site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोना प्रतिकार्यमा सांस्कृतिक ‘भाइरस’को चुनौती

कोभिड –१९ भाइरसको प्रकोपले हामीलाई कति प्रभाव पार्ला भन्ने भाइरसको जैविक प्रकृतिमा मात्र होइन हामीले यससँग सांस्कृतिक रूपमा कसरी अनुकूलन गर्छौ अर्थात् हामीले सामूहिक स्तरमा कसरी प्रतिक्रिया गर्छौँ भन्नेमा पनि निर्भर हुन्छ । दुःखको कुरा, कोरोना संक्रमणले म र मेरा बाँचुन् अरू भर्सेलामा परे परुन् भन्ने प्रवृत्तिको नेपाली समाजको बदलिँदो चरित्र र मनोवृत्ति पनि अगाडि ल्याएको छ । ‘जेनोफोबिया’, घृणा र छीछी दूरदूरको रूपमा देखिएको बढ्दो सामाजिक दूरीले कोरोना प्रतिकार्यमा गम्भीर चुनौती थपिरहेको छ । यस लेखमा यिनै चुनौतीको छोटो चर्चा गर्ने जमर्को गरिएको छ ।

(अ)सामाजिक दूरी

ऐतिहासिकरूपमा नै नेपाली समाजमा व्यक्ति र समूहहरूलाई छुट्ट्याउने (सेग्रिगेसन) र विभेद गर्ने जात व्यवस्थालगायतका संरचना र मनोविज्ञान रहिआएको छ । सामाजिकरूपमा छुट्याउने वा दूरी बनाउने कुराले घृणा र लाञ्छनाको संस्थागतकरणतर्फ लैजान्छ । कानुनी प्रयास हुँदाहुँदै पनि सामाजिक स्मृतिका कारण यो विभिन्नरूपमा प्रकट भइरहन्छ र कहिले काहीँ फरकरूपमा पनि शिर उठाउँछ । अहिलेको संकटमा पनि यो रूप फेरेर अगाडि आएको छ । कोरोना महाव्याधिको सुरुदेखि नै यसले शिर ठाडो पार्न थालेको हो । चीनको वुहानबाट ल्याइएका आफ्नै छोराछोरीलाई राख्न बनाउन लागिएको क्वारेन्टिनको समुदायद्वारा विरोध गरियो ।

Prabhu Bank
Agni Group
NIC Asia

पछिल्लो समयमा पनि धेरै स्थानमा आफ्नो छेउमा क्वारेन्टिन राख्न नदिएको समाचार आइरहेका छन् । हालसालै संक्रमितहरूलाई आफ्नो सहरमा ल्याउन लागिएको भन्दै कोहलपुरमा स्थानीयहरू सडकमै उत्रिए । यो डरलाग्दो रूपमा सामान्य प्रवृत्ति भइसकेको छ । यस्तो सामाजिक दूरीले संक्रमण लुकाउने र छुट्टाभिन्न (आइसोलेसनमा) नबस्ने प्रवृत्तिलाई प्रोत्साहित गरिरहेको छ, जुन बढ्दो स्थानीय संक्रमणको सन्दर्भमा अत्यन्त घातक हुन सक्छ । संक्रमितहरू ‘आइसोलेसन’मा जान अस्वीकार गरिरहेका खबर आउन थालेका छन् । यसले यतैतर्फ संकेत गर्छ । अझ सरकारी व्यवस्थापकीय कमजोरी (भद्रगोल क्वारिन्टीन) ले आगोमा घिउ थप्ने कार्य गरेका छन् । 

गाउँ र सहरका बाटा  चौबाटामा अवरोध राखिएका छन्, स्थानीयबाहेक अरूलाई नआउन सूचना टाँसिएको छ र ‘स्वयंसेवक’हरू बाटो छेक्न बसेका छन् । यसले आपत्कालीन ओहोरदोहोरमा समेत बाधा पारेको छ । भौतिक दूरी पालन गर्नु पर्नेमा हामीले त्रुटिपूर्ण ‘सामाजिक दूरी’ लाई जोडतोडका साथ बढवा दिइरहेका छौँ । अर्कोतर्फ यस्तो नकारात्मक सामाजिक मनोविज्ञानमा पनि संक्रमित र मृतकको गोपनीयताको राम्रो ख्याल गरिएको छैन । यसले संक्रमितलगायत उनीहरूको परिवार र आफन्तलाई ठूलो सामाजिक र मानसिक दबाब बनाएको छ र बनाउनेछ ।

Global Ime bank

घृणा र ‘जेनोफोबिया’को संक्रमण

हाम्रा सांस्कृतिक विश्वासहरूले व्यक्ति वा समूहको कुनै खास अवस्थालाई नकारात्मकरूपमा परिभाषित गरेको खण्डमा त्यसले घृणा र लाञ्छना जन्माउँछ । रोगहरूमा र विशेषगरी सरुवा रोगहरुमा यस्तो घृणाको प्रवृत्ति प्रबल हुन्छ । यस सन्दर्भमा स्वास्थ्य संकटमा हामीकहाँ अर्को सांस्कृतिक ‘भाइरस’ले टाउको उठाएको छ । संक्रमित व्यक्तिमात्र होइन समूहलाई नै लाञ्छना लगाउने प्रवृत्ति देखिएको छ । विभिन्न ठाउँमा कुनै खास धार्मिक समूहलाई नै लाञ्छित गर्ने कार्य गरियो । उदाहरणका लागि केही महिलाले ‘पैसामा थुकेर बाटोमा फालेको’ भन्ने खबर वनको डढेलो जसरी फैलाइयो भलै पछि त्यो भ्रामक हल्ला रहेको प्रमाणित भयो । सामाजिक सञ्जालमा विशेष धर्म समूहका मानिसलाई ‘भाइरस बम’ को रूपमासमेत चित्रित गरियो ।

त्यस्तो भ्रामक चित्रणको विरोध गर्ने माथि पनि खनिने कार्य गरियो । संक्रमित खास क्षेत्र र समूहलाई पनि शंका र घृणाको दृष्टिले हेर्ने प्रवृत्ति अझ बढेको छ । वास्तवमा यो स्वास्थ्य संकटले केही व्यक्ति र समूहमा दबेर रहेको आफूभन्दा फरक, नचिनेका र बाहिरिया मानिएकाप्रतिको डर र घृणा (जेनोफोबिया) लाई बाहिर ल्याएको मात्र हो । तर, यस्तो लाञ्छनाले अरूलाई के प्रभाव पर्छ भन्ने आफूलाई पर्दामात्र थाहा हुन्छ । उदाहरणका लागि अफ्रिकी मुलुक हाइटीमा सन् २०१० मा करिब नौ हजार जनाको ज्यान लिने गरी फैलिएको हैजा संक्रमण शान्ति प्रक्रिया सघाउन गएका नेपाली सेनाका कारण भएको भनेर स्थानीयले ठूलो विरोध गरेका थिए । अध्ययनले यो आरोपलाई बल पुर्‍याएको भए पनि त्यसबेला हाम्रो मन कुँडिएको थियो । कसैलाई सघाउन गएका हाम्रा दाजुभाइ रोग सार्न पक्कै पनि गएका थिएनन् । तर, पनि उनीहरू त्यहाँ ‘जेनोफोबिया’ का सिकार बन्नु परेको थियो । 

नायकहरूको अपमान गर्नेहरुको नक्कली ‘राष्ट्रवाद’

घृणा संक्रमिततर्फ मात्र होइन उनीहरूसँग विभिन्नरूपमा जोडिन पुगेकातिर पनि तेर्सिएको छ । आफ्नो घरपरिवारबाट समेत टाढा रही प्रतिकार्यमा लागेका स्वास्थ्यकर्मीसँग समेत दूरी बढाउने र दूरदूर गर्ने गरेको देखियो । उनीहरूलाई घर बहालमा राख्न नचाहनु वा निस्केर जा भन्ने र अन्य दुव्र्यवहारका घटना बाहिर आए ।

अरू त अरू, निःस्वार्थ संक्रमणविरुद्ध डटेर लागेका स्वयंसेवकलाई समेत अपमानित गर्ने कार्य गरियो । लकडाउन सुरु भएदेखि अस्पतालमा स्वयंसेवकको भूमिका खेल्दै आएका र कोही अघि नसर्दा पनि संक्रमणका कारण ज्यान गुमाउनेको अन्त्येष्टि गरेकाहरूलाई समेत आफ्नो समुदाय छेउ आइसोलसेनमा राख्न नदिई छी छी गर्नु जत्तिको ठूलो विडम्बना अहिलेको समयमा अरू के होला ? मुखले वाह! वाह! गरेर व्यवहारमा विभेद गर्ने यस प्रवृत्तिले हाम्रो ‘दोधारे’ चरित्रलाई उदांगो पारेको छ । उता लामो दूरीमा आपत्कालीन सेवा दिइरहेका एम्बुलेन्स चालकहरूले बाटोमा पानीसमेत खान नपाएको गुनासो पनि आइरहेका छन् । सोधपुछको नाममा सुरक्षाकर्मीकै अगाडि ‘भिजिलान्ते’द्वारा स्वास्थ्यकर्मीको हुर्मत लिनेसम्म काम गरिएको छ । भाइरससँग लड्ने योद्धाहरूको मनोबल घटाउने यस्ता व्यवहारले यो लडाइँ हारिन्छ कि जितिन्छ भन्ने बुझ्न सामान्य ज्ञान भए पुग्छ । यस्तो प्रवृत्ति निराशाजनक र लाजमर्दो त हुँदै हो आपत्तिजनक  पनि हो ।
 
अहिले कोरोनाको कहर सँगसँगै मिचाहा छिमेकीको व्यवहारले पनि हामीलाई दुःखी बनाएको छ र यसले ‘राष्ट्रवाद’को छाल ल्याएको छ । तर, बुझ्नुपर्ने सत्य के हो भने राष्ट्र भूगोलमात्र होइन । आफ्नै मुलुकका आफन्त र नायकहरूलाई अहिले वा भोलि छीः छीः दूरदूर गर्नेहरूले बाहिरियाको अतिक्रमणविरुद्ध उफ्रिनु नक्कली ‘राष्ट्रवाद’ हो भन्दा अतिशयोक्ति नहोला । अहिलेको समयमा हामीलाई सीमा र संक्रमण दुवै समस्याका लागि उत्तेजनाको होइन संयमित राष्ट्रियता आवश्यक छ । 

कालो बादलमा चाँदीको घेरा
माथिका निराशाजनक परिदृश्यसँगै केही सकारात्मक दृश्यावली र प्रवृत्ति पनि देखिएका छन् जसले हाम्रो सामूहिकता र मानवीयता अझै पनि हराएको छैन भन्ने प्रमाणित गर्छन् ।  यसले  आशावादी हुने ठाउँ पनि दिएको छ । लकडाउनसँगै राज्यको बेवास्तामा परेर विभिन्न कठिनाइमा परेकाहरूलाई नागरिक स्तरमै बाटाघाटामा खानापानी खुवाउने, स्वास्थ्य उपचार र यातायातको समेत व्यवस्था गरिएका सुखद दृष्टान्त पनि छन् । क्वारेन्टिन राख्न आफ्नो घर नै दिन्छु भन्ने, देउसीभैलो खेलेको रकमले खाना खुवाउने आदि मनकारी पनि देखिए । विभिन्न व्यक्तिले दुःखमा परेकाहरुलाइ सहयोग र उद्धार गरेको समाचार नियमितरूपमा सञ्चार माध्यममा देख्न पाइएको छ । राज्यको नुन नखाए पनि संक्रमणपछि मृत्यु भएकाको सद्गत गर्ने आँटिलो कार्यमा स्वयंसेवीहरू पनि भेटिए । स्थानीय सामुदायिक संस्था, सञ्चारकर्मी र अन्य नागरिक समूहले पनि आआफ्नो क्षमता र अवस्थाअनुसार सामूहिकतालाई कायम राख्न महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् । यी सबैले आशाको दियोलाई निभ्न दिएका छैनन् । 

अन्त्यमा, यो सरकारको भरमा जित्न सकिने लडाइँ होइन । अर्थात्, कोरोना प्रतिकार्यको जिम्मा राज्यको मात्र होइन वा उसलेमात्र गरेर सक्तैन भन्ने प्रस्ट भइसकेको छ । तसर्थ, सरकारलाई धारे हात लगाएरमात्र होइन, सबैको सामूहिक प्रयासबाट मात्र यो संकट कमभन्दा कम क्षतिमा पार लगाउन सकिनेछ । हामीले नागरिकका रूपमा आआफ्ना ठाउँबाट गर्न सकिने धेरै कुरा हुन सक्छन् । कम्तीमा पनि भौतिक दूरीको स्वअनुशासन कायम गर्ने र घृणा नभई सामूहिकता र समानुभूति (इम्प्याथी) को भाव राख्नुमात्र पनि कोरोना प्रतिकार्यमा हामीले गर्नसक्ने सानो तर अत्यन्त महत्त्वपूर्ण योगदान हुन सक्नेछ । 
(अध्यापक, पृथ्वीनारायण क्याम्पस पोखरा, मानवशास्त्र)  
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७  २१:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC