कोरोनाभाइरसको संकट सन् २०१२ मा चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव भएपछि सी जिनपिङका लागि सबैभन्दा ठूलो चुनौतीका रूपमा देखिएको छ । चीनभर व्यक्ति र परिवारहरू सन्त्रासमा बाँचेका छन् । कतिपय चिनियाँ प्रान्तहरू यथार्थमा नाकाबन्दीको अवस्थामा छन् । कारखानाहरूले कामदारहरूलाई घरैबाट काम गर्न भनेपछि भाइरुका कारण अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा ठप्प भएको छ । राजनीतिकरूपमा दोेषारोपणको खेल भाइरसको उद्गमस्थल वुहानको स्थानीय निकाय र बेइजिङको केन्द्रीय सरकारबीच चलिरहेको छ । दुवै पक्षले ‘ कुनै विपत्ति आइलाग्यो भने कसै न कसैले त्यसको मूल्य चुक्ता गर्नुपर्छ‘ भन्ने चिनियाँ राजनीतिको आन्तरिक सिद्धान्तलाई ध्यानमा राखेका छन् ।
बाहिरी विश्वले लामो समयदेखि पीडामा रहेका चिनियाँ जनताप्रति सहानुभूति र ऐक्यबद्धता प्रकट गर्नुपर्छ । यो खराब समय हो र कतिपय विश्वभर अवस्थामा चिनियाँहरूप्रति जातिवाद प्रकट र प्रदर्शन हुने गरेको । यसबाट साँच्चै नै हामी एउटै मानव परिवार हुनसकेका छौ त भन्ने प्रश्न मेरो मनमा उब्जने गर्छ । चीनको तटबाहिरका धेरै मानिसले कुनै पनि व्यक्ति आफूमात्र हैन वा हुनसक्तैन भन्ने अर्को आधारभूत सिद्धान्त पनि बिर्सेको देखिन्छ ।
सीले चीनको माक्र्सवादी — लेनिनवादी राज्यमा करिब निरंकुश राजनीतिक शक्तिको अभ्यास गर्छन् । चीनले जनवरी यता भाइरसको नियन्त्रणका लागि अपनाएको कठोर विधि अधिनायकवादी शासनमा मात्र लागु हुनसक्छ । यी उपायहरू कति प्रभावकारी हुनेछन् भन्ने त समयले नै बताउनेछ । तर, के निश्चित छ भने यो संकट समाधान भएपछि पनि भविष्यमा चीनको शासनमा भने परिवर्तन हुनेछैन ।
किन त भन्ने बुझ्नका लागि सीको चीनलाई भविष्यको विश्वमहाशक्ति बनाउने विश्वदृष्टिमा ध्यान दिनुपर्छ । मलाई कसैले सी के चाहन्छन् भनेर सोध्दा उनको अवधारणालाई मैले दसवटा प्राथमितामा व्याख्या गर्ने गरेको छु । यसलाई पार्टीको केन्द्रबाट बाहिर घेरिँदै गएका दसवटा घेराहरूका रूपमा वा मनोवैज्ञानिक अब्राहम मास्लोको परम्परामा सीको आवश्यकताहरूका क्रमका रूपमा हेर्नु उपयुक्त हु्नेछ ।
पहिले प्राथमिकता चिनियाँ कम्युनिस्ट पार्टीलाई सत्तामा राख्नु हो । सीले पार्टीलाई अर्धलोकतन्त्र वा लोकतन्त्रमा रूपान्तरण गर्ने संयन्त्रका रूपमा कहिल्यै हेरेका छैनन् । बरु, उनले त चीनको अधिनायकवादी पुँजीवादको अनौठो संरचनालाई भविष्यमा महाशक्तिको स्तरका लागि आवश्यक ठान्छन् र संसारका अरू भागमा पनि लागू गर्न सकिने ढाँचाका रूपमा हेरेका छन् ।
