सुर्खेत । कर्णाली प्रदेश सरकारले अघि सारेको कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयन सुरु भएको छ । मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रबीच कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयनका लागि समझदारीपत्रमा हस्ताक्षर भएसँगै कार्यान्वयन प्रक्रिया सुरु भएको हो ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको प्रमुख आतिथ्यमा भएको हस्ताक्षर कार्यक्रममा कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव लक्ष्मी कुमारी बस्नेत र वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
उज्यालो कार्यक्रम कार्यान्वयनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा कार्यान्वयन इकाई स्थापना गर्ने र प्राविधिक सहयोग वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रले उपलब्ध गराउने केन्द्रका कार्यक्रम संयोजक दिपक पौड्यालले जानकारी दिए ।
कार्यक्रम कार्यान्वयनको पहिलो चरणमा आर्थिक तथा प्राविधिक कारणले निर्माण कार्य पूरा हुन नसकेका कर्णालीका विभिन्न जिल्लामा रहेका लघु तथा साना जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गरिनेछ । ती आयोजना सम्पन्न गर्न प्रदेश सरकारले कर्णाली उज्यालो कार्यक्रमबाट बजेट व्यवस्था गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव लक्ष्मीकुमारी बस्नेतले बताए ।
हस्ताक्षर कार्यक्रममा बोल्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीका ग्रामीण क्षेत्रमा राष्ट्रिय विद्युत प्रशारण लाईन विस्तार गर्न केही समय लाग्ने भएकोले लघु तथा साना जलविद्युत आयोजनाको निर्माण आवश्यक रहेको बताए ।