डा. राजुबाबु श्रेष्ठ
त्रिचालीस वर्षअघिको कुरो हो । हामी चार कक्षामा पढ्दै थियौं । त्यस्तै नौ–दस वर्षको हुँदा हुँ । गोरखा सदरमुकाममा मोटर बाटो पुगिसकेको थिएन । अहिलेको रानीपोखरीको उत्तरतर्फको चौरमा थियो हामीले पढ्ने स्कुल । नाम महेन्द्र ज्योति भए पनि यसलाई सबैले कन्या स्कुल भन्थे । पछि स्कुल दरवारमार्गमा सरेकोले त्यहाँ रानीपोखरी पार्क बनेको हो । उतिबेला रानीपोखरी सर्वसाधारण जनताको पहुँचभन्दा बाहिर थियो । रानीपोखरी वरपर नेपाली सेनाको भैरवनाथ गुल्मले काँडेतार बारेर माछा पाल्ने गर्दथ्यो । पोखरी वरपर सेनाकै संरक्षणमा आँप, आलुबखडा, नासपाती, आरुजस्ता किसिमकिसिमका फलफूलका बोटहरु लगाइएका थिए ।
रानीपोखरी डिलबाट करिब २० फिटको दूरीमा काँडेतारको बार थियो । बारदेखि बाहिर स्कुलको आँगन । स्कुलका दुईवटा भवन थिए । एउटा पोखरीतर्फ फर्किएको लामो दुईतले । जसमा ढुङ्गाको छानो थियो । अर्को पूर्वतर्फ फर्केको काठको चारपाटे डण्डी ठाडोठाडो पारेर राखेको खुल्ला भुइँतले । तीन कक्षासम्म सो भुइँतले भवनमा र चार कक्षादेखि माथि ठूलो भवनमा पढाउने गरिन्थ्यो ।
सात कक्षासम्म मात्र पढाइ हुने हाम्रो स्कुलमा गोरखा बजार क्षेत्रका साथै सदरमुकाम वरपर रहेका गाउँहरु पस्लाङ, मान्द्रे ढुङ्गा, सतिपिपल, पिपलथोक, फिनामबाट समेत विद्यार्थी पढ्न आउँथे । यस हिसाबले विद्यार्थीको सङ्ख्या राम्रै थियो । विद्यार्थी सङ्ख्याको अनुपातमा खेल्ने ग्राउन्डको भने अभाव थियो । हाफटाइममा विद्यालयको ग्राउन्डमा ६ र ७ कक्षाका दाइहरु भलिबल खेल्ने हुनाले हामी साना कक्षामा पढ्नेहरु स्कुल कम्पाउन्ड बाहिर रहेको विष्णु पाञ्चायन मन्दिरको आँगन र पेटीमा खेल्न पुग्थ्यौं । कागजको रकेट बनाएर बारम्बार रानीपोखरीतिर उडाउँथ्यौं । हाम्रा रकेटहरु रानीपोखरीमा गएर ल्यान्ड हुन्थ्यो । हाम्रो चकचक र बिठ्याइँले सेनाहरु पनि वाक्कदिक्क हुन्थे । हामी केटाकेटीलाई न कुट्नु न थुन्नु ! उनीहरुसँग यसको कुनै उपाय पनि थिएन ।
शिक्षकहरु अगाडि हुँदा हामी जस्तो अनुशासित कोही देखिँदैनथ्यो । शिक्षक आँखाबाट ओझेल पर्नासाथै गुच्चा, खोपी,चुँगी, रकेटमा पुग्थ्यो हाम्रो ध्यान । हामीजस्ता छुल्याहाहरुलाई दिनभर कोठामा थुनेर पढाउन हम्मेहम्मे पथ्र्यो । सायद हाम्रो यस्तै छुल्याइँ र बिठ्याइँको औषधि गर्न नै होला, कक्षामा आउँदा सबै शिक्षकले हातमा एउटा न एउटा हतियार बोकेरै आएका हुन्थे । हातमा लौरो नबोक्ने शिक्षकलाई हामी उतिसारो टेर्दा पनि टेर्दैनथ्याैं । कति सरहरु त देखाउनकै लागि भए पनि लौरो बोकेर आउँथे । चकचक गर्दा बेन्चीमा हिर्काएर थर्काउँथे । त्यतिबेला जुन शिक्षकको कक्षा शान्त रह्यो त्यही शिक्षक राम्रो भन्ने मान्यता रहेकोले पनि लौरोले विशेष महत्व राख्थ्यो । लौरोको साइज र उसले दिने सजायँको मात्रा हेरेर कुन शिक्षक कति कडा र कुन शिक्षक कति नरम भन्ने चर्चा विद्यार्थीमाझ चल्ने गथ्र्यो ।
शिक्षकहरुले जति नै कडाइ गरे पनि आर्मी क्याम्पको फलफूल चोर्ने, स्कुलका भित्ताहरुमा कोर्ने, नयाँनयाँ बेन्चीमा मनलाग्दी लेखिदिने, अरुको नोटकापीमा केरिदिने जस्ता घटना भैरहन्थे । एउटाले गरेको गल्तीमा कक्षाभरिका सबैले सजायँ भोग्नुपर्ने अवस्था पनि आइपथ्र्यो । अधिकतर सजायँ भनेकै कान समाएर उठबस गर्नु हुन्थ्यो । यसका लागि कक्षाका सबै विद्यार्थी पारङ्गत नै थिए ।
स्कुलमा सबैभन्दा अग्रज पुस्ताका दुई गुरु थिए । बद्री गुरु र फणीन्द्र गुरु । बद्री गुरु केही वर्ष पढाएर नजिकैको शक्ति स्कुलमा जानुभयो । वहाँहरु दुवैजना संस्कृतका धुरन्धर पण्डित । हातमा लौरो बोकी हाले पनि निकै सानो सिम्कना बोक्थे । डर देखाउनका लागि लौरी बोके पनि हतपती नकुट्ने । विद्यार्थीले हेप्नै लागे भने कान समाएर घुमाइदिने चाहिँ गर्नुहुन्थ्यो । वहाँहरुले पढाउनुभएका नीति कथाहरु अझै पनि धमिलो धमिलो याद छँदैछ । शिक्षकहरु सबै आफ्ना विषयमा पोख्त थिए । पद्मनिधि सर, बासु सर, शुक्रराज सर, भीमराज सर,कृष्णमान सर, अर्जुन सर, माया मिस, सरला (नाम परिवर्तन) मिसलाई सम्झँदा अझै पनि श्रद्धाले शीर झुक्ने गर्छ । अहिले पनि घर जाँदा कतिपयलाई भेट्ने गर्छु । वहाँहरुले दिने मायामा केही कमी देख्दिनँ । कति यो संसारबाट बिदा भैसक्नु भो । केवल सम्झनामा जीवित हुनुहुन्छ ।
पद्मनिधि सर कक्षामा पढाउँदा बाघ गर्जे जस्तै गर्जनु हुन्थ्यो । नालापानी र देउथलको युद्धको प्रसङ्गमा त शरीरका सबै रौं नै ठाडो हुने गथ्र्यो । कक्षामा पस्दा लौरो पनि सधैं किसिमकिसिमको बोक्नु हुन्थ्यो । कहिलेकाहीँ त लौरो नभेटेर नजिकै भित्तोको नीलकाँडाको हाँगो भाँचेर कक्षामा पस्नुहुन्थ्यो । वहाँको कक्षामा सुत्ने, हल्ला गर्ने, ध्यान नदिने काम वर्जित थियो । वहाँको नीति विरुद्ध जानेले दरिलै कुटाइ भेट्ने स्थिति बन्थ्यो । पढाइमा पनि कमाण्ड र सजायँमा पनि कडा भएकोले वहाँको कक्षामा कसैले ‘चुँ’ सम्म गर्ने हिम्मत गर्दैनथे । बासु सर सबैका प्रिय हुनुहुन्थ्यो । विद्यार्थीसँग हँसिमजाक गर्न रुचाउने हुनाले हामी पनि वहाँसँग जिस्किरहन्थ्यौं । सधैं सानो सेलरोटी पोल्ने सिन्कोजस्तो बाँसको छडी बोकेर आउने बासु सर सजायँ दिदा पनि हाँसेरै दिने हुनाले वहाँसँग हामीलाई त्यति डर लाग्दैनथ्यो । अन्य सर, मिसहरु पनि हातमा आआफ्नै रुचिअनुसारको लौरो बोकेर कक्षामा प्रवेश गर्थे । शुक्रराज सरचाहिँ प्रायः सजायँ दिँदा हातकै प्रयोग गर्न रुचाउनुहुन्थ्यो । एकपल्ट वहाँको उल्टो पन्जाको झापु भेट्नेहरु फेरि खान अघि सर्दैनथे ।
कति शिक्षकहरु निकै कडा स्वभावका थिए भने कति नरम पनि । स्वभाव जेजस्तो भए पनि कक्षामा आउँदा केही अपवादलाई छाडेर अधिकांश शिक्षकले हातमा लौरो बोकेकै हुन्थे । कति समय त हामी शिक्षकले पढाएको विषयवस्तु भन्दा शिक्षकको हातको लौरोको बारेमा कुरो गरेर कटाउँथ्यौं । सायद हाम्रा चकचक, होहल्ला, बिठ्याइँ र उद्दण्डतालाई ठीक पार्न बोकेका थिए होलान् हाम्रा शिक्षकहरुले हातमा लौरी । सरहरु भन्दा मिसहरु केहि नरमपन्थी भएकाले वहाँहरुको कक्षामा चाहिँ हामी आफूलाई अलि बढी स्वतन्त्र महसुस गथ्र्यौं । मिसहरु बोर्डतर्फ फर्केका बेलामा हामी साथीहरुसँग इशारा गरी सानो स्वरमा बेलुकी खेल्ने स्थानको टुङ्गो लगाउँथ्यौं । हल्ला बढी भएमा कहिलेकाहीँ टाउकोमा लौरोको ट्वाक भेटिन्थ्यो । कान निमोठ्नु, गाला चड्काउनु, टाउकोमा ट्वाक हान्नु, हातमा लौरोले हान्नु सामान्य थियो । बोले पनि, सुते पनि, गृहकार्य नगरे पनि, प्रश्नको उत्तर दिन नसके पनि लौरो खानु अनिवार्य जस्तै थियो । लौरो खाँदाखाँदा खानेहरुले पनि उतिसारो मतलब गर्दैनथे । अहिले जस्तो बच्चाको कुरो सुनेर स्कुलमा झगडा गर्न जाने अवस्थाका अभिभावकहरु नै थिएनन् । शिक्षकले जे गर्छन् ठीक गर्छन् भन्ने विश्वास थियो अभिभावकमा ।
महिना र दिन ठ्याक्कै याद भएन । एक दिन सरला मिसको कक्षा चलिरहेको थियो । वहाँ बोर्डमा लेख्दै हुनुहुन्थ्यो । हामी आफूखुसी चकचक गर्न व्यस्त थियाैं । धैरैको ध्यान पढाइमा थिएन । यतिकै चलिरहेको अवस्थामा पछाडिको बेन्चीबाट कसैले फ्याँकेको कागजको सानो टुक्रो मेरो अगाडि बेन्चीमा ठोकिएर भुइँमा झर्यो । मैले टिपेर खोली हेरेँ । ‘आई लव यु’ लेखिएको रहेछ । मैले उस्तैगरी पट्याएर मेरो बायाँतर्फ बसेको दीपक अर्याललाई दिएँ । उसले पनि पढेर आफ्नो बायाँतर्फ रहेको लवबाबु श्रेष्ठलाई दियो । लवले हेर्दै नहेरी केटीहरु बसेको बेन्चीतर्फ फ्याँकिदियो । जब केटीहरुले खोली हेरे, उनीहरुबीच खासखुस चल्न थाल्यो । हामीलाई भने भित्रभित्रै डर लाग्न थाल्यो । केहीबेरको खासखुसपछि केटीहरुले सो चिट सरला मिसको हातमा बुझाइदिए ।
चिट हेरेपछि सरला मिस रिसले आगो हुनुभो । केटीहरुको रिपोर्ट अनुसार लव, दीपक र म त्यो आई लव यु लेखिएको चिटको मुख्य दोषी ठहर भयौं । हामी तीनै जनालाई अगाडि उभ्याइयो । कसले लेखेको भन्ने कुराको लामै अनुसन्धान भयो, तर हामीले लेख्ने मानिस यही हो भनी देखाउन सकेनाैं । हामीलाई सजायँको डरभन्दा पनि यो कुरो घरसम्म पुग्ला भन्ने डर थियो । कक्षा कोठामा यस्तो नचाहिने कुरो लेख्ने भन्दै सरला मिस अत्यन्तै रिसाउनु भयो । वहाँले हामीलाई स्कुलबाट निकालिदिने धम्की दिनुभो । हामी रुञ्चे अनुहार लगाएर मुन्टो निहु¥याई उभिइरह्यौं । कक्षामा सुनसान छायो ।
त्यो बेलामा आई लव यु लेखेर केटीलाई दिनु सङ्गीन अपराध नै मानिन्थ्यो । हामी प्रेम गरेर हिँड्ने उमेरका पनि थिएनांै । केटीहरुप्रतिको आकर्षणले लेखिएको पनि थिएन । यो विशुद्ध बालापनको उछिल्याइ थियो । तर त्यस दिन त्यही उछिल्याइ हाम्रो जीवनकै लागि दुखद् घटना बन्न पुग्यो । सरला मिसको रिस थामिएन । वहाँले कक्षा मनिटरलाई अफिसमा गएर ठूलो लौरो ल्याउन अह्राउनु भयो । हामीले कुटाइ खाने खुसीले रमाउँदै कक्षाबाट बाहिरियो मनिटर ।
एकैछिनमा हातमा कोदालोको मोटो बिँड लिएर आइपुग्यो मनिटर । लौरो देख्दै हाम्रो हंसले ठाउँ छाड्यो । अरु केही भेटिएन भन्दै मनिटरले बिँड मिसको हातमा राखिदियो । हामी थरथर काँप्दै मिसको अगाडि उभियौं ।
‘‘उम्रिन पा’छैन तीन पात !’’ भन्दै आँखा ठूल्ठूलो पार्दै मिस हाम्रो अगाडि उभिनुभो । अगाडि म परेकोले मलाई पछाडि फर्किने इशारा गर्नुभो । म डराइडराइ पछाडि फर्कें । मिसले सो बिँडले मेरो कम्मरको पछाडि भागमा जोडले हान्नुभो । बिँडको चोटले म भुइँमा थचक्क बसेँ । मेरो आँखाबाट बररर आँसु झर्यो । मैले जीवनमा कहिल्यै यति पीडायुक्त चोटको अनुभव गरेको थिइनँ । मलाई कक्षाबाट बाहिर जाने निर्देश भयो । म उठ्नै सकिनँ । खुट्टा घिसार्दै ढोका बाहिर निस्केँ । त्यसपछि दीपकको पालो आयो । दीपकलाई पनि उसै गरी जोडले कम्मरमा हान्नुभो । दीपक थचक्क भुइँमा बसी ठूलो आवाज निकालेर रुन लाग्यो । दीपक पनि उठ्न सकेन । कुप्रो पर्दै कक्षाबाट निस्कियो । अन्तिममा लवको पालो आयो । लव मेरो र दीपकको अवस्था देखेर पहिला नै रुन थालिसकेको थियो । चोट खानेलाई भन्दा चोट देख्नेलाई बढी दुख्छ भनेको कुरो सही रहेछ । लवमाथि पनि मिसले बलपूर्वक बिँड प्रहार गर्नुभो । लव चोट सहन नसकी मरेँ बा हो भन्दै भुइँमा बसेर रुन लाग्यो । रुँदैरुँदै ऊ पनि कक्षाबाट बाहिर निस्क्यो । कक्षामा अनौठो सुनसान छायो । हामी तीनैजना बाहिर निकालियौं । हामीलाई सजायँ दिने खबरले खुसी भएका साथीहरु पनि हाम्रो रुवाइ र पीडाले दुःखी बने ।
‘‘ल तिमीहरु भोलिबाट स्कुल नआउनु । हेडसरलाई भनेर तिमीहरुको नाम काटिदिन्छु ।’’ यति भनेर सरला मिस कक्षामा पढाउन लाग्नु भयो । आई लव यु लेखिएको एउटा चिट फ्याँकेको बदलामा त्यति कठोर दण्ड दिएर पनि सरला मिसको चित्त बुझेन । स्कुलबाटै निकाल्नेसम्मको चेतावनी दिएर कक्षाबाटै निकालिदिनु भयो ।
कक्षाबाट निकालिएपछि हामी खुट्टा खोच्याउँदै स्कुलबाट बाहिर निस्क्यौं । घर जाने कुरो भएन । मिसको कुटाइको पीडा र घरमा पाइने सजायँको चिन्ताले दिमाग रन्थनिएको थियो । बजारका मान्छेहरुले थाहा पाउलान् कि भनेर स्कुलनजिकै रहेको महादेव मन्दिरभित्र छिर्यौं । वरपर ठूलो पर्खालले घेरिएको हुनाले बाहिरबाट हामीलाई कसैले देख्दैनथ्यो । हामी तीनै जनालाई सरला मिसप्रति रिस उठेको थियो । चित्त दुःखेको थियो । आई लव यु लेखिएको चिट फालेको गल्तीको सजायँ यति कठोर हुन्छ भन्ने हामीले कल्पना पनि गरेका थिएनौं ।
हामीलाई जतिसुकै चोट परे पनि हाम्रोबारे बोलिदिने कोही थिएन । त्यतिबेला भगवान् मात्र हाम्रो सहारा सम्झेर हामी तीनै जना महादेवको मूर्तिअगाडि बसेर सरला मिसलाई भन्नुनभन्नु गाली गर्यौं । तीनै जनाले दुई हात जोडेर हामीलाई कुट्ने मिस आजै राति मरिजाओस् भन्दै रुँदैरुँदै भगवान्सँग प्रार्थना गर्यौं । हाम्रो मन कति दुःखेको थियो भन्ने कुरा यो प्रार्थनाबाट पनि थाहा हुन्छ । हामी चार कक्षामा पढ्ने बालकलाई दिइएको यस्तो सजायँ सायद स्कुलको इतिहासमा अर्को छैन होला । महादेवसामु बारबार पुकारा गर्दा पनि हाम्रो आँसु रोकिएको थिएन । हाम्रो खबर स्कुलबाट घरसम्म पुगेछ । लवको बुवा हामीलाई खोज्दै आइपुग्नु भयो । वहाँलाई टाढैबाट देखी हामी त्यहाँबाट सुइँकुच्चा ठोक्यौं ।
हाम्रा लागि स्कुलको ढोका बन्द थियो । घरमा के हुने हो थाहा थिएन । जाने ठाउँ कतै थिएन । आफन्तकहाँ जानको लागि पनि समय र सन्दर्भ मिल्ने थिएन । हामी त्यहाँबाट लखरलखर अहिलेको बसपार्कदेखि मुनि गहिरोमा रहेको धोबीखोला धारातर्फ लाग्यौं । त्यतिखेर हालको बसपार्क रहेको ठाउँमा सानो चिहाने खोला बग्थ्यो । खोलावरपर मान्छे गाड्ने हुनाले यस खोलाको नाम नै चिहाने खोला रहेको थियो । हाल पिचसडक रहेको ठाउँमा छिपिटोलबाट शक्ति स्कुल जाने गोरेटो बाटो थियो । दुवैतर्फ ढुङ्गाको पर्खाल लगाएको बाटोको दुवैतर्फ खेत थिए । कसैको नजर नपर्ने गहिरोमा भएकोले हामीले त्यो ठाउँ रोजेका थियौं ।
दिउँसोको समय भोक र पीडाले सताउँदै थियो । खानेकुरा केही थिएन । केही किनेर खाने जमाना थिएन । घरको खाजा खाने समय बितिसकेको थियो । डरैडरले काँपेको थियो मन । भोकले अति सताएपछि धोबीखोलानजिकै रहेको आर्मी क्याम्पको पर्खालबाहिर बोटबाट खसेका लप्सी खोज्न लाग्यौं । पाकेर झरेका लप्सी र पानी खाएर दिन कटायौं ।
साँझ पर्न थालेपछि डरका कारण हामी त्यहाँबाट बिस्तारैबिस्तारै बजार नजिकनजिक उक्लियौं । सीधै घर जाने हिम्मत पनि थिएन । अँध्यारो हुन लागेको बेला महादेव मन्दिरको मुनि झ्यालखानाअगाडि हामीलाई खोज्दै आएका बा र दाजुहरुसँग भेट भयो । हामी सबै आआफ्नो अभिभावकसँग घरतर्फ लाग्यौं । घरमा पुगेर म निकैबेर रोएँ ।
‘‘यसको गल्ती नभए मास्टरले त्यसै कुट्छ ?’’ बाले यति मात्र बोल्नु भयो ।
राति आमाले दुःखेको ठाउँमा तेल लगाइदिन खोज्दा लौरोको सुम्लो देखेपछि आमा पनि रुनु भयो । यस्तो बच्चालाई यसरी पिट्ने मास्टरको हातमा कीरा परोस् भनेर आमाले पनि निकै गाली गर्नुभयो । रातभर निद्रा लागेन मलाई । भोलि स्कुल कसरी जाने ? नाम काटिदिएका रहेछन् भने के गर्ने ? सरला मिसले बाआमालाई के भनिदिने हो ? बाआमाले के सोच्नुहोला ? निनै कुराहरु खेलिरह्यो मनमा ।
भोलिपल्ट बिहानै स्कुल बन्द भएको खबर गाउँभरि फैलियो । म आश्चर्य मान्दै घरबाट निस्की बजारतिर दौडिएँ ।
‘‘आज राति सरला मिस त मरिछन् नि है ! देख्दा त हट्टाकट्टा नै देखिन्थिन् !’’ घरनजिकैको पँधेराछेउ पुग्दा कानमा ठोकिएको कुनै पँधेर्नीको आवाजले छाँगाबाट खसे जस्तै भएँ । हिजो महादेवको मन्दिरमा आफूहरुले त्यसो भन्नु अनि त्यही राति यस्तो घटना हुँदा डरले मन भित्रभित्रै काँप्न थाल्यो । म दौडेर लवको घर पुगेँ । लवलाई कुरो सुनाएर हामी दुवैजना दीपकको घर गयौं । तीनै जना दौडेर महादेव मन्दिर पुग्यौं । हामीले भगवान्सँग पुकारा गरेकोले मृत्यु भएको भन्ने कुरा पुलिसले थाहा पायो भने हामीलाई थुन्छ भन्ने अर्को डर पैदा भयो हाम्रो बालमष्तिष्कमा । फेरि उही महादेवसँग हामीलाई बचाउनुहोस् भगवान् भनेर प्रार्थना गर्यांै । यो कुरा कसैलाई नभन्ने प्रण गरी तीनै जना घर फक्र्यौं । डरका कारण धेरै वर्ष यो कुरा हामी तीन जनाबीचमै सीमित राख्यौं ।
आज धेरै वर्षपछि ती पुराना दिनको घटना सम्झेर फेरि मन व्याकुल भयो । यतिखेर हामी तीनै जना आआफ्नो क्षेत्रमा सफलै छौं । भेटघाट हुँदा सरला मिसको प्रसङ्ग आइरहन्छ । बालापनको त्यो घटनाले मन चिमोटिरहन्छ । हाम्रो प्रार्थना र सरला मिसको मृत्युबीच कुनै दैवीशक्तिको सम्बन्ध होला कि नहोला भन्ने चिन्तनमा डुबिरहन्छ मन । हाम्रो पीडाको पुकार हो वा अन्य कुनै रोगको कारण हो, नत्र २२–२५ वर्षको लाउँलाउँ र खाउँखाउँको उमेरमा त्यसै राति कसरी भयो उनको मृत्यु ? भगवान्बाहेक अरुलाई थाहा हुने कुरो भएन । आफ्नो बालापनमा गरिएका बिठ्याइँहरु सम्झेर कहिले हर्षित त कहिले दुखित भइरहन्छ मन । आफैसँग रमाइरहन्छु ।
यो संस्मरण लेखिरहँदा मेरा गुरुहरु मेरो स्मृतिको दैलोमा आएर पटकपटक उभिए । मैले मनैदेखि प्रणाम गरेँ । हृदय खोलेर भन्नुपर्दा यतिखेर मेरो मनमा मेरा कुनै पनि गुरुहरुप्रति कुनै गुनासो छैन । वहाँहरुले नै हामी जस्ता छुल्याहा, चकचके केटाहरुलाई सिकाएर, उठबस गराएर, कान निमोठेर, ठोकेर, सोठ्याएर आजको स्थानमा ल्याइपुर्याएको हो भन्ने कुरामा कुनै सन्देह छैन । तर पनि तत्कालीन समयलाई फर्केर हेर्दा आई एड, बी एड पढेर बालमनोविज्ञानका बारेमा राम्रै अध्ययन गरेका हाम्रा शिक्षकहरुमा आफूले प्राप्त गरेको ज्ञानको विपरीत लौरोले ठोकेरै विद्यार्थी तह लगाउँछु भन्ने धारणाको विकास कसरी हुन गयो ?
के हामी मायाले पढाउनै नसकिने र बोलीले तह लगाउनै नसकिने स्तरका थियौं त ? एउटा बालकले कागजमा आई लव यु लेखेकै कारण यति कठोर र अमानवीय दण्ड दिने सोच शिक्षकमा कसरी पलायो ? के त्यतिखेरको शैक्षिक संस्कारकै कारणले त्यसो भएको होला त ? यस बिषयमा आफूले आफैंलाई जति प्रश्न गर्दा पनि उत्तर पाउन सक्दिनँ ।
समयको सुइ निकै घुमिसकेको छ । २०३४ सालदेखि आज ७७ सालसम्म आइपुग्दा परिवर्तनका रेखाहरु प्रष्टै कोरिएका छन् । सोच र शैलीमा आकाशजमिनको अन्तर परेको छ । समयसँगै उमेर र विचारमा व्यापक परिवर्तन भएको छ । तैपनि बेलाबेलामा बालापनका यस्ता घटनाले मनको ढोका ढकढक्याइरहन्छन् । यस्तो बेला कसको दोष कति थियो भन्ने पनि सोच्दिनँ म । सरला मिसलाई सम्झँदा बडो नमीठो अनुभूति भैरहन्छ । सायद वहाँको मनमा हामीलाई सुधार्ने अभिप्राय नै हुनुपर्छ भन्ने लागेर आउँछ । आज सो घटनालाई सम्झँदा सरला मिसप्रति माया र आदर पलाएर आउँछ । वहाँले नसुने पनि हामी तीनै जनाको तर्फबाट वहाँप्रति श्रद्धा सुमन चढाउँदै क्षमा माग्न मन लाग्छ– ‘‘सरी है सरला मिस ।’’