दोस्रो, चिनियाँ कम्युनिस्ट पार्टीको आन्तरिक वैधताका लागि पनि राष्ट्रिय एकता कायम राख्नु अनिवार्य छ भन्ने सीको विश्वास छ । यही कारणले उनको शासन कालमा तिब्बत र सिनजियाङमा पटकपटक दमन भएको हो भने ताइवानसम्बन्धी नीतिमा कडाइ भएको कारण पनि यही हो ।
तेस्रो काम अर्थतन्त्रको विस्तार गर्नु हो । सैनिक क्षमतासँगै अर्थतन्त्रको आकार, शक्ति र प्राविधिगत परिष्कार राष्ट्रिय शक्तिका आयामहरूको केन्द्रीय तत्त्व हुन्छ भन्ने सीले बुझेका छन् । दीर्घकालीन वृद्धिविना प्रतिव्यक्ति आय बढ्नेछैन र चीन मध्यमआयको धरापमा पर्नेछ । फाइभ जीमा विश्वमा प्रभुत्व, सेमीकन्डक्टर, सुपरकम्युटिङ र कृत्रिम चेतनाका आधारमा प्रविधि महाशक्ति बन्ने राष्ट्रिय प्रयाससँगै दिगो वृद्धि चिनियाँ कम्युनिस्ट पार्टीको वैधताका लागि पनि आवश्यक छ ।
चिनियाँ वृद्धिलाई वातावरणीयरूपमा दिगो बनाउनु चौथो लक्ष्य हो । विगतमा यस पक्षलाई उपेक्षा गरिएको थियो । अहिले पार्टीकै वैधताका लागि पनि यस्ता विषय केन्द्रमा पुगेका छन् । चिनिया जनताले उच्च तहको हावा, माटो र पानीको प्रदूषण अब सहिरहने छैनन् । यद्यपि, अझै पनि सीको पहिचान बन्न पुगेको ‘बेल्ट एन्ड रोड’ लगायत आन्तरिक उद्योग र अन्तर्राष्ट्रिय भौतिक पूर्वाधारका परियोजनामा भने दिगोपन तथा जलवायु परिवर्तनको विषय आर्थिक वृद्धिसँग प्रतिस्पर्धी रहिरहनेछन् ।
पाँचौ प्राथमिकता चिनियाँ सेनाको विस्तार र आधुनिकीकरण हो । सीले जनमुक्ति सेनाको सन् १९४९ पछिको सबैभन्दा ठूलो सैनिक संरचना, हातहतियार, सैनिकहरूसम्बन्धी सबैभन्दा ठूलो सुधारको नेतृत्व गरिरहेका छन् । जनमुक्ति सेनालाई सीमाको रक्षा गर्ने सैन्य संरचनाबाट नवसेना, वायु सेनाको विस्तार, अन्तरिक्ष र कृत्रिम चेतनाको क्षमतायुक्त शक्तिका रूपमा रूपान्तरण गर्न लागिएको छ । सीको घोषित ध्येय नै ‘‘युद्ध लड्न र जित्न’’ सक्ने विश्वस्तरको सेना बनाउनु हो ।
छैटौं उद्देश्य चीनका १४ छिमेकी र ५ वटा समुद्रबाट जोडिएका मुलुकहरूसँग विशेष तथा सम्मतिपूर्ण सम्बन्ध सुनिश्चित गर्नु हो । इतिहासमा चीनको अधिकांश रणनीतिक ध्यान खिच्ने रुसलाई सही अर्थमा मित्र बनाउने बेइजिङको यस परियोजनामा रुस महत्त्वपूर्ण पात्र हो । सामुद्रिक मोर्चामा भने चीनले पूर्वी तथा दक्षिणी चीन समुद्रको दाबी नछाड्ने स्पष्ट पारेको छ ।
चीनको पूर्वी समुद्री सीमा वरपर अमेरिकालाई गुवामदेखि पूवी फिलिपिन्ससम्मको जापानी द्विपसमूहको ‘दोस्रो टापु शृंखला’सम्म धकेल्नुपर्छ भन्ने सीको मान्यता सातौ उद्दश्य हो । चीन यस क्षेत्रमा विशेषगरी दक्षिण कोरिया, जापान र फिलिपिन्ससँगको अमेरिकाको लामो सुरक्षा सहकार्य पनि कमजोर ( सके त ध्वस्तै) बनाउन चाहन्छ । यसको मुख्य उद्देश्य भने ताइवानलाई आवश्यक भए बल प्रयोग गरेर पनि पुनर्एकीकरण गर्ने चीनको क्षमता बढाउनु हो ।
आठौं, चीनको पश्चिमी भूभागको आसपासलाई सुरक्षित राख्न सी युरेसियाली क्षेत्रलाई चिनियाँ सामान, सेवा, प्रविधि र महत्त्वपूर्ण भौतिक संरचनाको लगानीका लागि बजार बनाउन चाहन्छन् । बीआरआईका माध्यमबाट उनी मध्य एसिया र मध्य पूर्वका साथै मध्य, पूर्वी तथा पश्चिमी युरोप पनि चीनको विदेश नीतिको चासोका मुख्य पक्षहरूको संवेदनशील समर्थक होउन् भन्ने चाहन्छन् । यसैगरी चीनले युरोसियामा जस्तै अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका विकासोेन्मुख मुलुकहरूमा बृहत् बजारको सम्भावना देखेको छ । यसर्थ, सीको नवौं प्राथमिकता ‘समुद्री रेसम मार्ग’ रहेको छ जुन बीआरआई जत्तिकै महत्त्वपूर्ण हुनपुगेको छ । समग्रमा चीन विश्वव्यापी आर्थिक रणनीतिलाई महत्त्वपूर्ण बहुपक्षीय मञ्चहरूमा जी ७७ को विश्वसनीय समर्थनमा परिणत गर्न पनि समर्थ भएको छ ।
अन्त्यमा सी विश्व व्यवस्थालाई चिनियाँ हित र मूल्यहरू समावेश गरेर नयाँ स्वरूप दिन चाहन्छन् । चिनियाँ नेताहरू सन् १९४५ पछिको उदार अन्तर्राष्ट्रिय व्यवस्था विजयी गोरा औपनिवेशिक शक्तिहरूले सिर्जना गरेको मान्छन् । सी भने युद्धोत्तर कालभन्दा सन् २०२० को संसारमा आमूल परिवर्तन भइसकेको ठान्छन् । यसैले चीनले दुईधारे रणनीति विकास गरेको छ । विद्यमान विश्व व्यवस्थाका संस्थाहरूमा शक्ति, जनशक्ति र आर्थिक प्रभाव बढाउनुका साथै चीनका नेताहरू बीआरआई, एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकजस्ता नयाँ चीन केन्द्री संस्थाहरू पनि निर्माण गर्दैछन् ।
ध्यान दिनुपर्ने के छ भने चिनियाँ कम्युनिस्ट पार्टीको वरिष्ट तहमा सीको विश्व दृष्टिकोणमा सहमति छ । कतै चीनले आफूलाई देङ सियाओपिङको लामो समयसम्म कायम रहेको ‘‘आफ्नो शक्ति लुकाऊ, समयमा अडिऊ र कहिल्यै नेतृत्व नगर’’ भन्ने रणनीतिभन्दा धेरै टाढा पो पु¥यायो कि भन्नेमा भने विवाद र असन्तुष्टि छ । यस्तो विवाद कसरी टुंगो लाग्ला भन्ने समयले बताउनेछ खासगरी सन् २०२२ को पार्टीको बीसौं नेसनल कांग्रेसका समयमा सीको पदावधि पहिलेको सीमाभन्दा बीसको दशक र त्यसभन्दा पछि पनि बढाउने कि नबढाउने भन्ने निर्णय लिने बेलामा यसको छिनोफानो हुनेछ ।
यस परिप्रेक्ष्यमा चीनभित्र कोरोनाभाइरस संकटको व्यवस्थापन र विश्वमा फाइभ जी विस्तार परियोजनामा सीको भूमिकाको गम्भीर महत्त्व हुनेछ ।
(अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री )
(बाह्रखरी र प्रोजेक्ट सिन्डिकेटको सहकार्य)
@Project Syndicate, 2020.