site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सरलाको डुमेरो उडान
Sarbottam CementSarbottam Cement

अक्षर काका


काठमाडौंको पश्चिमोत्तर डाँडामाथि बादलले डुमेरो लगाइरहेको थियो । कहिले दर्के झरी पथ्र्याे, कहिले सिमसिमे वर्षात् । दर खाने दिन भएकाले हुनुपर्छ, निषेधाज्ञाको कहर छिचोल्दै मानिसहरू फाट्टफुट्ट सडकमा निस्किएका थिए । घरमा बस्दाबस्दा दिक्क लागि टहलिन निस्किएका मानिसहरू कोरोना भाइरसलाई धारेहात लगाइरहेका पनि भेटिन्थे ।

दरको जोहो गर्न निषेधादेशको पर्वाह नगरी बाहिर निस्किएकाहरूसँग मिसिँदै म पनि रवि भवनको माथ्लोपट्टि रहेको सरला गौतमको घर पुगेको थिएँ । सरला आफ्नै सुसेधन्दामा व्यस्त थिइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उत्तरपट्टि फर्किएको बरन्डामा गमला खात लगाएर बाटिका तुल्याइएको रहेछ । स–साना बोट–बिरुवामध्ये कुनैमा फूल खेलिरहेका । कुनैमा फल झुन्डिइरहेका । उद्यान बिर्साउने पर्यावरणको झल्को दिन्थ्यो ।

भाइले बिहानै ‘टेक अवे’ सेवामार्फत दर कोसेली पठाइदिने आश देखाएका रहेछन् । चन्द्रागिरिमा घाम डुबिसक्दा पनि दरको अत्तोपत्तो थिएन । त्यसपछि उनी कौसी बगान स्याहार्न बरन्डामा निस्किएकी रहिछन् ।

Global Ime bank

कौसी उद्यानले सरलालाई राम्रै त्राण दिएको छ । धापिएर आउँदा छहारी बनेको छ । नैराश्यताले गाँजेका बखत चौतारी बनेको छ । कौसीमा मुस्कुराइरहेका पत्रपुष्पसँग पुलकित हुँदै कैयौंपटक डुमेरो उडानको कल्पना गरेकी छन् ।

डेढ घण्टाको डुमेरो संवादमा कैयौंपटक उनले आफ्नो नूतन कृतिलाई झैं बोटबिरुवालाई सुम्सुम्याइरहिन् । र, मायालु भावमा प्रकट भइरहिन् ।

० ० ०

पोखरामा जन्मिएकी सरला कहिल्यै ‘बाग्लुङ्गे’ हुन सकिनन् । यसकारण कि, उनको पुर्ख्यौली थातथलो बाग्लुङ हो । सरलाको बोलीवचन न कालीगण्डकीको सुसेलीसँग सुहाउँदो छ, न त भावभङ्गिमा नै ‘पश्चिमेली’ छ । धवलागिरिको लाडप्यारमा हुर्किएकी सरला कालीगण्डकी झैँ निर्वाध नागबेली बग्दै जीवनका गहिरा गल्छी र उच्चाटिला खोँच छिचोलिरहेकी छन् ।

बागलुङको ‘यायावर’ परिवार । गण्डकी सेरोफेरो मात्रै समेटिन चाहेन । अश्वमेध यज्ञमा छाडिएको घोडा झैं व्यापार–व्यवसायका लागि ठाउँ खोज्दै हिँडे । ४० अन्त्य को र ५० को सुरुवाती दशकमा गण्डकी अञ्चलका जिल्लाहरू चहारे ।

सरलाका बाबु वैकुण्ठ गौतम समूहमा व्यापार गर्थे । व्यवसाय गर्ने पनि उनको आफ्नै तौरतरिका थियो । चार–पाँच जनाको समूह मिलेर बजार बसाउँदै हिँड्थे । बजार बन्न थालेपछि मोटरबाटोले जोडिन्थ्यो । पानी–बत्तीको सुविधा थपिन्थ्यो । बजार सहरका रूपमा विकास हुन समय लाग्दैनथ्यो । त्यसपछि उनीहरू अर्को गन्तव्य तय गर्थे । सहरलाई गाउँगाउँ पुर्‍याउँथे ।

सरलाको जीवन र साना सहरबीच विशिष्ट साइनो छ । तिनै लघु कायाका सहरले अलग्ग सपना देख्न सिकायो । धेरै मानिसहरूको मुटु छाम्न सिकायो । अस्तित्वसँग पौँठेजोरी खेल्न सिकायो । अझ भनौं न, बनिबनाउ सभ्यता र मान्यताको भिडमा पृथक मान्यताको चिराग सल्काउन सिकायो । र, त्यसैको आलोकमा चेतनाको नयाँ क्षितिज निर्माण भयो ।

“सबै जातजाति, भाषाभाषीसँग अन्तरघुलित हुन, उनीहरूको जीवनपद्धति र संस्कारसँग समायोजित हुन पनि त्यही साना सहरले सिकायो,” कृतज्ञ हुँदै सुनाउँछिन् सरला ।

साना सहरमा जातजाति, धर्म–संस्कृतिका कृत्रिम पर्खाल हुँदैनथ्यो । सोचका ओसिला, साँघुरा र माकुराजाले गल्ली हुँदैनथे । तत्कालीन सत्ताले निर्माण गरेको चेतनाको छोइछिटो हुँदैनथ्यो । सामाजिक बन्धन र गजबारहरू हुँदैनथे । तिनीहरूले पिँधमै राख्न चाहेका जाति–समुदायकहाँ जान कुनै तगारो थिएन । र त, सरला क्रमशः आफ्नो चिन्तनमा उदात्त बन्दै गइन् । 

“हाम्रो विचार उदात्त हुनुको पछाडि ती साना सहर कारण छन् । जहाँ जात–धर्म विशेषको बाहुल्य हुँदैनथ्यो,” समाजको कखरा सिक्दै गर्दाको क्षण सम्झिँदै सरला भन्छिन्, “यो घर मगर दाइको, त्यो घर गुरुङ काकाको, छिमेकीको घर विश्वकर्माको, तल्तिरको घर मुस्लिम धर्म मान्नेको, अलिक पर्तिरको घर शिख धर्मावलम्बीको । मैले त आफूलाई बाहुन हुँ भनेर महसुस नै गर्न पाइनँ । र, बाहुनी जसरी हुर्किनँ पनि ।”

उनीहरू अमुक पूर्वमान्यताको ओत फराकिलो पार्न बजार विस्तारसँग सिँगौरी खेलिरहेका थिएनन् । सजातीय र विजातीय चिन्तनभन्दा माथि उठेर समाजसँग एकाकार हुन सरलाले त्यहीँ जानेकी हुन् ।

उमेरको उकाली उक्लँदै गर्दाताकका सामाजिक सम्बन्धहरूले अहिले पनि उनलाई नोस्टाल्जिक बनाउँछन् । पुलकित हुँदै सरला सुनाउँछिन्, “गोरखामा बस्दा चिसोले औधी सताउँथ्यो । कहिले त सर्दी गढेर बेस्सरी खोकी लाग्थ्यो । त्यतिबेला छिमेककी तमाङ्नी काकीले झ्वाइँखट्टे (झानेको रक्सी) खुवाइदिनुहुन्थ्यो ।”

वास्तवमा सरलाका चेतना निर्माणका देहाणु यिनै हुन् ।

जन्मजात पत्रकार
उनीहरूको यायावरी जीवनले चितवनको राजमार्गमा अड्याएको थियो । तिनताक सरला माध्यामिक शिक्षाको आरम्भतिर थिइन् । विद्यालय जीवनमा सरला वाकपटु थिइन् । विभिन्न विषयमा हुने वक्तृत्वकला प्रतियोगितामा उनलाई कसैले उछिन्न सक्दैनथ्यो । ख्याल–ठट्टा र दिल्लगीमा पनि उनलाई कसैले नभ्याउने रहेछ । 

एकदिन स्कुलमा जोक प्रतियोगिता भएको थियो । त्यतिबेलाको क्षण सम्झिँदै सरला भन्छिन्, “वक्तृत्वमा बोलाए पनि जोकको स्पर्धामा त बोलाउँदैनन् होला ठानेको थिएँ । तर, सरले नाम उच्चारण गरिहाल्नुभयो । म पनि के कम, हाउभाउ मिलाइमिलाइ ‘गयो इलाम, खायो सिलाम, फर्किएर आउँदा धोती लिलाम !’ के भनेको थिएँ, दशर्कदीर्घाबाट हाँसोको फोहोरा छुट्यो ।”

भोलिपल्ट व्यायामको बेलामा पो थाहा भयो– अरू प्रतियोगीहरू उनको जोकको छेउछाउसम्म पुग्न सकेका रहेनछन् । उनको हास्यकलाले सर्वोत्कृष्ट स्थान लियो ।

जोक नयाँ थिएन । उनैले सिर्जना गरेको पनि होइन । आत्मविश्वासले उनलाई श्रेष्ठ तुल्याएको थियो । यस्तै आत्मविश्वासले डो¥याएर उनलाई रेडियोको ढोकाभित्र छिरायो ।

“अहिले सम्झँदा लाग्छ– जन्मँदै पत्रकार हुने गुण पो लिएर जन्मिएकी थिएँ कि ?” उनको ओठबाट पुनः हाँसोको फोहोरा छुट्छ । 

प्लस टु पढ्दाताक नै उद्घोषण र वाककलामा निपुण थिइन् । मानवाधिकारको अभियन्ता पनि बनिन् । किशोर चेतनाले मानवअधिकारका विश्वव्यापी अधिकारका साँधसीमा के कति बुझ्न र ग्रहण गर्न सक्थ्यो ! तापनि उनी मानवअधिकारका ठुल्ठूला गोष्ठी र सभामा सरिक हुन्थिन् । त्यो पनि स्कुले पोसाकमै ।

“कपाल फुलेर सेतै भएका व्यक्तित्वहरू मलाई सभापति बनाएर आफूहरू मभन्दा पछिल्लो लहरमा बस्नुहुन्थ्यो,” उनी चकित पर्दै सुनाउँछिन्, “आफ्नै मानवअधिकार नबुझेकी म, एम्नेस्टी इन्टरनेसनलमा आबद्ध भएर अरूको मानवअधिकारको पैरवी गर्थें ।”

पाठ्यपुस्तक र पाठ्यवस्तुभन्दा बाहिरको ज्ञान र गतिविधिले उनलाई बाह्य दुनियाँसँग क्रमशः चिनापर्ची गराउँदै लग्यो । र, आफ्नो क्षितिज निर्माणमा सघायो । 

“राष्ट्रियस्तरको वक्तृत्वकला प्रतियोगितामा तृतीय स्थान ओगटेपछि कलेजले ब्यानर टाँगेर विद्यार्थी तान्यो पनि,” फेरि हाँस्छिन् सरला । 

उनको क्षमतामा साँध लगाउन सिनर्जी एफएम पनि सहयोगी बन्यो । तिनताक चितवनमा भर्खर सिनर्जी एफएमले प्रशारण सुरु गरेको थियो । सानैदेखि रेडियोमा बोल्ने हुटुहुटी थियो सरलाको । त्यही उत्कट अभिलाषाले डोर्‍याएर उनलाई आवाजको जगतमा पु¥याएको थियो ।

छोटो समयमै उनको ख्यातिले उचाइ चुम्यो । त्यतिबेलाको प्रसिद्धि सम्झिँदा उनी अहिले पनि प्रशन्न हुन्छिन् । भित्री मन (अभ्यन्तर) मा उमङ्गको उछाल पैदा हुन्छ ।

रेडियो प्रस्तोताको प्रसिद्धिले चितवनको आकाश चुमे पनि किन–किन उनलाई त्यो क्षणभङ्गुर लाग्थ्यो । उनको चैतन्यले त्यहीँको न्यानोमा नरम्न र महाभारत पर्वतमालाभन्दा पर पनि क्षितिज छ भनेर सोच्न घोचिरहन्थ्यो ।

छोरी अर्थात् बोन्साई
रूख प्रकृतिको आँगनमा निर्वाध हुर्कन चाहन्छ । क्षमताले भ्याएसम्म हाँगा फिँजाउन चाहन्छ । उचाइको श्रेणी पार गर्दै आकाश छुन चाहन्छ । तर, राज्य प्रणाली र त्यसैले निर्माण गरेको चेतनाले रूखका जरा छिमलेर, रीति, थिति, परम्पराका तारले जेलजाल पार्दै उसको स्वतन्त्रतालाई आफूले चाहेको रूप, आकारमा ढाल्छ । आधुनिक समाजमा हाम्रा छोरीहरू बिम्बमा तिनै बोन्साई हुन् ।

तर, सरलालाई यो जेलिएको र रुटिनमा बाँच्ने जिन्दगी मञ्जुर थिएन । उनले कतै पढेकी थिइन्– दुःखको रेलमा यात्रा गरेको गर्‍यै गरिन् मेरी आमाले ! उनलाई यो वाक्य पढ्दा मात्रै पनि अत्यास लागेर आउँथ्यो । तालुको पसिनाले पैताला लछप्पै भिजाउँथ्यो । 

यो समाजका छोरीको प्रतिनिधि पात्र उनी पनि थिइन् । अतिरिक्त कार्यकलापमा उनी विलक्षण थिइन् । चेतनाका हिसाबले पछौटे थिइनन् । तर, पनि उनी आम छोरीहरूको दैनिकीबाट बाहिर आउन सकेकी थिइनन् । प्रारब्धको फल करार गरिएको महिलाको जिम्मेवारीको अविच्छिन्न हिस्सा चुलेधन्दाबाट बाहिर उम्कन सकेकी थिइनन् ।

स्वतन्त्रताको स्वआकाशमा उडान भर्ने उपाय खोजी गर्ने उनको आफ्नै सूत्र थियो । 

रुटिन जीवनको दुरत्यय–दुस्तर भँगालाबाट उम्कन उनी किताबको सहारा लिन्थिन् । विश्वविख्यात व्यक्तित्वहरूको जीवनीमा आँखा डुलाउँथिन् । “अब्राहम लिङ्कनको जीवनकथाले मलाई बढ्ता उद्वेलित गर्थ्यो । शून्यमै भए पनि उचाइ लिन सक्छुजस्तो आत्मविश्वास पैदा गर्थ्यो,” उनको अनुहारमा पुनः कान्ति छाउँछ ।

परम्परागत मूल्यको लक्ष्मण–रेखा नाघ्न नसकेको विवाह–संस्थाप्रति पनि उनको कुनै रुचि थिएन । स्कुल–कलेज पढ्दाताक नै कक्षाकोठाका कुनै साथी–सङ्गीले बिहे गर्न लागे उनीहरू खिस्याउँथे । बिल्ला हान्थे– कुनचाहिँ सहिद हुन लागेको हो ? 

त्यतिबेला छोराछोरी दुवैको बिहेप्रति एकै भाष्य थियो । स्नातक तह पढ्न थालेपछि त्यो सरेर छोरीमा सीमित भयो । 

“अरूले दिएको ख्याति, प्रसिद्धि क्षणिक हुन्छ । त्यसले व्यक्तित्वको निर्माण गर्दैन भन्ने मेरो सुरुदेखिकै मान्यता थियो,” उनी सगर्व सुनाउँछिन् ।

उनमा आत्मनिर्भरताको ठूलो भोक थियो ।

“सुकुलमै बसे पनि आफ्नै सान–शौकतले बस्छु भन्ने थियो,” उनी आफ्नो अभिप्साबारे प्रकट गर्छिन् ।

अर्को, उनी स्वतन्त्रताको ठूलो प्यासी थिइन् । यस कारण कि, हुर्कंदो उमेरमा स्वतन्त्रताका लागि निकै तड्पनु प¥यो ।


जब सिनर्जीको साँघुरो क्षितिजले थेगेन
उनको स्वतन्त्रताको उडानमा सिनर्जीले भरथेग गरेकै थियो । नेमफेमको पनि दुःख थिएन । चोक–चौतारा, बसपार्कमा उनको आवाजका प्रशंसक थिए । जीवनले सेलिब्रिटीको रसस्वादन गर्दै थियो ।

तर, उनलाई त्यो आकाश निकै साँघुरो लाग्न थाल्यो । उनले हावामा पङ्ख फिँजारिन् । काठमाडौंतिर वेग हानिन् ।

काठमाडौं उनका लागि अन्जान सहर थियो । सहरका भित्री गल्ली, इन्द्रधनुषतुल्य झिलीमिली कुनासँग परिचय थिएन । तै पनि मौका मिल्नासाथ काठमाडौंको उडान भर्थिन् । सिनर्जीमा प्रशिक्षण दिन जाने सर/म्याडमको अफिस छापा हान्थिन् । यस्तो गर्दागर्दै उनले सञ्जाल विस्तार गरिसकेकी थिइन् ।

“तपाईंलाई भनूँ– वास्तवमा त्यो मेरो सम्भाव्यता–अध्ययन थियो,” काठमाडौंको बाटो खोज्दाको क्षण बताउँछिन् सरला ।

काठमाडौं आउँदा उनले भेट्ने मानिसको सूचीमा पहिलो नम्बरमा हुन्थे– हरिवंश आचार्य । त्यसपछि आउँथे मदनकृष्ण श्रेष्ठ, दुर्गानाथ शर्माहरू । उनीहरूसँग सरलाले चितवनमै हुँदा दोस्ती जमाइसकेकी थिइन्– घरमा भएको एसटीडी, आईएसडी फोनमार्फत । फुर्सद मिल्नेबित्तिकै हरिवंशलाई फोन घुमाइहाल्थिन् । गफ गर्न हिच्किचाउँदिनथिन् ।

“मदनकृष्णले त त्यतिबेलाको कुराकानी अझै भुल्नु भएको छैन । अहिले पनि भेट हुनेबित्तिकै भन्नुहुन्छ– कति स्यानो स्वरले बोल्थिन् यिनी,” उनको आँखामा अग्रजप्रति सम्मानभाव झल्कन्छ ।

काठमाडौंको उडान भर्दा उनले बाटो तय गरिसकेकी थिइन्– एचआईभीबारे गहन र फराकिलो अनुसन्धान गर्ने । वृत्तचित्र आदि निर्माण गर्ने ।

रिसर्चको ज्ञान त शून्य छँदै थियो, खल्ती पनि दाम्रै थियो । तर, दृढ सङ्कल्प र इच्छा शक्तिका अघिल्तिर तिनीहरूको केही जोर चलेन ।

काठमाडौंको दीर्घकालीन उडान भरेको तेस्रो दिन नै राजीव काफ्लेलाई भेट्न सरला उनकै अफिस पुगिन्, नव किरण । काफ्लेसँग टेलिभिजनको पर्दामाबाहेक अन्यत्र देखेकी थिइनन् । फोनमा कुरा भएका पनि होइन ।

वेबसाइटमार्फत नम्बर पत्ता लगाएर कार्यालय पुगेको के थिइन्, काफ्ले नभएको जानकारी पाइन् । एकछिनपछि आउलान् नि त भनेर पर्खिइरहेकी थिइन् । १७ जना युवाले प्रश्नको घेरा हाले ।

कोही मनोसामाजिक परामर्शदाता भन्दै प्रश्न तेर्स्याउन थाले । कोही दुर्व्यसनीविरुद्धका अभियन्ता बने । कोही मनोचिकित्सक बने । धाराप्रवाह प्रश्न गरे । जवाफ दिँदादिँदै सरला आहत बनिन् ।

युवाले नाटक गरिरहेका रहेछन् । वास्तवमा उनीहरू कोही पनि मनोचिकित्सक वा परामर्शदाता थिएनन् । दुव्र्यसनी रहेछन्, लागुलतबाट उम्कन चाहिरहेका ।

बिहान १० बजेदेखि साँझ ७ बजेसम्मको अविच्छिन्न प्रश्नोत्तरबाट सरलाले त्राण पाइन् । बाहिरबाट फर्किएका काफ्लेले कार्यकक्षमा बोलाए । सरला त्यसदिनको घटनाको वृत्तान्त पस्किन्छिन्, “ती युवाले वास्तवमा परीक्षा पो लिइरहेका रहेछन् ।” कार्यकक्षमा पुग्नेबित्तिकै काफ्लेले हात फैलाए, “म मनीषा दिदी (सिंह) लाईजस्तै आदर गर्छु तपाईंलाई । केटाहरूले दिनभरि एकोहोरो प्रश्न गर्दा पनि तपाईं डेग चल्नुभएन ।”

कार्यकक्षामा पुग्नेबित्तिकै काफ्लेले हात फैलाए– “म मनीषा दिदी (सिंह) लाईजस्तै आदर गर्छु तपाईंलाई । केटाहरूले तीन घण्टा एकोहोरो प्रश्न गर्दा पनि तपाईं डेग चल्नुभएन ।”

उनले अध्ययन–अन्वेषणको दोस्रो उडान् भरिन् ।

तिनताक एचआईभी सङ्क्रमित भन्नेबित्तिकै समाजले हेयभावले हेर्थ्यो । सकेसम्म घृणा भावले हेर्थ्यो । उनीहरूको अवस्था नियाल्न स्वयम्सेवी यात्रा सुरु गरिन् ।

“त्यतिबेला एचआईभी सङ्क्रमितहरूसँग बसेर खाना खाने म नै हुँला,” उनी दाबी गर्दै भन्छिन्, “पछिसम्म उनीहरू मलाई चेली भन्थे । मैले माइती भनेर सम्बोधन गर्थें ।”

रिसर्च त तयार भयो । अर्को अन्योल थपियो– कहाँ प्रस्तुत गर्ने ? 

उनको दिमागमा दुर्गानाथ शर्माको नामले फन्का मारिरहेको थियो । फाइल बोकेर नेपाल टेलिभिजन हानिइन् ।

सरलालाई देख्नेबित्तिकै शर्मा असमञ्जसमा परे । कुरा गर्छु भन्नु कि, जानुस् भन्नु ? अनुहारमा दोधार जनाउने रेखा उत्रिइरहेका थिए ।

जे त होला भनेर उनले कुराको पोयो फुकाइन् । “एचआईभीबारे मेरो अध्ययन–अन्वेषण सुनेपछि उहाँ उत्साहित हुँदै अन्तर्वार्ता पो लिन्छु भन्न थाल्नुभयो,” उनी हाँस्दै घटनाको इतिवृत्तान्त सुनाउँछिन् ।

शर्मासँगको कुराकानी सकिएकै थिएन । ढोकामा इन्द्र लोहनी खडा भए । त्यसदिनको कुराकानी सुनाउँदा सरला आज पनि गद्गदे हुन्छिन्, “लोहनी देख्नेबित्तिकै दुर्गानाथ सरले भन्नुभयो– सरलाको कुरा सुन्नुहोस् । उहाँ त खतरा रिसर्चर हुनुहुँदो रहेछ ।”

दुर्गानाथको आज्ञा शिरोपर गर्दै लोहनीले सरलाको कुरा सुने । 

“उहाँले के, कसो भन्नुहोला भनेर म भयभित थिएँ, इम्प्रेस्ड्.. पो भन्नुभयो,” थप पुलकित देखिन्छिन् सरला ।

पछि लोहनीसँग मिलेर एउटा टेलिभिजन कार्यक्रम पनि तयार पारेकी थिइन् । त्यो पनि सम्झनामा नै सीमित भयो ।


नागरिक आन्दोलनकी ‘फुच्ची’ सरला
२०६२ कात्तिक २८ गते कान्तिपुर दैनिकको आमुख पृष्ठको सिरानको कुनामा एउटा युवतीको तस्बिर छापिएको थियो । राजाको प्रत्यक्ष शासन र तिनले सिर्जना गरेको बाधा–व्यवधानको पर्वाह नगरी ती युवती निस्फिक्री सडकमा निस्किएकी थिइन् । र, गगनभेदी नारा लगाएकी थिइन् ।
 
ती युवती उनै सरला थिइन् । जो सामाजिक चेतनाको रापमा खारिएको राजनीतिक चेतना बोकेर सडकमा होमिएकी थिइन् । परिवर्तनको आन्दोलनमा समाहित भएकी थिइन् ।

२०६२–६३ को जनआन्दोलनका सुरुआती दिनमा आन्दोलनको अङ्ग बनेकी सरला उत्कर्षतिर आफैं नागरिक आन्दोलनकी अगुवा बनिन् । त्यतिबेलाको रोचक घटना उधिन्दै सरला सुनाउँछिन्, “सबैजना जेल परेपछि नागरिक आन्दोलनको झोला मेरो हातमा थियो । कृष्ण खनाल भन्नुहुन्थ्यो– नागरिक आन्दोलनको विज्ञप्ति तपाईंले नै निकाल्दा हुन्थ्यो । तर, सानी हुनुभयो, पत्याउँदै पत्याउँदैनन् । म जेलमा रहेका नागरिक अगुवाहरूलाई फोन गरी गरी आन्दोलनबारे अपडेट गराउँथेँ ।”

२०६२–६३ को आन्दोलनताक उनी पत्रकारको भूमिकामा उदाइसकेकी थिइन् । तर, जनआन्दोलन अवधिभर उनले सडकमै डेरा जमाइन् । स्वतन्त्र पत्रकारको भूमिका ओझेल पार्दै कर्फ्यु र निषेध आदेशका घेरा तोडिरहिन् ।

“पत्रकारिता गरेर भरपेट खान नसक्ने होइन । तर, भोकै अनिँदै आन्दोलनमा आएका नागरिक देखेर उनीहरूजस्तै बन्न मन लाग्थ्यो । स्वयम्सेवी ढङ्गले खट्न मन पर्थ्यो,” जनक्रान्तिमा भोकै खट्नुको कारण बताउँछिन् सरला ।

देशमा लोकतन्त्रको झुल्के घाम उदाएपछि नागरिक आन्दोलनको झोला बिसाइन् । सडकमै अर्को कुनामा थन्क्याएको पत्रकारको झोला बोकेर नेपाल एफएमतिर सोझिइन् ।

नेपाल एफएम पुगेको केही समयमै उनलाई बेग्लै छटपटी भयो । चितवनको आकाश छाडेर उनी काठमाडौंमा थन्किन आएकी थिइनन् । नेपाल एफएमको कुर्सीमा बस्दाबस्दा खुट्टा कुँजिएजस्ता भए । खुट्टा कुँजिए त तन्काउन सकिँदो हो, चेतना नै खुम्चिएजस्तो लाग्यो । 

“शरीर नेपाल एफएममा हुन्थ्यो, मनले कर्णाली वेग हानिसकेको हुन्थ्यो । वास्तवमा भन्ने हो भने कुर्सीमा बसेर गर्ने कामप्रति मोह भङ्ग भइसकेको रहेछ तर कर्णाली जाने मेसो मिलिरहेको थिएन,” उनी देशको सुदूरपश्चिम भूभागको पहिलो उडान भर्दाको बखत सम्झिन्छिन् ।

सुदूरका पहाडबाट सिंहदरबारतिर फर्किंदा

परिवर्तनको हरेक लडाइँपछि सिंहदरबारका शासक बदलिए । तर जनताको घरबारमा परिवर्तनको बाछिटासम्म पुगेन । काठमाडौंमा बसेर कर्णालीका धेरै कथा बुनिए । अभाव र वेदनाको बिम्ब अखबारका पाना भरीभरी पोखिए ।

तर, उनको सोचाइ भिन्न थियो ।

सुदूरपश्चिम पुगेर त्यहाँको नाडी छाम्दै कर्णालीको सुस्केरा अनुभूत चाहिन्थन् सरला । कर्णालीको आँखाबाट सिंहदरबारको परिवर्तन दृष्टिगोचर गर्न चाहन्थिन् । कसैको ‘नुन’ खाएर गए, त्यसैको सोझो गर्नुपर्छ भनेर उनले मसिनोसँग बुझेकी थिइन् । र त, स्वतन्त्र उडानलाई प्रिय ठानिन् ।

उनको मथिङ्गलमा सुदूरपश्चिम दुरुह भूगोलको नाम थियो । पहिलोपल्ट सुदूपश्चिमको भूखण्ड टेक्दा कल्पनाभन्दा कष्टसाध्य पाइन् । छातीमा वेदनाको राँको बल्यो । त्यहाँको पीडासँग एकाकार हुन मन लाग्यो ।

काठमाडौं र साना सहरको डुमेरो उडान भरेकी सरलाले रोग, भोग र शोकले थलिएका अनिदा पहाड छिचोल्दै ६ जिल्लाको मात्रै उडान भर्न सकिन् । पत्रकारितामा सबैभन्दा ठूलो पाठशाला त्यही भयो उनलाई । जसले उनलाई अभावको भावसँग एकाकार हुन सिकायो । देश भनेको काठमाडौं मात्रै होइन भनेर बुझ्न सिकायो । सिंहदरबारभन्दा पर्तिर शासकको आँखा पुग्दैन भनेर बुझ्न सिकायो । र, सबैभन्दा ठूलो देशको दुर्दशा झल्झल्ती आँखामा आउने कथा भन्न सिकायो । शब्दमा तस्बिर उन्न सिकायो ।

सरलाको कर्णाली तृष्णा मेटिएको थिएन । काठमाडौं आएलगत्तै कर्णालीको पीडाले पिरोल्न थाल्यो । त्यहाँका कथा–व्यथाले मन भतभती पोल्न थाल्यो । दोस्रोपल्ट उडान भर्ने बहाना खोज्न थालिन् ।

पहिलो उडानलगत्तै प्रोजेक्टको प्रस्ताव नआएको होइन । स्वास्थ्य मन्त्रालयका एकजना अधिकारीले परियोजनाको प्रस्ताव पेस गर्न आग्रह गरेका पनि हुन् । तर, प्रतिवेदन बनाएर त्यहाँका दुःख बेच्ने प्रस्ताव उनको आत्माले स्वीकार गर्न मानेन ।

दोस्रोपल्ट उडान भर्दा जुम्ला गएर त्यहाँका रेडियोमा स्वयम्सेवी बन्ने इच्छा थियो । खै के भएर हो मिलेन । त्यसपछि उनले बाजुराको वेग हानिन् ।

“बाजुरा जाने योजना बनाउँदा रेडियोले ६ महिनादेखि तलब दिएको थिएन । बैंक खातामा जम्माजम्मी दुई सय रुपैयाँ हुँदो हो,” उनी खित्का छाड्दै भन्छिन्, “त्यसपछि के धितो राखेँ अहिले भन्न सक्दिनँ, फाइनान्सबाट ऋण काढेर डुमेरो लगाउन कर्णाली हानिएँ ।”

अछामको साँफेबगरमा बाजुराका पत्रकार लिन आएका थिए । भीमकाय पहाड । न समात्ने केही लहरो, बेलो भेटिन्छ, न पैताला अट्ने नै बाटो छ । ढुङ्ग्यान भिर छिचोल्दै बाजुरातर्फ अघि बढिन् । शिर–पुछार नदेखिने भिर देख्दा मन कहालिएर आउँथ्यो । कालले घेरा हालेको प्रतीत हुन्थ्यो ।

“न डराउनुहोस् न बहिनी, तपार्ईं डराउनुभयो भने बाजुरा को आउला ?,”  स्थानीय पत्रकार भन्थे ।

भिर छिचोलेपछि सरला तन्दुरुस्त भइहाल्थिन् । त्यहाँको माटो र मुटुसँग भिज्न रत्तिभर समय लाग्दैनथ्यो ।

सात महिना रेडियो बाजुरामा स्वयम्सेवी बनिन् । त्यो अवधिमा उनले रेडियो बाजुरालाई राष्ट्रिय सञ्जालमा जोडिन् । “यात्राको दौरानमा मैले राजाकोजस्तो सम्मान, बालककोजस्तो स्नेह, चराको जस्तो स्वतन्त्रता, तीनवटा जीवन बाँचेँ,” उनलाई आफू हिँडेको बाटो र आफ्नो पैतालाको डोबप्रति सदैव गर्व छ ।

बाजुरा बस्दा पनि उनले छेउछाउका जिल्ला फेरो मारिरहन्थिन् । रारा पुगेर कर्णाली यात्रा बिट मार्ने धोको थियो । मनले अझै मानेन । कालीकोटको रेडियोमा २० दिन स्वयम्सेवा गरिन् । त्यहाँबाट जुम्ला पुगेपछि कर्णाली यात्राको दोस्रो चक्कर पूरा भयो ।

बाजुरा बस्दा बडीमालिकादेखि द्यौडासम्मको साक्षात्कारले एउटा सांस्कृतिक चक्र पूरा गरेको थियो । जुम्ला आइपुग्दा गाडी देखेर रत्तिने भइछन् सरला । 

“जुम्ला आइपुगेपछि बल्ल गाडीको दर्शन पाएको थिएँ । यो चढेपछि हिँड्नु पर्दैन ? गीत पनि बज्छ ? जस्ता प्रश्नहरू मेरो मनमा उब्जिएको थियो । त्यसपछि मात्रै मैले सुदूर र कर्णालीको भूखण्डसँग आफू एकाकार भएको पाएँ,” उनी हाँस्दै सुनाउँछिन् ।

फेरि शून्यबाटै सुरुआत
सुदूरपश्चिम र कर्णालीका व्यथाका अनगिन्ती पोका–पन्तुरा बोकेर फर्किएकी थिइन् । क्यामेरा र ल्यापटप भरीभरी सामग्री थिए । तिनलाई आफ्नै कलमको लयमा पस्किए मात्रै जीवनको एउटा कालखण्ड व्यतीत हुन्थ्यो । तर, सुरु गर्ने कहाँबाट ? अन्योलग्रस्त थिइन् सरला ।

बाजुरामै छँदा उनले नायिका नम्रता श्रेष्ठको स्क्यान्डलबारे सुनेकी थिइन् । नम्रताको करिअर ब्रेक लागेको थियो । उनी गम्भीर अवसादको गर्तमा धकेलिइसकेकी थिइन् ।

उनको जीवनमा आइपरेको वज्रपातको बारेमा कसैले मुख खोलेका थिएनन् । सरलाले मुख खोल्ने आँट गरिन् । नम्रतामाथि यौनहिंसा नै भएको हो भन्ने उनको निचोड थियो । त्यसलाई सिद्ध गर्न उनले हप्तौं लगाएर अनुसन्धान गरिन् । कानुनका हरफहरफ पढेर पुष्टि पनि गरिन् ।

रिसर्चलाई आलेखको रूप दिएर विभिन्न पत्रिका पठाइन् पनि । तर तीन महिनासम्म कोही पनि छाप्न तयार भएनन् ।

काम विशेषले उनी कालीकोट पुगेकी थिइन् । फर्किएर दैलेख आइपुग्दा बाटैमा फोन आयो । हिमाल खबर पत्रिकाबाट किरण नेपालले फोन गरेका रहेछन् ।

फोन उठाउनेबित्तिकै उनले भने, “तपाईंको लेखलाई थोरै परिमार्जन गर्नुपर्‍यो सरलाजी ।”

ठाडो स्वभावकी सरलाले जवाफ दिइन्, “मैले अनुहार देखाउन लेख छापेको होइन । जसरी लेखेको छु, त्यसरी जान्छ भने जाओस् ।” 

अनुसन्धानमा आधारित भएकाले परिमार्जनको आवश्यकताबोध उनलाई थिएन ।

किरणको अभिप्राय थियो– भिडिओबारे नम्रताले मुख खोलेकाले उनको भनाइलाई थोरै भए पनि जोडौं । उनी सहमत भइन् । लेख छापियो ।

त्यसपछि सरलाले पछाडि फर्कनु परेको छैन । सरलाको अखबारी लेखनले व्यावसायिक गति लिएको लियै छ । देशदेशावर डुलेर अध्ययन, अन्वेषण गर्ने र आलेख पस्कने क्रमले तीव्रता पाएको छ ।

डुमेरो कृति आउनुपूर्व नै डुमेरो लेखकका रूपमा स्थापित भइसकेकी थिइन् सरला । 

र, डुमेरो

डुमेरोसँग सरलाको पैत्रिक साइनो छ । अझ भनौं न, डुमेरो शब्दले पितृस्नेहको अन्त्यहीन भाव बोक्छ । र, बाबुप्रतिको सम्मान अझ प्रगाढ भएर आउँछ ।

सरला सबैखाले पूर्वमान्यताविरुद्ध डटेर उभिइन् । परम्परागत (पितृ) सत्ताका कुनै पनि धर्सा (मान्यता)हरूलाई पैतालाले मेटेर जीवनको यात्रा अघि बढाइरहिन् । 

बाल्यकालमा पनि उनी उद्देश्यरहित र उद्देश्यसहित पनि गाउँ फन्का मारिरहन्थिन् । दिनभरि डुलेर साँझमा घर फर्कंदा बाबुले उही शब्द दोहोर्‍याउँथे– “कहाँ–कहाँ डुमेरो लगाएर आइस् ?”

बाल्यावस्थादेखि पछ्याएको डुमेरो शब्दले उनलाई अखबारी लेखनमा प्रौढ भइसक्दा पनि पिछा गर्न छाडेको छैन । 

जिन्दगीको पर्याय नै बनेकाले हुनुपर्छ, जीवनको पहिलो औपन्यासिक कृतिलाई पनि उनले डुमेरो नै नाम दिएकी छन् ।

“मानिसहरूले डुमेरोलाई उद्देश्यरहित, वेपर्वाह घुमाइको संज्ञा दिइरेका छन्,” डुमेरोको शाब्दिक अर्थ पहिल्याउँदै उनी भन्छिन्, “जीवनलाई खोज्नु, अन्वेषण गर्नु र पर्गेल्नु नै वास्तवमा डुमेरोको सही चिनजान हो ।”

सरलाको मात्रै होइन, आम मानिसहरूको जिन्दगी पनि डुमेरोभन्दा पर छैन । कोक्रोदेखि चिहानसम्मको यात्रामा मानिसले अनेकौंपटक डुमेरो लगाउँछ ।

०००

बाल्यकालमा नायिकाहरूबारे सरलाको बेग्लै दृष्टिकोण थियो । कहीँ, कतै नायिका आउने भए रे भन्ने सुनेपछि उनी पनि भिडमा मिसिन पुग्थिन् । टाढै बसेर हेर्थिन् ।

हिरोइनहरू र्‍याकमा सजाइएका काँचका पुतलीजस्ता लाग्थे । यिनीहरूलाई दुख्दा पनि दुख्दैन । यिनीहरू जीवन तत्त्वभन्दा बाहिर चम्किला वस्तुमात्रै हुन् । यिनीहरू त अमूर्त प्राणी हुन् र फगत सजाउन बनाइएका हुन् जस्ता अनुभूतिले घेरिन्थिन् ।

जीवन बुझ्न थालेपछि नायिकाबारे बेग्लै मानक पाइन् । परम्परागत सत्ताले निर्माण गरेको सौन्दर्य चेतले नायिकालाई सुन्दरताको बिम्ब बनाएको थियो । यौनको आँखाबाट मात्रै हेर्थ्यो । र, यो महिलाको वस्तुकरणको एउटा प्रक्रिया नै थियो ।

पत्रकारिताको दौरानमा उनले थुपै नायिकाहरूसँग अन्तरङ्ग कुराकानी गरिन् । भुवन चन्द, करिष्मा मानन्धरदेखि रेखा थापाहरूसम्मको जिजीविषा–जिगीषासँग चिनापर्ची भयो । ती नायिकाहरूभित्र अनेकौँ सरलाहरू बाँचिरहेका रहेछन् । जो करिअरका लागि भगिरथ सङ्घर्ष गरिरहेछन् । बाह्य चमकधमकका लागि धेरै अन्धकार खेपेका छन् । अँध्यारो भोगेका छन् । 

वास्तवमा भन्ने हो भने उनीहरूले रिल लाइफमा भन्दा बढ्ता आँसु रियल लाइफमा बगाएका छन् ।

नायिकाहरूको जीवनको उतारचढाव, हाँसो–रोदन उक्लँदो र खस्कँदो लोकप्रियतासँग साक्षात्कार भएपछि उनीहरूप्रति सम्मान जाग्यो । अनुभूतिसँग एकाकार पनि पाइन् । 

“डुमेरो उनीहरूप्रतिकै सम्मान त हो,” सरला उपन्यासको अन्तरवस्तुभित्र प्रविृष्ट हुन्छिन् ।

सरलाले धेरै नायिकाको करिअरको उत्कर्षमा उनीहरूको जीवन सङ्घर्षलाई पत्रिकाको आमुख लेखका रूपमा उतारेकी छन् । प्रायः आउने प्रतिक्रियाहरूमा उही पुरुषवादी सौन्दर्यचेत प्रतिबिम्बित हुन्थ्यो । “नायिका हो भने किन उसका यौनका कुरा समेटिनस् ? उसका गसिप शब्दमा नउतारी लेखले पूर्णता पाउँछ ?,” यावत् प्रश्नहरूको सामाना गर्नुपर्थ्यो ।

त्यसले सरलालाई चिमोटेन मात्रै, नायिकाहरूप्रति सम्मान भाव जगायो । आधा शताब्दीदेखि उद्योग पनि बन्न नसकेको चलचित्र क्षेत्रमा आँसु–पसिना बगाइरहेका नायिकाहरूकै कथा भन्नुपर्छ भन्ने लाग्यो र डुमेरोसम्म डोर्‍यायो ।

“हरेक मानिस आफ्नो जीवनको हिरो हो । आफ्नो सङ्घर्षको नायक हो । हरेक मानिसभित्र नायक चरित्र निहित हुन्छ । डुमेरो केवल हिरोइनहरूको कथा होइन,” कुराकानी बिट मार्दै सरला भन्छिन्, “हिरोइनलाई बिम्ब बनाएर आफ्नो अस्तित्व निर्माणका लागि पौंठेजोरी खेलिरहेका र दिनहुँ आफूलाई सावित गरिरहेका हरेकको समष्टिगत कथा हो । मैले बाँचेको र मेरो समयको कथा हो यो ।” 

(सरलाकृत डुमेरो नेपालय प्रकाशनबाट केही साताअघि मात्रै बजारमा आएको हो ।) 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १३, २०७७  ०९:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !