site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बेरोजगारी र भोकमरीको खतरा

‘लकडाउन’को हनिमुन अवधि पनि पूरा गर्नै लागेको यो सरकार सामु राजनीतिकबाहेक दुईवटा गम्भीर समस्या खडा भएका छन् । पहिलो — सरकारले अनुमान गरेअनुसार भारत र अन्य मुलुकमा रोजगारमा रहेका झन्डै १४–१५ लाख नेपाली स्वदेश फर्किए भने निकट भविष्यमै रोग र भोकको भयावह स्थिति पैदा हुनेछ । 

दोस्रो, बन्दाबन्दीका कारण व्यवसायीहरुले कर तिर्न पनि नसक्ने स्थिति उत्पन्न भएको छ र बन्दाबन्दी पूर्णरुपमा खुलेको एक महिनाभित्रमा कर तिरे हुने अदालतको फैसलापछि सरकार न्यून आम्दानी र बढ्दो दैनिक खर्चको चरम असन्तुलनको स्थितिबाट गुज्रिन थालिसकेको छ । खर्च धान्न कठिन भैसक्यो, राजस्व बुझाइदेऊ भनी अर्थमन्त्री डा. युवराज खतिवडा उद्योगपति, व्यवसायी, बैंकरसँग फोनमार्फत नै आग्रह गर्न थालिसकेका छन् । 

बढ्दो बेरोजगारी 

Prabhu Bank
Agni Group
NIC Asia

बन्दोबस्ती र व्यवस्थापनका केही पनि काम नगरी बन्दाबन्दीको  तीन महिना व्यर्थमा खेर फालेको यो सरकारको गतिविधिलाई नियाल्दा उक्त अनुमानित संख्यामा नेपाली स्वदेश फर्किने हो भने स्थिति सोचेभन्दा धेरै नै विकराल बन्ने देखिन्छ । सरकारको अनुमानअनुसार विदेशमा काम गर्न गएकामध्ये करिब १३–१४ लाख नेपाली स्वदेश फर्किनेछन् ।

चार्टर्ड उडान गरी तिनलाई स्वदेश ल्याउन निजी व्यवसायी नै क्रियाशील भइरहेको देख्दा उक्त संख्यामा नेपाली स्वदेश फर्किनेमा विश्वास गर्नैपर्ने हुन्छ । वार्षिक औसत ६–७ लाखका दरले नयाँ मानिस नेपालको श्रम बजारमा प्रवेश गर्ने र कोरोनाको असर तथा बन्दाबन्दीका कारण रोजगारी गुमाउनेको संख्या स्वदेशभित्र पनि करिब चार लाख जति गरी झण्डै २५ लाखलाई रोजगारी सिर्जना गर्नुपर्ने हुन्छ ।

Global Ime bank

अहिलेसम्मको प्रवृत्तिलाई हेर्दा कोरोनाको असर कम्तीमा डेढ दुई वर्ष लम्मिने देखिएकाले स्वदेशभित्रको रोजगारी अझै गुम्ने प्रबल संभावना छ । नेपालजस्तो अल्प विकसित मुलुकमा स्वरोजगारका साथै अनौपचारिक क्षेत्रमा पनि धेरै ठूलो संख्यामा रोजगारी सिर्जना भैरहेको हुन्छ । सामाजिक दूरी कायम गर्नुपर्ने भएकोले घरघरको रोजगारीसमेत गुमेको छ । रोगको फैलावट र असर बढ्दै जाँदा औपचारिकमात्र नभै अनौपचारिक क्षेत्रबाट समेत रोजगारी गुम्नेछ र यसले भोकमरीको अवस्थासमेत पैदा गर्न सक्नेछ । 

रोजगारीका तिलस्मी कुरा 

बजेटमा अर्थमन्त्री डा. खतिवडाले विभिन्न क्षेत्रबाट सात लाख रोजगारी सिर्जना गर्ने उल्लेख गरेका छन् । परिस्थिति सिर्जित आवश्यकता बढी भए पनि अर्थमन्त्रीको सात लाख रोजगारी सिर्जना गर्ने सोचको तारिफ गर्नैपर्छ । तर, यति ठूलो संख्यामा रोजगारी सिर्जनाका बारेमा बजेटमा कार्यक्रमहरु र आवश्यक रकमको बिनियोजनलाई हेर्दा  ती हास्यास्पद र तिलस्मी लाग्छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दुई लाख रोजगारी सिर्जना गर्न ११ अर्ब बढी, विभिन्न किसिमका तालिम तथा प्रशिक्षण दिएर थप ५० हजार रोजगारी सिर्जना गर्ने र त्यसमा रु १ अर्ब, रोजगार सेवा केन्द्रमार्फत थप ५० हजार रोजगारी सिर्जना गर्न रु १ अर्ब र फेरि व्यवसायिक शिक्षा तथा प्राविधिक तालिम प्रदायक संस्थालाई सुदृढीकरण गरी तालिम प्रदान गर्न रु ४ अर्ब बढी गरी करिब रु १८ अर्ब रुपैयाँ बजेट व्यवस्था गरिएको छ । सय दिनको न्यूनतम रोजगारीको त कुरा छाडिदिउँ, दैनिक ज्यालाको हिसाब गर्दा यो रकम पन्ध्र–सोह्र दिनको ज्याला बराबर हुन्छ ।

त्यसैगरी रोजगारीको प्रस्तावित लक्ष्य पुर्‍याउन बैंकबाट प्रतिशाखा १० वटा र विकास बैंकबाट ५ वटा सहुलियतपूर्ण कर्जा उपलब्ध गराई रोजगारी उपलब्ध गराउने कुरा पनि उल्लेख छन् । त्यस्तै युवा स्वरोजगार कोष, गरिबी निवारण कोष र लघुवित्तीय संस्थाहरुमार्फत पनि रोजगारी उपलब्ध गराउने भनिएको छ । यस अतिरिक्त कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्ने पनि उल्लेख गरिएको छ । 

असफल कार्यक्रमहरुबाट रोजगारी कसरी ? 

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रदेश र स्थानीय तहसम्म विस्तार गरिने भनिएको छ । यस कार्यक्रमअन्तर्गत अघिल्ला वर्षहरुमा हेलमेट लगाएर पर्खालको झार उखेल्न लगाई बजेट सिध्याइएको थियो । रोपाइँका बेला असारमा बजेट सक्न यसरी जथाभावी खर्च गरिएकोले यो कार्यक्रमले रोजगारी सिर्जना गरेन । बरु कार्यकर्ताहरुको भरपोषण मात्र भएकोल यो कार्यक्रम नै जनस्तरमा बदनाम हुन पुगेको छ ।

त्यस्तै अर्को बदनाम र प्रतिफल दिन नसक्ने तर ठूलो सरकारी स्रोतको दोहन र दुरुपयोग भएको कार्यक्रम हो — युवा स्वरोजगार कोष । गरिबी निवारण कोषलगायतका यस्ता कार्यक्रममा भएका अनियमितता तथा जिल्ला जिल्लामा सञ्चालित लघुवित्तीय तथा लघु उद्यम कार्यक्रमहरु बहुबैंकिङको सिकार भएका छन् । यिनमा प्रायः पल्लाघरको बाख्रो, पाडो, भैँसी, तथा गाई ल्याएर नियमन तथा सुपरीवेक्षणमा आएका कर्मचारीहरुको चित्त बुझाउनेमात्र गरिन्छ । लगानीअनुसारको प्रतिफल छैन । त्यस्तै दोस्रो ठूलो कार्यक्रममा चार अर्बभन्दा बढी खर्च गरी तालिम प्रदायकहरुको सुदृढीकरण गर्ने भनिएको छ । यसअन्तर्गत लक्षित वर्गमा रकम नै पुग्दैन र बीचमै कार्यकर्ताहरुले संस्था खोलेर सिध्याउँछन् । 

प्रतिबैंक वित्तीय संस्था १० वटा र ५ वटा शाखामार्फत सहुलियतपूर्ण कर्जा दिने र रोजगारी सिर्जना गर्ने भनिएको छ । प्रतिव्यक्ति रु १० लाखले हिसाब गर्दा पनि यसअन्तर्गत खर्बौं लगानी हुन सक्छ । तर, सहुलियतपूर्ण ब्याजको त के कुरा साँबाको सुनिश्चितता कसले गर्ने हो ? आखिर त्यस कार्यक्रममार्फत जनताको निक्षेप नै प्रयोग हुने हो र त्यसको सुरक्षातर्फ बैंक तथा वित्तीय संस्थाहरुले ध्यान दिनैपर्ने हुन्छ । हिजो प्रमाणपत्र धितो राखेर कर्जा दिने कार्यक्रम असफल भएको पनि साँबाको सुनिश्चितता नभएर नै हो । चीनले यस्तै कार्यक्रम लागू गर्दा खर्बौं डलर खर्च गरी पुनरुत्थान र पुनरुद्धार गर्नुपरेको थियो । 

त्यस्तै हास्यास्पद अर्को रोजगारीको क्षेत्र कृषि र पशुपालन हो । पहाडी कृषिमा जीवन निर्वाहबाहेक ठूलो उथलपुथल ल्याउने काम हुनसक्ने संभावना छैन । तराईको एकाध बाँझो जमिन देखेर खेती गर्न दिने भनिएको होला । तर त्यस्तो जमिन नै कति छ र कृषिमा त्यति ठूलो रोजगारी सिर्जना हुन सकोस् । बाँझो जमिन कति छ भन्ने तथ्यांक त राखिएको नै होला ।

तथापि, त्यस्तो जमिनमा सिंचाइ सुविधालगायत अन्य कृषि पूर्वाधार तत्काल उपलब्ध गराउन संभव छैन । फलफूल वर्षौंपछि मात्र उत्पादन हुने बाली हो भने करेसाबारीमा लगाएको तरकारीले रोजगारी सिर्जना हुनसक्ने कुरै भएन । पशुपालनको कुरा गर्ने हो भने वीरेन्द्रनगर नजिकैको जंगलबाट किन सयौंको संख्यामा भीरबाट गाई लडाइए भन्ने घट्नाबाटै धेरै उत्तर पाउन सकिएला । छिमेकबाट आएकाहरु सीपयुक्त कामदार भएकोले कच्चा श्रमिकबाट त्यसको प्रतिस्थापन तत्काल भैहाल्ने स्थिति छैन । किनभने कार्यसंस्कार र सीपकर्मीहरुको इज्जत गर्ने परिपाटी समाप्त गरिदिएकोले कालीगढी, सिकर्मी, डकर्मी, नाई, निर्माणका काममा लाग्ने अन्य प्राविधिकहरुमा पुस्तान्तर भएपछि विस्थापित भइसकेका छन् । 

कामविहीन हुने झन्डै २५ लाखलाई रोजगारी सिर्जना गर्नुपर्ने दायित्व बोकेका सरकारका अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेटमा करिब ७ लाख रोजगारी सिर्जनाका लागि गरेका घोषणा पनि सबै अमूर्त शब्दजालमा आधारित देखिन्छन् । रोजगारी कहाँबाट, कति संख्यामा, कसरी सिर्जना हुनसक्छ भन्ने कुनै ठोस, चित्तबुझ्दो र व्यावहारिक कार्यक्रम समावेश छैनन् । 

फलस्वरूप, बजेटमा प्रस्तावित उनको रोजगारी सिर्जनाको लक्ष्य संख्याको हिसावकितावमा कुल जोडको अंकमात्र हुन पुगेको देखिन्छ । लगानी र आर्थिक गतिविधिहरुको विस्तार भै रोजगारी सिर्जना हुने कुनै ठोस कार्यक्रम छैनन् । 

देशपिच्छे फरक कार्यक्रम 

विश्वभर फैलिएको कोरोना महामारीको असरको गहिराइ देशपिच्छे फरक छ र सम्बोधन पनि फरक । उनीहरुले वित्तीय, मौद्रिक र आर्थिक गरी तीनवटै आपतकालीन ढोका खोली उदारतापूर्वक पुनरुत्थान प्याकेज घोषणा गरेका छन् । रणनीतिअन्तर्गत तत्काल रोग नियन्त्रण, आर्थिक गतिविधिहरुलाई सुचारु गर्ने, विद्यमान उद्योगधन्दा तथा सेवाहरुका क्षेत्रमा उपलब्ध रोजगारीलाई पुनरुत्थान गर्न कम्पनीलाई नै उद्धार गर्ने कार्यक्रम ल्याएका छन् । बढी रोजगारी दिने क्षेत्रहरुको उत्थानका लागि आर्थिक सहायता उपलब्ध गराएका छन् र नयाँ रोजगारी तथा स्वरोजगारी सिर्जना गर्ने आर्थिक गतिविधिको विस्तारका लागि नीतिगत सुधार गरी अगाडि बढिरहेका छन् ।

साथै तत्काल हुने सार्वजनिक सम्पत्तिको संरक्षण, रेखदेख, पुनर्निर्माण र जीर्णोद्धारमा लगाई रोजगारी सिर्जना गरेका छन् । 

प्रत्यक्ष आर्थिक सहायताका अतिरिक्त कर कटौती, कर्जाको ब्याजदरमा सहुलियतका कार्यक्रम तथा उपभोक्ताको खर्चयोग्य आम्दानी वृद्धि गराउने कार्यक्रममा जोड दिएका छन् । उनीहरुले प्रत्यक्ष आर्थिक सहायता नै गरेका छन् । नेपालले यसरी आर्थिक सहयोग गर्न सक्ने अवस्था नहोला तर नीतिगत सम्बोधनमार्फत आर्थिक गतिविधिहरुलाई प्रोत्साहन गर्न सक्ने प्रचूर संभावना थियो ।

गुम्यो मौका

व्यापक नीतिगत सुधार गरी लगानी आकर्षित गर्ने र यसबाट आर्थिक गतिविधिहरुको विस्तार हुँदा रोजगारी सिर्जना हुन्छन् । तर, तीनवटा बजेट प्रस्तुत गरिसक्दा पनि अर्थमन्त्री डा. खतिवडाले यस्ता कामहरु गर्न नसक्दा आर्थिक गतिविधिहरु साँघुरिदै गएका थिए । काम गर्ने इच्छाशक्ति हुँदा साधन र स्रोतको समस्या हुँदैन भन्ने उदाहरण सरकारी खर्च कटौतीको एउटा कदममात्र पनि पर्याप्त हुनसक्थ्यो ।

सार्वजनिक खर्च पुनरावलोकन आयोगको सिफारिसलाई मानी निर्मम तरिकाले सरकारी खर्च कटौती गरेको भए सेवाको क्षेत्र र दायरा नघटाईकन एकतिहाइ खर्च कटौती गर्न सकिन्थ्यो । यसका तीनवटा फाइदा थिए, स्रोतको उपलब्धता हुन्थ्यो, अर्थतन्त्रलाई पुनरुत्थान गर्न सहायताको चित्तबुझ्दो र उत्साहजनक कार्यक्रम ल्याउन सक्थे र उद्योगधन्दाको पुनरुत्थान हुँदा स्वतः रोजगारी सिर्जना हुनसक्थ्यो ।

महामारीबीच सरकारी खर्च कटौतीको कार्यक्रमप्रति कसैको विरोध पनि आउने थिएन । तर अर्थमन्त्री डा. खतिवडाले आयोगको सिफारिस संविधान जसरी अक्षरशः पालना गर्न आवश्यक नरहेको अहंकारी जवाफ दिने गरेका छन् । त्यस्तो व्यवहारले झन् निराशामात्र बढाउँछ ।

बन्दाबन्दी खुल्नासाथ ठूलो संख्यामा स्वदेश फर्किनेहरु र स्वदेशभित्र बेरोजगार बनेकाहरुलाई यथाशीघ्र रोजगारी दिन नसके यति ठूलो संख्यामा बेरोजगारी हुँदा र भोकमरी बढ्दा फेरि बन्द हडताल, हिंसात्मक द्वन्द्व, झैझगडा, लुटपाट बढ्न सक्छ । सरकारमा बसेर यसरी विनाकाम समय व्यतित गर्नुभन्दा बजेटमा उल्लेखित राम्रा कार्यक्रमहरुको प्रभावकारी र शीघ्र कार्यान्वयन तथा आवश्यकताअनुसार थप सिर्जनशील एवं नवप्रवर्तनकारी सान्दर्भिक कार्यक्रमल्याई समस्यालाई सम्बोधन गर्नेतर्फ गम्भीरता देखाउनु आवश्यक छ ।

अन्यथा तयारीका केही काम नगरी नेपालीको रोग प्रतिरोधी क्षमता बढी छ भनी बितेका तीन महिना हास्यपात्र बनेजस्तै भोकमरीको अवस्था आएपछि प्रधानमन्त्रीले फेरि नेपालीको भोक प्रतिरोधी क्षमता बढी छ भन्दै जग हसाइ गर्ने विकल्पमात्र बाँकी रहनेछ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७  १६:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC