site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दोषी चस्माबारे भन्‍न नसक्दा धुरुधुरु रोएँ
SkywellSkywell

मेरो आदर्श र जीवन सिकाइको स्रोत पिता (विश्‍वेश्‍वरप्रसाद कोइराला) नै हुनुहुन्छ ।

मलाई राम्रो सम्झना छैन । हामी कसरी बनारस पुग्यौं । त्यहाँ पुग्दाका कठिनाइहरू के-के थिए । के झेल्यौं । उत्तरवाल्यावस्था कस्तो रह्यो, त्यो मैले बताउन सक्ने कुरा भएन ।

जब हुर्किएँ । संसार बुझ्न थालेँ । त्यतिबेला पिता नै मेरो प्रेरक व्यक्तित्व हुनुहुन्थ्यो । बाबु भनेपछि हाम्रो दिमागमा अलग्गै धारणा तयार हुन्छ। बिम्बहरू सलबलाउन थाल्छन् । बाबुहरू दण्ड दिने मनोभाव, स्वभावका हुन्छन् भनेर चर्चा नभएको होइन । 

KFC Island Ad
NIC Asia

तर, बीपीको स्वभाव अत्यत्न भिन्न प्रकारको थियो । बालमनोविज्ञानका सूक्ष्म अध्येता हुनुहुन्थ्यो । मलाई सम्झना भएसम्म उहाँले कहिल्यै झर्कोफर्को गर्नुभएन । बालबच्चलाई हात फर्काउनु भएन । कटु बोल्नुभएन । केटाकेटी देख्नेबित्तिकै पुलकित हुनुहुन्थ्यो । पिता हाम्रो आस्था र विश्वासको खाँबो रहिरनुभयो । र, हामी श्रद्धाले निहुरिरह्यौं, सदैव ।

बाल्यावस्थामा म चन्दा मामा भन्ने कमेडी खालको किताब आउँथ्यो । हस्यौली ठट्यौली मिश्रित हुन्थ्यो । पढ्दै खितखिताउँथे । जीवन सीप सिकाउने होइन, केवल मनोरञ्जनको माध्यम थियो त्यो । उहाँलाई त्यो मन पर्दो रहेनछ ।

Royal Enfield Island Ad

एक दिन किताब हातमा लिएर हाँस्दै थिएँ । बाबु आइपुग्नु भयो । उहाँको अनुहारको भावभङ्गिमा हेरेरै बुझिहालेँ- उहाँलाई मैले पढेको किताब मन परिरहेको छैन ।

नभन्दै उहाँलाई त्यस्तो किताब नपढोस् भन्ने लागेको रहेछ । उहाँले आफ्नै स्वभाव-शैलीमा भन्नुभयो, “अलि सिरियस (गम्भीर) किताब पढ् ।”

बनारसमा दुःखको साध्य थिएन । बुवा जेलमा हुनुहुन्थ्यो । लगाउन त परै जाओस् खान नै धौधौको अवस्था थियो । आङमा राम्रो लुगा हुन्थेन । बुवा जेलबाट छुटेर आएपछि मैले राम्रो कपडा लगाउने मन गर्थें । बजार जान रहर गर्थें । उहाँ टठिलो आँखा पार्दै भन्नुहुन्थ्यो- “ठीक छ बजार त जाउँ । तर, आज म तँलाई लुगा होइन किताब नै किनिदिन्छु ।”

त्यतिबेला किताब पसल गएर नेपोलियन बोनापार्टको आकर्षक साजसज्जा भएको मोटो किताब किनिदिनुभयो । यसरी उहाँले किताबसँग मेरो नाता गाँसिदिनुभयो । पुस्तकमार्फत संसार विचरण गर्न अभिप्रेरित गर्नुभयो ।

मैले थाहा पाएदेखि बुवाको साथमा कि केटाकेटी हुन्थे । कि किताब र कापी हुन्थ्यो । लेखिरहनुहुन्थ्यो । उहाँको साहित्य साधनामा सहयोग गर्ने दुईजना पात्र हुनुहुनुहुन्थ्यो । त्यसबारे दुनियाँलाई ज्ञात छ । भीमबहादुर तामाङ र वीरेन्द्र शर्मा । बुवाले कापी अथवा लेख्न मिल्ने ठाउँमा लेख्नुहुन्थ्यो । त्यसलाई राम्रो ढाँचामा उतार्ने र किताबको रूप दिने काममा उहाँहरूकै भूमिका छ । र, बीपीको राजनीतिमा मात्र होइन साहित्यमा यी दुई पात्र अक्षुण्ण रहन्छन् ।

बाल्यकालको एउटा रोचक घटना उल्लेख गर्न चाहन्छु । बाल्यावस्थादेखि नै मैले हिन्दी माध्यममा पढेँ । हिन्दीमा अभिरुचि होइन त्यहाँको वातावरण नै त्यस्तै थियो । हिन्दी पढेकाले होला म त नेपालीको सावाँ अक्षर पनि खुट्याउन सक्दिनथेँ ।

बनारसको वसन्त स्कुलमा पढ्दै थिएँ । बुवा जेलबाट छुटेपछि दार्जिलिङ लिएर जानुभयो । छोराको पढाइ उन्नत होस् भन्ने उहाँको उत्कट अभिलाषा थियो ।

दार्जिलिङ पुगेपछि एउटा आपत आइलाग्यो । शिक्षकले सोधे– “के विषय पढ्छौ ?”

त्यतिबेला आठ कक्षामा पढ्थेँ । डर के थियो, नेपालीमा अनुत्तीर्ण भए तेस्रो श्रेणीमा झर्नुपर्थ्यो । मलाई हिन्दी मात्रै आउँथ्यो ।

दार्जिलिङको नेपाली किताबको पाठ्यक्रममा बुवाकृत ‘दोषी चस्मा’ कथा समावेश थियो । बीपी पुत्र नै कक्षाकोठामा भएकाले नेपाली विषय पढाउने शिक्षकमा खुसीको सीमा रहेन । हर्षविभोर हुँदै भन्नुभयो, “बीपीको छोरा नै हाम्रो कक्षाकोठामा हुनुहुन्छ । उहाँले कथाको सबै विश्लेषण गर्नुहुन्छ ।”

विद्यार्थीहरू मुखामुख गर्न थाले । लाजले मेरो अनुहार रातोपिरो भइहाल्यो । जीवनमै पहिलोपल्ट ग्लानि अनुभूत भयो । त्यतिबेलासम्म बुवाको एउटा पनि कृति पढेको थिइनँ । दोषी चस्माबारे के भेउ पाउनु !

त्यतिबेला बुवासँग रिस पनि उठ्यो । विराटनगरमै पढाएको भए यो दिन बेहोर्नु त पर्दैनथ्यो भन्ने पनि झट्ट दिमागमा आयो । दुनियाँ ज्ञान लिन हिँडेको, बाबुकै कृतिबारे थाहा नपाएपछि मरेतुल्य हुनु स्वाभाविकै थियो । डेस्कमाथिको किताब लिएर बाहिर निस्कनै लागेको थिएँ । शिक्षकले कुरा बुझिहाल्नुभयो । शशांक नेपालीमा निपुण छँदै छ । अब अर्को विषय हिन्दी पढ्नुहुन्छ । त्यसपछि मेरो यात्रा हाइयर हिन्दीतर्फ अघि बढ्यो । र, सबैभन्दा बढी नम्बर त्यसमै आयो ।

० ० ०

पटना सेन्ट जेभियर्स पढ्दाताकको कुरा हो । त्यतिबेला म दुई-तीन कक्षामा पढ्थेँ । एकदिन चौरमा खेलिराखेको थिएँ । साथीहरू दौडिँदै आएर भने, “तिम्रो बुवा त जेल पो पर्नुभएको रहेछ ।”

भएको कुरा किन लुकाउनु । मैले पनि हो भनेँ ।

उनीहरू आश्चर्यमा परे । भनेँ, “भनेपछि क्रिमिनल (अपराधी) हुनुपर्छ ।”

उनीहरूको कुरा सुनेपछि मेरो आँखाबाट बलिन्द्रधारा आँसु आयो । डाँको छाडेर रुन थालेँ । त्यतिबेलासम्म बुवा के, कति कारणले जेल पर्नुभएको हो, मैले बुझेको भएन । केटाकेटी दिमागले त्यति ठम्याउने कुरा पनि भएन ।

साथीहरूको कुरा सुनेर मेरो मुटुमा आघात पर्‍यो । चित्त धुजाधुजा भयो । अलल्लिएर रुन थालेको देखेपछि प्रिन्सिपल दौडँदै आउनुभयो । तिनताका प्रिन्सिपल फादर मोराङ हुनुहुन्थ्यो । एकदमै दयालु र सरल स्वभावको । उहाँले कुरा बुझिहाल्नुभयो । सम्झाउँदै भन्नुभयो, “तिम्रो बुवाले जनताको सेवा गर्न खोज्दै हुनुहुन्छ । तिम्रो बुवा अपराधी होइन, स्वतन्त्रताका लागि लडिरहनुभएको छ । किन रुन्छौ !”

बाल्यचेतले स्वतन्त्रता, जनताको सेवा बुझेन । यति ठम्याएँ, “प्रिन्सिपल मेरो बुवाको पक्षमा हुनुहुन्छ, पक्कै उहाँ राम्रो काम गर्दागर्दै जेल परेको हुनुपर्छ । छिट्टै भेट्न आउनुहोला ।”

० ० ०

बनारसमा बस्दा दुःखको साँधी थिएन । आफ्नो परिवार मात्र नभई आमाले निरञ्जन कोइराला, रञ्जन दाइ, उमा दिदीलगायत पनि लिएर जानुभएको थियो । उहाँको एउटै ध्येय थियो- नेपालमा यिनीहरूको शिक्षादीक्षा राम्रो हुँदैन ।

त्यतिबेला मासिक १२ रुपैयाँमा २०-२५ जनाको परिवारको गुजारा चल्थ्यो । महिनामा एकफेर मासु खान मुस्किल हुन्थ्यो । आमाको सिनेमाप्रति उस्तै रुचि थियो । जस्तै आपतविपत् आइलागे पनि महिनामा एकफेर सिनेमा हेर्ने उहाँको आदत थियो । एक्लै होइन, हामीहरूलाई पनि साथै लानुहुन्थ्यो ।

बीपी जेलबाट छुटेर आएपछि हाम्रा दिन फर्किए । उहाँको विराट व्यक्तित्व थियो । छवि उस्तै थियो । सम्झँदा अहिले पनि अचम्म लाग्छ- उहाँको साथी सर्कल त्यस्तो थियो ।  त्यहाँको स्वतन्त्रता सङ्ग्राममा पनि सङ्गत भयो । हजारीबाग जेलमा रहँदाबस्दा पनि सम्पर्क भएको हुनसक्छ । ती साथी-सङ्गातीहरूले हामीलाई दयनीय स्थितिबाट पार लगाइदिए । हाम्रो जीवनशैलीमा नै ठूलो परिवर्तन आयो ।

बुवा आउनेबित्तिकै घरमा फ्रिज आयो । खानेकुरामा पनि बदलाव आयो । तिनताक बढी खानेमा मेरो नाम अग्रपंक्तिमा आउँथ्यो । २२ वटा त रोटी मात्रै खान्थेँ । उमेर सानो भए पनि खेलकुदमा रुचि थियो । फुटबल खेल्न जान्थेँ ।  मैले खाएको देखेर बीपी पनि आश्चर्यमा पर्नुभएछ । एकदिन त मुखै फोरेर भन्नुभयो, “कति खान्छस् तँ ? थोरै खा, मीठो खा, यसरी खाएर हुन्छ ?”

०  ० ०

बीपी बालमनोविज्ञान अलग्गै किसिमबाट बुझ्ने र ट्रिट गर्ने तिलस्मी क्षमता थियो । मेरो सिनियर क्याम्ब्रिज स्कुलमा ७४ प्रतिशत आएको थियो । ज्योति दाइ हुनुहुन्थ्यो, उहाँले पनि श्रीनगरबाट इन्जिनिरिङमा गोल्ड मेडल ल्याउनुभएको थियो ।

नेपाल फर्किएपछि कामको खोजपड्ताल गर्नुभएछ । त्यतिबेला भनेजस्तो काम कहाँ पाइन्थ्यो र ? ९ सय रुपैयाँको नोकरी मिलेछ । तर त्यतिले दालभात खान पनि धौधौ हुनेभयो ।

बनारस फर्किएपछि उहाँले बीपी बाबुसँग भन्नुभयो, “म यस्तो नोकरी गर्दिनँ । मलाई बुवाको भागको खेत दिनुहोस् ।”

२५ विघा जमिन उहाँको भागमा परेछ । एक वर्षमा त्यस जग्गाबाट उहाँले ७ लाख रुपैयाँ आम्दानी गर्नुभयो । ट्र्याक्टर किनेर, खनजोत गरेर प्रशस्त आयस्ता निकालेपछि मेरो दिमागमा पनि झट्ट आयो- अहो कृषिकर्म पो गर्नुपर्दो रहेछ । एकै वर्षमा सातसात लाख आम्दानी !

मैले बीपीलाई भनेँ- “म पनि नेपाल गएर खेती गर्नुपर्‍यो ।”

बीपीको स्वभावै थियो, उहाँले कहिले पनि नाइँनास्ती गर्नुहुन्नथ्यो । भन्नुभयो, “खेती नै गर्छस् त ? धेरै राम्रो हो । मैले पैसा कमाउन पनि सकिनँ । राजनीतिमै जीवन स्वाहा भइहाल्यो । ज्योति दाइले पैसा कमाएको देखेर तँ लोभिएको होलास् । ठीकै पनि हो । कृषि गरिस् भने तैंले पनि पैसा कमाउँछस् । पैसा कमाएर धोती, चप्पल लगाएर, एउटा हातमा घिउको टिन र अर्को हातमा दाल-चामलको बोरा बोकेर हामीलाई बनारसमा भेट्न आउँछस् । यति हो, त्यतिबेला तँसँग पैसा त हुन्छ तर, पढेलेखेको हुँदैनस् ।”

बीपीले यसरी दृश्य झलझली देखाइदिनुभयो कि मेरो दिमाग नै चक्करायो । राति सुत्दा पनि त्यही पनि सपना देखेछु ।

उहाँले पढ्न भनेर जबरजस्ती गर्नुभएको थिएन । बरु, कृषिमै प्रोत्साहन गर्नुभएको थियो । तर, मैले त्यो दुःखको कल्पना गर्न सकिनँ । भोलिपल्टै गएर भर्ना गरेँ ।

त्यसपछि दोहोर्‍याएर उहाँले त्यस्तो दृश्य देखाउनु परेन ।

० ० ०

बीपीको घाँटीको शल्यक्रिया भएको थियो । उहाँ अल इन्डिया इन्स्टिच्युटमा भर्नारत् हुनुहुन्थ्यो । त्यहाँको विदेश मन्त्रालयबाट एकजना प्रतिनिधि आए । उनले भने, “बीपी बाबु छात्रवृत्तिको एउटा मात्रै कोटा छ । के गरौं ? हामी  त बडो अप्ठ्यारोमा पर्‍यौं ।

त्यतिबेला म र गणेशमानकी छोरी (मीना सिंह) ले एमडीका लागि आवेदन दिएका थियौं । अस्पतालको शय्यामा रहेका बीपीले मतिर फर्किएर भन्नुभयो, “ठीक छ, छोरीलाई नै दिनुपर्छ । 

मेरा आँखाबाट बलिन्द्रधारा आँसु खस्न थाल्यो । उनको जम्मा ४५ प्रतिशत थियो । मेरो ७५ प्रतिशत थियो । रिसले मुर्मुरिएर बुवाको अनुहार पनि हेर्न मन लागेको थिएन ।

त्यतिबेला चिकित्सक भइसकेको थिइनँ । नाइट ड्युटीमा थिएँ । मानिसहरू लाखापाखा लागेपछि बुवालाई भनेँ पनि, “तपाईं ठूलो नेता । न्याय अन्यायको कुरा गर्ने । आज खुब न्याय गर्नुभयो हैन त ? ७५ प्रतिशतलाई पाखा लगाएर ४५ प्रतिशत ल्याउनेलाई सिफारिस गर्नुभयो !”

बीपीले त्यतिबेला भनेको कुरा मेरो जीवनकै ठूलो पाठ बनेको छ । “हेर् तँ कस्तो परिवारमा जन्मिइस् । कस्तो परिवारमा हुर्किइस् । कस्तो-कस्तो शिक्षा तैंले पाइस् । तैंले नाम चलेका उत्कृष्ट विद्यालयमा पढ्न पाइस् । छोरीले नेपालको साधारण विद्यालयमा निकै सङ्घर्ष गरेर पढिन् । तैंलेजसरी पढ्न पाएको भए उसको ७५ होइन, ८५ नै प्रतिशत आउँदो हो । फेरि उनका लागि यो अन्तिम अवसर पनि हो । मेरो छोरो भएको हिसाबले तँलाई जीवनरभर अवसर प्राप्त हुनसक्छ,” उहाँले यति भनेपछि म कन्भिन्स भएँ । 

पछि प्रकाश दाइलाई भनेर मैले पनि अध्ययन गर्ने मौका पाइहालेँ । 

० ० ०

सुन्दरीजल जेलमा रहँदा हरेक महिना १ गते हामी बीपीलाई भेट्न थान्थ्यौं । जेलमा गएपिच्छे उहाँ हरेकको चासो राख्नुहुन्यो । चिन्ता प्रकट गर्नुहुन्थ्यो । विशेष गरेर बालबच्चाको पढाइप्रति उहाँको विशेष अभिरुचि थियो । तँलाई नाच्न आउँछ ? ल नाचिहाल त भन्नुहुन्थ्यो ।

स्वास्थ्यस्थितिलाई ध्यानमा राखेर हुनुपर्छ, जेलमा भेट्न जाँदा बीपी बाबुका लागि भनेर आमाले अनेक सरसामग्री तयार पारिदिनुहुन्थ्यो । काजु, किसमिस, बिस्कुटलगायत चिजबिज तयार गरिएको हुन्थ्यो । हामी त्यो बोकेर जेल जान्थ्यौं ।

केटौले दिमाग त हो, कहिलेकाहीँ त रिस पनि उठ्थ्यो । हामीले खान पाउनु छैन । कति बुवालाई मात्रै ओसार्नु ?

० ० ०

सारनाथमा बस्दाताक बीपी दलाई लामाको सङ्गतमा पनि रहनुभयो । दलाई लामाको बसोबास थलो नजिकनजिकै रहेको उहाँसँग सङ्गत गर्न पनि सजिलो भयो । दलाइ लामा हामी बसेको ठाउँमा पनि आइरहनुहुन्थ्यो । बढ्ताचाहिँ बीपी उहाँकै गुम्बा जानुभयो ।

दलाइ लामा राजनीतिक कुरा हुने भएन । अध्यात्मिक ज्ञान धेरै लिनुभयो । अध्यात्मिक धारा जगाउनुमा लामा गुरुको धेरै भूमिका छ । बेलाबखत भन्नुहुन्थ्यो, “राजनीतिक गर्ने मानिसलाई बाह्य ज्ञान निकै चाहिन्छ । खुराक चाहिन्छ । गिरिजासँग कुरा गरेर केही खुराक मिल्दैन ।” राजनीतिक विषयमा परामर्श गर्नुपर्‍यो भने उहाँ सुवर्णशमशेरसँगै लिनुहुन्थ्यो ।

०  ० ०

जनमत सङ्ग्रहताका हुनुपर्छ, बीपीले मध्यपश्चिम गएर परशुनारायण चौधरीलाई भोलिको प्रधानमन्त्री भनेर प्रचार गर्नुभएछ ।

जनमत सङ्ग्रहको परिणाम कसको पोल्टामा पर्छ थाहा छैन । जनताले बीपी नै प्रधानमन्त्री होस् भन्ने चाहिरहेका होलान् । तर, उहाँ भन्दै हुनुहुन्छ- अब परशुनारायण चौधरी नै भावी प्रधानमन्त्री !

माहोल भड्किने देखेर मैले बीपीलाई भनेँ, “किन यसो भन्नुभयो ? यसको तात्पर्य के हो ?”

बीपीले हाँस्दै भन्नुभयो, “तैंले राजनीति बुझ्दैबुझ्दैनस् । मैले त जनमत सङ्ग्रहमा बहुदलको पक्षमा भोट खसाउनुछ । दाङमा गएर त्यसो नभने, त्यहाँका मानिसहरूले जनमत सङ्ग्रहको पक्षमा भोट हाल्छन् त ?”

बुवाले माहोल आफ्नो पक्षमा पार्न त्यो तरिका अपनाउनुभएको रहेछ । किन, किन मलाई त्यो ठीक लागिरहेको थिएन ।

जनमत सङ्ग्रहको नतिजा आयो । परिणाम निर्दलको पक्षमा गयो । त्यो परिणाम स्वीकार्न म तयार थिइनँ । मैले बीपीलाई गएर भनेँ, “बीपी यो परिणाम स्वीकार नगरौं । धाँधली भएको छ ।”

बीपीले अनुहार नबिगारी भन्नुभयो, “हैन, धाँधली भएको छैन ।” उहाँले उल्टै सोध्नुभयो, “तैँले धाँधली भएको देखेको थिइस् र ?”

“मैले त सुनेको मात्रै हो ? कसरी देख्नु र ?”

यति के भनेको थिएँ । उहाँले प्रतिप्रश्न गरिहाल्नुभयो, “सुनेकै आधारमा तँ धाँधली भयो भनेर निर्क्यौल गर्न सक्छस् ? जनमत सङ्ग्रह नै परिवर्तनको कोसेढुङ्‍गा हो । परिणाम होइन, जनमत सङ्ग्रह नै हाम्रो लागि सफलता हो । अब प्रजातन्त्रलाई राजाले पनि रोक्न सक्दैनन् ।”

दश वर्ष पनि पर्खन परेन । बहुदलीय व्यवस्थाको अभ्युदय भइहाल्यो ।

० ० ०

२०३९ साल जेठको आरम्भरतिर बुवाको स्वास्थ्य अन्यन्त प्रतिकूल बन्न थाल्यो । उहाँ निकै गलितम हुनुभयो । अनुहारको रोगन पनि बदलिइसकेको थियो । जेठ ८ गते देशवासीका नाममा सम्बोधन गरेपछि पूरा देश पिताको स्वास्थ्यलाई लिएर चिन्तित भयो । पार्टीका नेता-कार्यकर्ता निराश बन्न लागे । बीपी बाबुको स्वास्थ्य अब फर्किंदैन होला भन्ने एक किसिमको चिन्ता व्याप्त थियो ।

गिरिजाबाबुले भन्नुभयो, “बीपीलाई एकफेर बैङ्कक लैजाऔं । केही सुधार पो भइहाल्छ कि !”

त्यतिबेला मेरो बिहे भइसकेको थियो । पिताज्यूको स्वास्थ्यसँग सम्झौता गर्ने कुरा पनि थिएन । ससुराली पनि बैंकक नै भएकाले उतै जानु उपयुक्त हुन्छ भन्ने मलाई पनि लाग्यो ।

गिरिजाबाबु र मैले बैङ्कक लिएर गयौं । बुवाले हरेश खाइसक्नुभएको रहेछ ।

आइसीयूमै हुनुहुन्थ्यो । गिरिजाबाबु बाहिर जानुभएको थियो । मलाई भित्र बोलाउनु भयो । कानमा फुसफुसाउँदै भन्नुभयो, “मलाई यहाँ धेरै बस्न मन छैन । आफ्नै देशमा मर्न चाहन्छु ।”

बुवाले मृत्यु नजिक आइसकेको ठम्याइसक्नु भएको रहेछ । मेरा आँखा भरिएर आए । मृत्यु समीप आउँदा जन्मभूमि सम्झनु राम्रो कुरा हो ।

उहाँको अन्तिम शब्द पनि त्यत्ति थिए । त्यसपछि उहाँ कोमामा गइहाल्नुभयो । बुवाले स्वदेश लैजाओ भनिसकेपछि विलम्ब गर्ने कुरा थिएन । उहाँलाई जहाजबाट स्वदेश ल्याइयो । कृत्रिम श्‍वास-प्रश्‍वास दिइराखिएको थियो । 

त्यतिबेला कृत्रिम श्‍वास-प्रश्‍वास हटाउने कि नहटाउने भनेर हामी खुब द्विविधामा परेका थियौं । 

आमा भन्नुहुन्छ- तिमीहरू आफैं डाक्टर छौ । 

हामी अझै अलमलमा थियौं । मामाहरू पनि सबै डाक्टर नै हुनुहुन्थ्यो । अन्तिममा सबै मिलेर निर्णय लियौं- अब जरुरत छैन ।

मुटु बाँधेर कृत्रिम श्‍वास-प्रश्‍वास हटाएका थियौं, त्यतिबेला ।

साउन ६ गते बीपी सदाका लागि अस्ताउनुभयो । तर, उहाँको विराट व्यक्तित्व र छवि अझै हामीमाझ जीवितै छ । आज हामी जहाँ छौं र जे छौं, उहाँकै आलोकमा छौं ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २०, २०७७  १२:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro