site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
निर्मलाको न्यायका लागि प्रधानमन्त्रीको फेसबुकमा १० लाख कमेन्ट पुर्‍याउने ! कहाँबाट सुरु भयो योजना ?

काठमाडौं । सामाजिक सञ्जालमा ‘विनोद ट्रेन्ड’ चलिरहेको थियो । विनोद थारु नाम गरेको एक युट्युब एकाउन्टले स्ले पोइन्ट नाम गरेको च्यालनमा ‘विनोद’ कमेन्ट गरेपछि सुरु भएको विनोद ट्रेन्ड फेसबुक, ट्विटर, इन्स्टाग्राम, टिकटक जताजतै चर्चाको विषय थियो । मिम, ट्रोलमा जताततै ‘विनोद’ नाम प्रयोग गर्न थालियो । हाँसो, रोदन, दुःख, सुख, खुसी, पीडा, हरेक भावनाको पर्याय बनेको थियो, विनोद ।

भारतमा चलेको यो लहर नेपाली सामाजिक सञ्जालमा पनि व्याप्त थियो । यता, कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको २ वर्ष पूरा हुँदै थियो । तर, चित्तबुझ्दो अनुसन्धान र हत्याराको क्लुको अभावले घटनाका वास्तविक घटनाबाट पीडकसम्म पुग्न सकेको थिएन ।

‘सुन्दर नेपाली रेग्मी’ नाम गरेको फेसबुक एकाउन्टमा दैनिक काउन्टडाउन जारी थियो । मेन्स रुम रिलोडेड (एमआरआर) नामक फेसबुक ग्रुपमा दैनिक काउन्टडाउन गर्थे उनी ।

Dabur Nepal

सामाजिक सञ्जालको हरेक ग्रुपमा विनोदबारे चर्चा भइरहँदा १ साताअघि ‘रुटिन अफ नेपाल बन्द’ नाम गरेको फेसबुक ग्रुपमा विवेक कार्कीले फोटो पोस्ट गरे जसमा लेखिएको थियो, “विनोद विनोद भनेर के पायौ ? बरु, निर्मला निर्मला भन्दै हिँड ।”

त्यसमा मिन योङले कमेन्ट गरे, “#निर्मला” । नदिम खड्काको पनि कमेन्ट आयो, “निर्मला” ।

सन्देश पान्डेले यसअघि सामाजिक सञ्जालमा ट्रेन्ड बनिसकेको ह्सासट्याग कमेन्ट सेक्सनमा प्रयोग गरे, “#जस्टिसफरनिर्मला” (अर्थात् निर्मलाका लागि न्याय)

त्यसपछि सुजित राजबाहकले पहिलो आह्वान गरे, “अब सबैतिर #जस्टिसफरनिर्मला लेख्नुपर्छ है ।”

सो ग्रुपको सबै पोस्टमा #जस्टिसफरनिर्मला कमेन्ट आउन थाल्यो । अन्य फेसग्रुपमा पनि #जस्टिसफरनिर्मला प्रयोग हुन थाल्यो ।

#जस्टिसफरनिर्मलाले पनि बिनोद झैं रुप लिँदै थियो ।

त्यसको भोलिपल्ट सोही ग्रुपमा आईओएम बीपीकेआईएएच नाम गरेको फेसबुक एकाउन्टमा पोस्ट भयो, “गाइज, विनोदको स्थानमा #जस्टिसफरनिर्मलापन्त प्रयोग गरेर ट्रेन्डमा ल्याऔं न ।”

सो पोस्टमा कसैले #जस्टिसफरनिर्मला र कसैले #जस्टिसफरनिर्मलापन्त कमेन्ट गरेर पोस्टलाई बुस्ट गरे । उति नै समय पोस्ट गर्ने एकाउन्टले केही चर्चित अनलाइन सञ्चारमाध्यमको फेसबुक पोस्ट र प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुक पोस्टमा #जस्टिसफरनिर्मला कमेन्ट गरिसकेको थियो ।

एकजना प्रयोगकर्ताले पहिल्यै सडकमा जानुपर्ने भन्दै सामाजिक सञ्जालमा यस्तो कार्य गरेर केही नहुने बिमती राखे । तर, अधिकांश फेसबुक प्रयोगकर्ता सामाजिक सञ्जालमै विद्रोह फैलाउने पक्षमा देखिन्थे ।

फेसबुकका ग्रुपहरुमा निर्मलाका लागि न्याय माग भएका पुराना पोस्ट सेयर हुन थाले । त्यसमा कमेन्ट अहिलेको ट्रेन्डिङ कमेन्ट देखिन्थ्यो ।

३ दिनपछि अन्य पोस्टका कमेन्ट सेक्सनमा पनि #जस्टिसफरनिर्मला कमेन्ट हुन थाले ।

सुगम सोही दिन फेसबुकमा सुगम खत्रीले एक भिडियो अपलोड गरे । उनी २ वर्षअघि प्रधानमन्त्रीले विदेशी अनुसन्धानकर्ता बोलाएरै भए पनि निर्मला हत्याकाण्डको दोषी पत्ता लगाएरै छाड्छौं भनेको सम्झाउँदै गरेका देखिन्थे ।

खत्री त्यसपछि ताली बजाउँछन् र भन्छन्, “यो २०२० हो, खै विदेशी अनुसन्धानकर्ता ? खै न्याय ? मुखले बोलेर मात्रै निर्मलाले न्याय पाउने हैन ।” आम नेपाली नागरिक ‘प्रधानमन्त्रीले भने’ होइन ‘प्रधानमन्त्रीले गरे’ भन्ने सुन्न आतुर रहेको उनको दाबी थियो । निर्मलाजस्ता थुप्रै नागरिकले न्याय पाउनुपर्ने उनको माग थियो ।
खत्रीको यो आह्वानलाई सयौंले साथ दिए । सबैले बिनोदको सट्टा #जस्टिसफरनिर्मला कमेन्ट गर्न आह्वान गर्न थाले ।

सामाजिक सञ्जालमा सूचनाको राम्रो स्रोत मानिएको ‘रुटिन अफ नेपाल बन्द’ नामक फेसबुक पेजको कमेन्ट सेक्सनमा बिनोदको सट्टा ‘#जस्टिसफरनिर्मला’ देखिन थाल्यो ।

दुईदिन अघिसम्म सामाजिक सञ्जालका सूचनाुमलक पेजमा मात्र यस्तो कमेन्ट गरियो । प्रधानमनत्री ओलीको पेजमा फाट्टफुट्ट #जस्टिसफरनिर्मला कमेन्ट देखिन्थे ।

यो ट्रेन्डले आगोको रुप त्यसबेला लियो, जब राजन पोखरेलले प्रधानमन्त्री ओलीले सन् २०१६ मा अपलोड गरेको प्रोफाइल पिक्चर एमआरआरमा सेयर गर्दै भने, “सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको यो प्रोफाइल पिक्चरमा १० लाख कमेन्ट पुर्‍याउने च्यालेन्ज । फोटो ओपन गरौं र कमेन्ट गरौं । सामाजिक सञ्जालको ट्रेन्ड रातारात बदल्न सक्छौं ।”

ग्रुपको यो पोस्टमा मात्रै १२ सय कमेन्ट प्राप्त भयो । अधिकांशमा लेखिएको थियो, “#जस्टिसफरनिर्मला’ ।

एक तिहाइले आफ्ना साथीलाई मेन्सन गरे, प्रधानमन्त्री ओलीको सो फोटोमा #जस्टिसफरनिर्मला कमेन्ट गर्न भन्दै ।

जसमध्ये एक थिए, चर्चित र्‍यापर बालेन । जसको कमेन्टको स्क्रिन सट ग्रुपमा पोस्ट भएपछि सबै त्यतैतिर तातिए । राजनले शनिबार साँझ यस्तो पोस्ट गरेका थिए । रातारात ५० हजारको हाराहारीमा कमेन्ट भयो । एमआरआरबाट सल्किएको कमेन्ट वुमेन्स रुम रिलोडेड (डब्ल्यूआरआर), मेन्स–वुमेन्स रुम रिलोडेड (एमडब्ल्यूआरआर) हुँदै अन्य समूहमा पनि फैलियो ।

१० लाख कमेन्ट पुर्‍याउने लक्ष्य प्रम ओलीको प्रोफाइल पिक्चरमा केनि्द्रत रहन बेलाबेलामा कमेन्ट गरिएको छ ।

कसरी आयो यस्तो कन्सेप्ट ? भन्ने प्रश्नमा एमआरआरका एक सदस्य विवेक पौडेल भन्छन्, “विनोद कन्सेप्ट रातारात भाइरल हुन सक्छ भने निर्मलाका लागि न्याय माग्ने काम किन मिल्दैन ? र किन सक्दैन ?” फेसबुक प्रयोगकर्ताले ओलीको तस्बिरमा निर्मलाका लागि न्याय माग गर्दै ‘सरकार भेटियो, न्याय भेटिएन’ लगायत कमेन्ट गरेका छन् भने केहीले सरकारलाई तीब्र ब्यंग्यात्मक भनाइहरु राखेका छन् ।

शैलजा खरेल लेख्छिन् “ प्रधानमन्त्रीलाई निर्मला र यस्ता घटना भन्दा अपराधी नै प्यारा लाग्छन् । प्रधानमन्त्री स्वच्छ र निडर स्वभावको भइदिएको भए सायद आज हजारौं निर्मलाको आत्माले न्याय पाइसकेको हुन्थ्यो । लाखौं पिडक जेलमा सडिरहेका हुन्थे ।” देवराज लेख्छन्, “कुनै नेता वा मन्त्रीको प्रोफाइलमा गएर मुख छाड्नोस् । तपाईंलाइ भोलिपल्ट नै प्रहरीले समातेर लान्छ । तर, हजारौंले न्याय माग्दा सबै निकाय मौन हुन्छन् । देश र प्रशासनको हालत देखेर दया र रिस दुवै उठ्छ ।”

र्‍यापर बालेन शाहले लेखेका छन्, “न्याय मागेर होइन जन्मँदै पाउनुपर्छ । हाम्रो गीत संगीत समाजको ऐना हुनेछ ।” यज्ञ ढकाल लेख्छन्, “सरकार सधैं मिडियाले गलत लेखे मात्रै भन्न छोडिबक्सियोस् । जनतालाई ठुलो आशा थियो हजुरबाट । निर्मला त मात्र एक प्रतिनिधि घटना हो । मुल प्रश्न यो हो कि, के हजुरले देशमा सुशासन कायम गर्नका लागि साँच्चिकै केहि मात्र पनि प्रयास गरिबक्सेको छ ?”

यो समाचार तयार पर्दासम्म प्रधानमन्त्रीको फेसबुक पेजमा ४ लाख ४४ हजार कमेन्ट आइसकेको छ ।

फेसबुकमा उर्लिएको यो विद्रोह अहिले ओलीको फोटोमा मात्र केन्द्रित छैन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अर्का अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा, नेपाली कांग्रेस नेता रामचन्द्र पौडेल, गगन थापा, नेकपा नेता योगेश भट्टराई, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालगायत थुप्रै नेताका प्रोफाइल पिक्चरमा #जस्टिसफरनिर्मला कमेन्ट आएको छ । यो कमेन्ट नेपाली सेलिब्रिटीदेखि विदेशी फेसबुक पेजसम्म पुगेका छन् । राष्ट्रिय मानव अधिकार आयोग, कानुन मन्त्री शिवमाया तुम्बाहाङ्फेलगायतको पेजमा पनि ट्रेन्डमा रहेको कमेन्ट पुगेका छन् ।
बलात्कारपछि निर्मलाको हत्या भएको ७ सय ५३ दिन भएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १, २०७७  १४:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro