राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्रबहादुर चन्दले राजीनामा गरेको दिन (२०६० चैत्र २८) सभामुख तारानाथ रानाभाट हिमालय होटल (कुपन्डोल) मा एउटा कार्यक्रममा थिए । बेलुका ५ बजेतिर सुरक्षाकर्मीले छ बजे दरबारमा बोलाइएको सूचना दिए ।
मञ्चको अर्को छेउमा रहेका पत्रकार हरिहर विरहीलाई रानाभाटले भने — ‘हेर्नुस् न विरही दरबारले बोलाएको छ । के भन्ने होला ?’
विरहीले भने ‘हिजोदेखि भारतमा पूर्वराजदूत केभी राजन काठमाडौंमा छन् । सूर्यबहादुर थापाबाहेक अर्को प्रधानमन्त्री हुने सम्भावना छैन ।’
विरहीसँग यति कुरा गरेपछि रानाभाट दरबारतिर लागे ।
राजा : लोकेन्द्रबहादुरले राजीनामा गरेको त सभामुखलाई थाहा भयो होला ?
रानाभाट : अँ सरकार रेडियोमा सुने ।
राजा : अब के गर्ने ? सभामुखको राय के हो ? के गर्दा उचित होला ?
रानाभाट : सरकारको दर्शनमा आउनुअघि एक पत्रकारले सुनाए । केही भारतीयहरु कसैलाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर बसेका छन् रे । त्यसो हो भने अनर्थ हुनेछ सरकार । संविधानअनुसार संसद् र संविधान क्रियाशील नभएको अवस्थामा राजाले प्रधानमन्त्री बनाउने हो ।
राजा : सभामुख, सबै राम्रो होस् भन्ने मेरो चाहना हो । म राजनीति जान्ने मान्छे होइन । दलहरुले गर्ने हो, तपाईँहरुले नै गर्ने हो ।
रानाभाट : ठीक छ सरकार अरु जे भए पनि नेपालको निर्णय नेपालीबाटै हुनुपर्छ ।
रानाभाट दरबारबाट फर्किए । चन्दले राजीनामा दिएको २६ दिनपछि २०६१ वैशाख २५ गते राजाले सूर्यबहादुर थापालाई नै प्रधानमन्त्री बनाए ।
असार तेस्रो साता राजाको जन्मदिवसका अवसरमा आयोजित जलपान समारोहमा फेरि सभामुख रानाभाट र राजाबीच सिंहदरबारमा भेटभयो ।
राजा : सभामुख गिरिजाबाबुको सोचमा केही परिवर्तन आएको हो ।
रानाभाट : सरकार मैले बुझेअनुसार कुनै परिवर्तन आएको छैन ।
राजा : खै मलाई त त्यस्तै सुनाए ।
राजा : अरु के छ खवर ?
रानाभाट : सरकार मैले जे भनेको थिएँ, त्यही भयो । भारतीयले चाहेकै मानिस प्रधानमन्त्री भए । राजा र कांग्रेसलाई टाढा बनाउन चाहनेहरु सफल भइरहेका छन् । सडकमा गणतन्त्रको नारा चर्किएको छ र सरकारको क्रियाकलापले कांग्रेस राजाबाट टाढिँदै छ ।
राजा : २—४ महिना पर्खौँ अनि अर्को बाटो बारे सोच्नुपर्छ ।
सभामुख र राजाबीचको कुराकानी प्रधानमन्त्री थापाले निकै ध्यान दिएर हेरिरहेका थिए । धेरै राम्रो सम्बन्ध भएकालेमात्र समान्यतया यस्ता कार्यक्रममा राजासँग २–३ मिनेट कुरा गर्ने अवसर पाउँथे ।
केही समयपछि राजा सिंहदरबारबाट बाहिरिए । प्रधानमन्त्री थापाले भने — ‘क्या हो तारा जी निकै लामो कुरा भयो त । लाइन मिल्यो की क्या हो ।
त्यसपछि पनि दुईतीनपटक राजा र सभामुखको भेट वार्ता भयो ।
विसं २०५९ असोज १८ मा जननिर्वाचित प्रधानमन्त्री शेरवहादुर देउवालाई बर्खास्त गरेपछि कार्यकारी अधिकार आफ्नो हातमा लिएर राजाले आफूखुसी सरकार बनाउने र विघटन गर्ने खेल चलाइरहेका थिए । राजाको कदमलाई ‘प्रतिगामी’ भन्दै संसद्वादी दलहरु सडक आन्दोलनमा थिए ।
सूर्यबहादुर थापा प्रधानमन्त्री बनेकोे नौ महिनापछि २०६१ माघ ५ गते राजाले सभामुख रानाभाटसँग लामै कुराकानी गरे ।
राजा : सभामुख तपाईँलाई प्रधानमन्त्रीको जिम्मेवारी दिए के होला ?
रानाभाट : सरकार म त्यो विषयमा सोचेर आएको होइन । यो ठट्टा होइन भने म सोचेर सरकारलाई जबाफ दिन्छु ।
राजा : ठीक छ स्पिकर तपाईँ पनि सोच्नुस् । म पनि सोच्छु । फेरि कुरा गरौँला ।
राजासँग भेटेर सभामुख फर्किए ।
केही दिनपछि फेरि राजाले बोलाई हाले ।
रानाभाट : सरकार ! तारानाथ रानाभाटलाई प्रधानमन्त्री बनाउँदा सरकारलाई सहयोग हुँदैन । त्यो प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापाभन्दा फरक हुँदैन । सभामुखलाई प्रधानमन्त्री बनाउने हो भने उसलाई संसद्ले चुनेको हो । संसद्को आधा अंग राष्ट्रियसभा जिउँदो छ । त्यहाँ सबै पार्टीको प्रतिनिधित्व छ । सबै पार्टीका लागि मान्य हुन्छ । माथिल्लो सदनका सदस्यहरुलाई मन्त्री बनाउँछु । त्यसो गर्दा अन्तर्राष्ट्रिय समुदायको सहयोग रहन्छ । जनताका प्रतिनिधि नै मन्त्री बन्छन् । सभामुखलाई प्रधानमन्त्री बनाउने भए सरकार म तयार छु ।
राजाले भने ‘ठीक छ, तपाईँ पनि यो विषयमा दलका नेताहरुसँग वातावरण बनाउनुस् म पनि बनाउँछु अनि कुरा गरौँला ।’
राजाको ‘ग्रिन सिग्नल’ पाएपछि रानाभाटले कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालगायत प्रमुख दलका नेताहरुसँग छलफल आरम्भ गरे । यस क्रममा उनको अन्तिम भेट तत्कालीन नेकपा (एमाले) महासचिव माधवकुमार नेपालसँग भयो ।
सुरु मै नेपालले सोधे — ‘हैन तारा जी राजासँग माधव नेपाललाई किन प्रधानमन्त्री नबनाएको भनेर सोध्नु भएन ?’ प्रधानमन्त्रीका लागि एमालेको समर्थन लिन पुगेका रानाभाटले आफूलाई राजाले प्रधानमन्त्री बनाउन लागेको भने खुलाएनन् । तर, राजासँग आफ्नो भेट भएको र छिट्टै निकास दिनुपर्छ भन्ने उनको मनसाय रहेको सुनाए ।
यसैताका राजा र रानाभाटबीच झन्डै ६–७ पटक लगातार भेटवार्ता भयो ।
नारायणहिटी राजदरबारमा भएको अन्तिम भेटमा राजा सभामुखलाई प्रधानमन्त्री बनाउन सहमत भए ।
रानाभाट : सरकार म प्रधानमन्त्री भएपछि सरकारका मानिस पनि मन्त्री बनाउनु पर्ने हो कि ? त्यो पनि अहिले नै क्लियर गरौँ । लोकेन्द्रबहादुर चन्दका पालामा जस्तो मन्त्रीहरुको नियुक्ति पनि सरकारबाटै हुने हो भने म प्रधानमन्त्री हुन राजी छैन । सरकारबाट प्रधानमन्त्रीका साथै सबै मन्त्री नियुक्त गर्दा कोही मन्त्रीजस्ता हुँदैनन् । सबैले आफूलाई प्रधानमन्त्री ठान्छन् र काम गर्न गाह्रो हुन्छ ।
राजा : मन्त्री बनाउनु पर्ने मेरा मानिस खास कोही छैनन् ।
रानाभाट : त्यसो भए ठीक छ सरकार । पहिला म राष्ट्रियसभा सदस्य र केही विज्ञहरुलाई साथमा लिएर सानो चुस्त मन्त्रिपरिषद् बनाउँछु । अनिपछि विस्तार गर्छु ।
राजा : ठीक छ स्पिकर ।
रानाभाट : प्रधानमन्त्रीको नियुक्ति कहिले गर्ने त सरकार । जुन वार भए पनि शुक्रवार चाहिँ म प्रधानमन्त्री भएको घोषणा हुनु हुँदैन । गते र तिथिले केही फरक पार्दैन (२०६१ जेठ १६ गतेको दिन थियो) ।
राजा : स्पिकर । वारको मलाई मतलब छैन तर १९ गते (२०५८ जेठ १९, राजारानीको हत्या भएको दिन) चाहिँ हुँदैन ।
राजासँग भेटेर प्रशन्न मुद्रामा दरबारको पश्चिम गेटबाट बाहिरिँदै गर्दा सभामुख रानाभाट पत्रकारको घेराउमा परे ।
पत्रकार : सभामुख ज्यू, निकै बेर बस्नु भयो । राजासँग के कुरा भयो ?
सभामुख : तपाईँहरुलाई थाहै छ । दरबारभित्र कुराभन्दा कुराइ बढी हुन्छ ।
पत्रकारहरु हाँस्न थाले । रानाभाट उम्किए ।
रानाभाटका लागि जेठ १७ गते वर्ष दिनजस्तै लामो लाग्यो । दिनभर संसद् सचिवालयमा थिए उनी । बेलुका निवास फर्किए । मस्त निदाएका बेला राति ११ बजे फोनको घन्टी बज्यो ।
कांग्रेस सभापति कोइरालाका पीए गोकर्ण पौडेलले भने– ‘दाई ल गिरिजाबाबु प्रधानमन्त्री हुनुहुने भयो नि थाहा पाउनुभयो ? चारपाँच दिनमै कुरो सकिन्छ ।’ रानाभाटलाई लाग्यो ‘राजासँग आफू प्रधानमन्त्री हुने फाइनल भइसक्यो के कुरा गरेको होला ?’
फोन राखेर निदाउने प्रयास गरे । निद्रा आए पो । मनमा अनेकौ कुरा खेलिरहे । ‘भोलि प्रधानमन्त्री बन्दै छु । केको चारपाँच दिनमा गिरिजाबाबु प्रधानमन्त्री हुने कुरा गरेको होला ?’ केही घन्टाअघि मात्र राजाका प्रमुख सचिव पशुपतिभक्त महर्जनको फोन सम्झिए । महर्जनले भनेका थिए– ‘हजुर भोलि तयारी अवस्थामा बस्नु होला बेलुका ठीक ६ बजे दरबारबाट फोन आउँछ ।’
जेठ १८ गते । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा दिन बिताएर बेलुका पाँच बजे रानाभाट निवास (पुल्चोक, मन्त्रीक्वाटर) तिर लागे । उनी पुग्दा हितैषी र नजिकका सीमित मानिस भेला भइसकेका थिए । साइतको कलश राखियो । दौरा सुरुवाल, कोट र टोपीमा सजिएर उनी दरबारबाट आउने फोनको पर्खेर बसे । मनमा प्रधानमन्त्री हुँदाको हर्ष र चुनौती बारे अनेकौं तर्क वितर्क खेलिरहे ।
बेलुकाको ठीक ६ बजे फोनको घन्टी बज्यो । उठाइहाले । दरबारका मुख्यसचिव पशुपतिभक्त महर्जन रहेछन् ।
रानाभाट भयो म हिडौँ । (राजदरबार प्रधानमन्त्री नियुक्तिका लागि ) ।
महर्जन : होइन हजुर एउटा कुरा बिन्ती गरौँ भनेर । सरकारबाट हुकुम भएको छ हजुर दरबार आउने बेलामा सभामुखबाट राजीनामा गरेको एउटा कागज पनि साथमा ल्याइबक्सिएला ।
रानाभाट : (झसंग भए) हैन सरकारसँग त सभामुखलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति भएको थियो । प्रधानमन्त्री बन्ने त म हैन नि । सभामुख नै प्रधानमन्त्री बन्ने भएकाले राजीनामा मागेर त भएन । एकपटक सरकारसँग सोधेर मलाई जबाफ दिनुस् न ।
एक छिन सन्नाटा भयो ।
क्षणभरमै घन्टी बजिहाल्यो ।
महर्जन : सरकारबाट शक्तिपृथकीकरणको सिद्धान्तले नमिल्ने हुकुम भयो । राजीनामा चढाउनु नै पर्ने भो ।
रानाभाट : तारानाथ रानाभाट प्रधानमन्त्री बनेर राजालाई सहयोग पुग्दैन ।
सभामुख रानाभाटले फोनमै प्रधानमन्त्री नभएका बेला विश्वका कैयौं मुलुकमा कहीँ सभामुख र कहीँ प्रधानन्यायाधीशले प्रधानमन्त्री भएर शासन चलाएका र चुुनाव गराएका १८ जति उदाहरण प्रस्तुत गरे ।
उनले भने कानुनको सिद्धान्तअनुरुप नमिल्ने भन्ने कुरा छैन । राती ६ बजेदेखि पौने ९ बजेसम्म दरबार र रानाभाटबीचमा ८–९ पटक फोनमा वार्ता भयो ।
अन्तिममा महर्जनले भने ‘ठीक छ । तपाईँको नियुक्तिपत्रमा पहिला श्री ५ बाट सभामुख तारानाथ रानाभाटलाई प्रधानमन्त्री नियुक्त गरिबक्सेको बेहोरा राखौँ । दोस्रो प्याराग्राफमा सभामुखले दिएको राजीनामा स्वीकृत भएको उल्लेख गरौँ ।’ रानाभाटले भने ‘पशुपति जी ! तपाईँ प्रशासनिक कुरा बुझ्नु होला तर राजनीति बुझ्नु हुन्न । यस्तो प्रस्ताव मेरा लागि स्वीकार्य हुन सक्तैन । सरकारलाई मैले सहयोग गर्न सकिन । सुनाइदिनु ।’
दरबार जान ठिक्क परेका रानाभाट कपडा खोलेर बेडरुमतिर लागे ।
रानाभाटलाई सभामुखबाट राजीनामा गराउन नसकेपछि राति नै दरबारले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने निर्णय गर्यो ।
त्यसो गर्दा आफैँले ‘अक्षम’ भनेर बर्खास्त गरेको व्यक्तिलाई नै प्रधानमन्त्री बनाएको ठहर हुने र अन्तर्राष्ट्रिय जगतलाई समेत असोज १८ सच्चियो भन्न पनि मिल्ने ।
राती नै दरबारले देउवालाई फोन गरी महाराधिराजबाट दरबार बोलाइबक्से खबर गर्यो । यसरी जेठ २० गते देउवा प्रधानमन्त्री भए ।
दरबारमा शपथ लिए लगत्तै ‘गोर्खाका राजाबाट न्याय पाएको’ प्रतिक्रिया दिए ।
मुखैमा आएको प्रधानमन्त्री पद छोड्ने सभामुख रानाभाटलाई भने ‘प्रतिगामी’को बिल्ला भिराइयो ।
रानाभाटले अस्वीकार गरेपछि प्रधानमन्त्री नियुक्त भएका देउवालाई बर्खास्त गरी २०६१ माघ १९ मा राजाले मुलुकको शासन सत्ता हत्याए । उनै देउवा गणतन्त्र आएपछि कांग्रेसका सभापति र प्रधानमन्त्री बने ।