site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बडी बिल्डिङले जन्माएको भारोत्तोलन !
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा भारोत्तोलन खेल २०३६ सालमा संस्थागत रुपमा आधुनिकीकरण गरी विकास भएको थियो । सोही वर्ष राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १४ वटै अञ्‍चलका भारोत्तोलकहरू झिकाइ प्रशिक्षण प्रदान गर्दै पहिलो राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको आयोजना गरेको थियो ।

माघ-फागुनमा काठमाडौंमा सम्पन्‍न प्रथम राष्ट्रिय भारोत्तोलन प्रतियोगिताबाट अघि बढेको यो खेलले अहिलेसम्म नेपाललाई थुप्रै अन्तर्राष्ट्रिय पदक दिलायो । अझभन्दा अफिसियल खेलमा नेपाललाई सर्वाधिक पदक दिलाउने खेल भारोत्तोलन नै बनेको छ । तर, यसले अन्य खेलजस्तै चर्चा पाउन भने सकेको छैन ।

दक्षिण एसियाली खेलकुद (साग) को पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आएको भारोत्तोलनले धेरै स्वर्ण पदक जित्‍न नसके पनि कास्य र रजत भने सर्वाधिक छ । तर, भारोत्तोलन खेलको विकास र विस्तार भने पहिलेभन्दा अहिले झनै खस्किएको पाइन्छ । अन्य खेल संस्थाभन्दा यसको विकासतिर परिषद्ले पनि खासै चासो देखाएको पाइँदैन ।  

Prabhu Bank
Agni Group
NIC Asia

भारोत्तोलनलाई संस्थागत रुपमा आधुनिकीकरण गर्न जुटेका पार्थसारथि सेन गुप्ता पनि यो स्विकार्छन् । “हाम्रो खेलकुद नीति  बन्‍न सकेको छैन । सरकारले खेलकुदलाई प्राथमिकता दिँदै पोलिसि बनाए पो हामीले त्यसलाई फलो गर्ने हो,” उनले भने, “हामीले अहिलेसम्म भारोत्तोलनलाई स्कुल स्तरसम्म पुर्‍याउन सकेका छैनौं । अफिसियल खेलमा नेपाललाई सर्वाधिक पदक दिलाउँदा पनि धेरै युवा पुस्ताले यो पनि खेल छ भनेर बुझ्‍न सकेका छैनन् ।”

भारोत्तोलन संघ संस्थापकमध्येका एक सदस्य तथा पूर्वप्रशिक्षक समेत रहेका गुप्ताले नेपाललाई यति धेरै पदक दिलाउँदा पनि खेलको विकास र विस्तार नहुनु दुखद रहेको बताए ।

Global Ime bank

बडी बिल्डिङले जन्माएको भारोत्तोलन
२०३६ सालमा भारोत्तोलन संघ राखेपमा दर्ता हुनुअघि नेपालमा यसबारे कसैलाई जानकारीसमेत थिएन । यस्तो अवस्थामा प्रतियोगिताको अन्तर्राष्ट्रिय नियम झनै महत्त्वपूर्ण रह्‍यो । यस्तोमा पनि केही बडी बिल्डरहरूको पहलमा नेपाला भारोत्तोलनलाई स्थापना गराएरै छाडियो ।

विसं २०३१-३२ सालतिर काठमाडौं र विराटनगरका केही बडी-बिल्डरले राखेपमा बडी बिल्डिङ संघ दर्ताको प्रयास गरे । तत्कालीन सदस्य-सचिव कुमार खड्कविक्रम शाहको पालामा राजभगत प्रधान, रमेश खनाल, नरेन्द्रनाथ अधिकारी, पार्थसारथि सेन गुप्तालगायतको समूहले बडी बिल्डिङ संघ दर्ताका लागि निकै पहल गरेका थिए ।

त्यस समय उनीहरू विराटनगरबाट काठमाडौंमा कबड्डी प्रतियोगिता खेल्न आएका थिए । तत्कालीन पूर्वाञ्चलबाट प्रथम राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुने टोलीमा प्रायः बडी बिल्डरहरू नै थिए । काठमाडौं भेट भएका थप बडी बिल्डरहरूसँगको सल्लाहमा उनीहरू संघ दर्ता गर्ने प्रयासमा जुटेका हुन् । 

“२०३१–३२ सालतिर काठमाडौं र विराटनगरका केही बडी बिल्डर मिलेर संघ दर्ताका लागि राखेप सदस्य-सचिवसमक्ष पहल गर्‍यौं । हामीले विराटनगर, धरान, काठमाडौंलगायत क्षेत्रमा बडी बिल्डिङ प्रतियोगिता गर्दै आएका थियौं,” गुप्ताले भने, “हामीले हरेक वर्ष बडी बिल्डिङ प्रतियोगिता गरिरहने भएकाले यसलाई संस्थागत गर्नुपर्छ भन्‍ने लाग्यो । यसका लागि चार-पाँच वर्ष धायौं तर भएन ।”

यसै क्रममा राखेपको सदस्य-सचिवमा शरदचन्द्र शाह आइसकेका थिए । यही समूहले उनलाई पनि बडी बिल्डिङ संघ दर्ताका लागि पहलको आग्रह गरे । तर, यसपटक पनि संघ दर्ता हुन सकेन । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीमा बडी बिल्डिङ संघ नभएको भन्दै सदस्य-सचिव शाहले राखेपमा दर्ता गर्न नमिल्ने बताए । तर, उनले राखेपमा दर्ता गर्न सकिने यसै खेलसँग मिल्दो जुल्दो अर्को खेलको नाम दिए, त्यो थियो भारोत्तोलन । त्यसपछि बडी बिल्डरहरूको समूहले २०३६ सालमा भारोत्तोलनको संघको दर्ता गरे र सोही वर्षको माघ-फाल्गुणमा काठमाडौंमा पहिलो राष्ट्रिय भारोत्तोलनका प्रतियोगिताको आयोजना भयो । 

ढुङ्‍गा उचालेर भारोत्तोलन प्रतियोगिता छनोट
संघ दर्तालगत्तै पहिलो राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने तयारी भयो । तर, कसैलाई पनि भारोत्तोलनको अन्तर्राष्ट्रिय नियम भने थाहा थिएन । जसोतसो गरी अन्तर्राष्ट्रिय नियमअनुसार ६ वटा तौल समूहमा विभाजन गरियो । प्रतियोगिताका लागि अधिराज्यभरका सबै अञ्‍चललाई आमन्त्रण गरियो । तर, देशभरका १४ अञ्‍चल मध्येबाट ११ अञ्‍चलका २९ खेलाडीले सहभागिता जनाए ।

प्रतियोगितामा सहभागिता हुनका लागि छनोट गर्न अधिकांश अञ्‍चलसँग कुनै खेल सामग्री भने थिएन । खेल सामग्री नभएपछि ढुङ्‍गा उचाल्दै अञ्‍चलबाट खेलाडी छनोट गरिएको थियो ।

“प्रतियोगितामा सहभागिता जनाउन अञ्‍चललाई आमन्त्रण त गरियो । तर, उनीहरूसँग छनोट खेल खेलाउन सामग्री थिएन । ढुङ्‍गा उचाल्दै छनोट गरेर प्रतियोगिताका लागि खेलाडी काठमाडौं पठाएको थियो,” गुप्ता स्मरण गर्छन्, “हामीलाई भारोत्तोलनको टेक्निकबारे कुनै जानकारी थिएन । हामीले आफ्नो ताकतका भरमा भारवहन गर्‍यौं ।”

पहिलो राष्ट्रिय भारोत्तोलन प्रतियोगितापछि संघका संस्थापक सदस्य रमेश खनाल पाकिस्तान पुगे । उनले पाकिस्तानबाट भारोत्तोलनसम्बन्धी केही टेक्निक सिके र नेपाल फर्किए । तर, उनले थोरै समयमा सिकेका टेक्निक भारोत्तलोलनको विकासका लागि भने पर्याप्त थिएन । तर पनि त्यहींबाट अघि बढ्दै-बढ्दै नेपाललाई सर्वाधिक पदक दिलाउन खेल भारोत्तोलन नै बन्यो ।

नेपाललाई सर्वाधिक पदक दिलाउने पहिलो खेल
भारोत्तोलनले १३औं सागसम्म आइपुग्दा एउटा संस्करण मात्र गुमाएको छ । बंगलादेशको ढाकामा भएको छैटौं सागमा भारोत्तोलन समावेश नभएपछि नेपालले सहभागिता जनाउन पाएन । त्यस्तै निरन्तर पदक जित्दै आएको भारोत्तोलनले बंगलादेशमा भएको ११औं सागमा पदकविहीन भएको थियो ।

“भारोत्तोलनले निरन्तर सागमा सहभागिता जनाउँदै आएको छ । तर, छैटौंमा सहभागिता खेल समावेश नभएपछि नेपालले पनि प्रतिनिधित्व गर्न पाएन । ११औं सागमा भने हामी पदकविहीन भयौं,” गुप्ताले सुनाए ।
सागमा भारोत्तोलनले नेपाललाई सर्वाधिक १२६ पदक दिलाएको छ । जसमा तीन स्वर्ण, २६ रजत र ९७ कास्य पदक छन् ।

पहिलो सागमा भारोत्तोलनले पाँच रजत र तीन कास्य पदक दिलाएको थियो । यहीबाट उकालो लागेको भारोत्तोलन पाँचौं सागबाट पुनः पदक तालिकामा ओरोलो आँकडाले देखाएको छ । केही समय पदक तालिकामा ठूलो परिवर्तन हुन प्रशिक्षक र ‘ब्याकअप’ टोलीको अभाव रहेको गुप्ता बताउँछन् ।

“पछिल्लो समय खेलाडीको क्षमता केही खस्किएको अवश्य हो । तर, त्योभन्दा पनि हामीसँग ब्याकअप टोलीको अभाव हो,” उनले भने, “सुरुवाती २० वर्ष पहिलो ब्याजले नै राम्रो प्रदर्शन गर्दै गए र तर, हामीले थप युवा खेलाडी उत्पादन गर्न सकेनौं । जब पहिलो ब्याजका खेलाडी रिटायर्ड भए त्यो स्थानमा रिप्लेस हुने कोही भएनन् ।” 

उनले थपे, “संघ दर्ता गरे पनि प्रशिक्षकको निकै अभाव थियो । त्यतिबेला युट्युब पनि थिएन । भौतिक पूर्वाधार उस्तै, खेलाडी सेवा सुविधा उस्तै । अनि नयाँ खेलाडी उत्पादन गर्न सकेनौं । यसले गर्दा केही समय पदक संख्यामा परिवर्तन आएको थियो । तर, हाल फेरि सुधारिएको जस्तो देखिन्छ । किनभने अहिले क्याटागोरी पनि घटाइएको छ ।” भारोत्तोलनले नेपालका लागि दोस्रो सागमा ६ रजत १२ कास्य जित्दा तेस्रो सागका भने १९ कास्य मात्र जितेको थियो । 

चौथो साग : भारोत्तलोलनले बचाएको साख
पाकिस्तानको इस्लामाबाद भएको चौथौ संस्करणको सागमा नेपालको ४६ पदक जित्दा २८ पदक भारोत्तोलनले जितेको थियो । जसमा ६ रजत र २२ कास्य पदक थिए ।

तत्कालीन प्रशिक्षक गुप्ताले यतिसम्म हुँदा पनि भारोत्तोलन गुमनामजस्तै भएको बताए । “भारोत्तोलनले देशका लागि धेरै पदक जितेको छ । तर, देशले भारोत्तोलनलाई चिन्‍न सकेन । नेपालले सागमा थोरै पदक जित्दा भारोत्तोलन एक्लैले २८ पदक जित्दै देशको इज्जत बचाएको थियो,” उनले सुनाए, “तर, पदकको आशा धेरै भएको र नेपालीलाई सुहाउने खेल हुँदा-हुँदै पनि अगाडि बढ्न सकेको छैन ।” 

त्यस्तै पाँचौं संस्करणको सागमा तीन रजत र १९ कास्य, सातौंमा दुई रजत र तीन कास्य, आठौंमा तीन कास्य र नवौं सागमा मात्र एक कास्य पदक जितेको थियो । नवौं सागमा पाकिस्तानका खेलाडी डोपिङ टेस्टमा असफल भएपछि उक्त पदक नेपालका गोपालबहादुर श्रेष्ठले पाएका थिए ।

दशौं सागमा भारोत्तोलनले ऐतिहासिक स्वर्ण पदक जित्यो । नेपालका लागि कमल अधिकारीले भारोत्तोलन इतिहासकै पहिलो स्वर्ण पदक जितेका थिए । त्यसपछि ११औं सागमा भने भारोत्तोलन पहिलोपटक पदकविहीन भयो । १२औं सागमा एक रजत र तीन कास्य जित्दा, गत वर्ष घरेलु भूमिमा आयोजना भएको १३औं सागमा भारोत्तोलनले नेपाललाई दुई स्वर्ण, तीन रजत र ११ कास्य पदक दिलाएको थियो । 

भारोत्तोलनले एसियन च्याम्पियनसिप, जुनियर एसियन च्याम्पियनसिप, एसियन कप र फज्र कप गरी ६ स्वर्ण पदकसहित २६ पदक जितेको छ । त्यस्तै गत वर्ष नेपालको नेपालगन्जमा आयोजना भएको प्रथम दक्षिण एसियाली च्याम्पियनसिपमा ६ स्वर्णसहित २९ पदक अन्तर्राष्ट्रिय पदक नेपाललाई दिलाएको छ ।

तस्बिरहरु सौजन्य : पार्थसारथि सेन गुप्ता

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ९, २०७७  १६:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement