काठमाडौं । २०७६ भदौ २० गतको झरिलो बिहान । क्षितिजमा पहेँलो डोरो नबस्दै वीरगन्ज, छपकैयाकी मुस्कान खातुन स्कुल जान घरबाट हिँडेकी थिइन् । पढाइमा विलक्षण उनी स्कुल पुग्न पाइनन् । बाटैमा सपना निमोठियो ।
मुख्य बजार क्षेत्रको हनुमानचोक (बिर्ता) मा बाटो ढुकेर बसेका सम्साद आलम र मजिद मियाँले उनको जीवनमा आगोतुल्य तेजाब खन्याइदिए । अनुहारबाट धुवाँको मुस्लो छुट्यो । पलभरमै सपना खाक बन्यो ।
त्यसपछिको एक वर्ष उनले भोगेको पीडा अकथनीय छ । अवर्णनीय छ । जिन्दगी पीडा नै पीडाको सारगमा हेलिएजस्तो भयो ।
गत हिउँददेखि घाउहरूमा खाटा बस्न थालेका थिए । तेजाबको डाह कम्ता हुँदै थियो । आलो घाउहरूले कैँची-छुराबाट छुटकारा पाउँदै थिए । हप्तैपिच्छे नित्यनिरत गर्नुपर्ने शल्यक्रियाबाट पनि त्राण पाउँदै थिइनन् । अनुहारमा क्रमशः मुस्कान फर्कंदै थियो । डढेको ठुटोतुल्य सपनाहरूका मुना पलाउन थालेका थियो । जिजीविषालाई बलियो बनाएर जीवनलाई लयमा फर्काउन प्रयत्नशील थिइन्, मुस्कान ।
फेरि उनलाई देशको न्याय-निसाफ र प्रणालीले अर्को बज्र हानेको छ ।
तेजाब छ्याप्ने कसुरदारलाई छाडिएको भन्ने खबर उनको कानमा परेदेखि उनी राम्ररी निदाउन सकेकी छैनन् । रातहरू ऐंठन पर्न थालेका छन् । मुर्झाउन थालेको तेजाबको डाहले फेरि फणा उठाउन थालेको छ । ठाउँकुठाउँ डसिरहेको छ ।
“दिनरात घाउ दुखेर पीडामा छटपटिइरहेको छु । देशमा संविधान, ऐन, कानुन छ । अपराधी उम्कन नपाउलान् भन्ने ठानेर पीडा खपेर बसेकी थिएँ । तर, अपराधीहरूलाई छाडिएको भन्ने पो सुनेँ,” उनी आहत हुँदै सुनाउँछिन् ।
मुस्कानका अनुसार तेजाब छ्याप्ने मुख्य अभियुक्त मजिद नै हुन् । विद्यालय (त्रिभुवन हनुमान माध्यामिक) जाँदा र घर फर्कैदा बाटो ढुकेर बसेका हुन्थे । प्रेम प्रकट गर्ने बहानमा जिस्क्याउने र ताडित तुल्याउने गर्थे । झन्डै एक वर्षदेखि पिछा गरिरहेका थिए । हैरान बनाएपछि मुस्कानले बाबुलाई पनि पीडा सुनाएकी थिइन् । एक-दुईपटक बाबु रसुल अलीले हप्काइदप्काइ गरेका पनि हुन् ।
त्यसदिन पनि मजिदले नै तेजाब छ्यापेको मुस्कानलाई राम्रोसँग सम्झना छ । सँगै रहेका भाइले पनि यही बयान दिएका छन् ।
तर कानुनको छिद्र पहिल्याएर मजिदलाई अदालतले उन्मुक्ति दियो । सजायबाट छुटकारा दियो ।
अभियुक्तले नागरिकता बनाएका रहेनछन् । वडाले चलाखी गर्यो । उमेर घटाएर जन्मदर्ताको कागजात तयार गरिदियो ।
“अदालतका न्यायाधीश पनि कस्ता हुन् ?” मुस्कान प्रश्न गर्दै भन्छिन्, “अभियुक्त हेर्दा नै उमेर कति हो थाहा हुन्छ । तर, नक्कली जन्मदर्ता हेरेर अपराधीलाई छुटाइरहेका छन् ।”
वडाले घटाइदिएको उमेरलाई आधार बनाएर अदालतले अभियुक्तलाई बालसुधार गृहमा पठाइदिएको र कोरोनाको कहर देखाउँदै सहजै छुटाइदिएको मुस्कानको आरोप छ । मुख्य अभियुक्त मजिद अहिले निस्फिक्री हिँडिरहेछन् । बरु मुस्कानचाहिँ तेजाबले निलेको अनुहार छोप्न अपराधीझैं टाउको लुकाउन विवश छिन् ।
“भोलि उसले अर्को घटना घटायो भने को जिम्मेवार हुन्छ ?, अरूमाथि पनि यस्तै घटना घट्यो र मेरोजस्तै हालत भयो भने के हुन्छ ?,” उनी दोहोर्याएर प्रश्न गर्छिन् ।
उपचार गर्दागर्दै घरखेत
अस्पताल बस्दासम्म मुस्कानले धेरथोर सहायता पाएकी थिइन् । संघ-प्रदेश र स्थानीय सरकारले गरेर झन्डै १० लाख रुपैयाँ उपलब्ध गराइदिएका थिए । व्यक्तिगत र संस्थागत सहयोग पनि धेरथोर पाएकी थिइन् । ठूलो राहत मिलेको थियो ।
अस्पतालबाट डिस्चार्ज भएपछि विस्तारै कटौती हुँदै गयो । मानिसहरूले पनि बिर्संदै गए । त्यसपछि सबै उपचार खर्च आफैं बेहोर्दै जाँदा वीरगन्जमा रहेको सम्पत्ति नै बेच्नुपर्ने अवस्था सिर्जना भइसकेको मुस्कान बताउँछिन् ।
“बाबा पनि एक वर्षदेखि बेरोजगार हुनुहुन्छ,” मुस्कान पीडा सुनाउँदै भन्छिन्, “वीरगन्जमा आल्मुनियमका झ्यालढोका बेच्ने दोकान गर्नुहुन्थ्यो । एसिड छ्यापेपछि सबै यता आउनुपर्यो । अहिले त औषधि उपचार होइन, बिहान-बेलुकाको छाक टार्न पनि गाह्रो भइरहेको छ ।”
अहिले पनि महिनामा एकपटक अप्रेसन गर्नुपर्छ । औषधि-उपचार गरी महिनाको झन्डै २० हजार रुपैयाँ खर्च हुन्छ । बाबुआमाको केही कमाइ नहुँदा ऋण काढेर उपचार गर्नुपर्ने बाध्यता रहेको मुस्कानको भनाइ छ । भन्छिन्, “कसैले सहयोग गर्नुभयो भने हो, नत्र ऋण लिएर उपचार गरिरहेको छु । हाम्रो मात्रै १० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ ।”
प्रधानमन्त्रीसँग गुहार
मृत्युको मुखबाट जीवन थुतेर ल्याएकाले अनुहारको मुस्कान फर्कनेमा आशावादी छन् । घाउ खाटा बसेपछि पढाइलाई लयमा फर्काउने र चिकित्सकसम्मको यात्रा छिचोल्ने लक्ष्य पनि तय गरेकी छन् ।
त्यसभन्दाअघि नै अपराधीहरूले जन्मकैदको सजाय बेहोरेको हेर्ने इच्छा छ उनको । त्यसका लागि मुस्कानले प्रधानमन्त्री केपी शर्मा ओली, महान्यायाधीवक्ता अग्नि खरेलसँग पनि भेट गरेर गुहार मागेकी छन् ।
मुस्कानले मङ्गलबार प्रधानमन्त्री ओलीलाई बालुवाटार नै पुगेर भेटेकी थिइन् । मुस्कानको आहत र छटपटाहटलाई प्रधानमन्त्री ओलीले पनि महसुस गरेका रहेछन् ।
“प्रधानमन्त्रीले पढाइ र रोजगारीको जिम्मेवारी बहन गर्छु भनेर आश्वासन दिनुभएको छ,” मुस्कानले भनिन्, “कार्यान्वयन नभइ विश्वास गर्ने आधार त छैन । तर, प्रधानमन्त्रीको वचनले तेजाबको घाउलाई भने केही शीतल तुल्याएको छ ।”
भेटमा प्रधानमन्त्रीले तेजाब छ्याप्नेसम्बन्धी कसुरसम्बन्धी विद्यमान कानुन संशोधन वा परिमार्जन गर्ने वचनबद्धता पनि व्यक्त गरेका छन् ।
फौजदारी अपराध संहिता- २०७४ को दफा १९३ अनुसार तेजाब छ्याप्ने अपराधीलाई कसुरको प्रकृति हेरेर अनुहार कुरुप पारेमा पाँचदेखि आठवर्ष कैद र एक लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना तोकेको छ ।
शरीरको अन्य अङ्ग कुरूप तुल्याएमा, पीडा पुर्याएमा तीनदेखि पाँचवर्षसम्म कैद र पचास हजारदेखि तीनलाख रुपैयाँसम्म जरिबाना निर्धारण गरेको छ ।
यति सजायले मात्र पीडितले न्याय नपाउने, पीडाबाट त्राण पनि नपाउने मुस्कान बताउँछिन् ।
“मलाई नै हेर्नुहोस् न एक वर्ष भइसक्यो, न घाउमा खाटा बस्छ न त पिप र रगत नै बग्न छाड्छ । एकातिर पढाइ अलपत्र छ । अर्कोतिर कतिबेला घाउ कतिबेला बल्झने हो र मृत्यु बिर्साउने पीडा दिने हो भनेर त्रासैत्रासमा बस्नुपर्छ । घाउ सञ्चो भए पनि दाग जिन्दगीभरि रहन्छ । पीडित अनुहार छोपेर हिँड्ने, अपराधी शिर ठाडो पारेर हिँड्ने अवस्थाले हामीले कसरी न्याय पाउँछौं ?,” उनी पुनः प्रश्न गर्छिन् ।
प्रधानमन्त्रीले भदौको २५-२६ गतेसम्म पर्खन भनेका छन् । भदौ २५-२६ मा प्रधानमन्त्री ओलीले आफ्नै पहलमा मुलुकका अहिलेसम्मका तेजाबपीडितहरू सबैलाई एकठाउँमा भेला गर्ने र उनीहरूको राय-सुझाव र परामर्शका आधारमा नयाँ कानुन मस्यौदा गर्ने आश्वास दिएका छन् ।
“त्यतिबेला पनि म त जन्मकैदकै आवाज उठाउँछु । यो मृत्युभन्दा जघन्य अपराध हो । मृत्युमा त मानिस एकपटक मर्छ, तेजाब छ्यापेपछि त मानिसहरू पलपल मृत्यु बेहोर्नुपर्छ । बाँचेर पनि मृत्युजस्तै जिन्दगी बाँच्नुपर्छ,” मुस्कान अठोट गर्दै भन्छिन् ।
के थियो घटना ?
भदौ २० गते । वीरगन्ज घण्टाघरको घडीमा बिहानको ६ बज्न १५ मिनेट बाँकी हुँदो हो, मुस्कान सदाझैं अनुहारमा मुस्कानको रङ बोकेर उठिन् । ५ मिनेट नमाज पढिन् । अल्लाह पुकारिन् । त्यसपछि तयार भइन् स्कुल जान ।
सधैँ आमा सहनाज मुस्कानलाई पुर्याउन स्कुलसम्मै पुग्थिन् । छोरीलाई साथी पनि हुने, प्रातः भ्रमण पनि हुने, दोहोरो उपाय पहिल्याएका थिए, बाबु रसुलले ।
त्यसदिन आमा सहनाजलाई आलस्यले गाँज्यो । अनायास शरीर बोझिलो बन्यो । आमा अस्वस्थ हुने छाँट देखेपछि बाबु रसुलले भने, “भैगो पर्दैन, आज मुस्कान भाइसँगै स्कुल जान्छिन् !”
घरबाट मुस्कान पढ्ने त्रिभुवन हनुमान विद्यालय जम्माजम्मी १० मिनेटको पैदल दूरीमा छ । पढ्नमा उस्तै तीक्ष्ण थिइन् मुस्कान । किताबमा बाहेक अन्यत्र विरलै आँखा डुलाउँछिन् ।
आमा सहनाज भन्छिन्, “पुस्तक समाएपछि खानाको समेत पत्तो हुँदैनथ्यो । स्कुलमा एकदिन गयल भएको थाहा छैन ।”
भाइको साथ लागेर मुस्कान बिर्तास्थित गणेशमान चोक पनि पुगेकी थिइनन् । बाटामा तिनै ‘हुल्लडबाज’ भेटिए, मजिद मियाँ र सम्साद आलम । जसले मुस्कानको बाटो पटकपटक छेक्थे । लठैत शैलीमा सिट्ठी मार्थे । बेसुरा गीत गुनगुनाउँथे । तर केही दिन कम्ती भएको थियो, बाटो छेक्न ।
त्यसदिन पुनः उही कृत्य दोहोर्याए ।
मुस्कानले उनीहरूलाई हेर्न जरुरी ठानिनन् । चुपचाप आफ्नो बाटो हिँडिरहिन् । दस पाइला अघि बढेकी हुँदिहुन्, फेरि मजिदले उही लवज दोहोर्यायो- “हेर न एकफेर !”
असह्य भएपछि मुस्कानले फरक्क फर्किएर भनिन्, “किन हेर्नु तँलाई, मलाई नजिस्क्या भनेको सुन्दैनस् ?”
यति के भनेकी थिइन् । आपराधिक मनोदशाले गाँजेका दुई किशोर तुरुन्तै मुस्कानमाथि जाइलागिहाले । हातमा रहेको तेजाब अनुहारमा खन्याइदिए ।
सुरुमा तातोपानी परेजस्तो भएको थियो । पछि आगाको भुङ्ग्रो खन्याएजस्तो हुन थाल्यो । बेस्सरी चिच्याउन थालिन् ।
उनले हारगुहार गरिन् । त्यतिञ्जेल तेजाब हान्ने दुवै युवक गायब भइसकेका थिए ।
के भयो, कसो भयो, बटुवाले भेउ पाउन सकेनन् । १२ वर्षीय भाइ अरमान अन्सारीले त झन् कसरी ठम्याउन् । धुवैधुवाँ भएपछि उद्धारकर्ताले पनि थाहा पाए, “ए ! तेजाब पो छ्यापेछन्, अपराधीहरूले ।”
तुरुन्तै अटो रिक्सामा राखेर नारायणी अञ्चल अस्पताल वीरगन्ज लिएर गए । त्यहीमध्ये कसैले घरमा खबर गरिदियो- छोरीमाथिको अकल्पनीय बज्रपात !
आमा सहनाज उठेर नमाज पनि पढ्न भ्याएकी थिइनन् । एकाबिहानै छोरीको अनुहार तेजाबले डढाइदिएको सुनेपछि उनको होसहवास गुम्यो । होस ठेगानमा रहेन ।
उनले सपनामा पनि चिताएकी थिइनन्- छोरीमाथि अपराधीको यो हदसम्मको कुदृष्टि पर्ला भनेर । उरन्ठेउला त हुन्, तह लागिहाल्लान् नि भनेर सोचेकी थिइन् । तर चिताउँदै नचिताएको कुरा आइलागेपछि उनी हान्निँदै बाटोमा निस्किइन् । हतारमा उनले चप्पलसमेत लगाउन भुलिन् ।
उता बाबु रसुलको हालत पनि त्यस्तै थियो । उनले पनि के गर्ने, के नगर्ने मेसो पाउन सकेनन् । धन्न होस सग्लै रहेछ, साथीभाइलाई खबर गरे र अस्पताल हानिए ।
अस्पताल पुग्दा प्राणप्रिय छोरीको अवस्था नाजुक थियो । अनुहार डम्डम्ती सुन्निइसकेको थियो । शरीरका लुगा कुनै सग्ला थिएनन् । पुल्ठो झोसेजस्तो तेजाबले धुजैधुजा । तेजाबको तापले आहत हुँदै छोरी एकोहोरो बर्बराइरहेकी थिइन्, “बाबा ! त्यही मजिदहरूले हो !”
बाबु रसुलले अस्पताल पुगेका प्रहरी उपरीक्षकलाई अपराधको नालीबेली सुनाए । प्रहरी उपरीक्षकले पनि वचन दिए, “छोरीको उपचारमा लाग्नुस्, अपराधी छिट्टै समातिन्छन् । “सीमावर्ती सहर । रक्सौलतिर पो अलप भइसके कि !,” रसुलको मन आत्तिँदो थियो ।
नारायणी अस्पतालमा छोरीको उपचार सम्भव भएन । चिकित्सक-नर्सले जलनकम्ता गर्ने प्रयत्न त गरे । तर मुस्कानको अवस्था प्रतिपल खस्कँदो थियो । “यहाँ उपचार सम्भव छैन, तत्काल काठमाडौं लगिहाल्नूस्,” चिकित्सकले नै सुझाए । र, तुरुन्तै काठमाडौं रेफर गरिदिए ।
आमा सहनाजका अनुसार मजिद र सम्साद किशोरवयमै गुन्डापाराका थिए । बिर्ता, गणेशमानचोक वरिपरि ‘आवारा’मै गनिन्छन् उनीहरू । स्कुल नजाने, हुलहुज्जत, झै-झगडा गर्दै हिँड्ने ।
तीनै मजिद र सम्सादले घटना घट्नुभन्दा ६ महिनाअघि पनि मुस्कानलाई दुःख दिएका थिए ।
स्कुल आउजाउ गर्दा बाटो ढुक्दै जिस्क्याउन थालेपछि हैरान भएर मुस्कानले आमालाई पीडा सुनाएकी थिइन् । “५-६ महिनाअघि पनि मुस्कानले मलाई मजिदले जिस्क्याउँदा स्कुल जाँदा बाटो छेक्छ भनेकी थिई,” आमा त्यतिबेलाको घटना सम्झन्छिन् ।
छोरीलाई दिनदहाडै बाटो छेकेर दुःख दिएको कुरा आमाले बाबुलाई सुनाइन् । बाबुले भोलिपल्टै मजिदलाई हप्काए । “त्यतिबेला मुस्कानको बाबाले मेरी छोरीको बाटो छेक्छस् भन्दै एक थप्पड पनि हान्नुभएको थियो,” सहनाज सुनाउँछिन् ।
बाबुले हप्काएपछि मजिदले अबदेखि त्यसो गर्दिनँ भनेको थियो । पिछा गर्न समेत छाडेको थियो ।
तर बाबुको मन बेलाबेला आत्तिँदो रहेछ । छोरीले झुटो पो बोलिन् कि भनेर खोर्याइरहँदा रहेछन् । बिहीबार बेलुकी मात्रै पनि बाबुले सोधेका थिए, “छोरी मजिदले पिछा गर्न छाडेकै हो त ! दुःख दिने अरू पो थपिए कि !” “छोरी राम्री छिन् । अरूले पनि आँखा लगाउलान् भनेर सचेत हुनैपर्यो । छोरीको बाबुले दसतिर सोच्नुपर्छ,” रसुलले बाह्रखरीसँग त्यतिबेला भनेका थिए ।
छोरीले ढुक्कले जवाफ फर्काएकी रहिछन्, “छैन बाबा ! आजभोलि त्यसलाई मेरो बाटोमा देखेकी छैन ।” छोरीले यति भनेपछि रसुलको मन ढुक्क भएको थियो । भोलिपल्टै आगोतुल्य तेजाब मुस्कानको अनुहारमाथि खनिएको थियो ।