काठमाडौं । घरेलु मैदानमा भारतसँग पराजित भएपछि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको स्वर्ण जित्ने लक्ष्य अधुरो रहेको छ ।
सोमबार भएको फाइनलमा भारतलाई २-० ले नतिजा सुम्पिएपछि घरेलु मैदानमा स्वर्णको इतिहास बनाउने महिला टोलीको लक्ष्य अधुरो रहन गएको हो ।
पोखरामा रंगशालामा सुरुआती एकपछि अर्को गोलको शिकार भएको नेपाल खेलमा फर्किन सकेन् । पोखरेली दर्शकको भरपुर साथ पाएपनि नेपाल १७ औं मिनेटमा पहिलो गोल खान पुग्यो ।
भारतकी बालादेबीले नेपालकी गोलकिपर एन्जीलो तुम्बापो सुब्बालाई विट गर्दै प्रहार गरेको बल गोलमा परिणत भएको थियो । पहिलो हाफमा १-० ले पछाडि परेको नेपालले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेपनि भारतीय बालादेबीलाई रोक्न सकेन् ।
उनले ५५ औं मिनेटमा वान भर्सेस वानमा गोल गरेकी थिइन् । बाँकी समय आक्रमक बनेको नेपालले पाएका केही अवसर सदुपयोग गर्न नसक्दा हार ब्यहोरेको हो । हारसँगै महिला टोली रजत पदकमा सिमित भएको छ ।
यसअघि लिग चरणको खेलमा पनि नेपाल भारतसँग पराजित भएको थियो ।