डिसेम्बर, २०१९ को अन्त्यतिर चीनको हुवेइ प्रान्तको वुहानबाट मृत्युको पीडादायी यात्रा प्रारम्भ गरी विश्वभर फैलिएको कोरोना भाइरसले अहिले मानव जातिलाई नै संकटमा पारेको छ । आँखाले देख्न नसक्ने अति सूक्ष्म, अदृश्य, निर्जीव भाइरसले विश्वभरका मानिसलाई घरभित्रै कुँजिन बाध्य गरिदिएको छ ।
आफ्ना नागरिकको जिउधनको सुरक्षा सबैभन्दा माथि राख्नु सबै राष्ट्रका सरकारको पहिलो कर्तव्य र जिम्मेवारी हो । सम्पूर्ण विश्व अहिले आफ्ना जनतालाई यस अदृश्य शत्रुसँग कसरी जोगाउने भन्ने विषयमा चिन्तित भई कार्य गरिरहेकाछन् । आफ्ना देशका जनतालाई सबैप्रकारको सुविधा सम्पन्न र सुरक्षित बनाएको मानिने अमेरिकाजस्तो राष्ट्रका राष्ट्रपतिले पनि दुई लाखसम्म आफ्ना नागरिक मर्नु सामान्य हो भनेर स्वीकार गर्नु यससँग हार मान्नु नै हो । आफुलाई सृष्टिको सबैभन्दा पराक्रमी र बुद्धिमान ठान्ने मानिस विवश र लाचार देखिएको छ । यो हामीले भोग्ने गरेको अन्य प्राकृतिक विपत्तिभन्दा निकै नै खतरनाक र गम्भीर प्रकृतिको छ । देखिने शत्रुसँग लड्न जति सजिलो हुन्छ अदृश्यसँग लड्नु उत्तिकै चुनौतीपूर्ण हुन्छ ।
हुनत कोरोना भाइरसले मान्छे मार्ने दर न्यून छ । उमेर बढी भएका र दीर्घरोगीलाई यस्ले बढी असर गरेको देखिन्छ । तर, यसको एउटा मान्छेबाट अर्कोमा सर्ने गति अन्यन्त तीव्र छ । एकैपटक हजाराैं मान्छे बिमारी हुँदा विकसित राष्ट्रको स्वास्थ्य प्रणाली त अस्तव्यस्त भएकाछन् भने विकासोन्मुख र गरिब राष्ट्रमा यो फैलिए स्थिति अझ भयावह हुनेछ । त्यसैले हाम्रो देशमा पनि भाइरस फैलिएको पहिलो चरणमा नै सरकारले यस्को गतिलाई आक्रामक हुन नदिन बन्दाबन्दीको घोषणा गर्नु जनताको जिउधन रक्षाको लागि गरेको सराहनीय काम हो । सायद यस्को विकल्प पनि थिएन ।
बन्दाबन्दीको घोषणा भइरहँदा दैनिक ज्याला मजदुरी गरिखाने वर्गको अवस्था सबैभन्दा चिन्ताजनक हुनेछ । उनीहरुलाई भोकबाट जोगाउनु पनि त्यतिकै आवश्यक छ । तर, स्थानीय निकायसँग दैनिक ज्यालादारीमा काम गर्नेको वास्तविक तथ्यांक नहुँदा केही जटिलता देखिएको छ ।
यो राष्ट्रको पीडाको घडी हो । छुट्टी मनाउने समय होइन । त्यसैले सहायता लिँदा वास्तविक भोकाहरुले मात्र लिएर राष्ट्रप्रति कर्तव्यपरायण हुनुपर्र्छ । सहयोग बाँड्ने काममा देखिएको भिडभाडले रोग निम्त्याउने खतरा छ । अतः खतराको शैलीमा सहायता वितरण गरेर विश्व सामु गैरजिम्मेवारीको उदाहरण प्रस्तुत गर्ने काम तत्काल बन्द गरिनुपर्छ ।
सरकारले ‘लक डाउन’ गर्नु यसको तीव्र फैलावटलाई रोक्ने पहिलो कदम हो भने दोस्त्रो कदम संक्रमित खोज्नु हो । संक्रमित खोज्नु भनेको परीक्षण तीव्र बनाउनु हो । तर, आज बन्दाबन्दीको १६ औं दिन बितिसक्दा पनि १ हजार ७ सयको हाराहारीमा मात्र परीक्षण हुनुले स्थिति चिन्ताजनक बनाएको छ । जति छिटो जति धेरैको परीक्षण गरेर रोग पहिचान गरी निदान खोजिन्छ त्यति छिटो यसको कडी भंग गर्न सकिने विश्वको उदाहरण देखिरहँदा पनि ढिलासुस्ती हुनुले हामी भोलि भयावह अवस्थामा त पुग्दैनौ भन्ने चिन्ता जन्माएको छ । यस जटिल समयका भगवान भने पनि योद्धा भने पनि स्वास्थकर्मीहरु नै हुन् । संक्र्रमित नागरिकलाई बचाउने उनीहरुले नै हो ।
स्वास्थकर्मीलाई आवश्यक पर्ने सुरक्षा सामग्री उपलब्ध गराई उपचार गर्ने वातावरण बनाउनु सरकारको कर्तव्य हो । तर, नेपालमा आवश्यक सुरक्षा सामग्री र उपकरण नहुनु अर्को दुर्भाग्यपूर्ण अवस्था भएको छ । पहिलो संक्रिमित भेटिएको निकै समयपछि अन्य संक्रमित देखिएका हुन् । हामीसँग तयारीका लागि प्रशस्त समय थियो । तर, अहिले आएर हामीसँग आवश्यक सामग्री छैन भन्नु सरकारको चरम लापरबाहीको उदाहरण हो ।
थपिएको एक साताको परिस्थिति कस्तो हुनेछ त्यस्ले अर्को साताको निर्णय लिन मद्दत गर्नेछ । तर पनि केही साता र महिना बन्दाबन्दीको मानसिकतामा हामी बस्नुपर्ने नै छ । इतिहासमा यस्ता धेरै महामारी आएका र गएका छन् । केही समय यस्ता महामारीले दुःख दिए पनि मानव जातिको जित सुनिश्चित छ । त्यसैले निराश नभई उच्च मनोबलका साथ सामना गरेर कोरोनालाई जितौँ । यस रोगविरुद्धको लडाइँँमा हामी घरभित्र बस्नु नै जित्नु हो । कोरोना महामारीपछि विदेशबाट आएकाहरु सरकारले तोकेका कोरोना विषेश अस्पतालको र आवासहरूको सम्पर्कमा आउनु देश, समाज र परिवारको कल्याण गर्नु हो । त्यसैले हामी सबैले आआफ्नो स्थानबाट विपत्तिको यस समयमा सहयोग गराैँ र नेपाललाई पहिलाकै अवस्थामा फर्काऊँ !
जाँँदाजाँदै कोरोना महामारीले विश्वलाई एउटा पाठ पढाएर जानेछ – मान्छे मार्ने कारखाना खोलेर बसेका मानवहरु !! तिम्रो मान्छे बचाउने कारखाना त कति सानो रहेछ ! मान्छे मार्ने होइन बचाउने प्रतिस्पर्धा गर ! जीवन अमूल्य छ ! जीवन जाँदा सबैको मन भतभती पोल्छ – चाहे त्यो तिमीले बनाएको बमले ले होस वा चाहे मैले !