– विजय मल्ल
‘तिमीसित यहाँ भेट होला भन्ने मलाई आशा थिएन । तर भेट भयो । कहिले आयौ ? ए, हिजो मात्रै ? मौसम कस्तो थियो ? राम्रो । त्यसो भए हवाईजहाजमा कुनै गडबड, बम्पिङ त भएन ? विराटनगरबाट आउँदाखेरि पहाडैपहाड, डाँडैडाँडा पर्छ; बादलैबादल असारको महिना, वर्षा भयानक हुन्छ । तिमीलाई डर लागेन ? डर, केलाई त, हैन ? मृत्यु जो सधैं भइरहन्छ, जो अनिवार्य अवश्यम्भावी छ । त्योसँग फेरि केको डर ? फिलोसफी...? यो केको फिलोसफी, यो केको दर्शनशास्त्र ? बाँच्ने, जीवन बिताउने तरिका, पद्धतिलाई पो दर्शन भनिन्छ । मर्नलाई केको दर्शन ? नमरूँ भने पनि मरिन्छ, क्यारे । फेरि त्यसलाई केको दर्शन चाहियो ? वास्तवमा यो हो कि मार्नलाई दर्शन चाहिन्छ, चाहे त्यो जीवहिंसा होस्, चाहे भावको, चाहे आदर्शको, चाहे आफ्नो आमहत्या । कसो ?
यतिका वर्षपछि भेटेकोमा यो के अन्टसन्ट बकिरहेको हुँला ? तिमीलाई मन पर्छ ? मैले बक्तै, फलाक्तै गइरहेको तिमीलाई मन पर्छ ? ताज्जुब ! त्यसो भए म जे बकूँ, तिम्रो आलोचना या निन्दा गरूँ, के त्यो पनि मन पर्छ ? अहँ म पत्याउन्नँ । त्यस्तो सहनलाई बडेमानको छाती चाहिन्छ । सम्भव छ, त्यस्तो छाती तिम्रो होस् ! छ ? त्यसो भए बेस हो । म निन्दा गरूँ त ? निन्दा गरूँ ! भो निन्दा र प्रशंसा दुवै गर्दिनँ । दुवै गर्नलाई हक चाहिन्छ, निकटता र हार्दिक सम्बन्धबाट उत्पन्न भएको हक । त्यो मसँग कहाँ छ र ? हामी दुवै अहिले यति अपरिचित छौं, छोएर पनि चिन्दैनौं, यसरी अगाडि बसेर पनि बुझ्दैनौं । हामी एकले अर्कोलाई बुझ्नै सक्तैनौं । तिमी भन्लाऊ, हामीहरू केटाकेटीदेखि एकले दोस्रोलाई चिन्छौं नि, कति सँगै बस्यौँ, कति गफ चुट्यौँ, केके गरेनौँ । ठीक हो, त्यो सत्य हो । तर अहिले म त्यस बखतको जीवको प्रेत मात्र हुँ, तिमी त्यस बखतको जीवको प्रेतनी मात्र हौ । त्यसैले एकले दोस्रोलाई कसरी चिन्ने ? के भन्यौं, म तिमीलाई चिन्न चाहन्नँ, तिम्रो अरूसँग बिहे भइसकेर छोराछोरी पाइसकेको हुनाले फेरि अरूसँग पोइल गएकी म चिन्न चाहन्नँ, यो के दोष लगाएको तिमीले मलाई ? यी कारणहरू हुँदै होइनन् । यसमा सत्यता छैन । अहिले म यहाँ जे कुरा भन्न लागेको छु त्यो कुरा सुनेपछि तिमी झन् छक्क पछ्र्यौ, तिमीलाई चिन्न मैले कति कोसिस गरेको रहेछु, भेट्टाउन कतिको प्रयत्न गरेको रहेछु । तर कस्तो निराश ! तिमी पनि पहिलेकी रूपकी प्रेतनी मात्रै । यसैले त म तिमीलाई चिन्दिनँ ।
तिमीले मेरो कुरा बुझिनौँ । साँच्ची भनूँ, म पनि स्पष्टसँग आफ्ना मनका भावहरूलाई यस्तै हो भनेर बुझ्दिनँ । कहिले त्यस भावसँग मिल्ने अर्थको शब्द पाउन्नँ, कहिले भावहरू यति खजमजिएका हुन्छन् कि शब्दले त्यसको वास्तविकतालाई भेट्टाउनै सक्तैन, म आफैं रन्थनिरहन्छु । कहिले त्यो भाव यही मात्र हो भनेर म ठम्याउनै सक्तिनँ । म अल्झिन्छु र मनपरी गर्न थाल्दछु जसले गर्दा सबको नोक्सान हुन्छ । बरबादी हुन्छ ।
के भन्यौं, यी सबै मेरा बनावटी कुरा मात्र हैनन्, खाली मैले तिम्रो मन राख्नलाई यो कुरा गरेको, मैले तिमीलाई तिम्रो बिहे भएदेखिन् बिर्सिसकेको छु, म तिमीसँग रिसाएको छु, म तिमीलाई घृणा गर्छु भनेको ! त्यसो भए तिमीले खुब बुझ्यौ मेरा कुरा । तिमीले नबुझ्नुमा पनि केको आश्चर्य र जब कि कहिलेकाहीँ म आफैँ अन्योलमा पर्छु भने ।
के रे बिर्सनु पनि श्रेयस्कर छ ? हो त नि बिर्सनु पनि लाभप्रद छ । त्यसले नयाँको निमित्त स्थान रिक्त गरिदिन्छ र नयाँको प्रवेश गर्ने मौका भेट्टाउँछ । एउटा कुरा तिमीसँग सोधूँ, जब म आफैं अलमल र अस्पष्टतामा छु भने । त्यो भाव, त्यो रूप मेरो मनमा अनौठो प्रकारले कोरिएको छ, जो कहिलेकाहीँ मात्र छर्लंगिएर उघ्रिन्छ, स्पष्ट हुन्छ– मानौँ, त्यो समुद्रको गहिराइमा बग्दै आइरहेको हिउँको पहाड हो, अकस्मात् कुनै मौसममा टाउको उठाएर उज्यालोमा चम्किन लाग्छ र म त्यसलाई देख्छु । सम्झेँ कि हुस्सुले सम्पूर्ण रूपले ढाकिएको कूनै मूर्ति हो, किरणहरू पर्नेबित्तिकै त्यो मूर्ति प्रज्वलित हुन थाल्दछ र म अवाक् भएर हेर्न थाल्दछु । त्यो घडीमा मेरो छटपटी र नैराश्य, बरबादी ध्वंस चरम सीमामा पुग्छ र म एक किसिमले बौलाउँछु । म चाल पाउँछु कि त्यो रूप, मैभित्र, अझ ज्युँदै छ, ज्युँदै जसलाई पैले कतिपल्ट हत्या गर्न कोसिस गरिसकेँ, कतिपल्ट घाँटी अँठ्याएर मार्ने कोसिस गरिसकेँ र स्मृतिपटलबाट हुत्याएर सेलाइदिने चेष्टा गरिसकेँ । तर त्यो त्यहीँ छ र मलाई मौका बेमौकामा लखेट्न थाल्छ ।
हैन, हैन त्यो रूपकी कुनै आइमाई नै छैन, कुनै नारी नै छैन, छ भने त्यो रूप तिनको मरिसकेको छ, खोजे पनि यस धरतीमा म पाउन सक्दिनँ । त्यो त मेरो छातीमा अङ्कित भएको रूप मात्र हो जसको संसारमा अब अस्तित्व छैन, त्यस्तो स्वत्वहीन रूपले मलाई लखेटिरहन्छ, निरर्थक रूपले मेरो जीवन–व्यवसायमा आघात पुर्याइरहन्छ ।
अहो ! तिमी चिन्न चाहन्छौं त्यो को भनेर ? को ? म पनि राम्ररी ठम्याउन सक्दिनँ अहिले । त्यस बखत तिमीलाई जुन रूपमा मन पराउन चाहेको थिएँ त्यस कल्पनाले गर्दा पृथक् गराएको रूप र आकार हो, यो मेरो आफ्नै मनोभावनाको सिर्जना मात्र हो । लौ भन, को भनेर म कसरी भनूँ ?
हो, यो भावुकतापूर्ण, मूर्खता र अज्ञानले भरिएको कुरा मात्र हो । जसको सत्ता नै छैन, जसको अस्तित्व, रूपाकार नै छैन, त्यसले पनि कसैलाई लखेट्छ ? कसैलाई ठग्न सक्छ ? कसैको वास्तविक जीवनमा अलमल र गोलमाल मच्चाउन सक्छ, कस्तो हास्यास्पद कुरा ! कस्तो पागलपन ! कस्तो लहड ! तर त्यस्तो स्वत्वहीन स्वरूप र भावले कसैलाई जीवनभर अशान्त र विचलित तुल्याइरहन्छ भने, त्यस्तो कुरालाई कसरी अवास्तविक भन्ने, भ्रम भन्ने र सत्ताहीन भन्ने ?
ठीक भन्यौ यो मेरै आफ्नै गल्ती हो, अझ भन न एक प्रकारको अस्वस्थताको चिह्न हो या यसलाई रोगै भनौँ । ठीक हो, रोग त हो नि ।
तर यस रोगको सत्ता छ । के भन्यौ, तिमीलाई मैले अलमलाउन यो झुटो बोलिरहेको ? त्यो आइमाई कोही छ, त्योसँग म बिहे गरेर जिन्दगी गुजार्न चाहन्छु, याने म प्रेम गर्छु । अहो ? खुब भन्यौ । यति सजिलोसित त्यो आइमाईलाई भेट्टाएर प्रेम गरेर बिहे गर्न पाएको भए त मेरो यो दुर्दशा किन हुन्थ्यो । भो ठट्टा नगर । त्यो आइमाई छैन । याने मरिसकी त्यसको तिमी प्रेत हौ याने तिम्रो पन्ध्र वर्षको रुप ! तिमीलाई पत्यार लागेन याने मैले ठट्टा गर्या ! ठट्टा !
हो अहिले त ठट्टैजस्तो छ, किनकि थाहा छ अहिले म एकदम स्वस्थ र चंगा छु नि याने सचेतन । त्यो रूप मेरा अगाडि सजीव रूपले खडा हुन सकेको छैन, मलाई लखेट्न पनि सकेको छैन । म एकदम सन्तुलित अवस्थामा छु । तिमीलाई पत्यार लाग्दैन, हो, कसैलाई पनि लाग्दैन । तिम्रो सामुन्ने उभिएर पन्ध्र वर्षको उमेरको स्वरूपले मलाई लखेट्छ भन्दा अरूलाई त के मलाई नै उदेक लाग्छ । तर साँचो कुरालाई नभनी म झुट किन बोलूँ ? साँच्ची भनूँ भने, अहिले तिमी मसँग आउँछु भनेर अँगाल्न आए पनि म तिमीलाई घृणा गर्न बेर लाउन्नँ । सायद तिमीलाई म हुत्याइदिन्छु, त्यो तिमी हैन भनेर ।
तिम्रो कुरामा म सोह्र आना सही थाप्छु यो स्वाभाविक हैन, एकदम अस्वाभाविक, अझ भनूँ भने विकृति हो । तर के भो र मलाई लखेटेको त सत्य हो कि भ्रमै भए पनि त सत्य हो कि ।
भो, भो, म तिमीलाई आफ्नो जिन्दगीको सम्बन्धमा एक–दुई कुराहरू बताउँछु, अर्को लाग्ने छैन ? भइहाल्यो, मलाई थाहा छ तिमी स्वस्थ युवती हौ तिमी जे गछ्र्यौं, सोची सम्झी गछ्र्यौं, यस्तो लखेटाइको पछाडि छैनौँ । तर कोही छ भने, याने मजस्तो छ भने, त्यस्ताको फतफतलाई सुन्न केही अप्ठ्यारो छ ? हैन म भन्दिनँ कि म सद्दे मानिस हुँ, मलाई आफ्नो असद्देपनाको राम्रो चेतना छ, त्यसैले त त्यस्तो लखेटाइबाट बच्न भरमग्दुर चेष्टा गर्दछु । भनूँ भने, मैले केके गरिनँ !
तिमीलाई थाहा छ म लेखपढ गर्दछु, र समाजमा म बेकामीमा गनिएको छैन । तर मेरो आन्तरिक जीवनको यथार्थताबाट कति जना परिचित छन् र ! सायदै कोही होलान् । यही त मलाई आश्चर्य लाग्छ । उनीहरू मलाई गण्यमान्य सम्झन्छन् । एकाध मेरा दुर्बलता छन् भने पनि आँखा चिम्लिदिन्छन् र देखिने गरी कुनै विकृत आचरण छन् भने सनक भनेर क्षम्य सम्झन्छन् । यसभन्दा बढी उनीहरूलाई यसमा चासो लिने प्रयोजन पनि छैन । तर मलाई त मेरो चासो छ कि ?
उदाहरणस्वरूप सुन, एक दिन तिम्रो बिहे भएको दुई–तीन वर्षै भइसकेको थियो होला, तिम्रो बिहेताका म कलकत्तामा थिएँ क्यारे । हो कलकत्तैमा थिएँ (मैले त्यसपछि तिमीलाई बिर्सी नै सकेको थिएँ) म टेबिलमा बसेर केही रचना गर्न लागेको थिएँ, र मेरो मस्तिष्क त्यसमा एकदम केन्द्रीभूत भइरहेको थियो । अकस्मात् मेरो सामुन्ने तिम्रो पन्ध्र वर्षको रूप खडा भयो, हेर्दाहेर्दै सजीव भएर उभियो । म छक्क परिरहेँ । मेरो अंगप्रत्यङ्ग खुम्चिँदै, कसिँदै गइरहेको थियो र मलाई लाग्यो मेरो सचेतनता लुप्त हुँदै गइरहेछ । त्यसपछि होसमा आउँदाखेरि मेरो जिउ निथ्रुक्क पसिनाले भिजेको थियो र मेरो हातमा कापीका पन्नाहरूका धुजाहरू मात्र थिए । मैले सब कापीहरू च्यातिसकेको रहेछु । त्यसै दिन मैले चाल पाएँ, तिम्रो पन्ध्र वर्षको रूपले मलाई लखेट्न थालिरहेछ । त्यसपछि केही दिनपश्चात् फेरि त्यस्तै भयो, रूप स्पष्ट हुँदै आयो, मेरो दृष्टि त्यसैमा केन्द्रित हुन थाल्यो, ओठ र आँखाहरू काम्न थाले, मुठी कसिँदै गयो, बस म हराउँदै गएँ । अनि थाहा छ मैले के गरेँ ? भोलिपल्ट तिम्रा भएभरका तस्बिरहरू खोजीखोजी च्यातेर धुज्याएर फालिदिँए, तिमीले उपहारस्वरूप दिएको सप्रेम भेटहरू रुमाल, फोटो, चिठी सब मिल्काइदिएँ । म सन्तुलित हुन चाहन्थेँ न कि भ्रामक मोहावस्थामा विचलित । यसरी ममा केही दिनसम्मन् आत्मविश्वास जागृत भयो, त्यस रूपले लखेट्न सकेन, मेरा दैनिक कार्यक्रमहरू मज्जैले चले । तर केही लेख्न र कल्पना गर्न बस्दा तिम्रो त्यही पन्ध्रबर्से रूप फेरि बिस्तारै उघ्रेर आउन खोज्थ्यो; त्यसैले लेख्नसम्मन् छाडिदिँए र अरूतिरै बहलिन खोजेँ ।
के भन्यौं, किन अहिलेसम्मन् मैले बिहे नगर्या ? म त्यही त भन्दै छु, मैले बिहे किन गर्न सकिनँ ? बिहे गरेको भए सायद यसले लखेट्न छाड्थ्यो कि ! तर हैन बिहे गरेको भए झन् यसले मलाई प्रपीडित गथ्र्यो । हुन सक्छ यो मेरो गलत धारणा होस्, तर मलाई त्यस्तो लाग्छ ।
तिमीलाई त थाहा नै छ मैले एकचोटि बिहे गर्न पनि कोसिस गरेको थिएँ; हो बिहे भई पनि सक्थ्यो तर नहुनुको रहस्य मसम्मै सीमित छ । यो मैले कसैलाई पनि भनिनँ । अरूलाई भनिदिएँ मलाई आइमाई मन परेन । तर वास्तवमा कुरा त्यसो थिएन । बिहे गर्ने मैले वचन दिइसकेको थिएँ । मलाई लागेको थियो बिहे गरेपछि मलाई लखेट्ने भ्रामक रूप दूर हुन्छ । तर त्यसको विपरीत के भो थाहा छ ? झन् बिहे गर्छु भनेदेखिन् त्यो रूप तीव्रतर रूपले मेराअगाडि देखापरिरहन थाल्यो, म रातभर निदाउन सकिनँ, छटपटाइरहन थालेँ । त्यो रूपको सादृश्य मेरी दुलही हुनेमा पटक्कै थिएन; मैले त्यही रूपको सादृश्य खोजेँ भने या मैले त्यही रूपको निमित्त बहुलाएर बिहे गरेकी नयाँ दुलहीप्रति यो घृणाको सम्बन्ध राख्न थालेँ भने मेरो र उसको जीवनको कुन गति हुन्छ ? त्यसबखत तिम्रो पन्ध्रबर्से रूप झन्झन् स्पष्टतर हुँदै आइरहेको थियो, हातखुट्टा हल्लाएर, रिसले हमला गरेर ठोकेपछि मात्रै त्यो भ्रम, त्यो स्वरूप दूर हुन्थ्यो, म स्वस्थ हुन्थेँ । त्यसपछि मैले बिहे गर्ने कल्पनै छाडिदिएँ । दुलहीपट्टिकाहरू मसँग रिसाएका होलान्, मैले त्यसरी तिनलाई हत्या गरिदिएँ ।
हुन सक्छ, तिमीले भनेझैँ मैले ठीक गरिनँ । बिहे गरेपछि त्यसमा डुबेपछि तिनको हाउभाव र प्रेमपूर्ण दृष्टिले र ऊसँगको भोगले, त्यो भ्रामक रूपलाई मिल्काउन सक्थेँ । तर मिल्काउन नसकेको भए तिनको अवस्था के हुने थियो, तिमी आफैँ सोच त । मलाई आफैँमा विश्वास छैन कि त्यो रूपलाई म सहजै मिल्काउन सक्छु । राजनीतिको अखडामा उत्रेर तीन–चार वर्ष जेलमा गुजार्दाखेरि समेत, मैले त्यो रूपको लखेटाइबाट आफूलाई जोगाउन सकिनँ । जेलमा त्यो रूपले लखेट्नेबित्तिकै म दौडन्थेँ, त्यसलाई पक्रन झम्टन्थेँ, पिट्थेँ, आक्रमण गर्थेँ, एकाधचोटि मैले आफ्नै साथीलाई समेत कुटेको रहेछु र कहिलेकाहीँ भित्तामा मुड्किले हानेको छु । यस्तो केहीचोटि मात्र भएको थियो । त्यहाँ मलाई साथीहरू भन्थे– ‘कहिलेकाहीँ म त्यसै बौलाउँछु र जेलमा एकाधचोटि को बौलाउँदैनन् ?’ त्यसैले यस कुराको कसैले शंका गरेनन् ।
जेलपछि मैले सोचेको थिएँ, यस रोगबाट म मुक्त भएँ । राजनीति र अरू व्यवसायहरूमा लागेपछि, साँच्ची नै यस रूपले मलाई लखेट्न छाड्यो । एउटी पढेलेखेकी युवतीले मसँग बिहे गर्ने आग्रह देखाउनेबित्तिकै त्यस रातमा पुनः त्यो रोग मेरो फक्र्यो, त्यो रूपले फेरि मलाई लखेट्यो, म आफैसँग उदासीन भएँ । ममा उत्साह आएन । म त्यही रूप चाहँदो रहेछु न कि कुनै अर्को रूप, जो पाउन असम्भव थियो । त्यो मृत रूपलाई म कहाँ पाऊँ ? तिमी आफैँ भन । तिमी उसैको वर्तमान यी रूप भए तापनि तिमी पनि मलाई त्यो पहिलेको रूप दिन सक्तिनौँ । सक्छ्यौं त ?
पागलपन ? यही त मेरो पागलपन हो, मूर्खता ! तर्कहीन, सङ्गतिहीन पागलपन । मलाई त्यही रूपले लखेटेको छ, त्यसैलाई मैले पाउनुपर्छ, अरूबाट सन्तोष पाउन्नँ, कस्तो हठी पागलपन !
म एक्लै बसेको छु, एक्लै । तर भातसात पकाउनलाई मानिस चाहिन्छ । तिमीले पनि पहिले देखेकी छौ, मकहाँ कामधन्धा गर्ने आइमाई बसेकी थिई । तिमीले देखेको पहिलेको त्यो आइमाई अहिले छैन; धेरैजना फेरिइसकें । जबजब मलाई त्यस रूपले लखेट्न थाल्छ– ती आइमाईहरूप्रति म घृणा गर्न थाल्छु र मनपरि बोलेर, टिक्नै नसक्ने गरी वातावरण असह्य तुल्याएर, तिनीहरूलाई धपाइहाल्छु । अरू आइमाईका स्वरूपसँग मलाई त्यस अवस्थामा किनकिन लाग्न थाल्छ, म आफैं भन्न सक्तिनँ । त्यस भ्रामक रूपको निमित्त मैले कति जिउँदाहरूलाई बलि चढाइसकेँ, कतिको मानसिक हत्या गरिसकेँ, कतिको प्रेमलाई टुक्र्याइसकेँ– यो किन ? त्यस रूपको लखेटाइमा त्यस रूपमा कस्तो दुराग्रह ! कस्तो असन्तोष । मेरो पागलपन ती मेरा काम गर्ने आइमाईहरूलाई अनभिज्ञ छैनन्, मलाई पनि तिनीहरू निःसन्देह मनमनै बहुला भन्लान्, विचित्र सनक भएको, सन्काहा !
के भन्यौ, मैले यस्तो थाहा पाईकन आफूलाई किन नियन्त्रण गर्न सकिनँ ? यही त मेरो पनि आफैंसँग प्रश्न छ । म अरू बखत दुरुस्त छु, म आफ्नो व्यापार राम्ररी नै गर्छु, बाहिरका कुनै व्यक्तिहरूलाई पनि मलाई रोगग्रस्त सम्झेर मौकासम्म दिन्नँ । तर एक्लै घरमा बस्दा, पढ्न र लेख्न थाल्दा जब मेरो कल्पना कुनै आइमाई चरित्र या स्वरूपमा केन्द्रित हुन थाल्छ, मस्तिष्कमा अलि बल पर्नेबित्तिकै सम्झ त्यो अचेतन मनको रूप बिस्तारै जमिन चिरेर उठ्न थाल्दछ, भएभरको आफ्नो सौन्दर्यको दीप्ति लिएर कमनीयता र मोहकताले मलाई अभिभूत गरिदिन्छ र त्यस बखत मेरो काबु ममाथि रहन्न, म छटपटाउँछु र त्यसलाई धपाउन हातगोडा चलाउँछु, झम्टन्छु, उफ्रन्छु र पछि दौडन्छु । पसिनाले लतपतिएर थकित भएपछि, म होसमा आएझैँ हुन्छु । मेरो कामधन्धा गर्नेहरू मलाई भूतले छोप्यो भन्ने सम्झन्छन् । म भने लज्जित भएर तिनीहरूप्रति रुष्ट हुन्छु विशेष गरी आइमाईहरूप्रति मेरो क्रूरता चरम सीमामा पुग्छ ।
ठीक कुरा हो, म यो रोगलाई नको तुल्याउन चाहन्नँ । निको हुन मैले के कोसिस गरेँ र फगत आफ्नै हातले त्यो रूपलाई पिट्न दौड्नुबाहेक अँठ्याएर मार्ने कोसिसबाहेक । हो मैले केही पनि गरिनँ । अब त यस्तो भइसक्यो, मलाई त्यो रूपले लखेटिरहनैपर्छ, मैले झम्टन त्यसको पछाडि दौड्नै पर्छ । यसैमा मलाई सन्तोष भएजस्तो पनि हुन्छ र चैन पनि ।
तिमीलाई उदेक लाग्यो ! तिम्रो पन्ध्रबर्से रूपले मलाई लखेटेको म तिम्रो अनुहारको भावभङ्गिले बुझ्छु नि । तिमीलाई विश्वास पनि लागोस् कसरी ! तिमी उही भएर पनि मेरो त्यस रूपकी प्रेतनी मात्रै ।
भर्खर मैले एउटा घटना सम्झेँ, जसलाई मैले अहिले बताउनैपर्छ । बताऊँ ? तर सुनिसकेपछि मप्रति गलत धारणा नराख नि । सुनिरहेछौँ ? त्यसो भए एकछिन अरु सुनिदिनू ।
लामो कुरा छैन, तर मैले बताउनैपर्छ । म एक दिन एउटा राम्रै रेस्टुराँमा चिया पिउन पसेको थिएँ, धेरैजसो म त्यहीँ जान्थेँ । कुनातिर बस्थेँ, जहाँबाट भित्र कोठामा चिया पिएर बसेकाहरू राम्ररी देखिन्थे र सँगैको ढोकाबाट निस्कन्थे ।
म एक्लै थिएँ, चियाको कप र रिकापी सामुन्ने थियो । चिया पिउँदै थिएँ; एकचोटि चिया पिएर कप रिकापीमाथि राख्तै ढोकातिर हेरेको थिएँ, अकस्मात् मैले तिम्रो पन्ध्रबर्से रूपलाई ढोकानिरै उभिएको देखेँ, म चकित भएँ । यस्तो प्रकारले घरबाहिर मलाई कहिले पनि त्यो रूपले आक्रमण गरेको थिएन । मैले झटपट फेरि चिया पिएँ, फेरि उतैतिर हेरेँ, त्यो स्वरूपले उही प्रकारले उभिएर मतिर हेरिरहेको थियो । मलाई विश्वास भयो कि फेरि त्यो रोगले आक्रमण गर्यो, म यहाँ चलमलाउन थाल्छु, आक्रमण गर्न उफ्रन खोज्छु पनि । फेरि मैले आफूलाई काबुमा राख्तै हेरेँ, त्यो शरीर त्यहीँ खडा थियो, अनुहार मात्रै भित्र कोठातिर फर्किएको थियो । ममा नियन्त्रण हरायो, सधैँजस्तो मेरा हातहरू चल्न थाले, उफ्रेर झम्टन उठेँ र आक्रमण गर्न अगाडि बढेँ । म पसिनाले लतपतिसकेको रहेछु नजिकै पुगेर घाँटी दबाउन कम्मर कस्तै थिएँ, अकस्मात् म के देख्छु तिम्रो अघिल्लो लोग्ने, मतिर हेरेर हाँसिरहेको छ । म झल्याँस्स भएँ । यो तिम्रो पन्ध्रबर्से छोरी रहिछ, उस्तै तिम्रो पन्ध्रबर्से रूपकी, उही हेराइ, चलाइ, मलाई लखेट्ने रूप ! म त्यहाँबाट बोल्दै नबोली फरक्क फर्केर भागेँ, मैले बाटोमा ककसलाई धक्काबक्का दिएँ, थाहा पाइनँ, म भाग्दै बाहिर निस्केँ । मैले घाँटी समाएर अँठ्याइदिएको भए, या सधैँजस्तो कुटेपिटेको भए, या उन्मादमा आएर उनलाई चुम्बन गरिदिएको भए, त्यो रेस्टुराँमा के हुने थियो ! म अहिलेसम्मन् आफैं छक्क पर्छु । मैले त्यस्तो केही गरिनँ, अहो म कसरी बचेँ ? त्यो रेस्टुराँमा कस्तो होहल्ला मच्चिन्थ्यो र सहरैभरि त्यो घटनाको कस्तो विचित्र चर्चा हुने थियो । अनि तिमीले मलाई के सम्झने थियौं, कुन्नि ?
हो तिम्रो अनुहारमा तिम्रो छोरीको अनुहार ठयाक्क मिल्दैन, तर तिम्रो पन्ध्र वर्षको रूपसँग मिल्छ कि, हो मिल्छ । मलाई मिलेजस्तो लाग्छ । तर त्यस दिन साँच्चिकै मिल्थ्यो नत्र मेरो अंगप्रत्यङ्गमा आक्रमण गर्ने बेहोसी किन जान्थ्यो ! म साँच्चिकै तिम्रो छोरीको नजिकै पुगिसकेको थिएँ, खाली हात मात्र उठ्न बाँकी थियो ।
पागल ? हुँ, म साँच्ची नै पागल हुँ तर यो बहुलट्टी अब यति पराकाष्ठासम्मन् पुगिसकेको छ कि यसले मेरा रक्ताणुहरूलाई समेत आक्रमण गरिसकेको छ । यसबाट साँच्ची नै मलाई के लाभ छ र ! अब त कहिले नपाइने त्यही रूप र भावको खातिर आफूलाई बलि चढाइनु नै श्रेयस्कर छ । तिमीले भनेझैँ यो साँच्ची नै पागलपन हो ।’
(विजय मल्लको कथासंग्रह ‘एक बाटो अनेक मोड’बाट ।)