै नहुने महाधिवेशन स्वतन्त्र र निष्पक्ष हुँदैन भन्दै संस्थापन इतर आन्दोलित छ । आमरण अनशनसम्म गर्ने रे ! सभापति शेरबहादुर देउवा किर्ते, जाली र बापतीहरू बटुलेर भए पनि विभागहरू थप्न व्यस्त छन् । कोभिड—१९ को महामारीबाट पीडित जनताका पक्षमा यिनको एक शब्द सुनिएको छैन ।
कम्युनिस्ट, कांग्रेस पार्टीका शीर्ष नेतृत्व भनिएका ‘उँडुस’हरूलाई धिक्कार भन्न मन लाग्ने मलाईमात्र त हैन होला नि !