site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Dabur Nepal

कोरोनाभाइरसको परीक्षणका लागि आवश्यक सामग्री किन्न प्रहरीको तलब कट्टा गर्ने सरकारले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्तालाई राज्यको ढुकुटीबाट पोस्नका लागि सुकुम्बासी आयोग गठन गर्न लागेको छ । सीमामा नागरिक बिचल्लीमा परेका छन् । आमाको किरिया गर्नसमेत देशभित्र छिर्न दिइएन । देशको अर्थतन्त्र धान्ने भनिएका वैदेशिक रोजगारमा गएका नेपाली नागरिकलाई सम्बन्धित मुलुकहरूले फिर्ता लैजान भन्दा सरकार थाहै नपाएजस्तो गरेर बसेको छ । थातवास नभएपछि दसौं दिन पैदल हिँडेर भने पनि घर जान खोज्नेहरूलाई जिल्ला जिल्लामा रोकेर यता न उता बनाइएको छ । अस्पतालबाट बिरामी जाँचेर फर्केका डाक्टरहरूलाई परिचयपत्र देखाउँदा पनि प्रहरीले लाठी बर्साएको छ । अर्थात्, सरकारविरुद्ध आक्रोश उमार्ने सबै काम सरकारी निकायले गरिरहेकै थिए । यस्तो अवस्थामा अहिलेको सबै स्रोतसाधन लगाएर कोरोनाभाइरसको नियन्त्रण र त्यसबाट थला परेको अर्थतन्त्रको धुकधुकी बचाउन लाग्नु पर्नेमा सरकार भने राज्यको ढुकुटी लुटाउन व्यस्त लागेको छ । 

संसारभर कोरोना संक्रमणपछि सरकारको साधारण खर्चमा कटौती गरिएको छ । भारतमा त राजनीतिक पदाधिकारीको तलब नै घटाइएको छ । नेपालमै पनि प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संकट सामान्य नहुँदासम्म तलब नलिने घोषणा गरेका छन् । एकातिर अर्थतन्त्र खुम्चने र अर्कातिर कोरोनाको महामारीले गर्दा मानवीय सहायता र चिकित्सामा राज्यको खर्च बढ्ने भएपछि ढुकुटीको पैसा निकै सुझबुझपूर्णरूपमा खर्च गर्नुपर्ने बाध्यता छ । तर, यो ‘रोम जल्दा बाँसुरी बजाउने सम्राट निरो’को झल्को दिने सरकार भने यही बेला कार्यकर्तालाई पोस्न स्थानीय निकायहरूको अधिकार र कर्तव्य दुवैभित्रको भूमिहीन समस्या समाधानका लागि आयोग गठन गर्दैछ । सरकारको यस्तो प्रवृत्तिले देशभर सार्वजनिक सम्पत्ति जति लुटे लुटाए पनि हुन्छ भन्ने सन्देश दिएको छ । यथार्थमा स्थानीय तहलाई संविधानले पनि भूमिहीनको समस्या समाधान गर्ने जिम्मा दिएको छ । अधिकांश स्थानीय तहमा सत्तारुढ दलकै कार्यकर्ताले चुनाव जितेका छन् । समस्या समाधानमा चासो भएको भए सरकारले तिनलाई नै घचघच्याएको भए पुग्थ्यो ।      

सरकारको गैरजिम्मेवारी र अहमत्याइँले हद नाघ्न लागेपछि जनता आक्रोशित हुनु स्वाभाविकै हुन्छ । भारतमा पछिल्लोपटक बन्दाबन्दी थप हुँदा मुम्बईको बान्द्रामा जम्मा भएको भिड उत्तेजित भएको भए अकल्पनीय दुर्घटना हुनसक्थ्यो । यस्तै, घर जान पनि नपाउने र यता बस्ने खाने ठाउँ पनि नपाउने हो भने दसौं दिन पैदल हिँड्ने आँट गर्नेहरूको धैर्यको बाँध फुट्न सक्छ  यस्तो अवस्थामा अस्पतालबाट फर्केका चिकित्सकलाई लाठी हान्न थालेपछि स्थिति तनावग्रस्त हुनसक्छ । सरकारलाई लागेको होला कोरोनाको डरले अहिले जति ज्यादती गरे पनि जनता बोल्दैनन् । विपक्ष शिथिल भएकाले संगठित विरोधको सम्भावना छैन । जनताले सहन सकेनन् भने विद्रोहका लागि जोखाना हेरेर वा कुनै दन्त्यकथाको नायकलाई पर्खेर बस्दैनन् । नेपालीमा एउटा भनाइ छ – अति गर्नू अतिचार नगर्नू । सरकारको अतिले सीमा नाघ्न लागिसकेको छ । अझै पनि राज्यको ढुकुटी लुट्ने र लुटाउने अनि जनतालाई अमानवीय व्यवहार गरिरहने हो जुनसुकै बेला विद्रोहको विस्फोट हुनसक्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०७७  १३:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro